मितेरी स्कुलको अवधारणा
मितेरी विद्यालयका साथीका लागि शिक्षक विद्यार्थीले आफैंले उत्पादन गरेका सामग्री उपहार पठाउने प्रचलनको रचनात्मकता, क्रियाशिलता र सदभाव वृद्धिमा सहयोग पुग्छ।
शिक्षाले समाजको आँखा खोल्छ। व्यक्तिको भविष्यको ढोका खोल्छ। जस्तोसुकै शिक्षाले भने योगदान गर्दैन। शिक्षा व्यक्तिको आवश्यकता पुरा गर्ने, ज्ञानको दायरा बढाउने, समाज बदल्ने, नैतिकवान सक्षम नागरिक निर्माण गर्ने र राज्यको लक्ष्य पूरा गर्ने खालको हुनुपर्छ। वर्तमान परिप्रेक्ष्यमा शिक्षा नेपाली समाज र विश्वबजारले चाहेको खोजेको हुनुपर्छ। अर्थात् शिक्षामा रचनात्मकता र प्रयोगात्मकता प्रधान हुनुपर्छ।अझ सीधै भन्नुपर्दा हाम्रो शिक्षाले बोली खाने मात्र भन्दा गरिखाने जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्छ।
भनिन्छ, शैक्षिक प्रणाली र शैक्षणिक विधिको प्रयोगले समाजको चरित्र र राज्यको दृष्टिकोण निर्धारण गर्छ। हामी जस्तो छौं त्यस्तै गर्छौं। जस्तो गर्छौं त्यस्तै फल पाउछौं। शिक्षामा पनि त्यस्तै हो । हाम्रो अहिलेको पाठ्यक्रम, पठनशैली र व्यवस्थापनबाट भोलि कस्तो जनशक्ति प्राप्त गर्न सक्छौं भन्ने कुराको अनुमान गर्न सकिन्छ। नीति र प्रणालीले ठूलो क्षेत्र र लामो कालसम्म बहुपक्षीय प्रभाव पार्छ। यस कुरामा नीति निर्माता र अभियन्ताहरू सजग हुनै पर्छ। हामीले कस्तो शिक्षा दिएका छौं ? कस्तो प्रणाली बसाएका छौं भन्ने कुराबाट भोलि हाम्रो समाज र राज्यले के पाउँछ। हामी सबैको भविष्य कस्तो हुन्छ भन्ने कुरा निधर्रण गर्छ। शुरु गर्दा र कार्यन्वयनमा हाम्रो कति योगदान र कुशलता रह्यो भन्ने कुरामा फर्केर हेर्न आवश्यक हुन्छ।
कार्यन्वयनमा कुशलता व्यक्ति वा समूहले लिएको अग्रसरता, निरन्तरता, इमान्दरिता र कौशलतामा पनि भर पर्छ। शिक्षा प्राप्त गर्ने औपचारिक थलो विद्यालयमा शैक्षणिक सुधारका लागि कुशलताको परीक्षण र प्रयोग भएका हुन्छन्, धेरै ठाउँमा भएका पनि छन्। ती प्रयास र प्रयोगलाई आत्मसात्, सही समालोचना र समभावको अभावमा निरन्तरता र परिमार्जन हुन पाएका छैनन्। सुधार, परिमार्जन र आइडिया अरुले गरेको देखेर, सुनेर, पढेर र प्रतिक्रिया पाएर सफल हुन्छन। कतिपय रचनात्मक उपाय त अरुले केही कुरा बोल्यो भन्ने आफ्नो दिमागमा पुरिहाल्छ। शुरुवातमा प्रशंसा र सुझाव पाएका गति बदल्न र गति बढाउन मद्दत गर्छ। शैक्षिक सुधार र क्रान्तिमा अग्रसर कतिपय सामुदायिक तथा निजी लगानीका विद्यालयहरु विभिन्न असल र रचनात्मक अभ्यास गरिरहेका छन्। सफलता पनि प्राप्त गरिरहेका छन्। लामो समयको अभ्यास र परीक्षणबाट प्राप्त सिकाई अनुसरण र उपयोग गर्नु उपयुक्त नै हुन्छ।
‘सामुदायिक विद्यालयहरुमा पढाईको गुणस्तर भएन’ सुधार भएन भन्ने वाक्य उच्चारण समान्य भयो। तर, त्यसले आधारभूत शिक्षा निःशुल्क उपलब्ध गराउने राज्यको लोक कल्याणकारी नीतिलाई नै गिज्याइरहेको महसुस हामीले गरेका छैनौं। सुधार भएन भन्ने तर सुधार कसरी गर्ने भन्ने चाहिँ नजान्ने, नमान्ने र नसुन्ने हामी धेरै भयौं। यहाँ धेरै राम्रो गर्ने पनि छन् । राम्रोबाट सिक्ने, आदानप्रदान गर्ने कुरा अलि कमै सोचेका/बुझेका हौं कि ? विद्यालयको समग्र व्यवस्थापन र सुधारको विषयमा यो पक्तिकारलाई मितेरी स्कुल (Sister School) अभियान पनि एउटा तरिका हुन सक्छ भन्ने लागेर यो विचार प्रस्तुत गर्ने जमर्को गरेको छु।
‘मितेरी स्कुल’ अवधारणा एउटा मामुली चलन मात्र हो। सुधारको लागि जादूको छडी भने होइन। यधपी यसको अनुशरण र अभ्यासबाट केही राम्रा कुराको आदान-प्रदान हुनुका साथै विद्यालयलाई रचनान्मक र क्रियाशील हुन सहयोग पुग्छ भन्ने आशा गर्न सकिन्छ।
के हो ‘मितेरी स्कुल’ ?
दुई विद्यालयहरु आपसमा पारिवारिक सम्बन्ध स्थापना गर्न जस्तै मितेरी लगाउँछन्। नेपाली समाजमा मित लगाउन जाती, धर्म, वर्ग, वर्ण केही कुराले नछेके जस्तै सरकारी-सरकारी, सरकारी-निजी, साना-ठूला, सुगम-दूर्गमका विद्यालय बीच आपसमा मितेरी सम्बन्ध स्थापना गर्छन्। एउटा विद्यालयले आफूले भ्याएसम्म क्षमताले पुगेसम्म दुई वा दुई भन्दा बढी विद्यालयसँग मितेरी लगाउन सक्छ। हाम्रो समाजमा मितेरी लगाएपछि नाता सम्बन्ध प्रगाढ भए जस्तै विद्यायहरु बीच पनि आपसी सम्बन्ध मजबुट हुन्छ। मितेरी विद्यालयको अर्को मितेरी विद्यालयसँग पनि तेस्रो सम्बन्ध कायम हुन्छ।
मितेरी स्कुलको निरन्तरताः
मितेरी सम्बन्ध कायम गरेका विद्यालयहरु बीचमा आपसी असल सहकार्य सुरु हुन्छ। सुख-दुःखमा आपसी सहयोग र सदभाव कायम हुन्छ। द्बिपक्षीय सहमती र आवश्यकतामा सबै कुराको सहकार्य हुन सक्छ। कतिसम्म सहकार्य गर्ने र कसरी गर्ने भन्ने कुरा एक आपसमा छलफलबाट सहमति पत्र तयार गर्न सकिन्छ। मितेरी स्कुल अवधारणलाई निरन्तरता दिन गर्न केही अभ्यासहरुको गर्न सकिन्छः (देहायका उदाहरणका लागि मात्र)
१. व्यवस्थापन आदान-प्रदान
मितको बुवा-मितबुवा भएस्तै एउटा विद्यालयको विद्यालय सञ्चालक/व्यवस्थापन समिति, अभिभावक समितिका संयोजक/अध्यक्ष्य अर्को विद्यालयको स्वतः मानार्थ संयोजक/अध्यक्ष हुन्छ। आलोपालो अध्यक्षता गरी बैठकको निर्णय नै गर्ने परिपाटी बसाल्दा निर्णयमा निश्पक्षता, पारदर्शीता र बैज्ञानिकताको प्रयोग हुन सक्छ। यसको वैधानिकताको पाटो र विषय भने सोचनीय हुन सक्छ। व्यवस्थापन नै आदान-प्रदान गर्दा असल अभ्यासको अनुशरण गर्ने र रचनात्मकता विकास गर्ने अवसर प्राप्त हुन्छ।
२. शिक्षक आदान प्रदान
मितेरी स्कुल बीच निश्चित अवधिका लागि विषगत शिक्षक आदान-प्रदान गर्न सकिन्छ। यसो गर्दा शिक्षकलाई नयाँ-विद्यालयमा राम्रो प्रस्तुतकिकरण र प्रभावका लागि क्रियाशील बनाउन सहयोग पुग्छ भने विद्यार्थीलाई आफ्ना र अरुका शिक्षक, शिक्षण शैली तुलना गर्न, सकाईमा नयाँ स्वाद लिन, कक्षामा जान्ने, नजान्ने सबै विद्यार्थीले समान अवसर र असल व्यवहार पाउनुका साथै कतिपय अवस्थाको निरशता हटाउन सघाउ पुग्छ। यसका साथै विषय शिक्षक अभावमा पनि सो विषयको पाठ्यक्रम निरन्तरता दिन पनि सहयोग पुग्न सक्छ। यो विषय दूर्गमका विद्यालयमा गणित, विज्ञान लगायतका शिक्षक नपाइने समस्याका लागि उपयुक्त हुन सक्छ।
३. अतिरिक्त क्रियाकलाप र विद्यार्थी आदान-प्रदान
मितेरी स्कुल बीच विद्यार्थी आदान-प्रदान गरेर पनि विद्यालय वातावरण राम्रो बनाउन सकिन्छ। अतिरक्त क्रियाकलापमा मितेरी विद्यालयका सहपाठीसँग घुलमिलबाट भावना साटासाट, बालापन साटासाट, सम्बन्ध विस्तार, सामाजिकीकरण, अनुशासन, नैतिकता विकासमा सहयोग पुग्न नयाँ गाउँ, नयाँ स्कुल वातावरणसँग साक्षात्कार हुने अवसरले उत्साह, आत्मविश्वास र सक्रियता बढाउन पक्कै मद्दत गर्छ।
४. विद्यालयको सम्पत्ति/सामग्री आदान-प्रदान
आवश्यकता असीमित र स्रोत साधन सीमित हुने भएकाले नजिकका मितेरी स्कुल बीचमा आफूसँग भएका सम्पत्ती तथा उपयोगी सामग्री आदान – प्रदान गर्न सकिन्छ। यसो गर्दा आफूलाई नचाहिने तर अरुलाई चाहिएको सामग्रीको सही उपयोग हुने र आफूसँग नभएको अरुबाट सहयोग पाउन सकिन्छ।
मितेरी विद्यालयका साथीका लागि शिक्षक विद्यार्थीले आफैंले उत्पादन गरेका सामग्री उपहार पठाउने प्रचलनको रचनात्मकता, क्रियाशिलता र सदभाव वृद्धिमा सहयोग पुग्छ।
उल्लेखित उपाय/अभ्यासका अतिरिक्त विद्यालयले धेरै राम्रा अभ्यास आइडिया आदान-प्रदान गरी हालकै शैक्षिक क्रियाकलापबाट रचनात्मकता र व्यवहारिकता विकास गरी सक्षम मानव संशाधन विकास गर्न योगदान पुर्याउन सक्छन्। यही अवधारणमा दोषी चस्मा लगाएर हेर्दा थुप्रै कमजोरी देखिन सक्छ। खोलाको डिलमा बसेर ढुङ्गा फालेर पनि दिन त बित्छ नै। रचनात्मक कोशिसमा अलिक कठिनता र बढी परिश्रम लाग्ने भए पनि सफलता प्राप्त हुँदाको खुशी जति बाँडयो उति बद्छ।
अन्तमा देश विकास गर्ने हो भने अनुसन्धान र विकासमा लाग्नुपर्छ र लगानी बढाउनुपर्छ। साना-साना नानी बाबुको कोमलतामा देशको सुन्दर मुहार झल्किन्छ। त्यो सुन्दरतालाई निरन्तरता दिन विद्यालयलाई राम्रो बनाउनैपर्छ। शिक्षालाई समय सापेक्ष उत्तम बनाउनैपर्छ। सुधार र विकासका लागि स्रोतको पछि मात्र दौडिने, सरकारको मुख ताक्ने र भाग्यलाई गाली गर्नुभन्दा सबैले आफ्नो ठाउँबाट रचनात्मक सहयोग र योगदान गरेमा सफलताको सम्भावना असम्भव छैन। बालबालिकाको मानमा राम्रो विचारको मलजल गरौं । समाज, देश र संसार हाँक्ने विचार जन्माउने तिनै बालबालिकाले हो । मितेरी विद्यालय अवधारणाले सम्भावनाको सहयोग गर्न सक्छ।
(श्रेष्ठ सोलुखुम्बुका लागि जिल्ला समन्वय अधिकारी हुन्।)
.png)
प्रतिक्रिया