प्रचण्‍डलाई शहीदपुत्रको बिन्‍तीपत्र

सुरुमा तपाईंले नेपाल सिङ्गापुर बनाउँछु भन्‍नुभयो तर सिङ्गापुर नै बनाउन नसके पनि ३ ओटा मात्र स्थानीय तह भएको रुकुमपूर्वलाई सिङ्गापुर सरह बनाउनुहुन्‍छ होला भन्‍ने मेरो ठूलो आशा छ।

प्रचण्‍डलाई शहीदपुत्रको बिन्‍तीपत्र चुनावी प्रचारको सिलसिलामा शनिबार तक गाउँमा पुष्‍पकमल दाहाल 'प्रचण्‍ड'

प्रिय कमरेड प्रचण्ड,

मेरो सामुन्‍ने तपाईंको उपस्थितिले ठाउँ छोडेको वर्षौं भएछ। जब तपाईं मबाट टाढा हुनुभो म तपाईंबाट सिकेका कुराहरू दिनमा सयौंचोटि सम्झिने गर्छु। जे सिकाउनुभयो त्यो मेरो दिमागमा गहिरिएर गढेको छ। तपाईं यस्तो अभिभावक हुनुहुन्थ्यो, जब म एउटा टुहुरो भएता पनि देशको काँचुली फेर्नलाई तपाईंले खेल्‍नुभएको भूमिकाले त्‍यो मेरो दु:खलाई ओझेल पारेको थियो। जस्तो कि त्‍यो कसैले निर्णय गर्न सक्‍ने हिम्‍मत थिएन। जब मैले म जस्तै शहीद परिवारका साथीहरूलाई भन्‍ने गर्थेँ कि ती दिनहरू देश परिवर्तनको लागि यति सुन्दर थिए। ती बिताइएका दिनहरू सबैभन्दा सुन्दर थिए। म अझै पनि ती दिनहरू सम्‍झिने गर्छु। मेरो क्षमतामा क्षयीकरण हुँदै गर्दा तपाईंले त्‍यस्‍तो जीवन जिउन सिकाउनुभयो, त्‍यसले शहादत प्राप्‍त गर्नुभएको बुबाबाट प्राप्‍त हुने माया तपाईंबाट पाएको आभास मैले गरेको थिएँ। तपाईं जब मेरो जीवनमा अभिभावक भएर प्रवेश गर्नुभयो, मेरो जीवन नै बदलिएको महसुस भयो। फलस्‍वरूप जीवनलाई प्रगतिशील ढङ्गले हेर्न थालेँ।

प्रिय क.प्रचण्ड, तपाईंको रेखदेखमा रहेका शहीद परिवारमध्ये म पनि एक थिएँ। इमान्दारीपूर्वक भन्‍नुपर्दा मन त्‍यसैत्‍यसै खुसी हुन्छ। देशको व्‍यवस्‍था परिवर्तनका लागि जीवनको आहूति दिएका शहीदका परिवारहरूको बीचमा म पनि हुँदा तपाईंको हृदयमा विशेष स्थान लिनैपर्ने कारण देखिन्छ। मलाई अझै पनि ती उतारचढावपूर्ण देश परिवर्तनको घटनाहरू मनमा झल्किन्छ। जब कि म त्यतिबेला ८ वर्षको थिएँ। मेरै अगाडि प्रहरीले मेरो बुबालाई राइफलले तीन फायर हानेर मारेको त्‍यो दिन मेरो आँखामा अझै झलझली छ। मेरी आमाले त झन्‌ त्योभन्दा पहिल्‍यै १८ महिनाको छँदै यो संसार छोडेर जानुभएको रहेछ। सायद त्यतिबेला मेरी आमाहरूले सिटामोल पनि खान नपाएर बेलैमा मृत्‍युवरण गर्थे। सायद त्यही प्रकृतिका मानवीय क्षतिहरूलाई आधार बनाएर तपाईंको नेतृत्‍वले हाम्रो अधिकारको लागि 'जनयुद्ध' सुरु गर्नुभयो होला। देश परिवर्तनको लागि मलाई १४ वर्षको कलिलो उमेरमै काँधमा राइफल भिराइदिनुभयो। देशको व्‍यवस्‍था परिवर्तनको लागि मैले पनि १८ ओटा लडाइँ लडेको थिएँ। गोलीका दुई-चार छर्राहरू म अझै बोकेर हिँडिरहेको छु।

प्रिय क. प्रचण्ड, जब हाम्रो देशमा शान्ति आइसकेपछि कताकता युद्धको उद्‌गमथलो मानिने रुकुममा म जस्ता शहीद परिवार र घाइते अपाङ्ग योद्धाहरुसँग हाम्रो मिलनविन्‍दु टाढा भएको महसुस भएको थियो। यही क्रममा हुन लागेको फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारीको रूपमा हामी रुकुमपूर्वेलीले तपाईंलाई पाउँदा मलगायत अन्य शहीद परिवारहरूको खुशीको सीमा छैन भन्दा फरक नपर्ला। वर्षौं अभिभावकविहीन रुकुमपूर्वका शहीद परिवार लगायत घाइते, अपाङ्ग योद्धा, इमानदार हाम्रा कार्यकर्ताहरू निकै प्रफुल्‍लित बने। यसको ज्‍वलन्‍त उदाहरण छिमेकी जिल्ला रुकुमपश्‍चिमका जनार्दन शर्मालाई नेता मान्‍नु परेको अवगत नै छ। उल्‍टै अहिले उहाँ जनार्दन फुटेर जाँदा पश्‍चिमरुकुमलाई जति दु:ख लागेको थियो, त्यति नै रुकुमपूर्वलाई पनि लागेको छ। यस अर्थमा रुकुमपूर्वमा नेता छैनन् भन्‍न खोजिएको होइन। तर यही हातले पटकपटक भोट दिएर पठाएका नेताहरूले अपेक्षा गरेको जस्‍तो काम नगर्दा हामी सबैलाई दु:ख लागेकै हो। हामी शहीद परिवार, घाइते, अपाङ्ग, योद्धाहरूलाई प्रचण्डले नचिन्‍नुमा रुकुमपूर्वका हाम्रै नेताहरूको कमजोरी हो। मेरो दुखेसो छ- जनयुद्धको बेला पढ्‍न पाएका अनि त्‍याग नगरेकाहरूले प्रचण्ड पाए भने त्‍याग गरेका अनि पढ्‍न नपाएहरूले आज विदेश पाए।

प्रिय क.प्रचण्ड, तपाईंको आगमनले ६४ सालदेखि यता हुन नसकेको विकासका कामहरूले अवश्‍य फड्को मार्ने छन्‌ भन्‍ने पूर्ण विश्‍वास लिएका छौं। सुरुमा तपाईंले नेपाल सिङ्गापुर बनाउँछु भन्‍नुभयो तर सिङ्गापुर नै बनाउन नसके पनि ३ ओटा मात्र स्थानीय तह भएको रुकुमपूर्वलाई सिङ्गापुर सरह बनाउनुहुन्‍छ होला भन्‍ने मेरो ठूलो आशा छ। यसको लागि पर्यटनको अति सम्भावना बोकेको रुकुमपूर्वले कृषि क्षेत्रमा पनि उत्तिकै सम्भावना राखेको छ। विजय हुनुभएपश्‍चात्‌ बीसौं वर्षपछि परेको रुकुमपूर्वलाई ५ वर्षको कार्यकालमा देशकै एउटा नमूना जिल्ला घोषणा गर्नुहोस्‌ भनी बिन्‍ती चढाउँदै तपाईंको आगमनलाई हार्दिक स्वागत गर्दछु। अभिवादन !

तपाईंको भलो चिताउने शहीदपुत्र,
विजय बुढा मगर 

(पुथा उत्तरगङ्गा गा.पा. वडा. नं. ३ (रन्‍मा) का वडाध्‍यक्ष बुढा २०५३ जेठ २० गते चौंरीखर्क बुकीमा शहादतप्राप्‍त प्रवेश बुढाका छोरा हुन्‌।)