डेविड वाटर्सको मगर खाम भाषामा भाषण (भिडियो)

अमेरिकी भाषावैज्ञानिक डेविड ई. वाटर्स सन् १९७० को दशकमा तकसेरामै बसेर त्यहाँको खाम भाषिकामा केन्द्रित भई व्याकरण, शब्दकोश लगायत विविध विषयमा अध्ययन अनुसन्धान गरेका थिए। वाटर्सलाई धेरैले एक भू-राजनीतिक रणनीतिकार मात्र नभई ख्रिष्चियन मिसनरीको एक अघोषित पादरीको रूपमा चिन्दछन्। उनको प्रस्तुतिको भावभङ्गी र हाउभाउमा त्यसको छनक देखिन्छ भने मन्तव्यमा समेत उनले त्यसको प्रसङ्ग जोडेका छन्। भुम्या पर्व २०६२ को अवसर पारी असार १ का दिन काठमाडौंको खुलामञ्चमा आयोजित उद्घाटन कार्यक्रममा वाटर्सले मगर खाम भाषामा व्यक्त गरेको मन्तव्यलाई जस्ताको तस्तै उतार गरी सम्पादक सुरवीन्द्र के पुनले नेपाली भाषामा अनुवाद गरेका छन् :
तकसेरा भाषिकाको मगर खाम भाषाको मन्तव्य---
पाइँलाइ ङाधो लिजे,
ङा जेखाम्ङि तुबु नेब्लो ङापाँरिजे। नेपालिलिँ जाँ ङामासैं। हैजैद खाम्ङिज ङापाँरिजे आर्क। आउ जेखार्ल हु ङादैव बनै खुसि ङालिजे। बनैं घ्यो मान् मनि ङाङुम्सिजे। आछिम्काव पाँ कोसै घ्यो जैन्या ङामाले। जाँ तुइँजा ज लिजे। हैद मनि तुबु नेब्लो ते सम्जिउज परिके।
ङादा जेजेपो ङाकेसो बेलाक ३६ वर्स ङादाज ओलेव। जे ख्वा-ख्वार जेमाजर्मिथाव। ह्वाबेलाक धोङिलाप्किदा बनै छेछेङुम्सिउ पोम् खार्लाव घ्याँ ज गेहुके। ह्वाबेलाक खाम् दान्याराइ यापो काङ लिजे लिने सुइज यामासैंयाउ। एम् सुइज मापैदुङार। हैजैद ङा ङाबातङ्ज ङाबाके जेलाइ खिम्ना। आज्याल् ह्वाबेलाकाव पाँ ते तुबु मुँलाउ पाँ स्यासो ज लिजे। ह्वाबेलाकाव मिर मनि तुबु नेब्लो बाहेक् सुज काथ्मान्दु माबाथार। जेपो, जेभेस् जेजिमि पो होङज ओलेव। जेलाइ उपुर् कताज ओमाचाहियाउ। जेक्वा मनि जेकुइवै जेजैयाव। जेपोला पनि जेमिज। ह्वाबेलाक आज्याल्काव पोला स्यासो ओमालेव। नो नाइके...(नाइक्).., हो स्यासोर मनि ओमालेव। पोम् ओवाक मनि ज्यो मनि जेजासियाव। काँबुल्, फुतु मनि जेजासियाव। आज्याल् होभरि अब मानाके हो चलन्भरि। ङादा ङाबायाव बेलाक हिताउज ओलेव। होबेलाक ङामिताउ पोरो मि खर्कज जेमारुँथाव। हिताउत मनि गेलाइ चाउसज जेसुम्सिके। 'बाचिके' हैलेद जेमापुलुइसि गेलाय, होलज जेपोलज जेसुम्सिके गेलाय। झिम् मनि जैद जेयासिके। ङादा मेफताव सेरो त ओलेव। छिंङि तुलाउ रिमाछुम्तुँल तुबु झिम् जैद जेयासिउ। होओय ओजोङि बनै धन्यवाद् लिजे।
हो ङादा जेखाम् ङाथैव छ्याम्किन्ज आउते बनै अचम्मलाव पाँ, बनै थैथै ङुम्सिउ पाँ मिताउज ङाथरैके ङाथैव छ्याम्किन्ज। ह्वाकिन् ङाध्याउनाभरि जम्म जेखाम्दा वाज ङाजैयाव। ह्वाकज ङाथरैके- जो पाँ तादि मनि आउराइ याखाम्ङिज बनै ज्यासो लिजे, बनैं उर्जिं लेउ पाँ तादि मनि, बनै पातलो पाँ तादि मनि, चाव-माचाव पाइँ जेखाम्ङि बनै ज्यासो। उपुर् सुइज जेखाम् परिन्या स्यासो माथरैर। बनै जिम्जा, बनै काम् मालागिउ पाँ मित्याउ ज थरैकेर। ङावाज जेखाम् बनै घ्यो ङाथरैके। [हु मि आई टुक योर ल्याङ्ग्वेज सिरियसलि - Who me I took your language seriously]।
इसोर्वय ओपाँ मनि जे जेखाम्ङिन्ज जैद ङायाचिके। हो मनि जे जेखाम्ङि बनै ज्यासो ताके। नो जेलाइ कर् लैन्या जोंङि माक। नो मनि जेखुसि ज लिजे, जेरैदि मनि जेमारैदि मनि। हो जेखुसिज लिजे। खालि होपाँल ओल्ज रैंजे। जे जेखाम् कातालज कम्ति ब माले। पाइँल ज्यासो लिजे। बनै ओर्जि लेव पाँ ताद मनि, बनै ङुमो पाँर मनि, बनै पुरानो खाम्र मनि हो किताब्लज लियार। हैजैर अब जे जेज्युजिबाजिराइ याखाम् मनि सितिमिति मामा:, अब रिहिनेज ले।
छिंङि बनै घ्यो खाम्ङिकाव व्याकरन् मनि जैद ङायिके। हो बेलायतल बनै उमिन् थासो पोलज प्रेसलज छापिसिके। नो किताब् जेलाइ कोचै काम् ओमालागिदि मनि आउ सन्सार्लाव बिद्वानर आउ सन्सार्लाव बिद्वान्राइ याखार्ल जे जेखाम् बनै घ्यो ज रैंजे। ताला मनि तुबुइ छुतो किताब्ल सर्दनैव- 'आउ स्यासो अचम्मलाव पाँ नेपालभरिल माले'। हैजैद जे जेखाम् वाज लिजे। होज रिहिके, होज बनै घ्यो रैंके। हो ब्याकरन्ङिज ताके। हैजैद आछिम् बनै ङाधो लिजे जेलाइ। आउ पत्र रायजोङि बनै अचम्मज ज ङाताके। बनै घ्यो मान् ङाङुम्सिजे। हैजैद ङा पाइँलाइ जेदो लिजे। आ:ज !
तकसेरा भाषिकाको मगर खाम भाषामा अभिव्यक्त मन्तव्यको नेपाली अनुवाद---
सबैलाई ढोग छ,
म तपाईंहरूको भाषाबाट एक दुई शब्द बोल्दछु। नेपालीबाट अलिक जान्दिन। त्यसैले खामबाटै बोल्दैछु अहिले। यो तपाईंहरूको माझमा आउन पाएकोमा धेरै खुशी छु। धेरै ठूलो मान पनि मानेको छु। आजको मन्तव्य खासै ठूलो बनाउने छैन। अलिक छोटो नै छ। तैपनि एक दुई शब्द त सम्झिनैपर्यो।
पहिला तपाईंहरूको ठाउँ पुगेको बखत ३६ वर्ष पहिले रहेछ। तपाईंहरू कोहीकोही जन्मिनुभएको थिएन। त्यो बेला ढोरको किनारैकिनार धेरै डरलाग्दो हिउँको बीचको बाटो नै आयौं। त्यो बेलामा खाम बोल्नेहरूको थातथलो कता पर्छ भन्ने कसैलाई थाहा थिएन। बाटो कसैले सिकाउन सक्नुभएन। त्यसपछि म एक्लै हिँडेँ तपाईंहरूलाई खोज्न। अहिले त्यो बेलाको आजकल त्यस बेलाको कुरा त एउटा सपनाको कुरा जस्तै छ। त्यसबेलाको मानिस एक दुई जना बाहेक कोही पनि काठमाडौं गएका थिएनन्। तपाईंहरूको ठाउँ, तपाईंहरूको भेष, तपाईंहरूको आफ्नो देश त्यतै थियो। तपाईंहरूलाई अरु कुनै आवश्यक थिएन। तपाईंहरूको लुगा पनि हातैले बुन्नुहुन्थ्यो। तपाईंहरूको जुत्ता पनि तपाईंहरूकै। त्यो बेलामा अहिलेको जुत्ता जस्तो थिएन। त्यो नाइके..(नाइक).., अरु त्यस्तै पनि थिएन। हिउँ पर्दा पनि ज्यो (दोचा) लगाउनुहुन्थ्यो। काम्लो, हाब्दुला पनि लगाउनुहुन्थ्यो। आजकल त्यो सब हराउँदै गएका छन् ती चलनहरू। पहिला म जाने बेला त्यस्तै थियो। त्यो बखत म जस्तो कुइरे फुस्रो मान्छे कहिल्यै हेर्नुभएको रहेनछ। त्यस्तो भएर पनि हामीलाई राम्ररी स्याहार्नुभो। 'जाऊ तिमीहरू' भनेर कहिल्यै गल्हत्याउनु भएन हामीलाई। त्यहीँ तपाईंहरूकै ठाउँमा स्याहार्नुभो। घर पनि बनाइदिनुभो। पहिले तल्लो सेरामा थियो। पछि तकको खोलातिरको साँघु सिराननिर एउटा घर बनाइदिनुभो। त्यो गुणको लागि धेरैधेरै धन्यवाद छ।
त्यसअघि तपाईंहरूको भाषा सुनेको दिनदेखि नै 'यो त बडो अचम्मको बोली पो, एकदमै सुनौं सुनौं लाग्ने बोली' जस्तो ठहर्याएँ, सुनेको दिनदेखि नै। त्यसपछि मेरो सबै ध्यानदृष्टि तपाईंहरूको भाषातिर मात्रै बनाएँ। त्यसबेलै ठहर गरेको थिएँ- जुन बोली भए पनि यिनीहरूको भाषाबाटै धेरै सजिलो छ, बडो ठेट मौलिकता भएको बोली भए पनि, बडो मसिनो बोली भए पनि, राम्रो-नराम्रो सबै तपाईंहरूको भाषाबाटै धेरै सजिलो। अरु कसैले पनि तपाईंहरूको भाषा लेखपढ गर्ने लायकको ठहर्याएनन्। धेरै सानो, धेरै काम नलागेको बोली जस्तै ठहर्याए। म मात्रै तपाईंहरूको भाषा बडो महान् ठहर्याएँ। [हु मि आई टुक योर ल्याङ्ग्वेज सिरियसलि - Who me I took your language seriously - जसले मलाई म तपाईंहरूको भाषाप्रति गम्भीरतापूर्वक लिइदियो।]।
ईश्वरको बोली पनि तपाईंहरूको भाषाबाटै बनाइदिएँ। त्यो पनि तपाईंहरूकै भाषाबाट धेरै सजिलो भयो। त्यो तपाईंहरूलाई कर (जबरजस्ती) लगाउने कारणले होइन। त्यो पनि तपाईंहरूको मर्जी हो, लिए पनि नलिए पनि। त्यो तपाईंहरूको मर्जी हो। सिर्फ त्यो बोलीमा ऊ आफू नै देखापर्छ। तपाईंहरूको भाषा कहीँकतै कमी छैन। सबैमा सहज छ। बडो मौलिकता भएको बोली भएर पनि, धेरै मीठा बोलीचाली पनि, धेरै पुराना भाषाशब्दहरू पनि त्यही पुस्तकमा छन्। त्यसपछि अब तपाईंहरूको जिजुबाजेहरूको भाषा पनि सितिमिति हराउँदैन, अब रहिरहनेछ।
पछि धेरै ठूलो आकारको खाम भाषाबाटै व्याकरण पनि बनाइदिएँ। त्यो बेलायतमा धेरै नाम कहलिएको ठाउँको प्रेसमा छापियो। त्यो पुस्तक तपाईंहरूलाई खासै उपयोगी नलागे पनि यो विश्वका विद्वान्हरू, यो विश्वको विद्वानहरूको माझमा तपाईंहरूको खाम भाषा धेरै विशाल देखिएको छ। अस्ति भर्खरै पनि एकजनाले अर्को पुस्तकमा लेखेका छन्- 'यो जस्तो आश्चर्यलाग्दो बोली नेपालभरि नै छैन'। त्यसकारण तपाईंहरूको भाषा धेरै नै विशाल देखियो। त्यो व्याकरणकै कारणले हो। यसरी आज धेरै ढोग छ यहाँहरूलाई। यो निमन्त्रणा-पत्र आएको कारणले धेरै आश्चर्य नै भएँ। धेरै ठूलो सम्मान लाग्यो। त्यसकारण म सबैलाई नमस्कार गर्दछु। यत्ति नै !
प्रतिक्रिया