प्रकृति रिसोर्टलाई ट्राभललाइफ सर्टिफेकेट

प्रकृति रिसोर्टलाई ट्राभललाइफ सर्टिफेकेट

शिवपुरी क्षेत्रको धापड्‍याम नजिकै रहेको प्रकृति रिसोर्ट र अर्गानिक फार्मले विश्‍वकै प्रतिष्‍ठित ‘ट्राभललाइफ’ प्रमाणपत्र पाएको छ। दिगो पर्यटनको क्षेत्रमा उत्कृष्‍ट काम गरेको आधारमा रिसोर्टले सो प्रमाणपत्र पाएको हो। 

यु.एन.डब्लु.टी.ओ.को संस्था ट्राभललाइफ युकेले रिसोर्टलाई यस्तो प्रमाणपत्र दिएको हो। दिगो विकास लक्ष्यहरूमा आधारित १ सय ४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइफ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुणकुमार श्रेष्‍ठले बताए। नेपालमा यसअघि तीनवटा होटेलले मात्र यस्तो प्रमाणपत्र पाएका छन्। 

नयाँ शैलीमा पर्यटन व्यवसाय चलाउने सोचका साथ श्रेष्‍ठले १२ वर्षअघि सो रिसोर्ट खोलेका थिए। त्यसबेला सो क्षेत्रमा आर्थिक गतिविधि थिएनन्।  ‘रिसोर्टको स्थापना वातावरणमैत्री पूर्वाधर विकास, अर्गानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणको आधारमा गरिएको हो,’ रिसोर्टका सञ्‍चालक श्रेष्‍ठले भने। अहिले प्रकृति रिसोर्ट काठमाडौं नजिकको लोकप्रिय गन्तव्य बन्दै गएको छ। 

यो प्रमाणपत्र नेपालको पर्यटन क्षेत्रको विकासकै लागि महत्त्वपूर्ण हुने रिसोर्टका सञ्‍चालक श्रेष्‍ठ बताउँछन्। ‘प्रकृति रिसोर्ट एन्ड अर्गानिक फार्मको ट्राभललाइफ प्रमाणीकरण केवल संस्थागत उपलब्धी नभएर नेपालको पर्यटन क्षेत्रको समग्र दीगोपनप्रति प्रतिबद्धताको प्रतीक हो, यो उपलब्धीले वातावरणीय र सामाजिक उत्तरदायित्वमा आधारित पर्यटन अभ्यासलाई नयाँ दिशा दिनेछ’, उनी भन्छन्- ‘कतिपय पर्यटकहरू ट्राभललाइफ प्रमाणीकरण भएका होटेलमा मात्र बस्दछन्। यसले गर्दा स्तरीय पर्यटक नेपाल भित्र्याउन मद्दत गर्छ, यो विषय बुझेर सरकारले पनि त्यसतर्फ काम गर्नुपर्छ ।’ 

अर्गानिक खेतीदेखि रिजेनेरेटिभ टुरिजमलाई समेत केन्द्रमा राखेर रिसोर्ट सञ्‍चालन भइरहेको श्रेष्‍ठ बताउँछन्।