भाषा मासिए संस्‍कृति मासिन्‍छ

आफ्‍नो भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनप्रति उदासीन रहँदा कैयौं भाषा र संस्कृति मासिएका छन् । समुदायले आफ्‍नो पहिचान र आत्‍मसम्मान गुमाएका छन् ।

भाषा मासिए संस्‍कृति मासिन्‍छ

संस्कृति जोगिन भाषा जोगिनुपर्छ, भाषा जोगिन संस्कृति जोगिनुपर्छ। भाषा र संस्कृति अन्तर्सम्बन्धित छन्। संस्कृतिको निर्माण, विस्तार र संवर्द्धनमा भाषाको महत्त्वपूर्ण भूमिका हुन्छ। भाषाको निर्माण, संरक्षण र संवर्द्धनमा संस्कृतिले पनि महत्त्वपूर्ण भूमिका सम्पादन गर्छ। संस्कृति नबुझी भाषा बुझ्‍न सकिँदैन। भाषा नबुझी संस्कृति बुझ्‍न सकिँदैन। भाषा मर्नु संस्कृति मर्नु हो। संस्कृति मर्नु भाषा मर्नु हो। सांस्कृतिक सम्पदाका रूपमा रहने भाषा संस्कृति नजोगिए मासिन्छ। भाषिक र सांस्कृतिक रूपमा जागरुक हुन नसके मौलिकता र आत्मसम्मान गुम्‍न सक्छ। 

भूमण्डलीकरण र सांस्कृतिक आक्रमणको समयमा आफ्‍नो भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका निम्ति अझ जागरुक र सक्रिय हुन आवश्यक छ। आफ्‍नो भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनप्रति उदासीन रहँदा कैयौँ भाषा र संस्कृति मासिएका छन्। समुदायले आफ्नो पहिचान र आत्मसम्मान गुमाएका छन्। भाषिक र सांस्कृतिक औपनिवेशीकरण आज पनि जीवित छ। वर्चस्वकारी भाषा र संस्कृतिको पीडा विभिन्‍न भाषा र संस्कृतिले खप्दै छन्। भाषिक र सांस्कृतिक आक्रमणका नयाँ-नयाँ रूप अगाडि आएका छन्। भाषिक एवं सांस्कृतिक आक्रमण र वर्चस्व अझ गहिरो र फराकिलो बनेको छ। 

डेभिड हेरिसन र ग्रेग एन्डरसनका अनुसार मानिसले आफ्‍नो भाषा बोल्न बन्द गरेपछि काम गर्न सक्ने अद्वितीय अन्‍तर्दृष्‍टि पनि गुमाउँछ। यस भनाइमा थोरै अतिशयोक्ति छ कि भन्‍ने लाग्‍न सक्छ, तर भाषाले मनुष्यको संज्ञानात्मक विकास र चिन्तन प्रक्रियामा निर्वाह गर्ने भूमिकालाई हेर्दा मातृभाषाबाट अन्य भाषातिर सर्दा वक्ताले यस्तो समस्याको सामना गर्नुपर्छ। भाषा मनुष्यको संज्ञानात्मक विकास र मनोविज्ञानसँग गहिरो गरी जोडिएको छ। गाइ डायस्चर जब हामी मातृभाषा सिक्छौं, सोच्‍ने विधि पनि सिक्छौं र यसले हाम्रो अनुभवलाई आकार प्रदान गर्छ भन्छन्। भाषा सिक्दा निर्माण हुने सोच्‍ने विधिसँग मातृभाषाबाट अन्य भाषातिर सर्दा गुमाइने अन्तर्दृष्‍टि सम्बन्धित छ। 

मातृभाषाबाट मानिसले आफूलाई जति सहज रूपमा व्यक्त गर्न र आफ्नोपन प्रदर्शन गर्न सक्छ, दोस्रो भाषाबाट गर्न गाह्रो हुन्छ। भाषा व्यवस्था संस्कृतिसँग जोडिने भएकाले यस्तो हुन्छ। कमै मानिस पछि सिकिएको भाषामा दक्ष हुन्छन्, तर पनि त्यो मातृभाषा समान हुँदैन। भाषामा संस्कृतिको प्रभाव उच्चारण, शब्द, व्याकरणात्मक कोटी आदि सबैतिर पर्छ। भाषा जैविक र मनोवैज्ञानिक वस्तु मात्र नभएर सामाजिक र सांस्कृतिक वस्तु पनि हो। यसलाई ऐतिहासिक र सामाजिक उत्पादनका रूपमा हेरिन्छ। यो मानव समाजको इतिहाससँगै विकास भएको संरचना हो। यो कसैको चाहनाको निर्मिति होइन। उत्पादन प्रणाली, श्रम विभाजन र सामाजिक आवश्यकताबाट यसको निर्माण भएको हो। भ्यालेन्टिन भोलोसिनोभले भाषालाई सामाजिक संवादको परिणाम मानेका छन् र अर्थलाई शब्दमा होइन, समग्र सामाजिक सन्दर्भमा हेर्नुपर्छ भनेका छन्। 

एस.हल भाषाले निश्‍चित समुदायको मूल्यलाई प्रतिनिधित्व गर्छ र समाजका सदस्यहरूका बीच संस्कृतिको आदानप्रदान भाषाका माध्यमबाट हुन्छ भन्छन्। भाषा विचार, ज्ञान, भावना, अनुभूति आदिलाई सञ्‍चार गर्ने माध्यम त हो नै, तिनलाई आकार प्रदान गर्ने माध्यम पनि हो। भाषा र संस्कृतिले सांस्कृतिक मूल्य व्यवस्थाको निर्माण गर्छन्। यो कार्य सामुदायिक अन्तर्क्रियाका माध्यमबाट गरिन्छ। परम्परा, विश्‍वास, मूल्य, ज्ञान, प्रथा आदिलाई संस्कृतिको रूपमा परिभाषित गरिन्छ। संस्कृतिको क्षेत्र फराकिलो छ। मनुष्य निर्मित दोस्रो प्रकृति भएका कारण यसको क्षेत्र फराकिलो भएको हो। भौतिक-अभौतिक वा मूर्त-अमूर्त संस्कृतिको योगका रूपमा यसलाई हेरिन्छ। भाषा अभौतिक संस्कृतिसँग सम्बन्धित छ। विभिन्‍न समुदायले बोल्ने मातृभाषामा ती समुदायको संस्कृतिको स्पष्‍ट प्रभाव रहन्छ। मातृभाषाको आकार निर्माणमा मातृभाषी समुदायको संस्कृतिको महत्त्वपूर्ण भूमिका हुन्छ। एडवर्ड सपिर भाषालाई संस्कृतिको अभिन्‍न अङ्गका रूपमा लिन्छन्। उनको भनाइ भाषामा संस्कृतिको प्रभाव र भूमिकासँग सम्बन्धित छ। उनी संस्कृति भाषाविना अस्तित्वमा आउँदैन भन्छन्। 

बेन्जामिन लि हुर्फ भाषाले हाम्रो सोच्‍ने तरिका र विश्‍वदृष्‍टिलाई प्रभावित गर्छ भन्छन्। डेल हाइम्स भाषा बुझ्‍न संस्कृति बुझ्‍न मात्र आवश्यक छ भन्दैनन्, भाषिक व्यवहारलाई सामाजिक सन्दर्भमा अध्ययन गरिनुपर्ने उल्लेख पनि गर्छन्। भाषिक व्यवहारलाई सांस्कृतिक दृष्‍टिबाट अध्ययन एवं विश्लेषण गर्न उनले ‘स्पिकिङ मोडल’ नै प्रस्तुत गरेका छन्। माइकल ह्‍यालिडे भाषालाई सामाजिक अनुभवको निर्मितिका रूपमा लिँदै सामाजिक सन्दर्भमा प्रयोग हुने माध्यमका रूपमा चर्चा गर्छन्। भाषा र संस्कृतिका सम्बन्धका बारेमा ‘निर्धारणवादी’, ‘सापेक्षतावादी’ दृष्‍टिकोणका सीमाबाट बच्दै यसका बारेमा विचार गरिनुपर्छ। भाषा र समाजको सम्बन्ध एवं एकले अर्कालाई पार्ने प्रभावका बारेमा अध्ययन गर्दा यस्ता दृष्‍टिकोण विकसित भएका हुन्। सपिरको चिन्तनलाई ‘निर्धारणवाद’ र हुर्फको चिन्तनलाई ‘सापेक्षतावाद’ का रूपमा लिइन्छ। 'सपिर हुर्फ हाइपोथेसिस’ का रूपमा पनि यसलाई उल्लेख गरिन्छ। यस चिन्तनका आफ्‍ना सीमा भए पनि भाषालाई समग्र संस्कृतिसँग जोडेर अध्ययन र विश्लेषण गर्ने कुरामा यी दुवैको विशेष योगदान छ। 

भाषा परिवेशबाट प्रभावित हुन्छ र भाषा विज्ञानमा यसको तात्पर्य समाज, त्यसको संस्कृति र मूल्य व्यवस्था हुन्छ। सामाजिक संरचना अनुसार भाषाले व्यावहारिक रूपले आकार ग्रहण गर्छ। समाजभाषावैज्ञानिकहरू भाषाको संरचनाका माध्यमबाट सामाजिक संरचनाको पनि अनुमान गर्न सकिन्छ भन्छन्। उनीहरू भाषामा सामाजिक तथ्य अन्तर्निहित हुन्छ भन्‍ने मान्छन्। उनीहरूको धारणा सामाजिक संरचनाले भाषाको संरचना र व्यवहार दुवैलाई निर्धारित र नियन्त्रित गर्छ भन्‍ने रहेको पाइन्छ। सम्प्रेषणमा भूगोल, उमेर, सामाजिक पदसोपान क्रम, वर्गभेद आदिको प्रभाव पर्नुको कारण यही हो। उच्चारण, शब्दचयन, वाक्यरचना आदि सबैमा यसको प्रभाव पर्छ। समाज भन्‍नु नै मूलतः सांस्कृतिक एकाइ र व्यवस्था हो। 

विलियम लेबोभले समाजसँग भाषालाई समन्वित गरेर हेर्दा मात्र भाषासम्बन्धी ज्ञानको सही प्रकृति निर्धारण सम्भव छ भनेर यसै सन्दर्भमा भनेका हुन्। उनले सामाजिक वर्ग, जातीयता, उमेर, लिङ्ग, समुदायसँग भाषा गहिरो गरी जोडिन्छ भनेका छन्। उनी भाषाले खास समुदायको सांस्कृतिक एकता, स्वतन्त्रता र सामाजिक अन्तर्सम्बन्धलाई झल्काउँछ भन्छन्। परिस्थिति अनुसार भाषा बदलिने कुरा संस्कृतिसँग सम्बन्धित रहेको छ भन्‍ने उनको धारणा छ। उनले यसलाई ‘स्टाइल सिफ्‍टिङ’ भनेको पाइन्छ। संवाद, संरचना, वाक् व्यापार, प्रोक्ति, भाषा प्रयोग आदिलाई समाजसँग जोडेर अध्ययन गर्दा मात्र भाषा र यसको व्यावहारिक प्रयोजनका बारेमा सही दृष्‍टिकोण निर्माण गर्न सकिन्छ। भाषा विशुद्ध व्याकरणिक संरचनामा मात्र बाँधिदैन। भाषाको प्रयोगले व्याकरणको नियमलाई पनि उल्लंघन गर्छ। यसको कारण समाजको भाषा व्यवहार हो। समाजको नियम र मान्यताबाट भाषाको प्रयोग र संरचना प्रभावित हुन्छ। भाषा न शब्दहरूको समूह मात्र हो, न त शुद्ध व्याकरणिक व्यवस्था मात्र। भाषाको मूल प्रयोजन र सन्दर्भ सम्प्रेषण व्यापार हो र यसले आफ्‍नो संरचनात्मक सीमालाई अतिक्रमण पनि गर्छ भन्‍ने समाजभाषावैज्ञानिकहरूको भनाइलाई यहाँनेर ध्यान दिन आवश्यक छ। भाषा नीति, भाषा सम्पर्क, भाषा संघर्ष, भाषा समुदाय, भाषा नियोजनजस्ता विषय यसै सन्दर्भमा महत्त्वपूर्ण बन्छन्। 

भाषाको संरचनामा देखिने भिन्‍नता संस्कृतिसँग जोडिन्छ। सबै भाषाको संरचना उस्तै हुँदैनन्। भाषाहरू एकअर्कादेखि भिन्‍न हुन्छन्। भाषाको विशेषता हो यो। नेपाली भाषा र नेपालका अन्य कतिपय मातृभाषाका संरचना समान छैनन्। व्याकरणिक संरचनामा देखिने भिन्‍नताको निर्माण र विकासमा संस्कृतिको योगदान रहन्छ। लिङ्ग, वचन, आदरार्थी लगायतमा यस भिन्‍नतालाई नियाल्न सकिन्छ। भाषाको संरचनात्मक अवयवको निर्माण सांस्कृतिक संरचनाभित्रै हुन्छ। नाता-सम्बन्धका शब्द, सर्वनाम प्रयोग, सम्बोधनको तरिका, शिष्‍टाचार, विनम्रता, आशीर्वाद, विरोध, सहमति, असहमति, श्लील, अश्लील आदिजस्ता प्रयोगहरू संस्कृतिद्वारा निर्मित हुन्छन्। नेपाली भाषामा पाइने आदरार्थीको श्रेणीक्रम वर्गभेद र संस्कृतिसँग जोडिएको छ। शब्द, पदावली, वाक्य, टुक्का, उखान आदि सबैमा सांस्कृतिक संरचना र मूल्य व्यवस्था प्रतिबिम्बित हुन्छन्। व्याकरणिक संरचनाले सांस्कृतिक अर्थलाई संवहन गर्छ। जर्ज ग्युसडोर्फ भाषा र विचारलाई कहिल्यै अलग गर्न नसकिएजस्तै भाषा र संस्कृतिलाई पनि अलग गर्न सकिँदैन, न त अलग गर्न नै मिल्छ भन्छन्। भाषिक संरचनाको अध्ययन सामाजिक सांस्कृतिक व्यवस्थादेखि अलग रहेर गर्न सम्भव छैन।

मातृभाषामा शिक्षाको प्रभावकारिता भाषाको सांस्कृतिक पक्षसँग सम्बन्धित छ। मातृभाषामा शिक्षा प्रदान गर्ने समुचित व्यवस्था नहुँदा नेपालमै लाखौं विद्यार्थी प्रभावित छन्। दोस्रो भाषामा शिक्षा प्राप्‍त गर्दा उनीहरूको संज्ञानात्मक क्षमता र मनोविज्ञानमा प्रतिकूल असर पर्छ। भिन्‍न संस्कृतिको मूल्य व्यवस्थाबाट प्रभावित भिन्‍न भाषासँग खेल्दै आफ्‍नो क्षमताको पूर्ण विकास गर्न गाह्रो हुन्छ। मानिसमा एकभन्दा धेरै भाषा सिक्न सक्ने क्षमता हुन्छ। अर्को भाषा पनि उसले राम्रोसँग सिक्न, त्यसमा दक्ष हुन र सम्प्रेषण गर्न सक्छ। तर यो मातृभाषा समान हुँदैन। मातृभाषा व्यक्तिको समग्र जीवन प्रणालीसँग छुट्टयाउनै नसकिने गरी एकीकृत हुन्छ। यद्यपि भाषामा वर्ग र समुदायभन्दा माथि रहेर सम्प्रेषणको कार्य गर्न सक्ने क्षमता हुन्छ। तर यस यथार्थलाई अति सरलीकृत गरेर मातृभाषाको विशिष्‍टतालाई न्यून गर्न मिल्दैन, न त भाषाको संस्कृतिसँगको सम्बन्धलाई नै उपेक्षा गर्न मिल्छ। अङ्ग्रेजी भाषा विश्‍वमै माध्यम भाषाका रूपमा छ। तर यसबाट एक खास संस्कृतिको संवहन पनि हुँदै आएको छ। अङ्ग्रेजी माध्यम भाषा मात्र होइन, संस्कृति संवहनको माध्यम पनि हो। उच्चारण, हाउभाउदेखि समग्र सांस्कृतिक संरचनामा यसको असर पर्छ। सांस्कृतिक समरूपताको निर्माणमा यस भाषाको ठूलो भूमिका छ। वर्चस्वकारी भाषाका रूपमा यसलाई लिइन्छ। मातृभाषा, मातृभाषामा शिक्षा र यसको विकासमा यसले खडा गर्दै आएको व्यवधान गम्भीर छ। 

अङ्ग्रेजी भाषामा दिइने शिक्षाप्रतिको आकर्षण अङ्ग्रेजी भाषाको वर्चस्व, यसका आर्थिक, राजनीतिक पक्ष र लाभसँग जोडिएको छ। राज्य एवं अभिजातवर्गका नीति तथा दृष्‍टिकोण मात्र यसका निम्ति जिम्मेवार छैनन्, स्वयं भाषिक समुदायका कमजोरी पनि जिम्मेवार छन्। भाषा अध्ययनका माध्यमबाट संस्कृति बोध र भाषाका माध्यमबाट संस्कृतिको शिक्षा भन्‍ने रबर्ट पोलित्जरको कथनलाई यसै सन्दर्भमा लिन सकिन्छ। संस्कृतिविना भाषा सिकाइ अधुरो रहन्छ भन्‍ने उनको दृष्‍टिकोण भाषाको सांस्कृतिक आयामसँग जोडिएको छ। मातृभाषामा शिक्षा प्रभावकारी पढाइ र सिकाइसँग मात्र सम्बन्धित छैन, भाषा एवं संस्कृतिको संरक्षण र संवर्द्धनसँग पनि सम्बन्धित छ। 

भाषाले संस्कृतिलाई प्रतिविम्बित गर्छ। इतिहास, परम्परा, मूल्य, विश्‍वदृष्‍टि, विचार, सामुदायिक परिचय आदि भाषाका माध्यमबाट प्रतिविम्बित र सम्प्रेषित हुन्छन्। भाषाकै माध्यमबाट संस्कृतिको सारतत्त्वले अभिव्यक्ति पाउँछ। भाषालाई संकेतहरूको प्रणालीका रूपमा मात्र नलिएर सामाजिक क्रियाको माध्यमका रूपमा लिने मलिनोवस्कीको दृष्‍टिकोण यही यथार्थसँग सम्बन्धित छ। भाषा निर्जीव उपकरणका रूपमा नरहेर संस्कृतिको पोषिकाको रूपमा रहन्छ। ब्लुमफिल्डले भाषाको स्वरूप र त्यसको संस्कृतिको ज्ञानबिना भाषा पढाउनुको अर्थ बालबालिकाको कैयौं वर्ष बर्बाद गर्नु हो भन्छन्। मातृभाषा र शिक्षाको साइनो भाषिक मात्र नभएर सांस्कृतिक विषय पनि हो। 

संस्कृतिले भाषालाई समृद्ध गर्न योगदान दिन्छ। भाषाको समृद्धिको तात्पर्य भाषाको विस्तार मात्र होइन, भाषिक सामर्थ्यको विकास पनि हो। समाजमा परिवर्तन आउँदा भाषामा पनि परिवर्तन आउँछ। भाषाको परिवर्तनशील चरित्रलाई सामाजिक-सांस्कृतिक प्रयोजनसँग सन्दर्भित गरेर हेरिनुपर्छ। आर्थिक, राजनीतिक परिवर्तन र विकास एवं वैश्‍विक पर्यावरणको प्रभाव पनि भाषामा पर्छ, तर सामाजिक सांस्कृतिक परिवर्तनको प्रभाव व्यापक र गहिरो हुन्छ। सामाजिक सन्दर्भ र सांस्कृतिक अनुभवले भाषाका विविध पक्षमा योगदान दिन्छन्। सांस्कृतिक प्रतिमान र मूल्यले भाषाको प्रयोग, सञ्‍चारशैली, औपचारिक, अनौपचारिक अभिव्यक्तिका तरिका आदिलाई प्रभावित गर्छन्। भाषिक विविधतालाई आकार प्रदान गर्न संस्कृतिको महत्त्वपूर्ण भूमिका हुन्छ। भिन्‍न-भिन्‍न भाषा र भाषिकाहरूले सांस्कृतिक पहिचानलाई प्रतिविम्बित गर्छन्। सांस्कृतिक सन्दर्भले अर्थ स्पष्‍ट गर्न योगदान दिन्छ। संस्कृतिले भाषाको संरक्षण र संवर्द्धनमा इतिहासदेखि नै योगदान दिँदै आएको छ। 

नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ एकातिर अङ्ग्रेजीको प्रभाव बढ्दै छ, सांस्कृतिक आक्रमण तीव्र हुँदैछ। अर्कातिर भाषिक र सांस्कृतिक समुदायमा यस विषयप्रति अपेक्षित गम्भीरता पाइँदैन। मातृभाषा र मौलिक संस्कृतिमाथि यसको गम्भीर असर परेको छ। मातृभाषा अभियन्ता र सीमित प्राज्ञिक व्यक्तित्वहरूमा केही गम्भीरता देखिए पनि भाषिक समुदायमा अपेक्षित गम्भीरता नदेखिँदा भाषाको संरक्षण र संवर्द्धनमा असर पर्नु स्वाभाविक छ। नेपाली र अन्य मातृभाषीहरूमा देखिएको अङ्ग्रेजी भाषाप्रतिको आकर्षण छक्कलाग्दो छ। राज्यका नीतिगत कमजोरीलाई देखाएर उम्किने ठाउँ छैन। राज्यमा कमजोरी छन्, कमजोरी भाषिक समुदायमा पनि छन्। भाषिक अपशरण एवं संस्कृतिमा सङ्‌करीकरण र पश्‍चिमीकरण बढ्दो छ। जीवनमूल्य त्यसै अनुरूप निर्माण हुँदै छ। सांस्कृतिक साम्राज्यवाद र भाषिक साम्राज्यवादका विषयमा भाषा र संस्कृति दुवै क्षेत्रमा त्यति चर्चा भएको पाइँदैन। भाषिक र सांस्कृतिक आक्रमणको प्रतिवाद कमजोर छ। भाषा मासिए संस्कृति मासिन्छ र संस्कृति मासिए भाषा पनि मासिन्छ भन्‍ने चेतना विगतको तुलनामा अझ बलियो हुनुपर्ने हो, तर स्थिति त्यस्तो छैन। 

संसारका सबै मुलुकहरूको पहिचान मूलतः भाषा एवं संस्कृतिका माध्यमबाट परिभाषित हुन्छ। नेपालको पहिचान बहुभाषा र बहुसंस्कृति हो। यसको आफ्‍नो इतिहास, मौलिकता र चरित्र छ। यसको संरक्षण र संवर्द्धनबाटै हाम्रो अस्मिता जीवित रहन सक्छ। भाषा र संस्कृति जोगाउन भाषा र संस्कृति बीचको सम्बन्धलाई गहिराइमा बुझ्‍न र त्यसअनुरूप अघि बढ्न आवश्यक छ। राज्यको भूमिका यस सन्दर्भमा निकै महत्त्वपूर्ण हुन्छ। अझै पनि राज्य पुरानो मानसिकताबाट मुक्त भइसकेको छैन। भाषिक समुदाय आत्मविसर्जन वा आफ्नो मौलिक 'स्व'लाई बिर्सने कुराबाट पनि मुक्त हुनुपर्छ र भाषा एवं संस्कृतिको संरक्षण र संवर्द्धनलाई उच्च प्राथमिकतामा राख्‍नुपर्छ। भाषिक एवं सांस्कृतिक आक्रमणको प्रतिवाद बलियो गरी गर्न सक्नुपर्छ। 

 

(२०८२ असार २८ मा प्रकाशित प्रस्‍तुत लेख रातोपाटीडट्‌कम्‌बाट साभार गरिएको हो ।)