पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका
नेपाल प्राकृतिक सुन्दरताको धरोहर, पर्यटकको आकर्षणको केन्द्रविन्दु, पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको एउटा वैभवशाली मुलुक भएको तथा पर्यटकीय व्यवसायमूलक अर्थव्यवस्था वा समृद्धिको सूचक भएकोले यसको उचित विकास र व्यवस्थापन गरी सम्भावित चुनौतिलाई समाधान गर्ने पक्षतर्फ सम्बन्धित सरोकारवालाको ध्यान केन्द्रित हुनुपर्दछ।

'पर्यटन' शब्दको शाब्दिक अर्थ भ्रमण हो। व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन संगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलापबाहेक अरू उद्देश्यका लागि यात्रा गर्ने मानिसहरूलाई जनाउँछ। अहिले विश्वमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ। यसरी देश-विदेश घुम्ने, महत्वपूर्ण स्थलहरूको भ्रमण गर्ने, संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, जीवनशैलीको अध्ययन गर्ने, ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरूमा अध्ययन अनुसन्धान गर्ने, प्राकृतिक सौन्दर्यमा रमाउने जस्ता विभिन्न उद्देश्य बोकेर भ्रमण गर्नेहरू पर्यटक हुन्।
सामान्य अर्थमा 'सञ्चार' भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एक-अर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ। एक-अर्काबीच सूचना, विचार, धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ। सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो। तसर्थ सञ्चार मानवजीवनको लागि नभई नहुने कुरा हो।
नेपालको सन्दर्भमा पर्यटन अर्थतन्त्रको मेरूदण्ड नै हो। पर्यटन क्षेत्रको विकासले नै मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन सक्दछ। पर्यटन विकासमा विभिन्न पक्षको भूमिका रहन्छ। जसमा सञ्चार क्षेत्रको पनि अहम् भूमिका रहन्छ। सञ्चारको सहयोग विना पर्यटन प्रवर्द्धन गर्न सकिँदैन। पर्यटन व्यवसायलाई मूर्त रूप दिन र यस व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक प्रचारप्रसारमा सञ्चारको भूमिका बढी रहन्छ। स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले पर्यटकीय स्थलहरूको पहिचान, खोज र तीसँग सम्बन्धित समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरी पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सञ्चारको महत्वपूर्ण भूमिका रहन्छ। नेपालका हरेक प्रदेश र जिल्लामा मनोरम तालतलैया, धार्मिक आस्थाका मन्दिरहरू, झरनाहरू, गुफा, संग्रहालय लगायतका स्थलहरू प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन।
यस्ता पर्यटकीय सम्भावना बोकेका स्थल र क्षेत्रहरूको प्रचारप्रसार गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्दछन्। त्यसैले ओझेलमा परेका पर्यटकीय स्थलहरूको बारेमा समाचारलाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरी त्यहाँको सम्रग पक्ष र प्राकृतिक सुन्दरता, विशेषता, पशुपंक्षी, भेषभूषा, खानपान, संस्कृति आदिबारे फरक-फरक तौरतरिकाबाट समाचार बनाएर विश्वव्यापी प्रचार रणनीति अपनाउन सके बाह्य पर्यटकहरूको लागि पनि नेपाल आकर्षणको गन्तव्य बन्न सक्दछ।
अहिलेसम्म नेपालमा पर्यटनको विकास गर्दा केही उच्च हिमशिखर, धार्मिक वा ऐतिहासिक महत्वको स्थानहरू वा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरूलाई नै महत्व दिने गरिएको छ। तर पर्यटनको विकासका सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि ध्यान जानुपर्ने आवश्यकता छ। त्यो हो ग्रामीण पर्यटन। ग्रामीण पर्यटनलाई विकास गर्ने प्रयत्न गरियो भने त्यसले पर्यटनको विकासमा एउटा नयाँ आयाम थप्ने छ।
अर्को शब्दमा त्यसले पर्यटनको विकासमा गुणात्मक फड्को नै ल्याउने छ। ग्रामीण पर्यटनले दूरदजारका ग्रामीण क्षेत्रहरूमा विकास पुग्नुका साथै आम जनताहरूलाई प्रत्यक्ष रूपले लाभ पुग्नेछ। सरकारले ग्रामीण पर्यटनको विकासका लागि कुनै ठोस योजना बनाएको देखिँदैन। अहिले पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटनप्रति पर्यटकहरूको रूचि बढ्दै गएको छ।
नेपाल गाउँ नै गाउँको देश हो। प्रत्येक गाउँका आ-आफ्ना बेग्ला-बेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरू छन्। ती सबै पर्यटनका विषयहरू हुन्। ती सम्पदाहरूलाई व्यवस्थित गरेर पर्यटनको विकास गर्न सकिन्छ। पर्यटनसित गाउँहरू जोडिएपछि पर्यटनको विकास हुन जान्छ। त्यसको अर्थ यो पनि हो कि ग्रामीण पर्यटनको विकास हुनु नै गाउँहरू पनि विकास हुँदै जानु हो। त्यसरी ग्रामीण पर्यटनले पर्यटन क्षेत्रमा एउटा नयाँ आयाम थप्ने र त्यसमा गुणात्मक फड्को ल्याउने छ।
मानिसको व्यक्तिगत पहिचान भनेको उसले अवलम्बन गरेको धर्म र संस्कृति हो। भौगोलिक प्रभाव वा धार्मिक कारणले त्यो एक ठाउँको मानिसको भन्दा अर्को ठाउँको मानिसको भिन्दै हुनसक्छ। कतिपय अवस्थामा एकै धर्मका मानिसहरूको परम्परा र संस्कृति फरक पनि हुनसक्छ। धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगीत, मानिसका चासोका विषय हुन् भने त्यस विषयसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरू पर्यटकीय रूपमा कहिलै पुराना हुँदैनन्। यिनीहरूले मानिसका लागि त्यत्तिकै दर्शनीय महत्व बोक्दछन्।
विशेषगरी विकसित देशहरूभन्दा अविकसित देशहरूले बढी महत्व राखेका छन्। विकासले ल्याएको परिवर्तन र व्यस्तता अविकसित देशहरूमा कम भएकाले यस्तो देखिएको हो। पर्यटनको महत्वका कारण अहिले पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको खोजी संरक्षण र विद्यमान संस्कृति एवं परम्परालाई पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्दछ।
पर्यटन र वातावरण एक-अर्कामा ज्यादै नजिकको सम्बन्ध राख्दछन्। किनभने, मानिस अनुकूलको वातावरण भएन भने त्यो स्थानमा पर्यटनको कुनै सम्भावना रहँदैन। प्रकृतिबाट प्राप्त वातावरणलाई व्यवस्थित गरी पर्यटनको विस्तार गर्न भने सकिन्छ। डाँडा, पर्वत, हिमाल, वनजंगल, जीवजन्तु, वनस्पति, ताल, झरना, नदी, हावापानी आदि सबै कुराहरू वातावरणभित्र पर्दछ। सामान्यतया पर्यटकहरू आफ्नो व्यस्त र भीडभाड वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा यात्रा गर्न चाहन्छन्, जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट व्यहोर्नु पर्दैन।
स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नु नै पर्यटकको मुख्य उद्देश्य हुन्छ। त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ। पृथ्वीका विभिन्न क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक वातावरण पाइन्छन्। कतिपय अवस्थामा जो आफैं मानवका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो, मनमोहक र चुनौतिपूर्ण हुनसक्छन्। जसमा सबैखाले पर्यटकहरू रमाउन सक्दछन्। कतिपय स्थानहरू त पर्यटकहरूले स्वस्थ्य पर्यटनका रूपमा पनि उपयोग गरिरहेका हुन्छन्।
विश्वको कुनै पनि भूगोलको हरेक मानिस घुमफिर गर्न रमाउँछ। नेपालमा वाह्य पर्यटकहरू हिमाल र जैविक विविधता अर्थात् प्रकृति, वनस्पति, जनावर, चराहरू आदि हेर्न नेपाल आँउछन्। नेपालमा ५ हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन्। साना-ठूला गरेर नदी, खोलानालाको संख्या पनि ६ हजारभन्दा बढी छन्। देशभर गरिेएको अध्ययनका क्रममा ५ हजार ३ सय ५८ वटा ताल भेटिएका छन्। संरक्षणमा बढी चुनौतिमा रहेका र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन्। ती ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन्। ताल क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा पनि चिन्ने गरिन्छ। नेपालका तालतलैयालाई 'एसियाका वाटर टावर’ पनि भन्ने गरिन्छ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरूको सहकार्य आवश्यक छ। पर्यटनको विकासले देशको अर्थतन्त्रमा सुधार आउन सक्छ। यस विषयमा सबै निकाय गम्भीर हुन जरूरी छ। ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेका पर्यटकीय क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ। नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पुर्याउन नसक्दा पर्यटकीयस्थल ओझेलमा परेका छन्। सरकारले त्यस्ता क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्नुपर्दछ।
पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। पर्यटन व्यवसाय निजी क्षेत्रबाट चल्ने हो। पछिल्लो समय पर्यटनको विकासको लागि निजी क्षेत्रको लगानी हुन थालेको छ। निजी क्षेत्रको लगानीबाट पर्यटनलाई लक्षित गरी पर्यटन उद्योगहरू स्थापना भएका छन्। पर्यटनको क्षेत्रमा निजी क्षेत्रको लगानीमा फन पार्क, भ्यूटावर, ड्रिमपार्क र होटलमा भएको छ। पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षण हुन थालेपछि पर्यटनको पूर्वाधार बढेको छ। घुमफिरको संस्कृति विकास भएको छ। गाउँ-गाउँमा घरबास अर्थात् होमस्टे सञ्चालनमा आएका छन्। घुमफिरको संस्कृतिलाई ‘क्यास’ गर्दै निजी व्यवसायीहरूले फनपर्क निर्माण गर्न थालेका छन्। पर्यटनको क्षेत्रमा यसलाई सकारात्मक कार्य मान्नुपर्दछ।
मुलुकको पर्यटन प्रवर्द्धन र विकासका लागि सञ्चारमाध्यमको पनि उल्लेखनीय भूमिका रहेको हुन्छ। जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ। त्यसका लागि सञ्चारमाध्यमले विशेष योगदान गरेको छ र हाल संसारभरिकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो व्यवसायका रूपमा परिणत भइसकेको छ। सञ्चारको तीव्र विकास र विश्वव्यापीकरण हुनु, इन्टरनेटको सहज पहुँच हुनु, विश्व एक गाउँ अर्थात् संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरू स्थापित र विकसित हुँदै जानु, शिक्षा, खेलकुद, सभा-सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएको छ।
यो सूचनाको समय हो। सञ्चारको युग हो। आज हरेक क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सञ्चार अपरिहार्य भएको छ। पर्यटनको प्रवर्द्धनमा सञ्चारको भूमिका अझ महत्वपूर्ण हुन्छ। आन्तरिक हुन् वा बाह्य पर्यटक, उनीहरूले सञ्चारमाध्यमबाटै कुनै पनि पर्यटकीय ठाउँको बारेमा जानकारी हासिल गरेर त्यहाँ पुग्ने इच्छा, चाहना र तत्परता राख्छन्। यसले गर्दा पनि पर्यटन प्रवर्द्धनमा सञ्चार महत्वपूर्ण मात्र नभई नहुने पाटो बनेको छ।
अझ पत्रकारिताको द्रुत विकाससँगै समग्र पत्रकारितामा बिटमा आधारित पत्रकारिता अघि बढेको छ। त्यसमा पर्यटन पत्रकारिता एउटा बिट बनेको छ। पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ। सूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, उत्प्रेरित गर्नु र अभिप्रेरणा दिनु पत्रकारिताको उद्देश्य हुन्। यी उद्देश्य पूरा गर्ने काम सञ्चारकर्मी अर्थात् पत्रकारको हो। पर्यटन प्रवर्द्धन गर्ने कार्य पनि यिनै उद्देश्य अन्तर्गत पर्दछ। अर्थात् यिनै उद्देश्यमा केन्द्रित-आधारित रहेर पर्यटकीय क्षेत्रबारे प्रवर्द्धन, विकास र विस्तारको काम हुन्छ। ग्रामीण पर्यटन क्षेत्रको प्रवर्द्धनमा स्थानीय तथा क्षेत्रीय सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुन्छ। कतिपय अवस्थामा स्थानीय सञ्चारमाध्यमले जब पर्यटकीय क्षेत्रका बारेमा विषय उठान गर्दछन्, तब राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको पनि ध्यान तानिन्छ। यसरी सञ्चार क्षेत्रमा पनि तहगत रूपमा पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। जुन कारणले पर्यटन प्रवर्द्धनमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
पछिल्लो समय सबै सञ्चारगृहले सञ्चारकर्मीहरूलाई उनीहरूको इच्छाअनुसार पत्रकारिता बिट दिने गरेका छन्। बिट पत्रकारिताले पर्यटन प्रवर्द्धनमा खोजी पत्रकारिताको विकास भएको छ। लेखन क्षमता भएका सञ्चारकर्मीहरूले पर्यटनका क्षेत्रमा धेरै कलम चलाउँदै आएका छन्। पर्यटकहरूका लागि गन्तव्य बनेका ऐतिहासिक, पुरात्वातिक तथा धार्मिकस्थलहरू मात्र होइन बिट पत्रकारिताले ग्रामीण क्षेत्रमा चर्चामा आउन नसकेका पर्यटकीय स्थलहरूका बारेमा पनि खोज अनुसन्धान गर्दै पर्यटकहरूलाई आकर्षण गर्ने खालका महत्वपूर्ण समाचार, लेख र फिचर प्रकाशित भएका छन्।
पर्यटनको क्षेत्रमा कलम चलाउने व्यक्तिहरूको संख्या पछिल्लो समयमा वृद्धि हुँदै गएको छ। बिटगत पत्रकारिताको विकासले पर्यटन क्षेत्रको सम्भावना र समस्यालाई उजागर गर्नका लागि सहयोग गरेको छ। सञ्चारमाध्यमले बिट छुट्टयाएर काम गर्न लगाउँदा पर्यटनको क्षेत्रमा विषयगत रूपमा गहिरो अध्ययन, सुक्ष्म जानकारी मात्र होइन, लामो समय पर्यटन बिटमा कलम चलाउने सञ्चारकर्मीहरू पर्यटन क्षेत्रको विशेषज्ञता प्राप्त गर्न सकेका छन्।
पर्यटन प्रवर्द्धन गर्नका लागि सबै स्थानीय पालिका, समन्वय समिति, समाजसेवी र सबै दलहरू सक्रिय क्रियाशील हुनुपर्दछ। सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आकर्षित गरी अधिक लाभ लिनसक्ने क्षमता बढाउनुपर्दछ। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिन्छ।
प्राकृतिक सौन्दर्यलाई सञ्चारको माध्यमबाट देश-विदेशमा प्रचारप्रसार र प्रशिक्षण कार्यक्रम गरे देशमा वैदेशिक आम्दानीको स्रोत बढ्छ। देशमै रोजगारीको अवसर सिर्जना भई युवाहरूले विदेशमा पसिना बगाउन जानुपर्ने बाध्यताको अन्त्य हुन सक्दछ। त्यसैले पर्यटन विकासमा सरकार गम्भीर हुन जति आवश्यक छ, उत्ति नै भएका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ।
विश्व पर्यटन संगठनले अंगीकार गरेको संकल्पलाई स्थानीय समुदायको जीवनस्तर उकास्न र उनीहरूको गौरव र स्वाभिमानपूर्ण जीवनयापनका लागि पर्यटनमा सरकारी लगानी बढाउँदै जानुपर्दछ। नेपाल प्राकृतिक सुन्दरताको धरोहर, पर्यटकको आकर्षणको केन्द्रविन्दु, पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको एउटा वैभवशाली मुलुक भएको तथा पर्यटकीय व्यवसायमूलक अर्थव्यवस्था वा समृद्धिको सूचक भएकोले यसको उचित विकास र व्यवस्थापन गरी सम्भावित चुनौतिलाई समाधान गर्ने पक्षतर्फ सम्बन्धित सरोकारवालाको ध्यान केन्द्रित हुनुपर्दछ। यसका लागि सञ्चारक्षेत्र, सञ्चारकर्मी, सरोकारवाला सबैसँगको सहकार्य जरूरी छ।
प्रतिक्रिया