१० औं वातावरण साहित्‍य गोष्‍ठीमा उत्‍कृष्‍ट ३२ निबन्‍धकार पुरस्‍कृत हुँदै

सुरुमा २० निबन्ध मात्रै संग्रहमा समावेश गर्ने भनिए पनि प्राप्‍त निबन्धहरूको गुणस्तरको मूल्‍याङ्कन गर्दै थप अरु १२ संख्या बढाएर ३२ पुर्‍याइएको संयोजक हितानले जानकारी दिए।

१० औं वातावरण साहित्‍य गोष्‍ठीमा उत्‍कृष्‍ट ३२ निबन्‍धकार पुरस्‍कृत हुँदै

बुधबार १४ जेठ २०८२, काठमाडौं

नेपाली पर्या साहित्य प्रतिष्‍ठानको आयोजना तथा साहित्यपोस्टडट्‌कम्‌को सह-आयोजनामा १० औं वातावरण साहित्य गोष्‍ठी शनिबार राजधानीस्‍थित नेपाल प्रज्ञा-प्रतिष्‍ठानमा विशेष कार्यक्रमका साथ आयोजना हुने भएको छ।

गोष्‍ठीमा लेखक विजय 'ब्रायन' हितानद्वारा रचित पर्या कविता ‘मलाई आर्यघाट लगेर नजलाउनू’ को लोकार्पण गरिनेछ। साथमा पर्या निबन्ध प्रतियोगितामा सहभागी १ सय ८ निबन्धमध्येबाट छानिएका उत्कृष्‍ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने छ।

गोष्‍ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कृत गरिनेछ भने बाँकी २९ जना प्रतियोगीलाई पनि केही नगद रकमसहित सम्मान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी हुनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन्। त्‍यस्‍तै कार्यक्रमका मुख्‍य वक्ता डा.गोविन्दराज भट्टराई रहनेछन्‌ भने वक्तामा डा.गीता त्रिपाठी र डा.अशोक थापा रहनेछन्।

कार्यक्रमको संयोजन साहित्‍यकार विजय हितानले गर्नेछन्‌। आयोजकका अनुसार यस साहित्‍यिक गोष्‍ठीले वातावरण र साहित्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्‍नेछ।

नेपाली पर्या साहित्य प्रतिष्‍ठानद्वारा आयोजित पर्यावरण निबन्ध प्रतियोगिताको नतिजा यसअघि नै सार्वजनिक गरिएको हो। प्रतियोगितामा देश-विदेशबाट प्राप्‍त १ सय ८ निबन्धमध्ये उत्कृष्‍ट ३२ निबन्ध छनोट भएका हुन्‌। सुरुमा २० निबन्ध मात्रै संग्रहमा समावेश गर्ने भनिए पनि प्राप्‍त निबन्धहरूको गुणस्तरको मूल्‍याङ्कन गर्दै अरु १२ वटा निबन्‍ध थप गरी ३२ पुर्‍याइएको संयोजक हितानले जानकारी दिए।

प्रतियोगिताको निर्णायकमण्डलमा डा.गीता त्रिपाठी, भूपीन र महेश पौड्‌याल रहेका थिए। छनोट भएका ३२ निबन्ध अन्‍तर्गत सर्जकको अघिल्‍लो नामको वर्णानुक्रमानुसार यहाँ उल्‍लेख गरिएको छ:

  1. अनिता पन्‍थी --- रोगी नबनाई राख्‍नुपर्छ
  2. अनिता न्‍यौपाने --- त्‍यसपछि चराहरू हराउनेछन्‌
  3. अनिता कोइराला --- अँध्‍यारोको खोजीमा
  4. ऋतेश गुरुङ --- बाह्र वर्षपछि पनि खोला फर्किएन भने
  5. कुमार काफ्‍ले ---  वनस्पतय शान्ति, पृथ्वी शान्ति
  6. कुमुद श्रेष्‍ठ --- अब बाग्मती फेरि हाँस्छ
  7. कुञ्‍जदेवी उपाध्याय --- प्रदूषण: वर्तमान र भविष्‍य
  8. गोविन्दगोपाल खतिवडा --- विकास: प्राप्तिको श्रृङ्खला र पश्‍चातापको पुनर्बोध
  9. जे.एन. दाहाल --- पाले उम्रपालिको लोकमा
  10. तारानिधि भट्टराई --- बालसखाहरू गुमाउँदाको पीडा
  11. दिलिप बान्‍तवा --- सांखाम चुलि - गिद्ध र टेम्के
  12. दीपिन सिजापति --- माटोको छातीमा आमाको अनुहार
  13. दीपकप्रसाद ढकाल --- साझा घरको माया
  14. दुर्गाकुमारी थापा --- मेरो अँधेरी खोला
  15. नारायण शर्मा अधिकारी --- असमको नेपाली पर्यावरण साहित्य र चेतनशील प्रवृत्तिको खोजी
  16. नुमेश घर्ती मगर --- सात्ताले
  17. पुरुषोत्तम उपाध्याय दाहाल --- अकाल मृत्युबाट बाँचेको वरपिपल
  18. प्रभा बराल --- महिला र प्रकृतिको तादात्‍म्‍यता
  19. बोमबहादुर थापा --- वातावरणीय विचलन कि रूपान्तरण ?
  20. भवानी खतिवडा --- प्रलयको आधिबेहरी
  21. भेषराज बुढाथोकी --- सिमगाडको मुहानतिर
  22. रमेश भट्टराई ‘सहृदयी' --- प्रकृति: अनुपम अस्तित्व सौगात
  23. राजु अधिकारी --- रातो बत्ती
  24. राजेन्द्रमान डङ्गोल --- जलवायु परिवर्तन र पर्वतीय पर्यटनको भविष्‍य
  25. रूपसिङ भण्डारी --- प्रकृति र मानिस
  26. रूपा थापा --- माफिनामा
  27. रोशन आपगाईं --- हिमानी आलोकको तेजोवध
  28. लक्ष्मण वियोगी --- रहौंला कहाँ, हिमालै नरहे ?
  29. विश्‍वनाथ रिजाल --- प्रकृतिमा बाँदर र मानिसको सहअस्तित्व
  30. सरिता घिमिरे --- प्रिय जन्मभूमि
  31. सोनिया कटवाल --- स्वच्छ पर्यावरण, समृद्ध जीवन
  32. हरिबोल काफ्‍ले --- प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?

प्रतियोगिताको घोषणा गएको मंसिर १४ गते गरिएको थियो भने नेपालसहित भारत, कतार, अमेरिका, चीन, अस्‍ट्रेलिया, साइप्रस, फिनल्यान्‍ड, जापान र बेलायतबाट निबन्धहरू प्राप्‍त भएका थिए।

प्रथम, दोस्रो र तेस्रो विजेतालाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारसँगै सम्मानपत्र प्रदान गरिनेछ। बाँकी २९ निबन्धकारलाई पनि सम्‍मानस्‍वरूप जनही रू. २ हजार नगद प्रदान गरिनेछ। विजेताहरूको घोषणासँगै निबन्ध संग्रहको लोकार्पण कार्यक्रम कमलादीस्‍थित प्रज्ञा भवनको लेखनाथ प्रवचन कक्षमा गरिनेछ। उत्कृष्‍ट ३२ निबन्धहरू साहित्यपोस्टडट्‌कम्‌ मार्फत्‌ प्रकाशित हुनेछन्‌।

१० औं वातावरण साहित्य गोष्‍ठीमा सार्वजनिक गरिने ३२ निबन्‍ध संग्रहित गरिएको पुस्‍तकको नाम 'प्रथम नेपाली पर्या निबन्‍ध संग्रह' राखिएको छ। निबन्‍ध संग्रहको सम्‍पादन साहित्‍यकारद्वय डा.गोविन्‍दराज भट्टराई र विजय हितानले गरेका हुन्‌।

दुई वर्षअघि स्‍थापना भएको नेपाली पर्या साहित्‍य प्रतिष्‍ठानका संयोजक विजय हितान पूर्व बेलायती सिपाही हुन्‌। उनका आधा दर्जनभन्‍दा बढी कृतिहरू बजारमा आइसकेका छन्‌।