स्‍थाननाम साहित्‍य : मातृभाषाको सौन्‍दर्य

स्‍थाननाम साहित्‍य : मातृभाषाको सौन्‍दर्य

"प्रत्‍येक स्‍थाननामको पछाडि कथा लुकेको हुन्‍छ" (एल्‍जिओ ९४)। अर्थात्‌ स्‍थान (माटो) नामले रैथाने समुदायको जीवनपद्धति र स्‍थानबीचको पारस्‍परिक सम्‍बन्‍धको कथा भनिरहेको हुन्‍छ। सम्‍बन्‍ध कथाले समुदायको स्‍थानमनोविज्ञान (terrapsychology) निर्माण गर्दछ। स्‍थान मनोविज्ञानले सामूहिक सांस्‍कृतिक मनोविज्ञान (cultural psychology) को अभिन्‍न अङ्गको रूपमा भूमिका खेलिरहेको हुन्‍छ। स्‍थानलाई 'देखिन्‍छ, सुनिन्‍छ, वास्‍ना लिइन्‍छ, कल्‍पना गरिन्‍छ, प्रेम गरिन्‍छ, डर मानिन्‍छ र श्रद्धा गरिन्‍छ" (वाल्‍टर १४२)। स्‍थानविशेषको मौलिक विशेषता र स्‍थान मनोविज्ञानबीचको अन्‍तर्सम्‍बन्‍धबाट समुदायको पहिचान निर्माण हुन्‍छ। स्‍थान केवल भूगोल नभएर माटो, मिथक र मानिसको त्रिवेणी हो। यही अन्‍तर्सम्‍बन्‍धको सम्‍पूर्णता नै रैथाने पहिचान हो। यो त्रिवेणी सम्‍बन्‍धलाई भाषाले जोडिरहेको हुन्‍छ। स्‍थाननामका लागि प्रयुक्त भाषा अभिव्‍यक्तिको माध्‍यम नभएर रैथाने समुदायको विश्‍वासपद्धति र भावनात्‍मक-मनोवैज्ञानिक स्‍थितिको संवाहक हो। भाषाले निर्माण गर्ने स्‍थानचेत नै रैथाने पहिचानको आधारशीला हो।

बोलोटोभ हेल्‍लिल्‍यान्‍ड तर्क गर्छन्‌- "स्‍थाननाम हजारौंहजार वर्ष पहिले नामकरण गरिएको र मौखिक परम्‍पराको माध्‍यमबाट पुस्‍ता हस्‍तान्‍तरण हुँदै आएको सबैभन्‍दा प्राचीन जीवित सांस्‍कृतिक सम्‍पदा हो" (१००)। तसर्थ स्‍थाननामको प्राचीनताले रैथाने समुदायको प्राचीन सांस्‍कृतिक अभ्‍यास र विश्‍वास पद्धतिलाई इङ्गित गर्दछ। स्‍थाननामको अर्थ र महत्वलाई निश्‍चित भौगोलिक संरचनाको व्‍याख्‍यामा सीमित नगरी रैथानेहरूको सामूहिक अनुभव र ऐतिहासिक पहिचानको दस्‍तावेजको रूपमा पुनर्व्‍याख्‍या गर्न जरूरी छ। नक्‍सा वा तथ्‍याङ्क भनिएका मिथ्‍याङ्कले छुटाएका र गलत व्‍याख्‍या र प्रतिनिधित्‍व गरिएका भाष्‍यलाई सच्‍याउँदै नेपाली आदिवासी समुदायको स्‍थाननाम सौन्‍दर्यशास्‍त्र (Onomastic Eesthetics) लाई सैद्धान्‍तीकरण गर्नु वर्तमान समयको आवश्‍यकता हो। आदिवासी पहिचानको सैद्धान्‍तीकरणको एउटा माध्‍यम उनीहरूमा अन्‍तर्निहित कला नै हो। आदिवासी कलाका विभिन्‍न माध्‍यममध्‍ये स्‍थाननाम साहित्‍यले रैथाने समुदाय र माटोबीचको जीवन्‍त सम्‍बन्‍धबाट निर्मित पहिचानलाई उजागर गर्दछ। यही नै स्‍थाननाम साहित्‍यको सौन्‍दर्यशक्ति हो। जसरी रैथाने पहिचानलाई उसको माटो र मिथकले निर्माण गर्दछ, स्‍थाननाम साहित्‍य पनि त्‍यही माटो र मिथकबाटै सिर्जित हुन्‍छ। तसर्थ स्‍थाननाम साहित्‍य पहिचानको त्रिवेणी अर्को हो।

आदिवासी समुदायको स्‍थान पहिचान (place identity) र स्‍थानसँगको संलग्‍नता (place attachment) विगत दुई दशक यता सांस्‍कृतिक भूगोल (cultural geography) र वातावरणीय मनोविज्ञान (environmental psychology) को क्षेत्रमा विश्‍वव्‍यापी रूपमा प्रचलित विषयहरू हुन्‌। डेविड होर्टोनका अनुसार सम्‍भवत: स्‍थाननाम साहित्‍यको प्रारम्‍भ अस्‍ट्रेलियन आदिवासीहरूको मिथक प्रभावित मौखिक साहित्‍यबाट भएको हो (५९)। होर्टोनको पश्‍चिमा विचारसँग पूर्ण सहमत हुन नसकिएता पनि उनले उल्‍लेख गरेको आदिवासी साहित्‍य मिथक र मौखिक परम्‍परामा आधारित हुने तर्क सर्वव्‍यापी स्‍वीकार्य मान्‍यता हो। स्‍थाननाम साहित्‍यको औपचारिक लेखनको सुरुवात भने ७० को दशकदेखि 'मानवजीवन र भौतिक वातावरणको अस्‍तित्‍व परस्‍पर सम्‍बन्‍धमा आधारित हुन्‍छ' भन्‍ने आधारभूत मान्‍यता राख्‍ने पर्यायसमालोचना साहित्‍य (ecocritical literature) को रूपमा भएको हो।

पर्यायसमालोचना साहित्‍यमा रैथाने विषयवस्‍तुले यथेष्‍ट स्‍थान पाएको देखिन्‍छ। यद्यपि नेपाली साहित्‍यमा भर्खर मात्र अभ्‍यासमा आएको यो लेखनीय परम्‍पराले यहाँको रैथाने सुगन्‍धलाई समेट्‍न भने बाँकी नै छ। अर्कोतर्फ नेपाली मूलधार साहित्‍यमा स्‍थाननाम साहित्‍यको सुरुवात नभएको भने होइन। तर एक जात, एक भाषा, एक संस्‍कृतिको शासकीय मानकमा आधारित यी साहित्‍य समावेशी प्रकृतिको हुन सकेन। वि.सं. २०४६ र विशेषत: २०६२/६३ पछिको राजनैतिक परिवर्तनपश्‍चात्‌ सीमान्‍तकृत समुदायका मुद्दाहरू बहसमा आउन थालेसँगै प्रस्‍तुतिकलाका माध्‍यमहरू- रंगमञ्‍च, सिनेमा, गीत-संगीत, पेन्‍टिङ र साहित्‍यमार्फत्‌ रैथाने सौन्‍दर्यले बहुसांस्‍कृतिक लयलाई बुलन्‍द बनायो। पुनर्व्‍याख्‍याको यो क्रम अहिले पनि जारी छ। यसै क्रममा रैथाने सर्जकहरूको स्‍थाननाम साहित्‍यमा वर्गीकरण गर्न सकिने अनौपचारिक फुटकर कृतिहरू प्रकाशनमा आए। नेपाली साहित्‍यमा स्‍थाननाम साहित्‍यलाई औपचारिकता प्रदान गरी आदिवासी समुदायको स्‍थाननाम सौन्‍दर्यशास्‍त्रलाई सैद्धान्‍तीकरण गर्ने प्रमुख लक्ष्‍यका साथ नेपाल प्रज्ञा-प्रतिष्‍ठान अन्‍तर्गत साहित्‍य (मातृभाषा) विभागले 'स्‍थाननाम साहित्‍य - मातृभाषाको सौन्‍दर्य' नामक पुस्‍तक प्रकाशन गर्न लागेको हो।

विद्वत्‌द्वय दार्शनिक जिल डुलुज र फिलिक्‍स गोटारीका अनुसार रैथाने सांस्‍कृतिक भूमि (territory) माथि बाह्‍यशक्‍तिको अतिक्रमण (deterritorialization) भएसँगै र शक्तिसंरचना हावी भएसँगै रैथाने भूमिले आफ्‍नो ऐतिहासिक, भाषिक, सांस्‍कृतिक र राजनैतिक मौलिकता गुमाउँदै जान्‍छ। समयान्‍तरमा अतिक्रमणले भूमिको पुनर्प्राप्‍ति प्रक्रिया (reterritorializtion) लाई जन्‍म दिन्‍छ (२२२-२२३)। पुनर्प्राप्‍ति प्रक्रिया प्रतिरोधी चेत हो, अपव्‍याख्‍याको पुनर्व्‍याख्‍या हो। पुनर्प्राप्‍ति प्रक्रियाका अनेकन माध्‍यममध्‍ये प्रस्‍तुतिकला रैथाने पहिचानलाई प्रस्‍फुटित गर्ने प्रभावकारी माध्‍यम हो। 

यही सैद्धान्‍तिक धरातलमा टेकेर स्‍थाननाम साहित्‍यको संकलन, अध्‍ययन र विश्‍लेषण गरी प्रकाशन गर्ने उद्देश्‍यका साथ यो अवधारणालाई अघि सारिएको छ। मातृभाषी सर्जकहरूबाट रैथाने स्‍थानको नाम, प्रयुक्‍त मातृभाषा, अर्थ, क्षेत्र, मिथक, ऐतिहासिकता, मौलिक विशेषता र मान्‍यता, अप्रभंशित र अतिक्रमित अवस्‍था (यदि भएको छ भने) जस्‍ता विषयवस्‍तुसँग सम्‍बन्‍धित रचनाहरूको अपेक्षा गरिन्‍छ। आवश्‍यक सल्‍लाह र सुझावको अपेक्षासहित !

 

सन्‍दर्भग्रन्‍थ सूचि

एल्‍जिओ, जोना। "द टोपोनोमी अफ मिडल अर्थ"। नेम्‍स, भल्‍युम ३३, नं १, १९८५, पृष्‍ठ ८०-९५।

डुलुज, जिल, एण्‍ड फिलिक्‍स गोटारी। इपिजेठ थाउजेन्‍ड प्लेटियस। ए एण्‍ड सी ब्‍ल्‍याक, २००४।

वाल्‍टर, यिजिन भी। प्‍लेसवेज: अ थेओरी अफ द हुम्‍यान इन्‍भाइरोन्‍मेन्‍ट। युएनसी पी बुक्‍स, १९८८।

हेल्‍लिल्‍यान्‍ड, बोटोलोभा। "प्‍लेस नेम्‍स एण्‍ड आइडेन्‍टिटिज"। नेम्‍स एण्‍ड आइडेन्‍टिटिज, भल्‍युम ४, नं २, २०१२, पृष्‍ठ ९५-११६।

होर्टोन, डेविड। द इन्‍साइक्‍लोपेडिया अफ एबोर्जिनल अस्‍ट्रेलिया: एबोर्जिनल एण्‍ड टोरेस आयस्‍ल्‍यान्‍डर हिस्‍ट्री, सोसाइटी एण्‍ड कल्‍चर। आइएसबीएस, १९९४।

(नेपाल प्रज्ञा-प्रतिष्‍ठान साहित्‍य (मातृभाषा) विभागद्वारा २०८१ मंसिर २७ मा आयोजित 'स्‍थाननामको साहित्‍य, मातृभाषाको सौन्‍दर्य' विषयक विचार-गोष्‍ठीमा त्रिभुवन विश्‍वविद्यालयका उप-प्राध्‍यापक लुङ्‍गेली मगरद्वारा प्रस्‍तुत अवधारणापत्र।)