'खुस्‍मा' ओटीटीमा रिलिज

'खुस्‍मा' ओटीटीमा रिलिज 'खुस्‍मा' शुटिङका क्रममा छिमेकी गाउँ रन्‍माबाट झिकाइएका झाँक्री नमुलाक बुढासँग धिरज मगर र उपासना सिंह ठकुरी मैकोट गाउँमा।

शुक्रबारदेखि नेपाली कथानक चलचित्र 'खुस्‍मा' ओटीटी प्लेटफर्मबाट सार्वजनिक भएको छ। यो फिल्म मंसिर १४ अर्थात्‌ शुक्रबार साँझबाट एमएसएम भिडिओ एप्लिकेशनबाट ग्‍लोबल स्ट्रिमिङ गरिएको हो। 

केही दिनअघिदेखि नै एमएसएम भिडियोको आधिकारिक फेसबूक पेजमार्फत्‌ शुक्रबारदेखि रिलिज हुने भनी जानकारी  पोस्‍ट भएको थियो। एमएसएम भिडिओ एन्‍ड्रोइड फोनको गूगल प्ले प्ले स्टोर तथा आईफोनको एप स्‍टोर एप्‍लिकेशनमा उपलब्ध छ। यी एप्‍लिकेशनबाट दर्शकहरूले एमएसएम भिडियो (MSM Video) एप डाउनलोड गरेर प्रयोग गर्न सक्‍ने छन्‌।

एक दिन (२४ घन्‍टा) बराबरको क्‍विक वाच बुकिङ स्‍किमलाई २ सय ९९ रूपैयाँ र साप्‍ताहिक शुल्‍कवापत्‌ विकेन्‍ड (विक्‍ली) बुकिङ ५ सय ९९ रूपैयाँ ईसेवा र खल्‍ती वालेटमार्फत्‌ अनलाइन पे गरी सब्‍स्‍क्रिप्‍शन लिन सकिने छ। हङकङ र युकेका लागि भने केही दिनपछि रिलिज हुने एमएसएम भिडियोको आधिकारिक फेसबूक पेजले जनाएको छ।

संविधान दिवसको अवसर पारी असोज ३ मा प्रिमियर शो गरिएको 'खुस्‍मा' त्‍यसको भोलिपल्‍टबाटै देशव्‍यापी रूपमा रिलिज भएको थियो। हलहरूमा रिलिज नहुँदै 'खुस्‍मा' ले दर्शकहरूबाट उत्‍साहजनक प्रतिक्रिया बटुलेको थियो। २३ दिन चलेको 'खुस्‍मा' ले साढे ६ करोडको व्‍यापार गरेको निर्देशक अशोक थापा मगरले बताए। अशोकले भने- 'पिक हाइ हुँदै जाने क्रममा २ दिनको लगातारको वर्षाले पुर्‍याएको राष्‍ट्रिय विपत्तिका कारण 'खुस्‍मा' को आक्रामक शोलाई ब्रेक लगाइदियो।' अशोकले थपे- 'मिनिमम थप एक करोड बराबरको नाफाबाट बन्‍चित हुनुपर्‍यो।'

अशोक थापा मगरद्वारा लिखित तथा निर्देशित चलचित्र 'खुस्‍मा' मा धिरज मगर, उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्कबहादुर पुन 'खबपु', सुजाता राई, विजय सुब्‍बा, राज थापा काउचा, अरुण पुन, शारदा 'सारा' राई, अस्‍तित्‍व भट्टचन, राजु रेग्‍मी मगर, श्‍वेता मिश्र, दुइसाङ थिङ, विवेश मगर लगायतको अभिनय रहेको छ। २ घण्‍टा २६ मिनेट लामो चलचित्रको छायाङ्‍कन रुकुमपूर्वको मैकोट लगायत पोखरा, मनाङ र काठमाडौंमा गरिएको हो। दीपक बज्राचार्यद्वारा छायाङ्‍कन गरिएको चलचित्रको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर तथा बेतान मगर छन् भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन्। 

चलचित्रमा एसडी योगी र शान्‍तिश्री परियारद्वारा गाइएको 'रुकुम मैकोट' बोलको गीतले छोटो समयमै सर्वाधिक चर्चा पाउन सफल भयो, जुन गीतको रचनाकार सुरेन्‍द्र राना हुन्‌। यस गीतले यो समाचार तयार पार्दासम्‍म युट्‌युबमा ६ करोड ६१ लाख भन्‍दा बढी भ्‍युज पाएको छ। 'खुशीका फूल बटुलेर' बोलको अर्को गीतलाई पनि दर्शकश्रोताले उत्तिकै रूचाएका छन्‌।

के हो ओटीटी ?

ओटीटी (OTT) बारे धेरैलाई थाहा नहुन सक्छ‌। हिजोआज सबैजना थिएटरमा जानुको सट्टा यसै मातहत चलचित्र हेर्न रुचाउँछन्। आजकल ओटीटी हाम्रो जीवनमा धेरै सामान्य भएको छ। तपाईंले यसमा चलचित्र पनि हेर्नुभएको होला, तर के तपाईंलाई यसको रूप र अर्थ थाहा छ ?

१. फुल फर्म

ओटीटी (OTT) को पूरा रूप ‘ओभर द टप (Over-the-top’ हो। ओटीटी प्लेटफर्म एउटा यस्तो प्लेटफर्म हो, जसले केही अन्य प्लेटफर्महरूको सहयोगमा फोनमा नै विभिन्‍न चलचित्र, सिरियल र कार्यक्रम उपलब्ध गराउँदछ। आधुनिक युगमा यो एक सुव्‍यवस्‍थित र मनोरञ्‍जनकारी मिडिया सर्भिस हो। ओटीटी प्लेटफर्ममा तपाईंले रोमान्‍स, थ्रिलर, एक्शनदेखि लिएर सबै प्रकारका सामग्रीका चलचित्र, सिरियल र कार्यक्रम प्राप्त गर्नुहुने छ। विश्‍वभरका केही लोकप्रिय ओटीटी प्लेटफर्महरू नेटफ्लिक्स, प्राइम भिडियो, हटस्टार आदि हुन्। एमएसएम भिडियो पनि एक ओटीटी प्लेटफर्म नै हो, जसमा माथि चर्चा  गरिएको 'खुस्‍मा' चलचित्र प्रसारका लागि आवश्‍यक विधिप्रक्रिया पुर्‍याएपछि विश्‍वस्‍तरमा प्रसारण हुने वैधानिकता पाएको हो।

२. इन्टरनेट आवश्‍यक छ।

केही त्‍यस्‍ता ओटीटी प्लेटफर्महरू छन्‌, जहाँ सामग्री हेर्न इन्‍टरनेटको सुविधा अनिवार्य छ। त्‍यसका लागि शुल्क तिर्नुपर्ने हुन्‍छ। त्यसैगरी केही यस्‍ता प्लेटफर्महरू छन्, जहाँ केही वा सबै सामग्री सित्तैंमा पनि प्राप्त गर्न सकिन्छ।

३. ओटीटीमा फिल्म रिलिज हुँदा कसरी कमाइ हुन्छ ?

ओटीटी अर्थात् ओभर-द-टप यस्तो प्‍लेटफर्म हो, जहाँ इन्टरनेटमार्फत्‌ मोबाइल एप, टीभी एप वा वेबसाइटमा फिल्म र वेब सिरिजहरू हेर्न सकिन्छ। यी सामग्री हेर्न तपाईंले केही पैसा डिजिटल वालेटमार्फत्‌ तिर्नुपर्ने हुन्‍छ।