भारत-चीन युद्ध समाप्तिको ६२ वर्ष
वि.सं. २०१९ सालको दशैंको धुमधाम सकिएर भारतीयहरू दीपावलीको तैयारी गर्दै थिए। धनतेरसको लागि दुई दिन बाँकी थियो। काग तिहार मनाउने वा भनौं धनतेरसका रूपमा घरमा नयाँ सामान भित्र्याउनका लागि के-कति खरिद गर्ने भन्दै-सोच्दै थिए।
ठीक यही बेला कार्तिक ७ गते भुटान, भारत र चीनको सीमाक्षेत्रस्थित उत्तरी क्षेत्र भई बग्ने चु नदीको किनारामा बनेको सानो उपत्यका नाम्कामा चिनियाँ सैनिकहरूले आक्रमण गरे। ढोला पोष्टको सुरक्षार्थ भारतीय सैनिकहरूमध्ये १७ जनालाई ठाउँका ठाउँ मारे भने १३ जनालाई युद्धबन्दी बनाई समातेर लगे। चीनको विरोधका बावजुद पनि चिनियाँ सीमानजिकै भारत सरकारले ५ महिना अगाडि मात्र ढोला पोष्ट खडा गरेको थियो। त्यहाँ भारत पक्षबाट राजपुत सेकेन्ड बटालियनका करिब २ सय ८२ सैन्य जवानसँगै ठूलो संख्यामा अफिसरहरू समेत खटाइएको थियो। रातमा गरिएको आक्रमणमा गोलाबारीले गर्दा राति आकाश नै उज्यालिएको थियो। त्यसको भोलिपल्ट चिनियाँ सैनिकहरूले तवाङमा आक्रमण गरेर त्यस शहर पनि कब्जा गरे। यसरी चीन र भारतको युद्धको शुरुवात भएको थियो।
करिब एक महिना लामो यस युद्धमा भारतीय सेनाका करिब ३ हजार १ सय जवानको मृत्यु भयो भने करिब यत्तिकै संख्याका सैन्य जवानहरूलाई चिनियाँ सैनिकहरुले युद्धबन्दीका रूपमा समाए। १ हजारभन्दा बढी घाइते भएका थिए। तर भारतीय पक्षले केबल १ हजार ३ सय ८३ सैनिकको मृत्यु भएको, १ हजार ७ सय हराएको र १ हजार ४७ सैनिक घाइते भएको विवरण सार्वजनिक गरेको थियो। उता चीन पक्षले पनि ७ सय २२ को मृत्यु भएको तथा १ हजार ७ सय सैनिक घाइते भएको भन्ने विवरण सार्वजनिक गरेको थियो।
भारतीय सैनिकको बढी मृत्यु हुनुको कारण चिसो मौसम र उच्च हिमाली भेगमा भएको लडाइँका कारण पनि थियो। दोश्रो, चीनसँग आधुनिक हतियार तथा तथा प्रशिक्षित सैनिकहरू अत्यधिक थिए। तर भारतसँग भने चीनको तुलनामा कम सैनिक थिए। पहिलो विश्वयुद्धताका प्रयोग भएका हतियार मात्र नभई अर्ध-दक्ष सैनिक तथा अत्यधिक चिसो मौसमका कारण भारतसँग युद्धको सामना गर्ने सामर्थ्य थिएन। जसले गर्दा युद्धमा भारतीय पक्षको हार निश्चित थियो। एक महिनाको युद्धको अवधिमा करिब ३२ हजार वर्गमाइल भारतीय भूमि चीनको अधीनमा पुगिसकेको थियो।
यसरी जताततैबाट हारको नजिक पुगेको भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई नोभेम्बर १९ तारिखमा सहयोगका लागि दुईवटा पत्र लेखेका थिए। जसको दोश्रो पत्रमा अमेरिकी हातहतियार तथा युद्धक विमानको सहयोगको अनुरोध गरिएको थियो। यसरी लेखिएको पत्र नेहरुले For his eyes only (फर् हिज् आइज् अन्लि) कोड गर्दै अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले मात्र पढ्ने गरी एकदम गोप्य राख्न लगाएका थिए। केबल राष्ट्रपतिले पढिसकेपछि नष्ट गर्न अनुरोध गरिएको सो पत्रको प्रतिलिपि भारत सरकारले पनि नष्ट गरेको थियो। सोही पत्र यति गोप्य थियो कि नेहरु स्वयंले टाइप गरेर खामबन्दी बनाई आफ्ना राजदूतमार्फत् अमेरिकी राष्ट्रपतिको हातमा बुझाएका थिए। यसको कुनै पनि जानकारी भारतीय मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरूलाई समेत सुइँको दिइएको थिएन।
अमेरिकी राष्ट्रपति केनेडीले वास्तविकता बुझ्न तत्कालै अमेरिकी दूत पठाएका थिए। यसको गोप्य विवरण चिनियाँ सेनाले शायद प्राप्त गरेको हुनसक्छ। अचानक चीन सरकारका तर्फबाट युद्धविरामको घोषणा नोभेम्बर २० तारिखको राति नै भयो। त्यसको भोलिपल्ट बिहान दुवैतर्फबाट युद्धविराम भयो र भारत-चीन युद्ध शान्तिवार्तामार्फत् टुङ्गियो।
यो युद्धले भारतको आर्थिक अवस्था एकदम तल्लोस्तरमा खस्किएको थियो। भारतीय जनतामा युद्धको त्रास त थियो नै तत्कालीन भारतीय सरकारले भारतीय विमान सेवा इन्डियन एयरलाइन्सका समेत सम्पूर्ण नियमित उडान रद्द गरेर सैनिक तथा अन्य सरसामाग्री ओसारपसार गर्न लगाएको थियो। युद्धका बखत नेपालतर्फ पनि एक किसिमको त्रास फैलिएको थियो। भारतीय सेनामा रहेका नेपालीहरूका परिवार पनि पीडामा थिए। युद्धविरामको खबरले अन्तत: सबैतिर खुशियाली छायो।
प्रतिक्रिया