‘युक्रेन रुसको हिस्सा हो, यो हाम्रो आणविक नीति हो।’
सिंगो युक्रेन हाम्रो हो र यसमा कुनै बहस हुँदैन। हामी त्यहाँ पारम्परिक हतियारको प्रयोग गरेर विजयसम्म लड्दैछौं। हामीले के-कस्तो बलिदान दिएका छौं, त्यो हाम्रो कुरा हो। तपाईंहरू अरु कुरामा ध्यान दिनुहोस्।'
अलेक्जेन्डर दुगिन दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रुसको अडान विस्तारवादी महत्वाकांक्षाभन्दा पनि अस्तित्वगत आवश्यकता हो। दुगिन लेख्छन्, ‘यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले यो कुरा पश्चिमी राष्ट्रहरूलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपूर्ण बुझाइको कारण विनाशकारी परिणाम निम्तिन सक्छ।’ रुस रणनीतिका जानकार मोहनप्रसाद ज्ञवालीद्वारा अनूदित दुगिनको पछिल्लो लेख यहाँ प्रस्तुत गरिएको छ :
हामी भन्छौं कि सम्पूर्ण युक्रेन एकीकृत रुसी क्षेत्रमा हुनुपर्छ। हामी अत्यधिक चरम माग गरिरहेका छैनौं। यो चरमवाद होइन। युक्रेनको वर्तमान अवस्था रुसको अस्तित्वसँग मेल खाँदैन। र, यदि यो मुद्दा फेरि एकपटक स्थगित गरियो भने हामीले हाम्रा सबै नयाँ क्षेत्रहरूलाई प्रशासनिक सीमाभित्र समावेश गरेता पनि यसले केही समाधान गर्ने छैन। उनीहरू फेरि हतियार बन्द भएर आक्रमण गर्नेछन्। यसको विपरीत हुन्छ भन्ने कुनै किसिमको ग्यारेन्टी छैन। साथै हामीलाई यस्तो कुनै युद्धविरामको प्रस्तावसमेत आएको छैन।
अतः भर्खर निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनसम्बन्धी हाम्रो वार्ता यसरी हुनेछ- 'युक्रेन हाम्रो हो। बाँकी सबै कुरा छलफल गर्न सकिन्छ। पक्कै पनि सम्झौता हुन्छ। तर, हामीलाई यो सहजै दिइने छैन। हामीलाई सहजै दिइनुपर्ने पनि छैन। हामीले जुनसुकै मूल्य चुकाउनुपरे पनि यसलाई आफैंले मुक्त गर्नेछौं।'
हामीसँग क्रोधित र रुसफोबियाको लहड हावी भएकाहरूले ‘रुसलाई रणनीतिक रूपमा हराउनुपर्छ’ भनेर घोषणा गर्न सक्छन्। उनीहरूले दावी गर्न सक्छन्– 'रुसले परमाणु आक्रमणको हिम्मत गर्ने छैन, यो केवल धम्की हो। तर, यो धम्की हो या होइन भन्ने कुरा उनीहरूलाई धेरै ढिलो भएपछि मात्र थाहा हुनेछ।'
एक मात्र प्रश्न के हो भने यो मार्गमा हामी परमाणु युद्धबाट बच्न सक्छौं ? जवाफ हो– दुर्भाग्यवश सक्दैनौं ? यो टार्न सकियो भने धेरै राम्रो हुनेछ। तर, हामी जुनसुकै कुराका लागि पनि तयार छौं। युक्रेन हाम्रो लागि थप प्राप्त गर्ने इच्छा नभई सबै कुरा गुमाउने अस्तित्वगत खतरा हो। र, यो कुनै अनुमान होइन। यो एक तथ्य हो।
पश्चिमी देशहरूले हाम्रो परिस्थितिको गम्भीरता नबुझेको स्थितिलाई हेर्दा अवस्था निकै चिन्ताजनक छ। अमेरिकाको वैश्विकतावादी ‘ओभरटन विन्डो’ रुसलाई रणनीतिक हारको सामना गर्ने वास्तविकतासम्म धकेल्ने प्रयासमा छन्, जसले गर्दा यो प्रवृत्ति केन्द्रीय बनिसकेको छ। रुस नजिक रहेका र केही हदसम्म अधिक तार्किक दृष्टिकोण भएका व्यक्तिहरू भन्छन्- 'रुसलाई हराउने प्रयास गर्नु अर्थपूर्ण नहुन सक्छ। किनकि, यसले अत्यधिक लागत बेहोर्नुपर्नेछ। तर, हामीसँग क्रोधित र रुसफोबियाको लहड हावी भएकाहरूले "रुसलाई रणनीतिक रूपमा हराउनुपर्छ" भनेर घोषणा गर्न सक्छन्।' उनीहरूले दाबी गर्न सक्छन– 'रुसले परमाणु आक्रमणको हिम्मत गर्ने छैन, यो केवल धम्की हो।’ तर, यो धम्की हो या होइन भन्ने कुरा उनीहरूलाई धेरै ढिलो भएपछि मात्र थाहा हुनेछ।
यी सबै किसिमका मानसिक नक्साहरूले ट्रम्प प्रशासनको रुससँगको सम्बन्धका लागि गम्भीर खतरा उत्पन्न गर्दछन्। अमेरिकामा रुसविरोधी हिप्नोसिस धेरै गहिरो तथा प्रभावकारी छ। यो नै योजनाकार थियो। उत्कृष्ट मनसाय राख्दै ट्रम्पले भन्लान्– 'मस्को ! सम्पूर्ण एलबिएस (लाइन अफ कन्ट्याक्ट) भित्रको सबै भाग लिनुहोस्।’ के यो पर्याप्त छ ? यत्तिकैमा सम्झौता भयो ? तर, हामीलाई यो पूर्ण रूपमा अस्वीकार्य छ। यसले अनिवार्य रुपमा ढिलो चाँडो नयाँ युद्ध निम्त्याउँछ। सम्भावित रूपमा रुसकै पतन गराउन सक्छ। किनकि, यो हार हो हरेक अर्थमा। ट्रम्पले सायद हामीलाई हामीले चाहेको कुरा दिइरहेका छन् भन्ने सोच्न सक्छन्। तर हामीले त्यो स्वीकार गरे हाम्रो लागि त्यो प्रत्यक्ष चुनौति, ब्ल्याकमेल र आत्मसमर्पणको आह्वान हुनेछ।
यो एक अत्यन्तै खतरनाक अवस्था हो। जहाँ भूराजनीतिक वास्तविकताहरू कृत्रिम मानसिक पूर्वाग्रहसँग ठोक्किन्छन्। जसले गर्दा एक अत्यन्तै जोखिमपूर्ण मानसिक असहमति सिर्जना हुन्छ। वासिङटनले बुझ्नुपर्छ कि रुसलाई सम्पूर्ण युक्रेन चाहिन्छ, बस यत्ति नै। होइन भने, ‘कमरेड आणविक हतियारले बोल्न दिनुहोस्।'
प्रतिबन्धहरू कायम रहन सक्छन्। सम्बन्धहरू फेरि स्थापना गर्नु आवश्यक छ/छैन, त्यो पछि सोच्न सकिन्छ। तर, युक्रेन हामीसँग हुनेछ, पूर्णरूपमा नि:शर्त। किनकि, यसविना हामी समाप्त हुनेछौं। हामी समाप्त हुन चाहँदैनौं। यदि हामी मर्नुपर्ने स्थिति आयो भने सबैलाई पनि हामीसँगै मर्नुपर्ने छ।
नयाँ अमेरिकी प्रशासनसँग संवादको सुरुवात गर्नु दुर्भाग्यपूर्ण छ। विशेषगरी यस्तो कठोर धारमा जुन प्रायः वैश्विकतावादी र परम्परागत मूल्यहरूको विरोधी छ। तर यो पनि वैश्विकतावादीहरूले फालेको अर्को जाल हो। सायद ट्रम्पले यो बुझ्न सकेका छैनन्। हामीले कूटनीतिक तरिकामा हेरफेर गर्दैगर्दा यी कुराहरूलाई उनीहरूको नामले सम्बोधन गर्न हिच्किचाउँछौं। ट्रम्पसँग सिधा कुरा गर्नु नै राम्रो हुन्छ- 'सिंगो युक्रेन हाम्रो हो र यसमा कुनै बहस हुँदैन। हामी त्यहाँ पारम्परिक हतियारको प्रयोग गरेर विजयसम्म लड्दैछौं। हामीले के-कस्तो बलिदान दिएका छौं, त्यो हाम्रो कुरा हो। तपाईंहरू अरु कुरामा ध्यान दिनुहोस्।'
प्रतिबन्धहरू कायम रहन सक्छन्। सम्बन्धहरू फेरि स्थापना गर्नु आवश्यक छ/छैन, त्यो पछि सोच्न सकिन्छ। तर, युक्रेन हामीसँग हुनेछ, पूर्ण रूपमा नि:शर्त। किनकि। यसविना हामी समाप्त हुनेछौं। हामी समाप्त हुन चाहँदैनौं। यदि हामी मर्नुपर्ने स्थिति आयो भने सबैलाई पनि हामीसँगै मर्नुपर्ने छ।
यहाँ कुनै अतिवाद छैन– केवल भू-राजनीतिको शीतल नियमहरू छन्। जसलाई दुवै पक्षबाट स्पष्ट रूपमा व्याख्या गरिएको छ- हाम्रो दृष्टिकोण र ब्रेजिन्स्कीको दृष्टिकोणबाट। रुसबाट युक्रेनलाई अलग गर्नु भनेको सम्पूर्ण एट्लान्टिक भू-राजनीतिक विद्यालयको स्थापनाकालदेखि नै एक अनिवार्य सिद्धान्त हो- म्याकिन्डरदेखि (र अझ पहिलेदेखि) नै। यो केवल एउटा नियम जस्तै हो। युरेसियाली विद्यालयका लागि यसको ठीक विपरीत सत्य हो। युक्रेन या त रुसी हुनेछ, होइन भने न युक्रेन रहनेछ न रुस रहनेछ। न त अरु कोही रहनेछन्।
एक अत्यन्त नाजुक परिस्थिति देखापर्दैछ। अमेरिकाका अघिल्ला राष्ट्रपति जो बाइडेन र वैश्विकतावादी ‘पागल’हरूसँग सबै कुरा स्पष्ट थियो। उनीहरूले हामीसँग अस्वीकार्य मागहरू अघि सारे। हाम्रा मागहरू पनि उनीहरूलाई अस्वीकार्य जस्तो लाग्थ्यो। ट्रम्पसँग भने कुरा फरक छ। उनलाई जुन कुरा ‘उपहार’ लागिरहेको छ, त्यो हाम्रो लागि युद्धको घोषणा हुनेछ।
त्यसैले, यो सबै कुरा ट्रम्पलाई स्पष्ट र अस्पष्ट नगरी भावनात्मकता उतारचढाव विना व्याख्या गर्नु अत्यन्त आवश्यक छ। यदि हामी हाम्रो ‘छैठौं स्तम्भ’ लाई यो वार्तालापको मार्ग सम्हाल्न दिन्छौं भने उनीहरूले तुरुन्तै सबै कुरा समर्पण गर्नेछन्। तर मेरो विचारमा रुसी जनताले यो कुरा राम्रोसँग बुझेका छन्। तथापि वासिङ्टनमा नयाँ ट्रम्प प्रशासन, जो सिद्धान्ततः ‘नियोकोन्स’ वा ‘डिप स्टेट’ का नियुक्तिहरूबाट मुक्त हुन सक्दैन, उनीहरूले सजिलैसँग एउटा कुरालाई अर्को भ्रामक तर्कसँग मिसाउन सक्छन्।
म विश्वास गर्छु कि सबैभन्दा सिधा समाधान अहिले वासिङ्टनको संक्रमणको क्रममा रुसको युक्रेनका लागि वास्तविक योजनाहरू घोषणा गर्नु हुनेछ। रुसको कदम अब केवल किभको विनाशर्त समर्पण र सम्पूर्ण क्षेत्रमाथि पूर्ण नियन्त्रणपछि मात्र रोकिनेछ।
(अलेक्जेन्डर दुगिन ६२ वर्षीय रुसी प्राज्ञिक दार्शनिक हुन्। उनले आफ्नो अधिकांश जीवन मस्कोमा बिताए। युवावस्थामा दुगिन सोभियत व्यवस्थासँग सहमत थिएनन्। हाल उनी अङ्ग्रेजी भाषाको प्रेसमा ‘पुटिनको मस्तिष्क’ को रूपमा विश्वप्रसिद्ध छन्। तर, दुगिन रुसका राजनीतिक व्यक्तित्व होइनन्। उनी एक दार्शनिक हुन्। उनका विचारहरू कोही-कसैका लागि गहन त कतिपयका लागि आपत्तिजनक छन्। अमेरिका र युरोपले उनको पुस्तकमाथि प्रतिबन्ध लगाएको छ। उनको पुस्तक तपाईं अमेजनमा किन्न सक्नुहुन्न। किनभने, उनका पुस्तकका विचार अति नै खतरनाक छन्। साेही कारण उनकी एक मात्र छोरीको हत्या गरिएको थियो। दुगिन 'दि फोर्थ पोलिटिकल थ्योरी' अर्थात् 'चौथो राजनीतिक सिद्धान्त' का प्रतिपादक हुनुका साथै ‘मल्टिपोलार वर्ल्ड अर्डर’ र ‘युरोएसियानिज्म’ सिद्धान्तका भाष्यकार हुन्।)
प्रतिक्रिया