‘स्वतन्त्र’ शब्द र हाम्रो पत्रकारिता

पत्रकारको पहिलो काम सूचित गर्ने, दोस्रो काम सचेत बनाउने र तेस्रो काम अभिप्रेरित गर्ने हो।

‘स्वतन्त्र’ शब्द र हाम्रो पत्रकारिता

‘स्वतन्त्र’ शब्द पत्रकारिताको क्षेत्रमा बढी प्रयोग हुन्छ। तपाईंले पत्रकारिता क्षेत्रलाई जीवनको प्रमुख पेशा नै बनाउनुभएको छ भने 'स्वतन्त्र' शब्दलाई पत्रकारितामा कसरी लिनुभएको छ ? अर्थात्‌ तपाईं स्वतन्त्र पत्रकार हो ? आफैंले आफूलाई सोध्‍नुस्‌ त ? के पाउनुहुन्छ ?

नेपालमा अहिले पत्रकारहरू राजनीतिक दलहरूको छायाँमा रहेका प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी लगायत थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज जस्‍ता विभिन्‍न जातीय पत्रकारिता सम्‍बद्ध संघ/संगठनभित्र रहेर पत्रकारिता गर्नेहरूको संख्या धेरै छ। तर कुनै दल विशेषसँग नजोडिएका स्वतन्त्र पत्रकार संघ पनि छन्‌। ती संगठनभित्र रहेर पत्रकारिता गर्नेहरूमध्ये धेरै पत्रकारहरू नेपाल पत्रकार महासंघको सदस्य समेत भएका छन्।

'स्वतन्त्र' संस्कृतबाट आएको तत्सम्‌ शब्‍द हो। 'स्व' भनेको 'आफू' वा 'आफ्‍नो' भन्‍ने हुन्छ भने 'तन्त्र' भनेको शासन हो। जसको अर्थ 'आफ्नो लागि गरिने कर्म स्वतन्त्र हुन्छ' भनेको हो। पाणिनीय व्याकरणमा 'स्वस्व अवस्थायां प्रकृतिभावस्व' भनिएको छ । जसको अर्थ 'प्रकृतिसँग सन्तुलन रहनु' भन्‍ने हुन्छ। 'प्रकृति' भनेको वास्तविकता हो, यथार्थ हो । मानिस सदैव दबाब, दमन र निश्‍चित घेरा तोडेर आफ्नै अस्तित्व चाहना गर्ने र स्वतन्त्र रूपमा बाँच्‍न खोज्‍ने प्राणी हो। संसारमा बन्धन कसैले चाहँदैन। बन्धन नहुनु भनेको स्वतन्त्र हुनु हो। स्वतन्त्रताको आकार असीमित हुन्छ। यसभित्र सबै अट्‌ने, सबै जोडिने र सबैको स्थान सन्तुलन रहेको हुन्छ। 'स्वतन्त्र' भनेको सन्‍तुलन पनि हो। आफ्नो अस्तित्वमा रहेर 'वसुधैव कुटुम्बकम्' भन्‍ने भावनालाई आत्मसात्‌ गरेर मात्र स्वतन्त्रतालाई कायम राख्‍न सकिन्छ। पत्रकारिताको क्षेत्रमा 'स्वतन्त्रता' एक पहिलो आधार हो, जरो हो र माध्यम पनि। महान्‌ वैज्ञानिक थोमस एल्भा एडिसनले भनेका छन्— 'फैलिएर रहेको र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन।'

स्वतन्त्र पत्रकारिता त्यो हो, जहाँबाट अनेकौं रस पैदा हुन सक्छ। जसबाट व्यक्ति, समाज, देश र विश्‍वलाई नै सुसूचित गराइरहेको हुन्छ। स्वतन्त्र पत्रकारिताले समाजमा दैनिक रूपमा भइरहने क्रियाकलापलाई सञ्‍चारको माध्यमबाट स्वतन्त्र ढंगले प्रकाशन तथा प्रसारण गर्दछ। वास्तविक ज्ञान, सूचना, शिक्षा र मनोरञ्‍जनका साथै सचेत एवं जिम्मेवार नागरिक बनाउन अभिप्रेरित गर्दछ। स्वतन्त्र पत्रकारिताको उद्देश्य आदर्श समाजको निर्माण गर्नु हो। स्वतन्त्रता विनाको पत्रकारिता अपाङ्ग मात्र नभई अपूर्ण र अधुरो हुन्छ। पत्रकारिताले समाज रूपान्तरणमा योगदान गर्नुपर्छ। रूपान्तरण हुनु भनेको सकारात्मक परिवर्तन हुनु हो। सकारात्मक परिवर्तनले नै सबैको हित गर्दछ, भलो गर्दछ र वास्तविकता स्थापित गर्दछ। सत्यता, स्पष्‍टता, निष्पक्षता मात्र नभएर स्वतन्त्रता पनि पत्रकारिताको आधार हो।

पत्रकारिता पढ्‌ने विद्यार्थीले सुरुमै सिक्ने वाक्यांश हो— आवाजविहीनहरुको आवाज। यसको मतलब हो- पत्रकारिता आवाजविहीनहरूको पक्षमा हुनुपर्छ। अर्थात् जो दुर्गममा छन्, जो सीमान्तकृत छन्, जसलाई राज्यका विभिन्‍न निकायले दिने सेवासुविधाको ज्ञान छैन, जसलाई आफ्नो अधिकार कति हो, त्यो अधिकार कसरी आर्जन गर्न सकिन्छ, कसैले आफ्नो अधिकार हनन गर्‍यो भने न्याय खोज्‍न कहाँ जाने भन्‍ने थाहा छैन; ती मानिसहरू आवाजविहीन हुन्। पत्रकारिताको विद्यार्थीले आफू पत्रकार भएपछि सीमान्तकृत व्यक्तिका आवाजको प्रतिनिधि भएर काम गर्न सक्नुपर्दछ।

पत्रकारिताको विद्यार्थीलाई पढाइको सुरुतिरै पत्रकारिताका कार्यहरू पनि पढाइन्छ। जसमा पहिलो काम सूचित गर्ने, दोस्रो काम सचेत बनाउने र तेस्रो काम अभिप्रेरित गर्नेमा पर्दछ। यसैलाई अंग्रेजीमा इन्फर्म, एजुकेट र इन्सपायर भनिन्छ। पत्रकारिताका यी कामहरू समाजमा भएका आवाजविहीनहरूलाई सशक्तीकरण गर्नतर्फ लक्षित छन्। पत्रकारिताको अर्को महत्वपूर्ण काम भनेको राज्यका निकायलाई सर्वसाधारण जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने पनि हो। उत्तरदायी भनेको सर्वसाधारणले गरेका प्रश्‍नहरूको उचित जवाफ दिने र गुनासोहरूलाई सम्बोधन गर्ने हो। जवाफदेही भनेको राज्यका निकायले गलत गरेको रहेछ भने त्यस्तो काम गर्ने कर्मचारीलाई कारबाही गर्ने हो।

पत्रकारिता भनेको घटनाहरूको अनुसन्धान विवरणलाई विभिन्‍न शैलीबाट गरिने संकलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तूतीकरण हो। पत्रकारिता पेशा हो, त्यही पेशाभित्र रहेर पत्रकारले कुनै पनि सञ्‍चारमाध्यममा आबद्ध भएर समाचार संकलन गरेर सम्प्रेषन गर्नु दायित्व हो। पत्रकारले सत्य, तथ्य र वस्तुपरक कुराहरूलाई समेटेर प्रकाशन वा प्रसारण गर्नुपर्दछ। सायद त्यसैले पनि होला, पत्रकारलाई देशको पहरेदार अथवा राष्‍ट्रको चौथो अङ्ग भन्‍ने पनि गरिन्छ। पत्रकारिता र पत्रकार एक-अर्काका परिपूरक हुन्‌ भन्दा पनि हुन्छ।

पत्रकारिता पेशा हो भने पत्रकार त्यही पेशामा भिज्‍ने व्यक्ति हो। पत्रकार भनेको त्यो व्यक्ति हो, जसले पत्रकारिताका शाश्‍वत्‌ मूल्य मान्यतालाई औपचारिक वा अनौपचारिक रूपमा पढेको वा बुझेको छ। पत्रकारिताका विभिन्‍न नीतिनियम अवलम्बन गर्दछ। कुनै व्यक्तिले पत्रकारिताका आधारभूत मान्यताहरूलाई आत्मसात्‌ गर्दै देश र जनताको हितका लागि अधिकतम्‌ पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ भने त्यसले मात्र स्वतन्त्र पत्रकारिता गरेको मान्‍न सकिन्छ। यसरी पत्रकारले एकातिर सर्वसाधारणलाई सुसूचित, सचेत र उत्प्रेरित गर्ने तथा अर्कातिर राज्यका निकायहरूलाई जनताको हितमा काम गर्न दबाब दिने अपेक्षा समेत राख्‍ने गर्दछ।

हरेक पत्रकार यी दुई भूमिकामा अब्बल सावित हुन सकेमा मात्रै पत्रकारिताले राज्यको चौथो अंग अर्थात सरकार, संसद र न्यायपालिकापछिको महत्वपूर्ण निकायको भूमिका निर्वाह गर्न सकेको मानिन्छ। तर हाम्रो पत्रकारिता हामीले सोचे जस्तो वा अन्तर्राष्‍ट्रिय सिद्धान्तहरूले विवेचना गरे जस्तो छैन। यसका विविध कारणहरू होलान्‌। तर पहिलो कारण पत्रकारको चाकरी प्रवृति हो। पढ्‌ने बेलामा आवाजविहीनहरूको आवाजलाई प्राथमिकता दिनुपर्ने कुरा पढेका भए पनि कतिपय पत्रकारको दैनिक व्यवहारमा त्यस्तो देखिँदैन।

कुनै पत्रकार फूलको गुच्छा र खादा बोकेर नेतालाई एयरपोर्टमै स्वागत गर्न पुग्दछन्। नेतालाई सञ्‍चो भए पनि, बिसञ्‍चो भए पनि, बोलाए पनि, नबोलाए पनि पत्रकार बनेर उनीहरूका अघिपछि रहन रुचाउँछ। आफूले चिनेको कुनै नेता सानोतिनो पदमा पुग्यो भने पनि संयुक्‍त राष्‍ट्र संघकै महासचिव भए जस्तो गरेर सार्वजनिक रूपमै स्तूति र प्रशंसा गाउँछ। वा आफूले काम गर्ने अखबारमै फोटोसहित शुभकामना र स्वागतका शब्दहरू चढाउँदछ। यस्तो गर्नु पत्रकारिता होइन, यो त चाकरीकारिता हो।

नेताले बोलेका, नबोलेका, व्यक्तिगत वा सार्वजनिक, उसको विगत र भविष्य आदि सबै समाचारमूलक हुन्छ भन्ठान्छौं। अर्थात् हामी विषयवस्तुलाई कम र नेतालाई बढी महत्व दिन्छौं। कुनै कार्यक्रम राम्रैसँग सम्पन्‍न भएको छ, तर कुनै नेताले आफ्नो मर्यादा कम भएको गुनासो गर्‍यो भने त्यसैलाई मुख्य समाचार बनाइदिन्छौं। यसको मतलब हामी नेतामुखी पत्रकार हौं। जसरी राणाकालमा राणाजीहरूका सबै गतिविधि समाचार बन्थे। अनि त्‍यसैगरी पञ्‍चायतकालमा पनि राजाका हरेक गतिविधिहरू समाचार बन्थे। अहिले त्‍यही ठाउँमा हामीले नेता राखेका छौं। अब यो प्रवृत्तिलाई निरुत्‍साहित गर्ने उत्तम उपाय भनेको पत्रकारिता बाहेक अरु विकल्‍प नै हुन सक्‍दैन।

 

('केबी मसाल' ले विभिन्‍न सञ्‍चारमाध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयमा केन्द्रित रही पत्रकारिता गर्दै आएका छन्‌। स्‍थायी घर बर्दिया र खास नाम बद्री सिग्‍देल रहेका अग्रज पत्रकार मसालले वि.सं. २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन्‌। हाल उनी अन्तर्राष्‍ट्रिय पत्रकार महासंघ (आईएफजे) को एसिया प्रशान्त क्षेत्रको कार्यकारी सदस्य समेत हुन्‌।)