सारमा तामाङ वाङ्मय
फेसबुक, ट्विटर आदि सामाजिक सञ्जाल र एसएमएस समेतमा पनि तामाङ साहित्य पढ्न, सुन्न र हेर्न सकिन्छ।
- तामाङ भाषा :
तामाङ भाषा तामाङ जातिको मातृभाषा हो। यो भाषा चीनी-तिब्बती महापरिवारको भोट-बर्मेली शाखामा पर्दछ। निकटताको आधारबाट हेर्दा यो भाषा गुरुङ, थकाली, मनाङ्के, छन्त्याल, सेके र नार-फु भाषासँगको निकटता देखिन्छ। भाषावैज्ञानिकहरूले यी भाषाहरूलाई तामाङ समूहमा राखेका छन्।
तामाङ भाषा काठमाडौं उपत्यका वरिपरिको पहाडी भू-क्षेत्रमा बोलिन्छ। उत्तरमा हिमालयको काखदेखि दक्षिणमा चुरेको दक्षिणी फेदीसम्म र पश्चिममा बूढीगण्डकीदेखि पूर्वमा दूधकोशीसम्म यस भाषाको रैथाने क्षेत्र मानिन्छ। बागमती प्रदेशको १३ वटै जिल्लामा यस भाषाको बाहुल्यता रहेको छ।
तामाङ जातिको जनसंख्या १६,३९,८६६ (५.६२ प्रतिशत) र वक्ताको संख्या १,४२३,०७५ अर्थात् ४.८८ प्रतिशत रहेको छ। तामाङ जाति र भाषा बीचको अन्तर्सम्बन्ध एक भाषा र एक जातिको छ। जातिको जनसंख्या र वक्ताको संख्या दुवैको आधारमा यस जाति र भाषाले नेपालमा पाँचौ स्थान ओगटेको छ। भोट–बर्मेली परिवारका भाषाहरूमा भने यसले पहिलो स्थान ओगटेको छ।
- तामाङ भाषाको प्रयोग विस्तार :
भाषाको कार्य विस्तारको हरेक क्षेत्रमा तामाङ भाषाको विस्तार भएको छ। दैनिक जीवनमा बोलचाल, पूजापाठ, मेलापात, बन्दव्यापार र लोकवार्ताका हरेक पक्षमा प्रयोग हुन्छ। यस अतिरिक्त यो भाषा शिक्षा (अनौपचारिक शिक्षा, प्राथमिक शिक्षा) र आमसञ्चार (रेडियो नेपाल, एफएम रेडियो र गोरखापत्र दैनिकको नयाँ नेपाल पृष्ठ) मा प्रयोग विस्तार भएको छ। नेपाल खुला विश्वविद्यालयमार्फत् उच्च शिक्षामा यो भाषाले यसै वर्षदेखि प्रवेश गर्दैछ भने वैशाख २४, २०८१ देखि बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनेको छ।
तामाङ भाषामा दुई सयको हाराहारीमा पुस्तक-पुस्तिका, एक सयभन्दा धेरै शीर्षकमा पत्रपत्रिका तथा चार दर्जन जति स्मारिका प्रकाशित भएका छन्। दर्जनौंको संख्यामा गैरसाहित्यिक सामग्री पनि प्रकाशित छन्। गीती एल्बम, फिल्म लगायतका श्रव्य र श्रव्य-दृष्य सामग्री पनि सयौंको संख्यामा उत्पादित छन्।
- तामाङ भाषा अध्ययनको परम्परा :
तामाङ भाषाको प्रारम्भिक अध्ययन एच.बी. हज्सनले सन् १८४८ मा गरेका थिए। यसपछि जर्ज ग्रियर्सन (सन् १९०९) लगायतका भाषावैज्ञानिकहरूले यस भाषाको अध्ययन विश्लेषण गरेका छन्। दर्जनौंको संख्यामा तामाङ शब्दकोश, व्याकरण, भाषा शिक्षण र मानकीकरणका सामग्रीहरू प्रकाशित भएका छन्।
सर्वप्रथम जर्ज ग्रियर्सनले सन् १९०८ मा तामाङ भाषाको विश्लेषणको क्रममा दुईओटा कथा तामाङ भाषामा अनुवाद गराएका थिए– एउटा नेपाल दरबारबाट र अर्को दार्जिलिङबाट। यी कथा नै तामाङ भाषामा देखिएको प्रारम्भिक कथाहरू हुन्। राणाकालमा कुनै तामाङ कृति प्रकाशित भएको पाइँदैन। यस कालखण्डमा तामाङ संस्कृति, लोकजीवनसम्बन्धी हस्तलिखित कृतिहरू तयार भएको पाइन्छ। यस कालखण्डमा मुख्यतः ताम्बा काइतेन (ताम्बा शास्त्र), जिक्तेन तामछ्योइ (सांसारिक पुस्तक), कुक्पा खाछ्योइ (लाटो वा लेख्य ग्रन्थ), ह्रामा (परम्परागत वैवाहिक गीत), खेङा (पाँच पुर्खाको विवरण), दोङ्राप (पुस्तावली), केराप (उत्पत्ति कथा), फाराप (मृतकका नामावली) आदि दर्जनौं हस्तलिखित कृतिहरू पनि फेला परेका छन्।
- तामाङ कृति प्रकाशन :
(क) लोकसाहित्य :
प्रजातन्त्रको स्थापना (२००७) पछि बुद्धिमान मोक्तानको जिकतेन तामछ्योइ अथवा तामाङ वंशावली ह्रामा (सन् १९५६) नामक कृति प्रकाशित भयो। यो नै पहिलो कृति हो। यसपछि सन्तवीर लामा (पाख्रिन) द्वारा ताम्बा काइतेन व्हाइ रिमठिम (सन् १९५७) र स्येबुस्येमु (सन् १९५९) प्रकाशित गरे। ताम्बा काइतेन कृतिलाई डा. हर्क गुरूङले नेपालका आदिवासीहरूद्वारा लेखिएको पहिलो कृति भनेका छन्। यसपछि जङ्गवीर बोम्जन र हर्कबहादुर पाख्रिनले तामाङ गीद (सन् १९६३) कृति प्रकाशित गरे। ज्याम्याङ लामा (२०२२), चन्द्रध्वज लामा (२०२७) आदिले तामाङ लोक साहित्यलाई निरन्तरता दिए। हाल तामाङ लोकसाहित्य विशेष गरी लोकगीत फस्टाउँदो क्रममा रहेको छ।
(ख) लेख्य साहित्य :
भीमराजा लामा (२०३०)ले शिक्षालाई उजागर गर्ने उद्देश्यले तामाङ वर्णमाला प्रकाशित गरेपछि लोक साहित्यमा मात्र अल्झिएको तामाङ साहित्य आधुनिक युगतिर उन्मुख हुन थालेको आभाष हुन्छ भने अमृत योञ्जनको चु सा हेन्से (२०४६) कविता सङ्ग्रह प्रकाशित भएपछि तामाङ साहित्य आधुनिक युगमा प्रवेश गरेको पाइन्छ। समालोचकहरूले चुसा हेन्छेलाई पहिलो आधुनिक तामाङ कविता सङ्ग्रह भनेका छन्। वास्तवमा स्योम्हेन्दो मासिक (२०४५) पत्रिकाको प्रकाशन प्रारम्भ भएपछि तामाङ साहित्यका विविध विधाहरू प्रकाशन हुन थाल्यो र तामाङ साहित्यमा आधुनिक युगको थालनी यसैबाट भएको हो। यो पत्रिका २३ अङ्कसम्म प्रकाशित भएको थियो।
माथि भनिए झैं मूलतः २०४६ पछि तामाङ साहित्यले आधुनिक कालमा प्रवेश गरेपछि आधुनिक चिन्तन, विचार र शैलीमा तामाङ साहित्य लेखिन थाल्यो। यस कालखण्डमा दर्जनौं कृति प्रकाशित भएका छन्। अनि २०६० पछिका तामाङ साहित्यमा उत्तर-आधुनिक साहित्यका प्रवृत्तिहरू पनि छाम्न सकिन्छ। तामाङ कविता सङ्ग्रह चुसा हेन्छे (२०४७) लाई आधुनिक तामाङ साहित्यको पहिलो कृति मानिन्छ।
हाल तामाङ साहित्यको क्षेत्रमा दुई सयको हाराहारीमा पुस्तक–पुस्तिका प्रकाशित भएका छन्। विशेषगरी लोकगीत, गीत, लोककविता, फुटकर कविता, गीत, महाकाव्य, खण्डकाव्य, बाल साहित्य, हाइकु, गजल, पत्र, ताङ्का, लोककथा, कथा, उपन्यास, नाटक, एकाङ्की, जीवनी आदि साहित्यका उपविधाका सङ्ग्रह एक सयको हाराहारीमा प्रकाशित भएका छन्।
यसैगरी फेसबुक, ट्विटर आदि सामाजिक सञ्जाल र एसएमएस समेतमा पनि तामाङ साहित्य पढ्न, सुन्न र हेर्न सकिन्छ। बाल साहित्यका पुस्तकहरू प्रकाशित छन्। यसका साथै अनुदित साहित्यको जग पनि बस्दै छ। समीक्षा तथा समालोचनात्मक कृतिहरू पनि प्रकाशन हुन थालेका छन्। अनुवादका साथै यस भाषामा विविध विधाका गैरआख्यानिक कृतिहरू पनि प्रकाशित छन्।
- तामाङ साहित्यिक संघसंस्था :
तामाङ साहित्यको विकासको लागि २०४७ मा ‘तामाङ भाषा तथा साहित्य परिषद्’ को स्थापना भयो। यस परिषद्ले तामाङ भाषा र साहित्यको विकासको लागि उल्लेखनीय प्रयास गर्यो। तामाङ साहित्यिक पत्रिका स्योम्हेन्दो २३ अङ्कसम्म निरन्तर प्रकाशित भयो। एक दर्जनभन्दा धेरै पुस्तक छापियो। साहित्यिक गोष्ठीहरू आयोजना गरियो। यसपछि साहित्यिक उत्थानको क्षेत्रमा तामाङ डाजाङ (२०५९) देखापर्यो। हाल आधा दर्जन जति साहित्यिक संस्थाहरू तामाङ साहित्य सिर्जना र प्रकाशनमा सक्रिय छन्।
नाङसाल क्लब (पहिलो शनिबार), श्रष्टा समाज (दोस्रो शनिबार), तामाङ सेमल्हेङ न्हान (तेस्रो शनिबार) र तामाङ डाजाङ (अन्तिम शनिबार) अनि सिन्धुलीका प्राङ्बोला छारन्हान आदिले नियमित रूपमा साहित्यिक गोष्ठी गरिरहेका छन् र साहित्यिक कृतिहरू पनि निरन्तर प्रकाशित गरिरहेका छन्। यसैगरी तामाङ डाजाङ, छारगोङमा, स्रष्टा आवाज, छारन्हान आदि पत्रपत्रिकाले नियमित रूपमा साहित्यिक सामग्री प्रकाशित गरिरहेका छन्।
- तामाङ वाङ्मय सिर्जनामा सक्रिय प्रतिभाहरू :
तामाङ साहित्यको विकासमा अमृत योञ्जन तामाङ, मोक्तान भाइ, दुपवाङगेल मोक्तान, धर्मराज लामा, अजितमान तामाङ, रमेशकुमार तामाङ, वीरबहादुर मोक्तान, विगेन्द्र तामाङ आदिले अगाडि बढाए। पछिल्लो समयमा योकबहादुर घिसिङ, नेपालप्रसाद स्याङदान, मोहन घिसिङ, विश्वनाथ योञ्जन, इन्द्रराम मोक्तान, सिर्जना गोले, साधना गोले, अस्मिता थिङ, सन्चु ब्लोन, रिना बोम्जन, रामकुमार जिम्बा, सूर्यमणि पाख्रिन, गोले के.आर. चालिसेली आदिले तामाङ साहित्य लेखनलाई निरन्तरता दिइरहेका छन्।
नेपालबाहिर मूलतः दार्जिलिङ, खर्साङ, कालिङपोङ, सिक्किम, असममा बुद्धिमान मोक्तान, जङ्गवीर बोम्जन, जी.डी. लामा, के.एम. तामाङ तितुङ, प्रेम नेसुर ‘निराशी’, डी.बी. योञ्जन, नर्बु तामाङ, सुकु मोक्तान, सूर्यमणि पाख्रिन लगायत करिब ३४ जनाले तामाङ भाषामा साहित्य सिर्जना गरेका छन्।
(२०८१ असोज १ गते नेपाल वाङ्मय फाउन्डेशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा योञ्जनद्वारा प्रस्तुत लिखित मन्तव्यको सारसंक्षेप।)
प्रतिक्रिया