अमेरिकालाई हराउँदै उत्तर कोरिया विश्‍वकपको फाइनलमा

अमेरिकालाई हराउँदै उत्तर कोरिया विश्‍वकपको फाइनलमा गोल गरेपछि क्‍याप्‍टेनसँग खुशी साट्‍दै चोइ इल सन।

सर्वाधिक सफल टोली अमेरिकालाई १–० ले हराउँदै उत्तर कोरिया फिफा यू–२० महिला विश्‍वकपको फाइनलमा स्थान बनाएको छ। उत्तर कोरिया चौथो पटक यो प्रतियोगिताको उपाधि नजिक पुगेको हो।

गोल गरेपछि प्रशिक्षकसँग खुशी साट्दै चोइ इल सन।

अब फाइनलमा उत्तर कोरियाले जापानसँग खेल्ने छ। बिहीबार बिहान भएको सेमिफाइनलको दोस्रो खेलमा जापानले नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै उत्तर कोरियासँगको भेट पक्का गरेको हो।

कोलम्बियामा चलिरहेको विश्‍वकपको पहिलो सेमिफाइनलमा उत्तर कोरियालाई जित दिलाउन चोइ इल सनले गोल गरिन्। खेलभर अमेरिकाको तुलनामा उत्तर कोरियाले नै दबाब बनाएको थियो।

समूह ‘एफ’ मा रहेको उत्तर कोरियाले तीनमध्ये तीनै खेल जित्दै समूह विजेता बनेको थियो। उसले नेदरल्यान्ड्स, अर्जेन्टिना र कोस्टारिकालाई पराजित गरेको थियो।

अन्तिम १६ मा अस्ट्रियालाई ५–२ र क्‍वार्टरफाइनलमा ब्राजिललाई १–० ले नै पराजित गरेको थियो। प्रतियोगिता उपाधि अहिलेसम्‍म जर्मनी र अमेरिकाले समान तीन पटक जितेका छन्।

सन् २००२ बाट सुरु भएको प्रतियोगितामा उत्तर कोरिया सन् २००६ र  सन् २०१६ को च्याम्पियन हो। सन् २००८ मा भने अमेरिकासँग २–१ ले पराजित हुँदा उपविजेता भएको थियो।