ढोरपाटन र पर्यटन विकासको निशानिर्देश
ढोरपाटन पर्यटन योजना प्रकृतिमैत्री भए मात्रै यसै क्षेत्रको दिगो पर्यटन विकासमा सहयोग पुग्न सक्छ।
ढोरपाटन क्षेत्रअन्तर्गत ढोरपाटन शिकार आरक्ष र त्यस वरिपरिका गाउँबस्तीहरू पर्दछन्। गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने यस क्षेत्रभित्र रूकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लाका पाँचवटा स्थानीय तह रहेका छन्। यो क्षेत्र मगराँत सभ्यताको मूलथलो हो। पछिल्लो तथ्याङ्क अनुसार यहाँ २४,४७२ वासिन्दाको बसोबास रहेको छ। यहाँका मुख्य बासिन्दाहरू खामभाषी मगर, विश्वकर्मा, नौथर र छन्त्याल हुन् । यहाँको भू–बनोट र सामाजिक-सांस्कृतिक पूँजी अन्यत्रकोभन्दा भिन्न रहेकाले बृहत् पर्यटन योजना बनाई सो मुताविक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालग गरेमा यो क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको छ।
विद्यमान अवस्था
ढोरपाटनमा पुग्ने पक्की सडक नभए पनि विगत पाँच वर्षदेखि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। पर्यटकको आगमन बढेसँगै ढोरपाटन उपत्यकामा मात्रै २५ वटा होटल तथा होमस्टे खुलेका छन् भने ३० जना स्थानीय युवाहरू पर्यटकलाई घोडा चढाएर मनोरञ्जन गराउने काममा संलग्न छन्। यहाँ पर्यटकको संख्या बढेसँगै ठूला होटलहरूमा लगानी गर्न बाह्य लगानीकर्ताले ईच्छा देखाएता पनि उत्तरगंगा जलाशययुक्त आयोजना निर्माण हुने-नहुने र निर्माण भए कहिले हुने भन्ने निधो नभएर अन्योल भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा यहाँ घुम्न आएका १५,५७३ पर्यटकबाट प्रवेश शुल्कवापत् १८ लाख ५८ हजार ७ सय रूपैयाँ राजस्व संकलन भएको छ। साथै पर्यटकबाट गत आर्थिक वर्षमा झन्डै १० करोडको आर्थिक कारोबार भएको अनुमान गरिएको छ। यहाँका प्रमुख पर्यटकीय वस्तुहरू उत्तरगंगा ढोरवराहको थान, शिकार आरक्ष कार्यालयको सूचना केन्द्र, छेन्तुङको बौद्धगुम्बा, तल्लो जलजलाबाट देखिने हिमालको दृश्य, सुन्दह र पाटनहरूमा फुल्ने रङ्गीबिरङ्गी बुकीफूलहरू हुन्। यो ठाउँमा मगराँत सभ्यतासँग सम्बन्धित उत्तरगंगा ढोरवराहको थान, मैकोटको मष्टा थान, घुस्तुङ र कायमडाँडामा रहेका ओडार र पुराना मगरबस्तीहरू रहेका छन्। यस क्षेत्रको बृहत् पर्यटन योजना बनाई सरोकारवाला निकायहरुबीच जिम्मेवारी बाँडफाँट नहुँदा सबैले आ-आफ्नै ढङ्गले काम गर्दै आएको पाइन्छ। यसलाई व्यवस्थित गर्न समन्वय गर्ने संयन्त्रको अभाव छ र सबै पक्ष एउटै मञ्च भेला हुन नसक्दा साझा दृष्टिकोण बनाउन सकिएको छैन। पर्यटनका सम्बन्धमा राजनीतिक नेतृत्वको छुट्टाछुट्टै प्राथमिकता र बुझाइ रहेकाले समस्या थपिएको छ। प्रत्येक गाउँलाई मोटरबाटोले ढोरपाटनसँग जोड्ने भन्ने राजनीतिकर्मीको महत्वाकाङ्क्षाले गर्दा सीमावर्ती क्षेत्रमा वन फडानी बढ्न गई भू-दृश्यमा ह्रास आएको छ भने वातावरणीय प्रभाव अध्ययनविना जथाभावी रूपमा खनेका सडकका कारण बुर्तिबाङ बजारसहित सबै गाउँबस्तीहरूमा बाढीपहिरोको जोखिम बढेको छ।
पर्यटन पूर्वाधारको अभाव
ढोरपाटन क्षेत्र पोखरा र लुम्बिनी आएका विदेशी पर्यटकको गन्तव्यस्थल बनाउन सडक र अन्य पर्यटकीय पूर्वाधारहरूको विकासमा उच्च प्राथमिकता दिनुपर्ने हुन्छ। त्यसका लागि बृहत् पर्यटन योजना बनाई संघ, प्रदेश र स्थानीय तह लगायत सरोकारवाला निकायहरूले गर्ने कामहरूको बाँडफाँट गर्नुपर्दछ। अहिले ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी-बुर्तिबाङ सडक निर्माण भइरहेको छ भने पोखरासँग जोड्ने बेनी, दरबाङ सडक निर्माणबारे बहस चलाउन जरुरी छ।
विगतमा पोखराबाट बेनी, ढोरपाटन हुँदै रूकुमपूर्वको तकसेरा जोड्ने पैदलमार्गलाई गुरिल्ला ट्रेल भनी नामकरण गरिए पनि यो पदमार्ग पोखराबाट टाढा परेकाले पर्यटकको रोजाइमा पर्न सकेन। यो पदमार्गको करिब ५० किलोमिटर खण्ड ढोरपाटन शिकार आरक्षभित्र पर्ने हुँदा ठूला बस, ट्रक चल्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न उपयुक्त हुँदैन। तसर्थ, यो पदमार्गलाई बनेपा–बर्दिबास जोड्ने बीपी राजमार्ग जस्तै एक लेनको सडकमा स्तरोन्नति गरी पर्यटन मार्गको रूपमा विकास गर्न उपयुक्त हुन्छ। ढोरपाटनमा रहेको उत्तरगंगा ढोरवराह थानको धार्मिक महत्वलाई प्रचारप्रसार गर्न सके यहाँ भारतीय पर्यटकलाई पनि ल्याउन सकिने सम्भावना रहेको छ। पोखराका केही टुर अपरेटरले यसका लागि पहल गरे पनि महँगो प्रवेश शुल्क र कच्ची मोटर बाटोका कारण ल्याउन नसकिएको बताएका छन्। कुनै पनि ठाउँमा जाने पर्यटकले छोटो समयमा त्यस ठाउँबारे बढी जानकारी हासिल गर्न चाहन्छन्। त्यसैले यहाँ सङ्ग्रहालय, चिडियाखाना जस्ता पर्यटन पूर्वाधारहरूको विकास गर्नुपर्ने देखिएको छ। त्यसका लागि यहाँका लम्सुङ, गुर्जाखानी, ढोरपाटन उपत्यका, तकसेरा, मैकोट, चारगाउँजस्ता मुख्य बस्तीहरूमा धार्मिक, सांस्कृतिक पक्ष र कृषि प्रणालीबारे जानकारी दिने सङ्ग्रहालय स्थापना गर्नुपर्दछ।
राष्ट्रिय निकुञ्ज एवं आरक्षमा प्रवेश गर्ने सबै पर्यटकको चाहना वन्यजन्तु हेर्ने हुन्छ। तर ढोरपाटन जस्तो उच्च पहाडी र हिमाली क्षेत्रमा तराईका राष्ट्रिय निकुञ्जहरूको तुलनामा वन्यजन्तु देख्ने अवसर कमै हुन्छ। त्यसैले ढोरपाटन, मैकोटजस्ता मुख्य गन्तव्यस्थलहरूमा चिडियाखाना निर्माण गरे धेरै पर्यटकलाई आकर्षण गर्न सकिन्छ। साथै यहाँ रहेका मनोरम वन, खर्क, ताल, वराहथान र भञ्ज्याङसम्म सजिलै पुग्न सकिने पदमार्ग निर्माण गरेमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सहयोग पुग्नेछ।
यो क्षेत्र यानिमाया, सालैजो नामका मौलिक लोकगीत र मयूर नाचले देशैभरि चिनिएको छ। यस्ता मौलिक संस्कृतिको जगेर्ना गर्न प्रतिष्ठान स्थापना गरी पर्यटनसँग जोड्नुपर्दछ। यस क्षेत्रमा ढुङ्गाले छाएका र माटो छापेका गरी दुई भिन्न किसिमका घर बनाउने प्रचलन रहेको छ। तर यस्ता घरहरूलाई आधुनिक शैलीका घरले विस्थापित गर्दै लगेको हुँदा यहाँको मौलिक संस्कृतिको जगेर्ना हुने गरी स्थानीय तहहरूले भवन निर्माणसम्बन्धी आचारसंहिता लागू गर्न आवश्यक छ। ढोरपाटन नगरपालिकाले गत साउन १ गतेदेखि ढोरपाटन उपत्यकाभित्रका पसल, होटल र होमस्टेमा क्यान बियर मात्रै बेच्न पाउने गरी सिसाका बोतलको बियर बेच्न रोक लगाएर राम्रो कामको सुरूवात गरेको छ। स्थानीय तहहरूले फोहोर व्यवस्थापनसम्बन्धी यस्ता कार्यहरूलाई व्यवस्थित गर्न संस्थागत संयन्त्र निर्माण गर्नुपर्दछ।
पर्यटन योजना
यहाँ विसं. २०३२ देखि शिकार पर्यटन सञ्चालन हुँदै आए पनि स्थानीय वासिन्दा लाभान्वित हुन सकेका छैनन्। त्यसैले यहाँको पर्यटन योजना पर्या-पर्यटनमार्फत् अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रका वासिन्दा लाभान्वित भएजस्तै यहाँका वासिन्दा पनि लाभान्वित हुन सक्ने गरी बनाउनुपर्दछ। पर्यटन योजनाले यहाँका मनोरम प्राकृतिक भू-दृश्य, वन, वन्यजन्तु, जाति, भाषा, लोकसंस्कृति र मौलिक परम्पराको संरक्षणमा प्राथमिकता र ढोरपाटन शिकार आरक्षको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वलाई समेत ध्यान दिनुपर्दछ। यो क्षेत्र उच्च पहाडी र हिमाली क्षेत्रमा फैलिएको हुँदा वातावरणीय दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिन्छ। त्यसैले यहाँ नियन्त्रित पर्यटन अर्थात् रेस्ट्रिक्टेड टुरिजमलाई अवलम्वन गर्नुको विकल्प छैन। पर्यटन योजना प्रकृतिमैत्री भए मात्रै यस क्षेत्रको दिगो पर्यटन विकासमा सहयोग पुग्न सक्छ।
ढोरपाटन क्षेत्र पर्या-पर्यटनका अतिरिक्त धार्मिक, सांस्कृतिक दृष्टिकोणले पनि पर्यटकीय महत्व बोकेको ठाउँ हो। यहाँका मुख्य वासिन्दा मगर जाति हुन्। यिनको आफ्नो छुट्टै भाषा, भेषभूषा, चाडपर्व र रहनसहन रहेको छ। त्यसैले यहाँको पर्यटन योजना मगरात सभ्यताको इतिहास जगेर्ना गर्ने खाले हुनुपर्दछ। यहाँ भञ्ज्याङपिच्छे देउरालीका थान रहेका छन् भने पानीका धारा, पोखरी, तलाउ भएका ठाउँमा वराहको थान रहेका छन्। मगर समुदायले भेडालाईह देवताको प्रतीक मान्ने हुँदा वराह थानमा भेँडाका पाठाको बलि दिने गरिन्छ। विगत एक वर्षमा यहाँको उत्तरगंगा ढोरवराहको थानमा मात्रै १,२१२ वटा भेडाका पाठाको बलि दिइएको छ। यसरी मगर समुदायको परम्परागत संस्कृतिले भेडापालनलाई प्रोत्साहन गरेको छ। अहिले पनि ढोरपाटनका खर्कहरूमा तीस हजारभन्दा बढी भेडा चर्ने गर्दछन्, तर यी भेडाबाट उत्पादन भएको ऊनबाट बुनेका घरेलु कपडाको बजारीकरण गर्न सकिएको छैन। त्यसैले यहाँको पर्यटनलाई भेडापालनसँग पनि जोड्नुपर्दछ।
अबको बाटो
यस क्षेत्रको पहिचानसँग जोडिएको शिकार पर्यटनलाई दिगो रूपमा सञ्चालन गर्न सिकार आरक्षको क्षेत्र विस्तार र वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्नुपर्दछ। सिकार आरक्षलाई पूर्वमा गुर्जाखानी र पश्चिममा लालपाटनसम्म विस्तार गरेमा दुईवटा शिकार ब्लक थप गर्न सकिन्छ। तर मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रममार्फत् स्थानीय समुदायलाई वन्यजन्तु संरक्षणमा सहभागी गराउन नसकेसम्म चोरी शिकार रोक्न सकिँदैन। जलवायु परिवर्तनका कारण सिर्जना हुन सक्ने खडेरी, रोगव्याधि, डढेलोजस्ता प्रकोपवाट यहाँका प्राकृतिक स्रोतहरु जोगाउन स्थानीय वासिन्दाको संस्थागत क्षमता सुदृढ गर्नुपर्दछ। बँदेलको कानुनी शिकार गर्ने प्रबन्ध आरक्ष कार्यालयबाटै हुने गरेमा यहाँ नेपाली शिकारी पर्यटकलाई समेत आकर्षण गर्न सकिने छ। अहिले यस क्षेत्रमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलापहरू वन तथा बुकीमा पदयात्रा, बुकीमा गोठस्टे, क्याम्पिङ, साइक्लिङ, जङ्गल ड्राइभिङ, वन्यजन्तु अवलोकन र मगराँत सभ्यतासँग सम्बन्धित धार्मिक, सांस्कृतिक गाउँठाउँहरूको भ्रमण रहेका छन्।
शिकार पर्यटन व्यवस्थापनका लागि आरक्षलाई सातवटा ब्लकमा विभाजन गरेजस्तै यहाँको जैविक विविधतामा कुनै नोक्सान नपुग्ने गरी पर्यटकीय गतिविधिहरू सञ्चालन गर्न आरक्षलाई टुरिजम प्रोमोसन जोन र अति संवेदनशील क्षेत्र गरी दुई भागमा विभाजन गर्न उपयुक्त हुन्छ। अति संवेदनशील क्षेत्रमा घुम्न जाने पर्यटकहरू तोकिएका ट्रेकिङ रुटहरू तथा क्याम्पिङ साइटहरूमा मात्रै जान-बस्न पाउने कानुनी व्यवस्था गर्नुपर्दछ। त्यहाँ भ्रमणमा जाने पर्यटकले अनिवार्य रूपमा टुरिस्ट गाइड लैजानुपर्ने कानुनी व्यवस्था गरेमा स्थानीय युवाहरूलाई रोजगारीको अवसर प्राप्त हुने छ। त्यसका लागि टुरिस्ट गाइड र ट्रेकिङ गाइडसम्बन्धी तालिम र लाइसेन्स दिने व्यवस्था गर्नुपर्दछ।
प्रतिक्रिया