चौतारीको चीत्कार !
प्रचण्ड गर्मीमा गाउँका धेरै मान्छे गुन्द्री बोकेर चौतारीमा जान्थे र सुस्ताउँथे। यसले हावा दिन्थ्यो, ओत दिन्थ्यो, हरियाली दिन्थ्यो, विश्राम गर्ने ठाउँ दिन्थ्यो, ठाउँको पहिचान दिन्थ्यो, बटुवाहरूलाई लक्ष्य दिन्थ्यो, भरियादेखि चराचुरुङ्गीलाई आश्रय दिन्थ्यो। सभागृह पनि यही थियो, प्रेमको साक्षी पनि यही थियो।
के तपाईंसँग यस्तै चौतारीमा बसेर खिचेका फोटाहरू छन् ?
के तपाईं जन्मे-हुर्केको गाउँघरमा यसरी ढुङ्गा चिनेर बनाइएका चौतारीहरू थिए ? के तपाईंले पढेका सरकारी स्कुल वरपर वरपीपल, शमी र आँपका ठूल्ठूला बोट र चौतारी थिए ? के तपाईंको मामाघरतिर हिँडेर जानुपर्ने ठाउँमा थियो र त्यही बाटामा थकाइ मार्नका लागि यस्तै चौतारीहरू थिए ?
अलि अघिसम्म हाम्रो संस्कृति, सभ्यता, धर्म र जीवनशैलीसँग वरपीपलका यस्ता चौतारीको अभिन्न सम्बन्ध थियो। केही सामाजिक काम गर्नपर्यो भने मान्छेले रूख रोप्थ्यो, चौतारो बनाउँथ्यो। धार्मिक काम गर्नपर्यो भने वरपीपल रोपिन्थ्यो, हरेक शनिबार पानी चढ़ाइन्थ्यो, हेरचाह हुन्थ्यो र रूख हुर्किएपछि चौतारी बनाएर वरपीपलको बिहे गरिन्थ्यो, प्रसाद बाँडिन्थ्यो। रोप्नु मात्रै धर्म थिएन, त्यसलाई हुर्काउने, बिहे गर्नेसम्मको जिम्मा थियो। बुबाको नाममा, आमाको नाममा केही स्मृतिचिन्ह बनाउनुपर्यो भने चौतारो बनाइन्थ्यो, नजिकै धारो बनाइन्थ्यो।
यस्तो कुनै स्कुल शायदै होस्, जहाँ चौतारो नहोस्। यस्तो कुनै चोक या चौराहा शायदै होस्, जहाँ शीतल हावा दिने चौतारी नहोस्। स्वास्थ्य चौकी होस् या मन्दिर, पाटीपौवा होस् कि दोबाटो। त्यहाँ चौतारी हुन्थ्यो, हुन्थ्यो। कति गाउँका नाम यिनै चौतारीबाट राखिएको हुन्थ्यो। कति सामाजिक भेटघाट र छलफल यस्तै चौतारीमुनि हुन्थे। हाँगा भाँच्नु या त्यस रूखमा नोक्सान पुऱ्याउनु पाप थियो। जन्मदेखि मृत्युसम्म चौतारो सान्दर्भिक र प्रासङ्गिक थियो।
गज्जब त के भने तराईमा मान्छेको निजी घर खरखडाईले बारेको कच्चा हुन्थ्यो, तर पनि उसले बुबाको स्मृतिमा बनाएको सार्वजनिक चौतारी ढुङ्गा चिनेर बनाइएको पक्की खालको हुन्थ्यो। प्रचण्ड गर्मीमा गाउँका धेरै मान्छे गुन्द्री बोकेर चौतारीमा जान्थे र सुस्ताउँथे। यसले हावा दिन्थ्यो, ओत दिन्थ्यो, हरियाली दिन्थ्यो, विश्राम गर्ने ठाउँ दिन्थ्यो, ठाउँको पहिचान दिन्थ्यो, बटुवाहरूलाई लक्ष्य दिन्थ्यो, भरियादेखि चराचुरुङ्गीलाई आश्रय दिन्थ्यो। सभागृह पनि यही थियो, प्रेमको साक्षी पनि यही थियो।
रूख रोप्नु धर्म थियो, सभ्यता थियो, इज्जत थियो। चौतारो बनाउनु पुण्य थियो, समाजसेवा थियो। अझै धेरै ठाउँमा त्यो संस्कार छँदैछ। अहिले रूख होइन, सिमेन्टका मूर्ति र शालिक ठड्याउने चलन छ।
विश्वका धेरै देशले स्थानीय जनजीवन र सभ्यतासँग गाँसिएका यस्ता रूख र चौतारी जस्ता सम्पदालाई निकै लोभलाग्दो गरी संरक्षण गर्छन्, जीवन दिन्छन्। अझ जनस्वास्थ्यसँग गाँसिएको विषय छ भने त त्यसले अलग्गै महत्त्व पाउँछ।
हाम्रो धर्म, संस्कार, सभ्यता, स्वास्थ्य, सम्मान र सामाजिकतासँग जरैदेखि गाँसिएको चौतारी कसरी मासिँदै गयो होला ? अरू त अरू पचास वर्षअघि ठूला चौर र चौतारी राखेर बनेका स्कुलमा पनि आज भवन र शटर मात्रै छन्। गाउँमा समेत चौतारो मासेर भवन बनेका छन्, डोजर चलेका छन्। निजी स्कुलमा त झन् 'चौर र हरियाली चाहिन्न, बरु बिल्डिङ भए पुग्छ' भन्ने मान्यतामा स्वीकृत छन्।
भन्यो भने राजावादी भइन्छ, तर राजाले बनाएका हरेक सार्वजनिक संरचनामा खुला ठाउँ र चौतारी हुने गर्थे। तर हामीले बिल्डिङ मात्रै हेर्न थाल्यौं। जग्गा दलालले मासेर-लुछेर सिध्याउन लागेका स्थानीय सरकारी स्कुल पनि निजीभन्दा खुला छन्। त्यहाँ रूख छन्। पुरानो हुलाकको अफिस हेर्नुस्- त्यहाँ वरपीपलका बोट छन्। मलपोत, अड्डा, अदालत, पञ्चायत भवन या अन्य कुनै संरचना बिना रूख र चौतारीको भेटिन्न। एउटा मात्रै राजदरबार जस्तो ठाउँ छ- नारायणहिटी। त्यो नारायणहिटी परिसर जङ्गल जस्तै थियो, सुन्दर थियो। अहिले हेर्नुस् त ! हाम्रो बुद्धि बढ्दै जानुपर्ने होइन र !?
ग्रीसले दुई हजार वर्ष पुराना सम्पदा, संस्कृति र सभ्यतालाई आज पनि जोगाएको छ र विश्वका जिज्ञासुहरूलाई हस्तान्तरण गर्दैछ, हामीले यही पुस्ताका यस्ता सम्पदा पनि बचाउन नसक्ने भयौं।
झट्ट हेर्दा तपाईंलाई नाथे चौतारी पनि कुनै सम्पदा हो र भन्ने जस्तो लाग्ला। यो लेख व्यर्थको क्रन्दन जस्तो लाग्छ। तर यो तपाईंले सोचेभन्दा अलिक बढी गहिरो पनि हुन सक्छ।
तपाईंसँग केही तस्बीर र स्मृतिहरू छन् कि ? बुबा-हजुरबुबाले बनाएका चौतारीहरूका कथा छन् कि ?
(बिहीबार फेसबूकमा प्रकाशित पोस्ट। पोस्टमा गरिएको कमेन्टलाई समेत लेखमा जोडिएको छ।)
प्रतिक्रिया