गुराँस र उत्तिसको कथा
फूलबारीमा पाइने गुराँसका सयौं थरिका रूखहरूमध्ये यो पनि एउटा हो, जुन मेरो घरसँग सय मिटरको दूरीमा रहेको छ।
कहिलेकाहीँ म यसै रूखको काखमा बसेर विरही सुस्केरा सुसेल्ने गर्दछु। कहिले भने यो मन कतै एकान्त सागरको गहिर्याइमा डुबुल्की मारिरहेको हुन्छ। आहा ... ! कति सुन्दर छौ तिमी... !! त्यसैले त म चुपचाप तिमीसँग मितेरी लगाउन हस्याङफस्याङ गर्दै तिमीलाई थाहै नदिई तिम्रै फेदमा आउने गर्छु तिमीलाई अँगालो मार्न ! खोइ कुन्नि ! तिमीले चाल पायौ कि पाएनौ यो मेरो मनको बह । हुन त मनको बह कसैलाई नकह भन्छन्। म पनि कस्तो ! मनको कुरा नफुत्काउनुपर्ने। फुत्काइहालेछु, नरिसाउनु ल !
बूढापाकाहरूले सुनाउने गरेको एउटा कथा सम्झिएँ यतिबेला।
एकपटक गुराँस विवाहको प्रस्ताव लिएर उत्तिसको रूखनेर पुगिछन्। उत्तिसले खित्का छोड्दै भनेछ- "यस्ता हाँगेबाँगे झिङ्रिङ्ङ परेको अनि रूपरङ केही नमिलेकोसँग म जस्तो सिलिक्क परेकी हेर्दै खाइलाग्दो उत्तिसले कहाँ तिमीसँग विवाह गर्छ !"
गुराँस अलिक गम्भीर भएर भन्न थाली- "ल, ठिकै छ। तिमीले मलाई जे भने पनि म जस्तो छु ठिकै छु। तर तिमी अब आउने चैत/वैशाखको झकमक्क फक्रेको मेरो बैंसमा एकपटक आएर मलाई हेर्न नबिर्सनू।"
कस्तो फूर्ति लगायो यो गुराँसले भनी मनमनै सोच्दै गुराँसले भनेकै समय पारेर उत्तिस उकालो लाग्यो। फूलबारी पुगेर यताउति हेर्छ त पाखैभरि झकमक्क गुराँस फुलेर बेपत्ता। मनै हराउने कस्तो वातावरण। आहा !
उत्तिसले लामो सुस्केरा हाल्यो। मनमनै सोच्न थाल्यो। सोच्ने मात्र होइन पछुताउन पनि थाल्यो- "किन गुराँससँग विवाह गरिनछु।"
अब उनी गुराँसले देख्ली कि भनेर त्यहाँबाट भाग्न थाल्यो। भाग्दैभाग्दै त्यो तल, धेरै तलको ठूलो पहिरोमा गएर हामफाल्यो। उसको ज्यान त्यहीँ अन्त भयो।
यसरी उत्तिसले पहिरोमा हामफालेर मृत्युवरण गरेको हुँदा उत्तिस जहिले पनि पहिरो भएकै ठाउँमा उम्रने गर्छ भन्ने गर्छन्। हुन पनि त्यस्तै देखिन्छ।
खैर.., यतिबेला गुराँसका पातहरू पनि नदेखिनेगरी गुराँस फुलेको छ फूलबारीको सेरोफेरोमा। आउनुहोला। गुराँससँग मितेरी लगाएर बिदा हुन नबिर्सनुहोला।
नमस्ते !
प्रतिक्रिया