शिक्षामा गुणस्‍तरीकरणको बहस

शिक्षामा गुणस्‍तरीकरणको बहस

राज्यका नवपिँढीहरूलाई शिक्षित, बुद्धिमान, क्षमतावान, कर्मशील र याेग्य नागरिक बनाउन शैक्षिक संरचनाहरूकाे पर्याप्‍त र सहज व्‍यवस्‍था गर्नु राज्य व्‍यवस्‍थाको प्रमुख कर्तव्‍य हाे। नेपालमा शिक्षा क्षेत्रकाे नीति, संरचना र व्‍यवस्‍थापन समयाेचित छैन।

पहिलाे समस्‍या १० कक्षा पढ्‍न बार्‍ह/तेर्‍ह वर्ष लाग्‍नु, त्यतिसम्‍म स्कुल धाँउदा धाँउदा पनि परीक्षामा फेल हुनु, पास भए पनि उच्च शिक्षा अध्ययनका लागि योग्‍य नहुनु (पढ्‍न नपाउनु) अभिभावक र विद्यार्थीहरूले भाेग्दै आएकाे पीडा हाे।

पाठ्‍यपुस्तक आधुनिक, सीपमूलक, प्रविधियुक्‍त नहुनु, विद्यालयमा भाैतिक संरचना, पाठ्‍यसामाग्री, विषयगत याेग्य शिक्षक पर्याप्‍त नहुनु, नियमित पढाइ नहुनु, कक्षामा धेरै विद्यार्थी राखेर पढाउँदा पढाएकाे नबुझेर धेरै विद्यार्थी अन्याैलमा पर्नु र जान्‍न-सिक्न नसकेर फेल हुनु, परीक्षामा चिटिङ गरिनु, विद्यालयलाई राजनैतिक दलका अखडा बनाउनु विद्यालयका समस्‍या हुन्‌।

सरकारी क्याम्पस तथा विश्‍वविद्यालयमा पढ्न‌ जाँदा राजनैतिक दलका विद्यार्थी संगठनहरूकाे तानातानमा पर्नु, हड्ता‌ल र झगडा भइरहनु, नियमित पढाइ, समयमा जाँच र नतिजा प्रकाशन लगायतका काममा ढिलाइ हुनु, चार/पाँच वर्षे काेर्सले समय खेर जानु, पढेर डिग्री पास गरे पनि याेग्यता अनुसार काम नपाउनु लगायतका विद्यार्थीका भविष्‍यप्रतिको चिन्ता र समस्‍याहरू हुन्‌।

यसैकारण आफ्‍ना छाेराछाेरीहरूलाई शिक्षित, विज्ञ र सुयाेग्य बनाउन चाहने अभिभावकहरूले सकेसम्म स्‍तरीय निजी स्कुल तथा कलेजमा पढाउन चाहन्छन्‌। पुग्‍नेले विदेशमा पढ्‍न पठाउँछन्‌। औकात नहुनेका छाेराछाेरी मात्र सरकारी स्कुलमा वर्षौं धाउँछन्‌, फेल हुन्छन्‌। पास भए पनि पढाइ महँगाे छ। पढ्न‍ नपाएर काम पाउँदैनन्, अनि घर न घाटका हुन्छन्‌।

सरकारी स्कूलहरूमा व्‍यवस्थित र गुणस्तरीय पढाइ नहुनुका कारणमध्ये पहिलाे राज्यबाट आर्थिक स्राेत व्‍यवस्‍थापनकाे कमीका साथै आधुनिक शिक्षा नीति, वैज्ञानिक पाठ्‌यक्रम, शिक्षक दरबन्दी, पठनपाठनमा आधुनिक व्‍यवस्‍था लगायतकाे कमी देखिएकाे छ। नयाँ शिक्षा याेजना लागू भएपछि पनि केही सुधार हुन्छ कि भनिएका स्कूलहरू स्थापना मात्र गरिए। नि:शुल्‍क अनिवार्य शिक्षा घाेषणा गर्ने, शिक्षकहरूलाई स्थायी बनाउने र स्कूलहरू सरकारले जिम्मा लिने काम मात्र भयाे। गुणस्तरीय शिक्षाकाे व्‍यवस्‍थापन गर्न सकेन। अहिलेसम्मका सरकारले पनि सरकारी स्कूलहरूमा गुणस्तरीय शैक्षिक विकास गर्नका लागि आधुनिक शिक्षा नीति बनाउन सकेकाे छैन। फेरि पनि फेरबदल भइसकेको सरकारले शिक्षामा सुधार गर्छु भन्‍ने भाषण त गर्छ तर आवश्यक बजेट व्‍यवस्‍था, शिक्षक दरबन्दी थप लगायतका महत्‍वपूर्ण काममा मौन भई बसेको छ। आखिर चलेकै छ भनेर औपचारिकता निभाउने काम बाहेक अरू केही भएको छैन।

तेर्‍ह/चौध वर्ष उमेरसम्मका बालबालिकाहरू नयाँ कुरा जान्‍न, सिक्न उत्सुक हुन्छन्‌। त्यही उमेरभित्र उनीहरूलाई राम्राे बानीव्‍यहोरा सिकाउन, समुचित शिक्षादीक्षा दिन आवश्यक र सहज हुने हुँदा स्थानीय विद्यालयहरूमा बालमैत्री, आधुनिक र व्‍यवस्‍थित पठनपाठनको व्‍यवस्‍था गर्नैपर्ने जरुरी छ। त्यसका लागि सरकारले गाउँ/टाेलहरूमा शिशु स्याहार सहितकाे शिशु कक्षा सञ्‍चालन, आधारभूत र माध्यमिक स्कूलहरूमा सीपपमूलक पाठ्‍यक्रम, आधुनिक शिक्षा याेजना, पर्याप्‍त साधन स्राेत, आवश्यक शिक्षक दरबन्दी र डिजिटल शिक्षा पद्धति समेतकाे पाठ्‍यसाधनकाे व्‍यवस्‍था गरी कुनै पनि विद्यार्थी फेल नहुने गुणस्तरीय र आधुनिक प्रविधिमा पढाइकाे शैक्षिक व्‍यवस्‍था गर्न नितान्त आवश्यक छ।

गाउँका विद्यालय शिक्षा गुणस्तर नभए उच्च शिक्षा प्रज्ञावान हुँदैन। कतिपय निजी र सरकारी स्कूलहरू नमूनाका रूपमा सञ्‍चालन भएका पनि छन्‌। तर एक/दुई वटा नमूना भएर पुग्दैन। शिक्षा सर्वसुलभ हुनैपर्दछ। सबै स्कुल क्याम्पसहरू आधुनिक र व्‍यवस्थित नभए शिक्षा गुणस्तर हुँदैन। याेग्य र सभ्य नागरिक बनाउने सपना पूरा हुँदैन। अन्‍तत: समग्र विकास हुँदैन।

सरकारी स्कुल, क्याम्पस र विश्‍वविद्यालयहरूमा सर्वप्रथम राजनैतिक पार्टीका क्रिडास्थल बन्द गर्नुपर्दछ। विषयगत काेर्सका शिक्षकहरू समयाेचित, आधुनिक, वैज्ञानिक र सफल शैक्षिक वातावरण बनाउन जरुरी छ। अबकाे विश्‍व परिवेशमा उच्च शिक्षा अनलाइनबाट पढाइ गर्न सहज हुने वातावरण बन्दैछ। आधुनिक प्रविधिकाे प्रयाेग गरेर माेबाइल एप, पेन ड्राइभ, नेट लगायतका आधुनिक प्रविधि प्रयाेग गरेर ल्यापटपबाट पनि पढ्न‍ सकिने हुँदैछ। अब पढ्ने‍लाई घरमै बसेर काम गर्दै पढ्‍दै गर्न सहज हुन सक्दछ। विज्ञानले एआई अर्थात्‌ आर्टिफिसियल इन्‍टेलिजेन्‍स (कृत्रिम बाैद्धिकता) प्रविधिकाे विकास गर्दैछ। यसले पनि भविष्यमा शिक्षा क्षेत्रमा महत्वपूर्ण आधुनिकीकरण हुँदै जाने सम्भा‍वना छ।

शैक्षिक जगतमा यी यावत्‌ विषयका खातिर मानवीय, सामाजिक तथा राष्‍ट्रिय दृष्‍टिले सम्पूर्ण विकासकाे आधार र सफलता भनेकै अन्‍तमा शिक्षा नै भएकाले सरकारले राज्यस्‍तरमा समयाेचित शैक्षिक व्‍यवस्थापन गर्नैपर्दछ।

 

(लेखक रुकुमकोट निवासी हुन्‌।)