रुकुमकोटमा डा. सुनील शर्मा नेतृत्‍वको विशेषज्ञ स्‍वास्‍थ्‍य शिविर हुँदै

रुकुमकोटमा डा. सुनील शर्मा नेतृत्‍वको विशेषज्ञ स्‍वास्‍थ्‍य शिविर हुँदै

रुकुमपूर्व, २० चैत २०८०

रुकुमकोटमा डा. सुनीलकुमार शर्मा सहितको विशेषज्ञ स्‍वास्‍थ्‍य शिविर सञ्‍चालन हुने भएको छ। पूर्वप्रधानमन्त्री स्‍व. सुशील कोइरालाको स्मृति दिवसका अवसर पारी प्रतिष्‍ठानले आउँदो शुक्रबार रुकुमपूर्वको रुकुमकोटमा एकदिने नि:शुल्‍क स्‍वास्‍थ्‍य शिविर आयोजना गर्न लागेको हो।

रुकुमकोटस्‍थित रुक्‍मिणी माध्‍यमिक विद्यालयमा सञ्‍चालन हुने शिविरमा आउने सेवाग्राहीलाई जनरल मेडिसिन (सामान्‍य चिकित्‍सा), हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, स्‍त्री तथा प्रसूति रोग, ईएनटी (नाक, कान र घाँटी), मानसिक तथा नशा रोग, आँखा तथा दन्‍त रोग, मुटु रोग, बाल रोग लगायत विभिन्‍न रोगका विशेषज्ञ सेवाका साथै शल्‍यक्रिया सेवा समेत प्रदान गरिने आयोजकले बताएको छ। शिविरमा ईसीजी, भिडियो एक्‍सरे, इको, सुगर, युरिक एसिड, प्रेग्‍न्‍यान्‍सी (गर्भावस्‍था) ब्‍लड ग्रूप जाँचसँगै अन्‍य रोगको जाँच गरिने छ। २४ जनाको प्राविधिक टोली शिविरमा खटिने आयोजकले जनाएको छ। आयोजकका अनुसार शिविरमा परामर्श एवं नि:शुल्‍क औषधी वितरण समेत गरिने छ।

काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक संयोजनमा सुशील कोइराला स्‍मृति प्रतिष्‍ठान (सुशील कोइराला मेमोरियल फाउन्‍डेशन) ले आयोजना गर्न लागेको शिविरमा डा. सुनीलकुमार शर्मा लगायत एमडी, एमबीबीएस, बीडीएस, एमडीएस लगायतका उपाधि प्राप्‍त विशेषज्ञ चिकित्‍सकहरू सहभागी हुने छन्‌। शर्मा मोरङ जिल्‍ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्‍य समेत हुन्‌।

रुकुमपूर्व जिल्‍ला आयोजना सहजकर्ता सरिता बीसीका अनुसार जिल्‍लागत रूपमा स्‍थानीय आयोजना कमलदह प्राकृतिक सम्‍पदा तथा वातावरण संरक्षण केन्‍द्रले गर्न लागेको हो। बीसीले भने- 'दुर्गमबाट शल्‍यक्रियाजन्‍य उपचारमा आउने अतिविपन्‍न सेवाग्राहीलाई गाडीबाट आतेजातेको नि:शुल्‍क व्‍यवस्‍था गर्न गाउँपालिकासँग समन्‍वय गरिरहेका छौं।'

'अपरेसन गर्नुपर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिने छ', प्रतिनिधिसभा सदस्‍य कुसुमदेवी थापाले बताए- 'काठमाडौं रिफर गरिएका बिरामीलाई अपरेसन र बेड चार्ज फ्री गरिएको छ। क्‍याबिनमै राखिए पनि त्‍यो फ्री हुने छ।'

नेपालको ३७ औं प्रधानमन्त्री बनेका सुशील कोइराला व्यवस्थापिका संसदबाट वि.सं. २०७० माघ २७ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए। पूर्वप्रधानमन्‍त्री कोइरालालाई नेपालको सन्‍दर्भमा वर्तमान संविधानका पिता भनेर चिन्‍ने गरिन्‍छ। बुबा बोधप्रसाद र आमा कुमुदिनीका ज्‍येष्‍ठ सुपुत्रका रूपमा सन् १९३९ मा विराटनगरमा जन्‍मेका सुशील कोइरालाको निधन वि.सं. २०७२ माघ २६ गतेका दिन काठमाडौंको महाराजगञ्‍जस्थित आफ्‍नै निवासमा भएको थियो।

अविवाहित स्‍व. सुशील कोइराला नेपालीजनमा सन्‍त, सादगी, भद्र र निष्‍ठावान्‌ नेताको रूपमा चिनिन्‍छन्‌।

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला