'घरज्‍वाइँ' को क्‍यारेक्‍टर पोस्‍टर सार्वजनिक

'घरज्‍वाइँ' को क्‍यारेक्‍टर पोस्‍टर सार्वजनिक

काठमाडौं, १८ चैत २०८०

बहुप्रतीक्षित नेपाली कथानक चलचित्र 'घरज्‍वाइँ' को क्‍यारेक्‍टर पोस्‍टर सार्वजनिक भएको छ। गत फागुन ५ गतेबाट रुकुमपूर्व जिल्‍लामा गरिएको चलचित्रको छायाङ्‍कन यसै महिनाको ४ गते सकिएको हो। लुगुम गाउँमा शुभमुहूर्त गरिएलगत्तै सुरु गरिएको छायाङ्‍कन तकसेरा गाउँमा समापन भएको हो। 'घरज्‍वाइँ' मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर छन्‌। 

नायक दयाहाङ राई र नायिका मिरुना मगरले आफ्‍नो इन्‍स्‍टाग्राम र फेसबूकबाट आइतबार दिउँसो एकसाथ सार्वजनिक गरेको दुई क्‍यारेक्‍टर पोस्‍टरले सामाजिक सञ्‍जाल बेस्‍सरी तातिएको छ। फ्‍यान फलोअर्सले निकै चासोका साथ पोस्‍टरमाथि प्रतिक्रिया दिएका छन्‌ भने आ-आफ्‍ना सञ्‍जालमा चर्चा-परिचर्चा पोखेका छन्‌। जसले गर्दा यस खालको फिल्‍म पोस्‍टरले नेपाली चलचित्र नगरीमा एउटा नितान्‍त फरक ट्‍विस्‍ट छाडिदिएको छ भने सिने पारखीहरूलाई अर्गानिक फ्‍लेभर चाख्‍न आतुर बनाइदिएको छ। 

पोस्‍टरमा दयाहाङ राईले भरुवा बन्‍दुक बोकेको देखिन्‍छ। मगर मौलिक भेषभूषामा देखिएका दयाहाङले हाब्‍दुला, चौबन्‍दी, खादी, पटुका लगाएका छन्‌ भने अल्‍लोको धागोबाट बुनिएको जाबो भिरेका छन्‌। केश मुण्‍डन गरेको हुलियामा देखिएका दयाहाङ उच्‍च पहाडी भेगको पृष्‍ठभूमिका बीच कतै शिकारतिर बरालिँदै गरेको त होइन भन्‍ने आभाष दिलाउँछ। पोस्‍टर तस्‍बिरमा उनी हक्‍की स्‍वभावमा देखिएका छन्‌। जसले पुरुषार्थको झल्‍को दिन्‍छ। अर्को पोस्‍टरमा खापा लुङ्‍गी, युके स्‍वेटर, बुट्टेदार गादा, कोरियन टिशर्ट लगाएकी मिरुनाले चौखण्‍डे कुसुमे रुमाल शिरमा बाँधेकी छन्‌। उनी क्रुस (सुइरा) हातमा लिएर घरेलु ऊनी धागोबाट केही बुन्‍दै गरेकी देखिन्‍छन्‌। आफू अगुवा बनी दयाहाङलाई डोकाको चाङ बोकाएर कामतिर लगिरहेकी देखिन्‍छन्‌। जसमा घरज्‍वाइँ हुनुको सांकेतिक दृष्‍य देखिन्‍छ। तस्‍बिरमा यसै पनि दयाहाङ भुत्तेदार पहिरनमा निरीह जस्‍तै देखिएका छन्‌।

'घरज्‍वाइँ' मा घरज्वाइँकै कथालाई उनिएको छ। यसै पनि पुरुष भइसकेपछि दुर्लभ रूपमा घरज्‍वाइँको अवस्‍था आइपर्नु नेपाली समाजमा अक्‍सर अवसर कम र परिबन्‍ध बढी भएको सांस्‍कृतिक घटना हो। श्रीमानभन्‍दा श्रीमती बढी से बढी घरमूली हुनुपर्ने मगर समुदायमा अझ घरज्‍वाइँको जिम्‍मेवारी लिनु चानचुने होइन। भनिन्‍छ- घरज्‍वाइँ हुनु अर्ध-कमारो बन्‍नु हो। प्रज्ञा नेपाली वृहत्‌ शब्‍दकोशका अनुसार 'घरज्‍वाइँ' को अर्थ 'ससुरालीमा बसेर जीवन निर्वाह गर्ने जुवाइँ' भन्‍ने अर्थ लाग्‍छ। यसले एक खालको सामाजिक मुद्दाको उठान गरेको छ- पुरुषलाई परनिर्भर बनाइनु स्‍त्रीको शक्‍ति हो या कमजोरी ? यी यावत्‌ विषयमा जिज्ञासा राख्‍दा निर्देशक अनिलले यति मात्रै भने- 'स्‍त्रीप्रधान भएको घरमा पुरुषले के-कस्‍ता घुम्‍तीहरू पार गर्नुपर्छ र कस्‍ता खाले मूल्‍य मान्‍यताहरू अंगीकार गर्नुपर्छ भनी बुझ्‍नका लागि फिल्‍म हल नपुगी सुखै छैन।' 

चलचित्र समीक्षकहरूका अनुसार 'घरज्‍वाइँ' आफैंमा क्‍याची लाग्‍ने र अट्राक्‍टिभ सुनिने सिने टाइटल हो। नेपाली माटो सुहाउँदो शीर्षक चयन त भएकै हो र यसले विशेषत: ग्रामीण भेगको सीप, संस्‍कार, सभ्‍यता, अनुशासन र जीवनशैलीलाई विश्‍व रंगमञ्‍चमा प्रक्षेपण गर्ने सामर्थ्‍यता पनि बोकेको छ। बौद्धिकजनले बारबार भन्‍ने गरेको आदिवासीय दृष्‍टिकोणको जीवन्‍त चित्रण 'घरज्‍वाइँ' मा पाइने बताइएको छ। कलाकार विवेश बुढा मगरका अनुसार 'घरज्‍वाइँ' को कथा दयाहाङ आफैंलाई बढी मन परेको हो। विवेश भन्‍छन्‌- 'यसकारण पनि दयाहाङ र मिरुनाको जोडी लगायत अन्‍य कलाकारले चलचित्रलाई जीवन्‍त पार्न कुनै कसर बाँकी राखेका छैनन्‌।'

मगर संस्कृतिसँग नजिक रहेर निर्माण भइरहेको 'घरज्‍वाइँ' चलचित्रमा शुटिङ लोकेशन भएको समुदायकै संस्कृति र आनीबानीलाई केन्‍द्र बनाइएको छ। रुकुमपूर्वमै पहिलोपटक ठूलो पर्दाको चलचित्रको छायाङ्‌कन भएको हुँदा पर्यटकीय दृष्‍टिले यहाँका मौलिक जनजीवनको मूल्‍य यसै पनि अझ बढेर जाने धेरैको तर्क छ।

तकसेरा निवासी अनिल बुढा मगरको कथालेखन एवं निर्देशन रहेको चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शीला आले, अनु थापा, वीना थापा, खड्‍गबहादुर पुन 'खबपु चञ्‍चल', सोनाम लामा, विवेश मगर, सुनील मगर लगायत कलाकारको अभिनय छ। जीएम मुभी प्रोडक्सनको ब्यानरसँगै एबीएम सिनेमा प्रोडक्‍शनको सहकार्यमा निर्माण भइरहेको चलचित्र 'घरज्‍वाइँ' को अन्तर्राष्‍ट्रिय वितरण एमएसएम इन्टर्टेन्मेन्टले गर्दै छ भने स्‍वदेशका लागि वितरण अधिकार आरआर फिल्मस्‌मार्फत्‌ रोहित कट्टेल र रत्‍न श्रेष्‍ठले लिइसकेका छन्‌।

निर्माण टिमका अनुसार कलाकारहरूको सक्रियता र मौसमको साथले निर्धारित समयभन्दा अगावै चलचित्रको छायाङ्‍कन सिद्धिएको हो। करिब ३५ दिनमा खिचिसक्‍ने गरी तालिका बनाइएको भए पनि ५ दिन अगावै शुटिङ कार्य सम्‍पन्‍न भएको हो। रोल्‍पा खुमेल गाउँ निवासी जनक घर्ती मगर निर्माता रहेको चलचित्रको रिलिज मिति आगामी असार २८ गते सुनिश्‍चित गरिएको छ।

चलचित्रमा निर्देशक अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखन छ। सुसन प्रजापतिको छायाङ्‍कन रहेको चलचित्रको गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीतसँगै रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

गत फागुन ५ गते शुभमुहूर्त हुँदै गर्दाको तस्बिर।