भल्‍कोट बस दुर्घटनामा १ पत्रकारसहित मृतकको संख्‍या ९

भल्‍कोट बस दुर्घटनामा १ पत्रकारसहित मृतकको संख्‍या ९ दुर्घटनाग्रस्‍त बस

रुकुमपूर्व, ६ चैत २०८०

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ भल्‍कोटको जौंल्‍यापानी खण्‍डको सडकबाट सोमबार यात्रुवाहक बस खस्दा ९ जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बस दुर्घटनामा ४ महिला र ५ पुरुषको मृत्यु भएको हो। ७ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि बुर्तिबाङ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

रुकुमपूर्व सिस्‍ने गाउँपालिका–५ रुमालबारा निवासी पत्रकार २५ वर्षीय विक्रम परियार, रोल्पा गंगादेव गाउँपालिका -३ घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, रुकुमपश्‍चिम मुसिकोट नगरपालिका–२ रातामाटा निवासी सवारी धनी बबिददेल नेपाली सहित ९ जनाको मृत्‍यु भएको हो। यस्‍तै मृत्‍यु हुनेमा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्‍चिमरुकुम मुसिकोट-१ की २७ वर्षीया विनीता केसी, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा र ललितपुरका सुजन महर्जन रहेका छन्‌। 

रुकुमपश्‍चिम सानीभेरी गाउँपालिका-२ चाइनाबगरबाट काठमाडौं जाँदै गरेकाे बागमती प्रदेश०१-००६ख ३८७९ नम्बरकाे कमलताल यातायातको बस साँझ पौने ५ बजे वारपार दुर्घटना भएको हो। सडकबाट करिब १ सय ५० मिटर तल ओरालोको खस्रुको जंगलमा बस खसेको हो। बल्‍ड्‍याङ खाँदै गरेको बस खस्रुको रूखको खापमा अड्‍केको घटनास्‍थल पुगेका प्रत्‍यक्षदर्शीले बताएका छन्‌। बस रूखमा अड्‍किएको कारण अझ ठूलो हताहती हुनबाट बचेको स्‍थानीयले बताए।

मृतकको सनाखत हुने काम भइसकेसँगै घाइते यात्रुहरूको विवरण पुष्‍टि हुने काम भइरहेको जिल्‍ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

मृतक यात्रुमध्‍येका सञ्‍चारकर्मी परियार अन्‍नपूर्ण दैनिकका संवाददाता हुन्‌। उनी रुकुमपूर्वबाट सक्रिय रूपमा पत्रकारिता गर्दै आएका थिए। कमलकुञ्‍ज मिडिया हाउस प्रा.लि.का अध्‍यक्ष परियार सोही कम्‍पनी मातहत सञ्‍चालित अनलाइन सञ्‍चारमाध्‍यम ईरुकुमडट्‍कम्‌का सञ्‍चालक समेत हुन्‌। 

बसमा ३  महिने शिशु ज्ञानु ढकालसहित ३५ जना सवार रहेको र तीमध्ये २१ जना घाइतेको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको बागलुङ जिल्‍ला प्रहरी प्रवक्‍ता मदन केसीले बताए। केसीका अनुसार गम्भीर घाइते ५ जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ। दुर्घटनाको कारण खुल्‍न नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

तस्‍बिर साभार : रुकुमकोट निवासी लीलामणि गौतम लगायत ...

सकुशल रहेकी ३ महिने शिशु ज्ञानु ढकाल

रूखमा अड्किएको अवस्थामा काठमाडौंतर्फ पठाइएको नासो

पछिल्लोपल्ट सार्वजनिक गरिएको घाइते विवरण