सवारी दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु

सवारी दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु तिलकबहादुर रावत

बुटवल, ५ चैत २०८०

आइतबार राति भैरहवामा भएको सवारी दुर्घटनामा रुपन्‍देही जिल्‍लास्‍थित मालपोत कार्यालय मझगाँवाका प्रमुख तिलकबहादुर रावतको मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा२१च ७५५३ नम्बरको कारले गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थल अगाडिको सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

भैरहवा-लुम्बिनी सडकखण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गर्दा रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थलको प्रवेशद्वार अगाडिको सडकमा ठोक्किएका थिए। ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्‍ला मालपोत कार्यालयका एक कर्मचारीका अनुसार रातको करिब ९/१० बजे आसपास दुर्घटना भएको बताइन्‍छ।

रावत कार्यरत मालपोत कार्यालय जिल्‍लाको कोटहीमाई गाउँपालिकामा पर्दछ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईका अनुसार मालपोत कार्यालय वडा नं. २ को मझगाँवामा पर्दछ।

कार्यालय प्रमुख रावतले यसअघि साविकको रुकुम जिल्‍लाको रन्‍मामैकोट गाविसमा गाविस सचिव भई काम गरेका थिए। संघीयता कार्यान्‍वयनपछि राज्‍यको पुनर्संरचना भएपछि बनेको नयाँ जिल्‍ला रुकुमपूर्व अन्‍तर्गत पुथा उत्तरगंगा गाउँपालिकामा केही वर्ष निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उनी डोल्‍पा जिल्‍लाको काइके गाउँपालिकामा पनि केही समय कार्यालय प्रमुखको हैसियतमै रही निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्‍मेवारी सम्‍हालेका थिए। 

जिल्‍ला हुलाक कार्यालय रुकुममा खरिदार पदमा पोष्‍टिङ भई रावतले जागिर सुरु गरेका थिए। रुकुमपश्‍चिम जिल्‍लाको मुसीकोट नगरपालिका वडा नं १ छिङ स्‍थायी ठेगाना रहेका ४२ वर्षीय  रावतको श्रीमतीसहित दुई छोरा छन्‌।