कमलदहमा बदमासी

कमलदहमा बदमासी

रुकुमपूर्वको रुकुमकोटस्‍थित कमलदहमा शनिबार कमलको जरा निकाल्‍नेको भिड।

कमलदहमा शनिबार भइरहेको प्रकृतिविरुद्धको यो दृष्‍य कैद गरिएको तस्‍बिर सामाजिक सञ्‍जालमा हेरेपछि रुकुमकोटका स्‍थानीय भूतपूर्व सैनिक नित्‍यध्‍वज शाहीले आफ्‍नो फेसबूकमा तीतो पोखेका छन्‌- "रुकुमकोटका बौद्धिकवर्ग र नेतृत्‍वगणले कमल ताललाई संरक्षण गर्नुपर्छ भन्‍ने सदाशयता मात्र देखाउँदा रहेछन्‌। 'आज कमल तालको चिरहरन भएको छ' भनी कसैको मुखारविन्‍दबाट यस्तो विध्वंस नगरौं भनेको सुनिएन। हामी जस्ता भुँइमान्छेको आवाज कसले सुन्छ र ? विध्वंस गर्नेले विध्वंस गरे, बाँकी सबैले रमिता हेरे। यस्तै विध्वंस गर्दै जाने हो भने अर्को सालबाट कमलको बिउ रहने छैन। शास्‍त्रका अनुसार कमल भगवान विष्णुको नाभीबाट उत्पन्‍न भएको मानिन्‍छ। भगवान विष्णुलाई लात हानेर कमलको जरा निकालेको महसुस मैले गरेँ। सके संरक्षण गरौं, नसके विनाश नगरौं। आज त अति भयो।"

जिल्‍ला मुकामको अभ्‍यास गरिरहेको रुकुमकोटको मुख्‍य आकर्षण कमलदह हो। दहलाई मध्‍यपहाडी लोकमार्गले छोएको छ। त्‍यसैले यो दह मुलुककै एक सहज र आकर्षक पर्यटकीय गन्‍तव्‍यस्‍थल हो। जैविक विविधता बोकेको सिमसार क्षेत्रको रूपमा चिनिने कमलदह जिल्‍लाकै दोस्रो ठूलो दह हो। कमलदह सिस्‍ने गाउँपालिकाको ५ नम्‍बर वडामा पर्दछ। कमलदहदेखि सिस्‍ने गाउँपालिकाको मुख्‍य प्रशासनिक भवन बीचको दूरी करिब ५ सय मिटरको फरकमा छ। 

कमलदह संरक्षणको मुख्‍य मुद्दा उठाइरहने सिस्‍ने गाउँ कार्यपापालिका भने यो विद्रुप दृष्‍यको प्रत्‍यक्ष साक्षी बनिरहेको छ। ऊ फड्‍के किनाराको साक्षी मात्र नभई यसो गराउनुको मुख्‍य कारक पनि हो। अघिल्‍लो कार्यपालिकाले गरेको निर्णयलाई पछिल्‍लोले नसच्‍याउने हो भने पर्यावरणीय दृष्‍टिले ठूलो असर देखापर्न सक्‍ने धेरैको अनुमान छ। कमलको जरा निकाल्‍न वर्ष दिनभरिका लागि २१ दिन खुला गरिएको छ। स्‍थानीय सन्‍तोष खड्‍काका अनुसार गाउँपालिकाले नै टेण्‍डर आह्‍वान गरेपछि छनौट भएको ठेकेदारले बढी से बढी फाइदा दोहन गर्नका लागि इच्‍छुक सबैलाई कमलको जरा निकाल्‍न प्रवेश दिएको हो। कमलको जरा निकाल्‍न एक जना बराबर ५ सयदेखि ८ सय रूपैयाँसम्‍म शुल्‍क लिने गारिएको छ। शनिबार मात्रै २ सयभन्‍दा बढी सर्वसाधारणले कमलको जरा निकाल्‍न भनी शुल्‍क तिरेर दह प्रवेश गरेका थिए। गाउँपालिकाले करको दायरालाई भन्‍दा पनि संरक्षणको दायरालाई सर्वोपरि ठानी प्राकृतिक सम्‍पदा संरक्षणमा आवश्‍यक कदम चाल्‍नुपर्ने खड्‍काको सुझाव छ।

रुकुमकोटका एक सामाजिक चिन्‍तक तारकबहादुर शाहले कमलदहको दिगो विकासमा ध्‍यान दिनुपर्ने बताएका छन्‌। 'कमलको जरा निकाल्‍ने काम भनेको बालीनालीलाई गोडमेल गरेजस्‍तै हो। तर यति धेरै लथालिङ्‍ग हुने किसिमले पनि गोड्‍ने काम त गर्नुभएन नि !', शाह भन्‍छन्‌- 'सरोकारवाला निकायले आवश्‍यक निगरानी राखी वसन्‍त ऋतु नलाग्‍दै जरा निकाल्‍ने कामलाई निषेध गर्नुपर्ने देखिन्‍छ। पोटिलो र पुष्‍ट पालुवा पलाएपछि पो कमल बेस्‍सरी फैलिन्‍छ।' कमलदहको संवेदनशिलताप्रति निकै सजगता अपनाउनुपर्ने सामाजिक अगुवा शाहको राय छ। 

कमलको जरा निकाल्‍ने स्‍थानीयको भिडमा शनिबार यहाँ घुम्‍न आउने आन्‍तरिक पर्यटक समेत सामेल थिए। कमलको जरा निकाल्‍नकै लागि सिस्‍ने गाउँपालिकाको घोषित नीतिप्रति वातावरण संरक्षणकर्मीहरूले औंला उठाउँदै आएका छन्‌। यसप्रकारको दुष्‍कार्यले निकट भविष्‍यमै कमलदहको पहिचान गुम्‍ने हुँदा बेलैमा सचेत रहन स्‍थानीय बुज्रुकहरूले चेतावनी समेत दिँदै आएका छन्‌।

स्‍थानीय शिक्षक ऋषिकेश आचार्यले दुखेसो कहेका छन्‌- "यस्तै तरिकाले महिनौंसम्म हरेक साल प्रकृतिको उपहार दोहन गर्दै जाने हो भने रुकुमपूर्व कमलदहको चिनारी एकादेशको कथा हुने छ। त्यसैले सबैको ध्यान जाओस्‌।"

उखेलिएको कमलको जरा पानीमा तैराएर किनारातिर ल्याउँदै रुकुमकोटका एक स्थानीय। यो तस्बिर २०७० साल चैत २८ मा खिचिएको हो।