उल्‍लुको उद्वार !

उल्‍लुको उद्वार ! प्रकृतिप्रेमी गोविन्‍द सिंह

जाजरकोट जिल्‍लाको बारेकोट गाउँपालिका वडा नं. २ लिम्सामा उद्वार गरिएको उल्‍लु (लाटोकोसेरो) सम्‍हाल्‍दै प्रकृतिप्रेमी गोविन्‍द सिंह। बुधबार बिहानै कुकुरहरूले लुछिरहेकाे देखेपछि आइते नेपालीले उल्‍लुको उद्वार गरेका हुन्‌। सोही उद्वार गरिएको खबर आफ्‍नी भाञ्‍जी विष्‍णु सिंहमार्फत्‌ जानकारी गराइएकोमा गोविन्‍द सिंहले भाञ्‍जी विष्‍णु र आइते नेपाली दुवैलाई धन्यवाद टक्रयाएका छन्‌। आइते नेपालीबाट सो घाइते उल्‍लु बुझेपछि ओषधोपचार गर्दै आहाराको रूपमा मासुकाे व्‍यवस्थापन गरी खुवाएर सुरक्षित स्थानमा राखिएको सिंहले बताए। बारेकाेटमा मात्रै हालसम्म उल्लु र हुचिलहरूकाे उद्वार एवं उपचार संख्या ७ वटा पुगेको समेत उनले बताएका छन्‌।

आइते नेपाली

सिंहले आफ्‍नो फेसबूकमा लेखेका छन्‌-
"हामी पेसाले नबोल्‍ने घरपालुवा पशुपंक्षीका लक्षणका आधारमा सेवा गर्ने भेटेरिनरी प्राविधिक हौं। त्यही अनुभवलाई आफ्‍नै व्‍यक्तिगत आर्थिक लगानीका प्रयासले वन्यजन्तु संरक्षण अभियानमा उद्वार र उपचार गर्ने अवसर मिलेको छ। वन्यजन्तु संरक्षणसम्‍बन्‍धी तालिम नलिएको भए पनि विभिन्‍न कारणले घाइते वन्यजन्तु १३ वटा, चरा जाति ७९ वटा, गिद्ध १२ वटा, सर्प ४ वटा र बाटाे खन्दा अलपत्र परेका सर्पका १३ वटा अण्डा (काेठामा राखी काेरलिएको तथा ती कोरलिएर निस्केका बच्चा प्राकृतिक वासस्थानमा छाडिएको), चमेरो २ वटा, पछिल्लो समयमा कालाे ओतकाे एउटा बच्चा र हुचिल तथा लाटोकोसेरो जातका पंक्षी ७ वटाकाे उद्वार एवं उपचार गरी प्राकृतिक वासस्थानमा छाेड्न पाउँदा वन्यजन्तु तथा पंक्षीकाे मायाको अनुभवले म खुसी छु। मलाई प्रकृतिले सधैं सेवा गर्ने प्रेरणा दिनेछ।"

पेशाले भेटेरिनरी डाक्‍टर (सरकारी कर्मचारी) गोविन्‍द सिंह आफूलाई 'प्रकृतिप्रेमी' बन्‍न रूचाउँछन्‌। सिंह नेपाल बर्ड कन्‍जर्भेसन का आजीवन सदस्‍य हुन्‌।