प्रति शहीद परिवार बराबर एक धार्नी मह
महको साथसाथै दोसल्ला ओढाएर शहीद परिवारलाई सम्मान गर्दै अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउले।
रुकुमपूर्व, २०८० फागुन २१
सिस्ने गाउँपालिकाले शहीद परिवारहरूलाई सम्मान गरेको छ। गाउँपालिकाले राज्य पक्ष र तत्कालीन विद्राेही पक्षबाट मुलुकका लागि विभिन्न कालखण्डमा जीवन अर्पण गर्ने शहीदका परिवारहरूलाई आइतबार सम्मान गरेको हाे।
गाउँपालिकाले आफ्नो पालिकामा रहेका प्रत्येक शहीद परिवारबाट उपस्थित एकजना सदस्यलाई नछुटाउने गरी दोसल्लाको रूपमा बर्को (सल) ओढाएर प्रति शहीद परिवार बराबर एक धार्नी मह पनि प्रदान गर्यो।
गाउँपालिकाले आफ्नो विवरणमा ६८ जना शहीद सूची भएकामध्ये सम्मान कार्यक्रममा छुटेका केही शहीद परिवारलाई आ-आफ्नो वडा कार्यालयमा सोही कोसेली प्राप्तिका लागि सम्पर्क गर्न आग्रह समेत गरेको छ।
सम्मानमा प्रयोग भएको महको मूल्य धार्नीको ३ हजार रूपैयाँ रहेको सिस्ने गाउँपालिकाका प्रेस संयोजक जीतेन्द्र बुढाथोकीले बताए। वडा नं ८ का वडाध्यक्ष गोपाल पुनका अनुसार मह वडा नं ३ पाङा पोखराका कृषकहरूसँग खरिद गरिएको हो। स्थानीयस्तरमा उत्पादित मह बजारको अभावमा खपत हुन नसकिरहेको र त्यसलाई सदुपयोग गर्नका लागि सबैको सहमतिस्वरूप सामाजिक विकास शाखाले मह दिने निर्णय गरेको हो। 'स्वास्थ्यको लागि मह अति उत्तम पनि हुने भएकाले शहीद परिवार पनि खुशी हुने हुँदा हामी सबै यो टुङ्गोमा पुगेका हौं', वडाध्यक्ष पुनले बताए। सञ्चारकर्मी हरि गौतमका अनुसार सिस्ने गाउँपालिका मह उत्पादनको हिसाबले परिचित नाम हो। यसैलाई मध्यनजर राख्दै पालिकाको केही क्षेत्रलाई मौरी पकेट एरियाको रूपमा समेत घोषणा गरेको छ।
दोसल्ला स्वरूप ओढाइएका बर्को पनि स्थानीय उत्पादन रहेको बताइएको छ। स्थानीय अल्लोबाट घरेलु श्रम र सीपले उत्पादित बर्को वडा नं २ स्थित छिपखोला अल्लो कपडा उद्योगबाट खरिद गरिएका हुन्।
स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन हुने गरी स्थानीय सरकारहरूले यस्ता रणनीतिक स्किमहरू अगाडि सार्नुपर्ने कतिपयको धारणा छ। धेरैले यसलाई उदाहरणीय काम भनेका छन्।
सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले देशको आमूल परिवर्तन गर्न शहीदहरूले खेलेको भूमिका सम्झनलायक रहेको बताए। अध्यक्ष रेग्मीले छिट्टै नै सत्य निरूपण तथा मेलमिलाप विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्ने बताउँदै गाउँपालिकाले शहीद परिवारका जीवनस्तरलाई माथि उकास्ने प्रकृतिको नीति बनाई राहत दिने कामहरू अघि बढाइने प्रतिबद्धता दोहोर्याए।
गाउँपालिका उपाध्यक्ष गाेपाल रेउलेले शहीद परिवारका सदस्यहरूको बेलाबखत हालखबर बुझ्ने लगायत निरन्तर वास्ता गरिरहनुपर्ने दायित्व सरकारकाे भएकाले पनि यस खालका सम्मान कार्यक्रमहरू भइरहने बताए।
.png)
प्रतिक्रिया