मयाङमा लाँकुरी र काठे पीपल रोपियो
लाँकुरी लामो युग बाँच्ने वनस्पति हो भने काठे पीपल छिटोछरिटो फाइदा दिने वनस्पति हो।
रुकुमपूर्व, २०८० फागुन १९
पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ६ को मयाङमा लाँकुरी र काठे पीपलको वृक्षरोपन गरिएको छ। नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को पहल र ६ नम्बर वडा कार्यालयको समन्वयमा बिहीबार स्थानीय समुदायको सहभागितामा १ सय ३१ वटा लाँकुरी र काठे पीपलका बिरुवा रोपिएका हुन्।
मयाङ गाउँदेखि उत्तरतर्फको कोना वनको खाली भिरालो पाखामा बिरुवा रोपिएका हुन्। सो क्षेत्र भएर नै शहीदमार्ग र कृषि मार्ग छुट्टिएको छ। जैविक दृष्टिले अति महत्वपूर्ण मानिने लाँकुरी र काठे पीपल यो भेगको रैथाने वनस्पति रहेको ६ नम्बर वडाध्यक्ष ज्ञानबहादुर सेनले बताए। स्थानीय गाउँलेका अनुसार लाँकुरी र काठे पीपल रोपिएको ठाउँमा खस्रु, अङेर, बाँझ, सल्ला, मेल, लालीगुराँस, सल्ला, उत्तिस लगायतका रुखबिरुवा सजिलै हुर्किन्छन्।
'हाम्रो भेगको सामाजिक संस्कारले पवित्र मानेको लाँकुरी रोप्दा नै बढी फाइदा हुने देखिएको हो' वडा नं ६ का वडाध्यक्ष ज्ञानबहादुर सेनले बताए- 'काठे पीपल त झन् छिटो वृद्धि हुने मात्र नभई जस्तो खालको असजिलो जमिनमा पनि हुर्किने भएकोले हामीले यी दुई वनस्पति रोजेका हौं।' उनका अनुसार लाँकुरी लामो युग बाँच्ने वनस्पति हो भने काठे पीपल छिटोछरिटो फाइदा दिने वनस्पति हो। वडाध्यक्ष सेनले थप प्रष्ट पारे- 'दुवै पतझर वनस्पति भएकाले हिउँदमा स्याउला सोत्तर सोर्न पनि मिल्छ। हाम्रो जस्तो खेती संरचना भएको ग्रामीण भेगमा यी दुई वनस्पति अति उपयोगी छ।'
सेनका अनुसार आउँदो असारमा २ सयवटा औले सल्ला रोपिने योजना रहेको छ। औले सल्लालाई आ-आफ्नो स्थान विशेषको नामबाट चिन्ने गरिन्छ। औले सल्लालाई कतिपय ठाउँमा दियाले सल्ला भनिन्छ त धेरैजसो ठाउँमा खोटे सल्ला भनेर पनि चिन्ने गरिन्छ। लाँकुरीलाई स्थानीय मगर खाम भाषामा राँखुली भन्ने गरिएको छ भने कतिपय ठाउँमा राँकुली पनि भनिन्छ। वडाध्यक्ष सेनले वृक्षरोपनको सिजनबारे पुष्टि गर्दै भने- 'लाँकुरी र काठे पीपल जस्ता पतझर वनस्पति फागुन र सल्ला जस्ता कोणधारी वनस्पति असार महिनामा रोप्नु उपयुक्त हुन्छ।'
वातावरणीय दृष्टिले हराभरा देखिने र समुदायको जीविकोपार्जनमा छोटो समयमै प्रतिफल दिने लाँकुरी र काठे पीपल भूक्षय र पहिरो नियन्त्रणमा अब्बल वनस्पति मानिन्छन्। धेरैको धारणा छ- पछिल्लो पिँढीलाई रैथाने वनस्पतिको बारेमा बेलैमा चिनाउनुपर्ने खाँचो छ। पछिल्लो समय यसतर्फ धेरैले सरोकार राख्न थालेकाले पनि यी दुई वनस्पतिको महत्व अझ बढ्दै गएको जानकारहरूको बुझाइ छ।
युनाइटेड मिसन टु नेपाल (युएमएन) रुकुमपूर्व क्लस्टर र मिक नेपाल बीचको आर्थिक तथा प्राविधिक साझेदारीमा दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजना अन्तर्गत समुदायस्तरमा स्थानीय तहको पहल तथा समन्वयमा स्थानीय समुदायको प्रत्यक्ष जनसहभागितामार्फत् वातावरणीय संरक्षणका क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
प्रतिक्रिया