कविलामा होमस्‍टे तालिम

होमस्‍टे तालिमका माध्यमबाट सहभागीले अतिथि सत्कारसम्बन्धी सीप सिक्ने छन्‌।

कविलामा होमस्‍टे तालिम

दाङ, २०८० फागुन १८

घोराही उपमहानगरपालिका वडा नं १६ को सानी अम्‍बापुरस्थित कविला रिसोर्टमा एकहप्‍ते घरबास (होमस्‍टे) व्यवस्थापन तालिम बिहीबारदेखि सञ्‍चालन गरिएको छ।

पर्यटन विकास परिषद्‌ लुम्‍बिनी प्रदेशको आर्थिक सहयोग तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्‍ठान (नाथम) को प्राविधिक सहयोगमा लुम्बिनी प्रदेश होमस्टे महासंघको समन्‍वयमा एकहप्‍ते होमस्टे तालिम आयोजना गरिएको हो। दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ४ जिल्‍लाका होमस्टे सञ्‍चालक र होमस्‍टे व्‍यवसाय सञ्‍चालनका लागि विशेष चासो राख्‍नेहरूलाई लक्षित गरिएको तालिममा बिहीबारदेखि ४५ जना प्रशिक्षार्थीहरू सहभागी छन्‌। तालिममा रुकुमपूर्व जिल्‍लाको पुथा उत्तरगंगा गाउँपालिकाको रन्‍मा-मैकोट, तक-बाछीगाउँसँगै रोल्पा, प्‍यूठान, दाङ जिल्‍लाका विभिन्‍न गाउँका गरी ४५ जना प्रशिक्षार्थी सहभागी छन्‌। 

तालिममा सहभागी प्रशिक्षार्थीहरू उत्साहित रहेको आयोजकले बताएको छ। होमस्‍टे तालिम आयोजना भइरहे पनि यो स्त‍रको विशिष्‍ट तालिममा सहभागिता जनाउन पाउँदा उत्‍साहजनक खुशी बढेको सहभागीले बताएका छन्‌। सामुदायिक तथा निजी होमस्टे सञ्‍चालकहरूकै व्‍यावसायिक क्षमता अभिवृद्धिको लागि सातदिने तालिम रहेको थारु कल्याणकारी मञ्‍चका अध्‍यक्ष अशोक चौधरी र होमस्टे महासंघ लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन मञ्‍चका उपाध्यक्ष पृथ्वी पुन उर्फ बालकुरामले जानकारी दिए।

तालिमलाई लुम्‍बिनी प्रदेश सरकारको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्‍त्रालय मातहतको पर्यटन विकास परिषद्‌ले सघाएको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ। पर्यटन परिषद्‌का कार्यकारी निर्देशक बालकृष्ण गैरेले तालिमको उद्‌घाटन गरेका थिए। उद्‍घाटन मन्‍तव्‍यका क्रममा होमस्टेलाई पर्यटनसँग जोडेर परिषद्‌ले आफ्‍नो योजना अगाडि बढाएको गैरेको भनाइ थियो। तालिमका माध्यमबाट सहभागीले अतिथि सत्कारसम्बन्धी सीप सिक्ने पनि उनले सो अवसरमा बताएका थिए।

कार्यक्रममा बोल्दै लुम्‍बिनी प्रदेश होमस्‍टे महासंघका उपाध्यक्ष पृथ्वी पुनले आफ्नो संस्थाले 'हरेक ठाउँ - पर्यटकीय गाउँ' भन्‍ने मूल नाराका साथ विभिन्‍न पर्यटन मेला, गोष्‍ठी, छलफल, अन्‍तर्क्रिया, भ्रमन, उत्‍सव जस्ता कार्यक्रम आयोजना गर्दै आएको स्मरण गराए। पुन पर्यटन प्रवर्द्धन तथा गेमी होमस्‍टे संस्‍थाका अध्‍यक्ष हुन्‌।

तालिममा होमस्‍टे व्‍यवसाय सँगसँगै सरसफाइ, हाउसकीपिङ, सामाजिक सञ्‍जाल र बजारीकरणका बारेमा तालिम दिइने पुनले सुनाए। थारु कल्याणकारीका अध्यक्ष चौधरीले पर्यटन गतिविधि र होमस्टेका लागि बजारीकरणको ठूलो महत्व हुने भनाइ राखे। तालिमका संयोजक अजयराज बोगटीले गाउँको कला, संस्कृति र रहनसहनको प्रवर्द्धन र बजारीकरणमा नाथमले सघाउँदै आएको बताए। नेपाल जस्‍तो मुलुकमा पर्यटनका माध्यमबाट आर्थिक समृद्धि सम्‍भव भएको भन्दै उनले सहभागीको क्षमता र आयस्तर बढाउन सघाउने उद्देश्य कार्यक्रमले लिएको जानकारी समेत दिए।

स्था‍नीय थारु समुदायको सामूहिक सहभागिताबाट सञ्‍चालित कविला हस्‍पिटालिटी ग्रुप अन्‍तर्गत कविला रिसोर्ट सञ्‍चालनमा छ। यो रिसोर्ट आफैंमा समुदायस्‍तरको होमस्‍टे सरहको रिसोर्ट रहेका कारण यो प्रकृतिको होमस्‍टे तालिम यही ठाउँमा आयोजना गर्नु उपयुक्त ठानिएकाले सबैको रोजाइमा पारिएको आयोजकको ठम्‍याइ छ। १७ गतेदेखि सञ्‍चालन भएको सातदिने तालिम २३ गते समापन गरिने समेत आयोजकले जनाएको छ।