सहयोद्धाको स्‍मारक उद्‌घाटन

सहयोद्धाको स्‍मारक उद्‌घाटन स्‍व. दल्‍के रोकाको स्‍मृतिमा निर्मित शहीदद्वार उद्‌घाटन गरिएपश्‍चात्‌।

रुकुमपूर्व, ३ फागुन २०८०

२६ वर्षअघि कैलाली जिल्‍लामा शहादतप्राप्‍त दल्‍के रोकाको नाममा निर्माण गरिएको शहीदद्वारको मंगलबार एक कार्यक्रमका बीच उद्‌घाटन गरिएको छ।

२०५४ साल असोज २३ गते साविकको तिघरी गाविसमा प्रहरीद्वारा मारिएका दल्‍केको आफ्‍नै जन्‍मथलो पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ तिज्‍याङमा आयोजित स्‍मृतिसभा कार्यक्रमलाई सम्‍बोधन गर्ने क्रममा लुम्‍बिनी प्रदेशसभा सदस्‍य सुरुल पुनले उनै शहीद दल्‍के रोकाको नाममा स्‍थापित शहीद स्‍मृति प्रवेशद्वारको उद्‌घाटन गरेका हुन्‌। २९ औं 'जनयुद्ध दिवस' को अवसर पारी नेकपा (माओवादी केन्‍द्र) पुथा उत्तरगंगा गाउँ कमिटीले वार्षिकोत्सव समारोह आयोजना गरेको थियो। 

आफ्‍नै सहकर्मी दल्के रोका गुमाउँदाको पीडा सांसद सुरुल पुनले स्मरण मात्र गरेनन्‌, भावुक पनि भए। 'शहीद दल्‍के रोकासँगैको टोलीमा आफू पनि आबद्ध रहेको र सहयोद्धाको स्मृति प्रवेशद्वार आफैंले उद्‍घाटन गर्नुपर्दा त्यो समयको पीडा अहिले पनि महसुस भइरहेको छ', सांसद पुनले बताए।

तत्‍कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको 'जनयुद्ध' को सुरुवातकालबाटै भूमिगत रहेका दल्‍के रोकाको पार्टीको नाम 'दीन' हो। शहादत प्राप्‍त गर्दा २१ वर्षको उमेर रहेका दल्‍के अविवाहित थिए। स्‍थानीय भाषाको लवजमा 'धल्‍क्‍या' भनी बोलाइने दल्‍केको जन्‍म २०३३ साल पुस २८ मा तिज्‍याङमा भएको हो। हालका भूमे गाउँपालिकाका अध्‍यक्ष होमप्रकाश श्रेष्‍ठको नेतृत्‍वमा रहेको ७ सदस्‍यीय स्‍क्‍वायडमा दल्‍के पनि एक सदस्‍य थिए। माओवादीहरू भेला हुँदैछन्‌ भन्‍ने सुइँको स्‍थानीय प्रहरीले थाहा पाएपछि दल्‍के आबद्ध रहेको स्‍क्‍वायड टिमलाई थप प्रहरीको गस्‍ती टोलीले घेरा हाली तितरबितर पारेको थियो। सञ्‍चार सम्‍पर्क विच्‍छेद भएपश्‍चात्‌ उनीसहित अरु थप दुई जनालाई पनि खेदीखेदी हत्‍या गरिएको थियो।

स्व. दल्के रोका

२ नम्‍बर वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरिएको बजेट अन्‍तर्गत ५ लाख रूपैयाँ रकमबाट शहीदद्वार तयार पारिएको वडा सदस्‍य खाल पुनले बताए। 'अघिल्‍लो आर्थिक वर्षमै निर्माण सम्‍पन्‍न भएर पनि शहीदगेट प्रयोगमा आएको हो', खालले भने- 'सिर्फ औपचारिकता निर्वाहका लागि रङरोगन गरी उद्‌घाटन गर्न फागुन १ को जनयुद्ध दिवसको छेको पारिएको हो।' उनका अनुसार दुर्गम भएर पनि सांसद र स्‍थानीय सरकार प्रमुख सहभागी हुँदा खुसी त यसै पनि मिल्‍ने भयो। 

तिज्‍याङ गाउँ भित्रिने दक्षिणपूर्वी नाका रसुवाडाँडामा शहीद दल्‍के रोका स्‍मृतिद्वार निर्माण गरिएको हो।

प्रवेशद्वार उद्‌घाटन समारोहमा सांसद सुरुलसँगै पुथा उत्तरगङ्‌गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती, वयोवृद्ध माओवादी सल्‍लाहकार जगत घर्ती, जिताराम कामी, हर्कबहादुर कामी, २ नं. वडाध्‍यक्ष जसबहादुर श्रीपाली, शहीद परिवार लगायतको उपस्थिति रहेको कार्यक्रममा स्थानीयबीच अन्तर्क्रिया समेत गरिएको थियो।

(ताजा तस्‍बिरहरू : हिक्‍मत पोर्तेलको फेसबूकबाट साभार)

 

अतिथिलाई माल्यार्पण गर्नुअघि स्थानीय युवती।

माल्यार्पणपछि प्रदेशसभा सदस्य सुरुल पुन