न्यायको खोजीमा धर्मशाला ?!
गत साल चैत २२ मा विभत्स हत्या गरिएका दुई बालिका रीना र कालीमायाका बुबा तारामान बुढाले भर्खरै ती आफ्ना छोरीहरूको नाममा धर्मशाला बनाउने काम भ्याए।
न्यायको खोजीमा थुप्रै ठाउँ धाए। शहर पुगे। विभिन्न कार्यालय चाहारे। खै, उनको आवाज कहीँ सुनिएन। अन्ततः थाके र गाउँ फर्किए। मन बुझाउन आफ्ना दिवंगत लालाबालाको सम्झनामा गाउँदेखि धेरैमाथि लेक तथा बुकीपाटनतिर लाग्ने मूलबाटोको एक भञ्ज्याङ अर्गोलामा धर्मशाला बनाए। चौपारी चिने। बिसौनी बनाए। फुर्को पारिएका धूपी र लेक सल्लाका लिङ्गो गाडे। अनि दुई रङका पताका फर्फराइए, जो ती मृतक दिदीबहिनीले मन पराएका रङ थिए।
यी यावत् कामहरूमा तारामानले खुशी खोजिरहेका छन्। तर खुशीको नजिक पुग्न सकिरहेका छैनन्। हत्याका आरोपित दुई बालिका पक्राउ त परे, तर ती उमेर हदका कारण कानूनत: 'नाबालिग' थिए। हो, यहीँबाट नै तारामानको न्यायको बाटो झन्-झन् साँघुरिँदै गएको हो। तैपनि तारामान विश्वस्त थिए, एक दिन कसो न्याय नपाइएला। हत्याराले हदैसम्मको सजाय पाउने छन्।
तारामानको आशा लामो टिकेन। उनी छाँगाबाट खसेजस्तै भए, जब अभियुक्त भनिएकाहरू सजायमुक्त भएको खबर पाए। अदालतले कहिले फैसला गर्यो ? कुन आधारमा फैसला हान्यो ? केही थाहा पाएनन्। लामो सास फेर्दै तारामानले भने- 'उनीहरू सजायमुक्त भएपछि मात्रै थाहा पायौं।'
'वकिलले जानकारी दिएन ?' भनी यस पंक्तिकारले सोध्यो-'अहँ'। मात्र शिर हल्लाउँछन्। आँखाबाट आँशु झार्छन्। उनलाई अर्को असह्य तब भयो, जब हत्यारा भनिएकाहरूले आफूहरूले हत्या नगरेको र हत्या अरु कसैले गराएको भनी विना हिच्किचाहट नाम किटेरै सार्वजनिक रूपमा बोल्न थाले। को हो खास हत्यारा ? तारामानको लागि त्यो खोजतलाशको विषय हुनु स्वाभाविकै थियो। फुल्न नपाएका कोपिला जस्ता दुई छोरीको ज्यान गएको छ। अनि 'हत्यारा' को लेप लगाइएकाहरू नै निर्बाध रूपमा आफ्नै वरपर निस्फिक्री घुमिरहेका हुन्छन् भने योभन्दा अर्को असह्यको हद कतिसम्म होला। एकपल्ट 'तारामान' भएर त कल्पना गर्नुस्। त्यो विल्कुलै सहिनसक्नु पीडा त हो नै !
तारामान फेरि जिल्लास्थित अदालत पुगे। 'फैसला भइसक्यो, अब केही हुन सक्दैन' भन्दै पन्छिए वकिल। उता डीएसपी पनि उसैगरी टाढिए। कसैले सुनाएछ- दाङमा गएर पुनरावेदन गरे फेरि मुद्दा लाग्छ। ऋणदान गरेर तारामान दाङसम्म झरे। रुकुमकोट जिल्ला अदालतबाट आवश्यक कागजात मगाउने काम भएछ। कागजातको अध्ययनपश्चात् मुद्दाको फैसला भइसकेको र अभियुक्तहरू सजाय पाएर पनि उन्मुक्ति पाइसकेकोले पुनरावेदन गर्न नमिल्ने भन्ने जवाफ पाएछन्। अनि जिल्लामै जान भनिएछ।
जिल्ला त फर्किए तर सबै प्रक्रियाहरू पूरा भइसकेकोले केही गर्नै नमिल्ने भन्ने व्यहोराको जवाफ पाए। उल्टै जिल खाए।
कहिले यता, कहिले उता। यताबाट हुन्छ या उताबाट। हो, यसरी बितेको छ तारामानको दिनचर्या। यी झमेलाबाट थाकिसकेका तारामान मनमा शान्ति भर्न छोरीहरूको नाममा चौपारी, बिसाउना र धर्मशाला बनाउँदै हिँडिरहेका छन्। ती स्मारकहरू गोठाला र बटुवाका लागि थकाइ मेट्ने थलो बनेका छन्। तारामानले फोनमा भने- 'मेरो धर्मकर्मले छोरीहरूलाई न्याय मिल्छ कि भन्ने आश छ।' बिचरा ! यस पंक्तिकारका आँखा रसाए। भन्छन्- 'चौतारी चिने धर्म हुन्छ।' उनले लगाउने अर्थमा 'धर्म' भन्नाले 'अरुको भलो चाहनु' हो। तर कलियुगले यी र यस्तै धर्मीलाई झन् कठोर सजाय दिँदोरहेछ क्यारे !
ती अभियुक्त भनिएका नाबालिकहरूले बोलेका अडियो/भिडियो यस पंक्तिकारले पनि सुन्न/हेर्न भ्यायो। त्यसमा आफूहरूलाई वास्तविक हत्याराहरूले परिवार नै सखाप पार्ने डरधम्की दिएकाले बयानको क्रममा हामीले हत्या गरेको भनी स्विकारेका हौं भनी बकाइदासाथ बोलेको सुनिन्छ। यदि उनीहरूको कुरालाई सही मान्ने हो भने त्यसमा न्यायिक निकाय चुकेको देखिन्छ। भर्खरै नियन्त्रण गरेका बखत बयानको क्रममा ती नाबालिगहरूलाई सुरक्षाको भरपर्दो प्रत्याभूति दिलाउनुपर्थ्यो। घटनाको रहस्य अझ खुलाउनुपर्थ्यो। बयान लिने विधि अपुग भयो।
ल मानिलिऊँ- पक्राउ परेकाहरूले नै घटना घटाएको भनी बयान दिए, फैसला भयो। फैसला चित्तबुझ्दो छ या छैन भनी अदालतले पीडित परिवारलाई जानकारी त दिनुपर्ने होला नि ! आवश्यक कानुनी परामर्श दिलाइनु पर्दैनथ्यो ? किन दिइएन ? ताकि पीडितलाई कुनै सुइँको समेत दिइएन। तारामानले महसुस गरेको अन्याय यहीँनेर हो।
कतिसम्म भने अभियुक्त भनिएकाहरू नाबालिग भइसकेको हकमा सुधार केन्द्रमा सुधार भुक्तान गरेर निस्किसकेपछि मात्रै फैसला हानिएको रहेछ भन्ने कुरा आफूहरूले पछि मात्र थाहा पाएको तारामानले बारबार भनिरहेका छन्। यदि तारामानको यो भनाइ सही नै हो भने उनी जानुपर्ने पुनरावेदनको ढोकाको चुकुल सरकारी तवरबाटै लगाइएको रहेछ भन्ने बुझिन्छ। ल त्यो पनि मानियो, र फैसला पनि भयो। अभियुक्त भनिएकाहरूलाई सजाय पनि भयो रे ! तर परिस्थिति यस्तो पनि हुनसक्छ, जस्तो कि केही अभियुक्तहरू छुटेको थाहा भयो। तब पीडित परिवारले चाहेको खण्डमा मुद्दालाई फेरि पुनरावृत्ति गर्न मिल्ने कानुनी उपचारको व्यवस्था छैन ? के पीडित परिवारले मुद्दा बिउँताउन सक्ने अधिकारको प्रत्याभूति न्यायालयले दिलाउन सक्दैन ?
दुई/दुई छोरीको हत्या त भयो नै; त्यसको पीर. शोक र सन्तापको विक्षिप्तताले के तारामानले न्यायको खोजीमा धर्मशाला, बिसाउना र चौपारी निर्माण गर्दै हिँड्नुपर्ने हो ?
प्रतिक्रिया