स्‍वस्‍थकर शौच

स्‍वस्‍थकर शौच

प्रायः मानिस मल त्याग गर्नु, दिसा गर्नु वा शौच गर्नु जस्ता विषयमा छलफल गर्न त्यति रुचाउँदैनन्। जब कि मानव स्वास्थ्यका लागि यो अति नै महत्वपूर्ण हुन्छ।

मल त्याग सुचारु भएन भने अनेक किसिमका शारीरिक समस्या आइपर्छन्। मानिस वा पशु जसले भोजन गर्दछ, त्यसले मल त्याग गर्छ नै। पशुहरू जथाभावी मल त्याग गर्छन् भने मानिसले विशेष ठाउँको व्यवस्था गरेका हुन्‍छन्‌। परापूर्वकालमा मानिस वनजंगल वा नदीको किनारामा टुक्रुक्‍क बसेर नै मल त्याग गर्थे। अहिले पनि विश्‍वका धेरै मानिस त्यसरी नै मल त्याग गर्छन्।

टुक्रुक्‍क बसेर मल त्याग गर्न सहज हुन्छ। पेटको मांशपेसीहरू घुँडाले थिचिन्छ। आन्तरिक अंगहरूको मसाज हुन्छ, जुन पेट स्वास्थ्यका लागि लाभदायक छ। मिड्‌नी विश्‍वविद्यालयका पेटरोग विशेषज्ञ हेरे मिनसेन्ट भन्छन्– ‘पूर्वीय तरिकाको शौचालय (यसलाई टर्किश शौचालय पनि भनिन्छ) मा टुक्रुक्‍क बसेर शौच गर्दा पुठ्‍ठाको मासंपेशी बलियो हुन्छ र मल पनि सहजसँग निस्कन्छ। साथै कमोडको तुलनामा टुक्रुक्‍क बसेर शौच गर्दा पानी पनि कम खर्च हुन्छ।’

योगको सन्दर्भमा एक विशेष आसनको नाम नै मलासन छ। पश्‍चिमी देशमा कतिपय व्यक्तिले टुक्रुक्‍क (मलासनमा) बस्‍नु हुँदैन, घुँडा खिइन्छ भन्छन्। उनीहरू पलेंटी कसेर बस्दा पनि घुँडा दुख्‍छ भन्‍ने गर्छन्। वास्तवमा दक्षिण एसियाका बासिन्दाको त सानैदेखि टुक्रुक्‍क बस्‍ने बानी हुन्छ।

पूर्वीय देशका मानिसलाई खाना खाँदा, लुगा धुँदा, कुनै काम गर्दा पनि टुक्रुक्‍क बस्‍ने बानी परेको हुन्छ। पश्‍चिमा देशका मानिसको दैनिक जीवनमा यसरी बस्‍ने चलन नभएकाले वयष्‍क भएपछि यदि यसरी टुक्रुक्‍क बसे भने उनीहरूको घुँडा दुख्‍न सक्छ। त्यसैले पनि उनीहरूले यसरी बस्‍नुहुन्‍न भनेका होलान्। तर अहिले विभिन्‍न अनुसन्धान भएपश्‍चात्‌ यदि अरु कुनै समस्या छैन भने मल त्याग गर्दा टुक्रुक्‍क बस्‍नुलाई वा अरु सामान्य अवस्थामा पनि टुक्रुक्‍क बस्‍नुलाई स्वस्थकर मान्‍न थालिएको छ।

गर्भवती महिलाले पनि टुक्रुक्‍क बसेर मल त्याग गर्दा उनीहरूको पाठेघरमा कुनै दबाब पर्दैन। यसरी शौच गर्दा कब्जियत हुने सम्भावना कम हुन्छ। गर्भवती महिलाका लागि कब्जियत भए अनेक किसिमका समस्या हुन सक्छन्। पश्‍चिमी शैलीको कमोड राखिएको भए पनि शौच गर्न कमोडमा बस्‍दा खुट्टालाई सानो टेबलमा राख्‍न सकिन्छ। यसो गर्दा घुँडा तथा फिलाको दबाब पेटमा पनि पर्छ।

करिब २० वर्षअघि टिफेन बोनेटी नामकी मेरी अमेरिकन साथीले पूर्वीय शैलीको शौचालयको तारिफ गर्दै मलाई भनेकी थिइन्– ‘हाम्रो देशमा यसरी पूर्वीय तरिकाले शौच गर्ने चलन नभएकाले पूर्वीय तरिकाको शौच गर्ने भाँडो त हामीकहाँ बन्दा पनि बन्दैन। मैले सक्‍ने भए त यहाँबाट शौच गर्ने भाँडो नै अमेरिकामा लैजान्थेँ।’

टिफेन स्वास्थ्यकर्मी पनि भएकीले उनले सायद त्यसको महत्व बुझेकी थिइन्। हामी चाहिँ अहिले पनि शौच गर्ने पश्‍चिमी तरिका नै राम्रो मान्छौं। किनभने, हरेक कुरा पश्‍चिमीले अपनाएको नै ठीक भन्‍ने हामीलाई बानी नै परिसकेको छ। आफ्‍नो तरिका राम्रो भएर पनि हामीले त्यसको महत्व बुझ्‍न सकेका छैनौं। 'नजिकको तीर्थ हेला' भनेको नै यही होला।

अहिले विभिन्‍न अध्ययनबाट पूर्वीय शैलीको शौच गर्ने तरिका स्वास्थ्यको दृष्‍टिले महत्वपूर्ण हुन्छ भन्‍ने कुरा प्रमाणित भइसकेको छ। सन् २०२० मा डा. हितेन्द्र सुरी नामक आयुर्वेदिक डाक्टर र डा. कामप्रित (एक शल्यक्रिया चिकित्सक) नामक भारतीय डाक्टरहरूले त किन मलासनमा बसेर अर्थात् टुक्रुक्‍क बसेर शौच गर्नु ठीक हुन्छ भनेर एक अनुसन्धान गरी रिपोर्ट प्रकाशित गरेका थिए। भारतीयमा आधुनिक तरिकाको शौच गर्ने प्रवृत्ति भएपछि कब्जियत हुनेको संख्या पनि बढेको छ। अनुसन्धानको समयमा झण्‍डै २२ प्रतिशत भारतीय अर्थात् २५ करोड भारतीयलाई कब्जियतको समस्या रहेको थियो।

त्यस्तै प्रकारले यसबारेमा अर्को एउटा अध्ययन पनि भएको छ। त्यस अध्ययन प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागीमध्ये धेरैलाई कहिले पेट गडबड हुने, कहिले कब्जियत हुने, कहिले आउँ परेजस्तो हुने, कहिले पखाला लाग्‍ने जस्तो समस्या हुने गरेको थियो।

यी समस्या ती ठाउँमा बढी पाइयो, जहाँ अस्वस्‍थकर खाना छ तथा आधुनिक तथा पश्‍चिमा शैलीको शौचालय प्रयोग गर्ने गरिएको छ।

मलासन

स्क्वाटिङ प्यान