राजा महेन्द्रको त्‍यो अपत्यारिलो अवसान

राजा महेन्द्रको त्‍यो अपत्यारिलो अवसान राजा महेन्‍द्रसँग इन्‍दिरा गान्‍धी

२०२८ साल माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए। यो भ्रमण करिब एक महिनाको लागि तय गरिएको थियो। तर लामो समयसम्म त्‍यहाँस्‍थित दियालो बंगलामा बस्‍न पाएनन्। अचानक माघ १६ गतेको राति हृदयाघातले राति ११ बजे निधन भयो। तर भोलिपल्ट बिहान ३:४५ मा चिकित्सकबाट देहावसानको घोषणा भयो। तर यो मृत्यु रहस्यमय रह्‍यो। धेरैले धेरै किसिमका तर्कहरू प्रस्तुत गरे।

राजा महेन्द्रको केही भिन्‍न प्रवृत्तिको चर्चा गरौं
आषाढ कृष्ण पक्ष नवमीको दिन विसं १९७७ जेठ ३० गते शुक्रबार नारायणहिटी राजदबारमा कान्ति राज्यलक्ष्मीको कोखबाट जन्‍मेका युवराज महेन्द्रको दुवै आमाहरू भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसँग धेरै निकटता थिएन। त्यो समय 'राजा को थिए' भन्दा पनि 'श्री ३ महाराज को थिए' भन्‍ने महत्वपूर्ण थियो। तसर्थ महाराज श्री ३ चन्द्रशमशेरको प्रभुत्व रहेको समय थियो। युवराजको बाल्यकालमा दरबारभित्र नै शिक्षादीक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहिर पनि सम्पर्क हुँदैनथ्यो। शिक्षकको रूपमा कीर्तिराज दलीले दरबारमै शिक्षा दिन थालेका थिए। साथै तुलसीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए। अंग्रेजीका सुविख्यात कविका कविताहरू पढाउन थालिएको थियो। भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो। पण्डित दधिराम पनि दरबारमा पढाउन आइपुगेपछि दुवै मिलेर हितोपदेश, पञ्‍चतन्‍त्र तथा कालिदासको रघुवंश कण्‍ठस्‍थ बनाउन लगाइयो। बिस्तारै संगीततर्फ पनि रूचि दिन लगाइएपछि भूपालमान सिंहलाई शास्‍त्रीय संगीत सिकाउन लगाइयो। यसरी दरबारभित्रको शिक्षादीक्षाले सबै कुरामा युवराज महेन्‍द्र पारंगत हुँदै गए।

पञ्‍चतन्त्रले जीवनलाई दुई विपरीत किसिमले बुझ्‍न सिकायो। कसरी एक-अर्कामा सन्‍तुलन राख्‍न सकिन्छ भन्‍ने बुझे। साथै जीवनमा विनम्र बन्‍न पनि सिकायो। कणिक नीतिका कथाहरू र शिक्षाहरूलाई बाल्यकालमा ध्यानसँग पढेका युवराजले आफ्‍नो राज्यकालमा राजनैतिक रूपले कणिक नीतिका नियमहरूको उपयोग गरेका थिए। कणिक धृतराष्‍ट्रका प्रमुख मन्त्री थिए। कणिककै सल्लाहमा नै धृतराष्‍ट्रले राज्य सञ्‍चालन गर्दथे। पाण्डवसँगको युद्धमा नै कौरवहरूले कणिकको सल्लाह लिने गर्दथे। यसरी धृतराष्‍ट्रलाई कणिकले दिने सल्लाहलाई कणिक नीति भन्‍ने गरिन्छ। यसमा राजनीतिमा विरोधीसँग कसरी विजय बन्‍ने भन्‍ने सिकाएको छ। पछि राजा महेन्द्रले कणिक नीतिको आधारमा नै राज्य सञ्‍चालन गरेका थिए।

घोडचढीमा सिपालु रहेका युवराजको लागि सानो घोडा नै राखिएको थियो। राजा महेन्द्र युवराज छँदै पनि उनको स्वभाव अलि भिन्‍न थियो। यस्तैमा युवराज महेन्द्र बिरामी भएपछि दरबारमा सुसारेको व्‍यवस्था पनि गराइएको थियो। दरबारमा सुसारेको रूपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो। दरबारभित्र नै रहने हुँदा रम्बा गुरुङसँग निकट हुँदा गर्भवती बनाउन पुगे। दरबारमा जस्तो परिस्थिति भए पनि भ्रुणहत्या गरिँदैनथ्यो। जसले गर्दा रम्बालाई दरबारले ल्याइतेको रूपमा स्विकार गर्‍यो। केबल १३ वर्षको उमेरमा नै महेन्द्र बाबु बने। रम्बाको नाम दरबारले गीता राखिदियो र ल्याइतेसरहको अधिकार दिइयो। यसरी आमा छोरालाई सम्पूर्ण खर्चको व्‍यवस्था दरबारले गराइदियो। तर राजपरिवारको सदस्यको अधिकारबाट भने बञ्‍चित नै राखियो। गीताबाट जन्मिएका छोरा रवीन्द्र आफ्‍नै बुबा जस्तै गीतकार एवं कवि भएर निस्किए। तर उनले आमालाई भने हेरेनन्। दरबारले चारजना नोकरसहित वार्षिक खर्च र बस्‍नलाई बत्तीसपुतलीमा घर दिएको थियो। तर महेन्द्रको देहावसानपछि यो खर्चमा कटौती गरियो।

यसरी दरबारभित्रकी सेविकासँग नै लसपस भेटिएपछि युवराजको विवाह श्री ३ जुद्धशमशेरकी नातिनी तथा हरिशमशेरकी छोरी इन्द्र राज्यलक्ष्मीसँग वि.सं. १९९७ वैशाख २६ गते गराइयो। विवाहको १० वर्षपछि दिल्ली पलायन हुनु केबल दुई महिना अगाडि युवराज धीरेन्द्रको जन्‍मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो।

आफ्‍नी स्‍वर्गीय युवराज्ञी इन्द्रको सम्झनामा युवराज महेन्द्रले गोकर्णको जंगलभित्र 'सम्झना सदन' बनाएका थिए। यदाकदा फुर्सद पाए भने युवराज सम्झना सदन पुग्दथे। युवराजले यसलाई 'शान्तिको आश्रयस्थल (Haven of Peace)' भन्दथे। बेलाबखत साली रञ्‍जना पनि दिदीको साथ पुग्दथी। अचानक दिदी इन्द्रको देहावसानपछि युवराज साली रञ्‍जनाको नजिक रम्‍न थाले। बाबुसँग निहुँ खोज्दै साली रञ्‍जनासँग विवाह गर्न जिद्दी गर्न थाले। बाबुले पहिलो विवाह तत्कालीन राणा श्री ३ जुद्धकी नातिनीसँग गर्न बाध्य भए पनि देशमा प्रजातन्‍त्र आइसकेर राणाहरू अधिकारविहीन भइसकेको हुँदा राणासँग दोश्रो विवाह नगराउने ठानिसकेका थिए। भोलि राजा बन्‍नुपर्ने युवराजको लागि भारतकै कुनै रियासतकी राजकुमारीसँग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन। छोराको जिद्दीपछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालयलाई राजगद्दीका हकदारको रूपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए। यता युवराज महेन्द्र पनि रञ्‍जनासँगको प्रेममा चुर्लुम्‍म डुबेर युवराजको पदबाट राजीनामा दिई साधारण जनतासरह रञ्‍जनासँग नै जीवन बिताउने ठानिसकेका थिए। बीचमा कांग्रेसका नेता बीपीले राजा र युवराज दुवैलाई सम्झाएर राजा त्रिभुवनलाई रञ्‍जना राणासँग विवाहको लागि मनाउन सफल भए। यसरी युवराजको दोश्रो विवाहमा राजी भए पनि पछि आउन सक्‍ने विवादको आँकलन गरी दोश्रो विवाहपछि सन्तान जन्‍माउन नपाइने शर्त राखे। जसको लागि विवाहपूर्व नै पाठेघर फ्‍याँक्‍न लगाए भनिन्‍छ। यो के कति सत्य हो भन्‍ने कुनै आधार नभए पनि विवाहपछि सन्तान नजन्‍माउने शर्त भने रञ्‍जनाले स्विकार गरेकी थिई। यसरी इन्द्र राज्यलक्ष्मीको देहावसानको दुई वर्षपछि २००९ मंसिर २५ गते कान्छी साली रञ्‍जना राणा (रत्‍न) सँग विवाह गरे। राजा त्रिभुवन यस विवाहको लागि भित्रैदेखि खुशी थिएनन्। तसर्थ युवराज महेन्द्रले यो विवाह साथीसँगी र भाइहरूको साथ बागदरबारबाट रत्‍नलाई सिधै नागार्जुन दरबारमा लगेका थिए। नारायणहिटी दरबारमा शुरुमा स्विकार गरिएन। हुन पनि पछि युवराज्ञी रत्‍नले दिदीकी सबै सन्तानलाई आफ्‍नै सन्तानसरह हुर्काए।

राजा त्रिभुवनको भारत निर्वासन
२००७ सालमा राजा त्रिभुवन भारतीय राजदूत सीपीएन सिंहको गलत मनसायमा फसेर भारतीय राजदूतावासमा शरण लिन पुगे। यस अगाडि राजा त्रिभुवनले नेपाली कांग्रेसलाई पाल्पा लगिदिन आग्रह गरेका थिए। पाल्पामा बसेर राणाशासनको अन्त्यको घोषणा गर्ने योजना थियो। हुन त कांग्रेस सधैं समयमै आवश्यक काम गर्न चुकिरहेको अवस्‍था थियो। हेलिकप्‍टरको व्‍यवस्‍था गर्न ढिलाइ हुँदा राजा त्रिभुवन भारतीय राजदूतको चंगुलमा फसे। यही नै नेपालको सबैभन्दा ठूलो दुर्भाग्य थियो। यसपछि जवाहरलाल नेहरु आफ्‍नो षड्‍यन्त्रमा सफल हुन्छन्‌। नेहरुले न त राजा त्रिभुवनको साथ र विश्‍वास गरे, न त बीपीलाई बलियो साथ र विश्‍वास गरे। नेपाललाई आफ्‍नो एक प्रान्त झैं व्‍यवहार गर्ने नेहरुले उत्तर प्रदेशका गृहसचिव गोविन्दनारायण सिंहलाई राजा त्रिभुवनको प्रमुख सल्लाहकारको रूपमा नेपाल पठाए। त्यो समयको नेपाल गजेटमा उनलाई दिइएको अधिकारको अध्ययन गर्दा ऊ नै सर्वेसर्वा थिए। अझ मातृकाप्रसाद कोइराला मन्त्रिमण्डलको समयमा त सरकारी उच्च तहका तीन सय कर्मचारी भारतीय थिए। मातृकाले नेहरुको सल्लाहमा एनएम बुचको एक आयोग गठन गरी उनकै सल्लाहमा प्रशासनिक सुधारका नाममा भारतीय कर्मचारीलाई नियुक्ति दिएको थियो। करिब ३ वर्षको नेपाल प्रवासमा उनले नेपालको सुरक्षा परिषद्को‌ एक बैठक दिल्लीमा राख्‍न पनि सफल भएका थिए। साथै नेपालको सैनिकहरूको संख्या घटाउन निकै ठूलो भूमिका खेलेका थिए। यो सबै बुझेका युवराज महेन्द्र मौकाको ताकमा थिए। राजा महेन्द्रले राजगद्दी सम्हालेपछि सबैभन्दा पहिले यिनै गोविन्दनारायण सिंहलाई भारत फिर्ता पठाए। तत्कालीन समयमा नेहरुले लेखेका पत्रहरूको चाङ नै अहिले पुस्तकका रूपमा आइसकेको हुँदा पनि नेहरुका तत्कालीन मनसायहरू अहिले सहजै पढ्‍न र बुझ्‍न सक्छौं।

युवराज महेन्द्र राजा बनेपछि
उपचार गर्दागर्दै पनि २०११ फागुन ३० गते अचानक स्विट्ज‌रल्‍यान्‍डमा राजा त्रिभुवनको देहान्त भयो। युवराज महेन्द्रको काँधमा सिंगो राष्‍ट्रको बोझ आइपुग्यो। उनी राजा बने। देशमा राणाबाट मुक्तिपछि राजनीति गतिलोसँग गर्न जान्‍ने राजनेता जन्‍मिएको थिएन। एक-अर्कामा आक्षेप र खिचातानीमा नै समय बितिरहेको थियो। आफ्‍नो देशबाट राणाशासन हटाउनको लागि भारतको सहयोग लिएको हुँदा भारतले आफ्‍नो हैकम दरबारमा तथा राजनैतिक कार्यकर्ता बीचमा पनि बढाउन थालेको थियो। यसरी भारतको दबाबको विरोधमा नयाँ राजा महेन्द्रले कदमहरू चाल्न थालिहाले। हुन त राजा त्रिभुवन जीवितै रहँदा पनि युवराज महेन्द्रले भारतको दबाबको विरोधहरू गरिरहेकै थिए। बाबु राजा हुने समयमा नै भारतको विशेष गरेर नेहरुको नीतिको विरोध गर्दै आएका राजा महेन्द्रले आफ्‍नो शासनकालमा अझ बढी भारत तथा नेहरुकै उपेक्षा गर्न थाले। विकासको लागि विश्‍वभ्रमण गर्न थाले। विभिन्‍न देशसँग सहयोगको लागि आह्‍वान गर्न थाले।

राजगद्दी सम्हालेको ५ महिनामा नै वि.सं. २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरी भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए। शासन सम्हालेको एक वर्षभन्दा कम अवधिमा नै वि.सं. २०१२ असोज २२ मा पहिलो पञ्‍चवर्षीय योजनाको घोषणा गरेका थिए। वि.सं. २०१२ मंसिर २९ मा नेपालले संयुक्त राष्‍ट्र संघको सदस्यता पाएको थियो। यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरू बीचको सामञ्‍जस्‍य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए। २०१३ वैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्‍वका प्रमुख कूटनायकहरूको पहिलो जमघट हो। यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्‍वभर चिनाउन मद्दत गरेको थियो। यस समारोहमा पहिलोपटक नेपालले विश्‍वभरका राजनायकहरूलाई विशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएको थियो।

देशमा प्रजातन्त्र आगमनपछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरू सक्षम भइनसकेको आभास हुन्छ। यसबीच मातृकाप्रसाद कोइराला दुईपटक प्रधानमन्‍त्री बने। अन्य प्रधानमन्त्रीहरू लामो समय टिक्‍न सकेनन्‌ वा भनौं टिक्‍न दिइएन। वि.सं. २००७ सालदेखि २०१७ सालको बीचमा दलीय राजनीति निकै तल्लोस्तरको थियो। दाजुभाइ नै मिल्न सकेनन्‌। दुवैलाई मिलाउने कांग्रेसी कार्यकर्ता भारतका नेतालाई गुहार्नसम्म पुगे।

देशमा प्रजातान्त्रिक सरकार बनेपछि राजा लामो विदेश भ्रमणमा निस्केका थिए। विश्‍व राजनीतिलाई नजिकबाट नियालेर फर्केका राजाले राष्‍ट्रिय आमचुनावबाट बनेको बीपी सरकारलाई पनि अपदस्थ गरिदिए। देशमा रहेका राजनैतिक आस्था भएकाहरूको सधैं यही गुनासो रहने गर्दछ- "किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरे ?"

देशका जनतासँग प्रत्यक्ष संवादको थालनी पश्‍चिम नेपालबाट गर्दा बाटोघाटोको अप्‍ठ्‍यारो महसुस गरी १८ सालमा पूर्वपश्‍चिम राजमार्गको उद्‍घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए। हुन पनि यस राजमार्गको निर्माणले पूर्वदेखि पश्‍चिमसम्मका नेपालीले आफ्‍नो देश सहजै चिन्‍न पाएका थिए।

भन्‍ने गरिन्‍छ- त्रिभुवन विश्‍वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ति र ईश्‍वरीको गहना बेचेका थिए। राजकाजको समय कतिपय कठोर निर्णयहरू पनि भएका होलान्‌। जसलाई केही वर्गले सहजै स्विकार गर्न सकेनन्। तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरू राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन्। राजा वीरेन्द्र धेरै नरम थिए। राजा महेन्द्र भने समयानुकूल बन्थे। कहिले कठोर त कहिले नरम भएर आवश्यक कदम चाल्थे।

यसपछि उता भारत राजा महेन्द्रसँग अझै चिढियो। यता महेन्‍द्रले विभिन्‍न उद्योगहरूको स्थापनाको लागि चीन तथा रुसको सहयोग लिए। नेहरुले विरोध गरिरहे। तर महेन्द्रले आफ्‍नो गति रोकेनन्। यसरी भारतले आफ्‍नो नेपालप्रतिको दमननीतिको तगारोको रूपमा महेन्‍द्रलाई लिन थाले। नेपाली कांग्रेसले सधैं भारत आफ्‍नो हितमा रहेको ठानिरह्‍यो। तर नेहरुले कहिल्यै बीपीप्रति सहयोगी र सद्‍भाव राखेनन्। राजा महेन्द्रको १७ सालको कदमको भित्री रूपमा सहयोग नेहरुको पनि थियो। दुई दिन अगाडि मात्र भारतीय सेना प्रमुख ठिमैया नेपाल भ्रमणमा रहनु र १७ सालको कदमपछि जननिर्वाचित प्रधानमन्त्री जेल कोच्‍चिएपछि भारतको संसदमा नेहरुले बोल्ने क्रममा एक सांसदले 'नेपालका राजालाई धन्यवाद र बधाई दिनुपर्छ' सम्म भनेका थिए। साथै ठिमैयाको पक्षमा नेहरुले भनेका थिए, 'उनी सम्मानको कार्यक्रममा पुगेका थिए। अचानक राजाले यस्तो कदम चाले। यसमा ठिमैया अथवा भारतको कुनै साथ र सहयोग थिएन।' तर अनौठो संयोग वा योजना थियो त्यसबेला। राजाले प्रजातान्त्रिक सरकार अपदस्थ गरिरहँदा भारतीय राजदूत हरिश्‍वर डोयाल, भारतीय सेना प्रमुख जनरल ठिमैया र नेपालका सैनिक प्रमुख नीरशमशेर चितवनमा थिए। पुस १ गतेको बिहानै राजा महेन्द्रले जनरल ठिमैयाको हातमा नेहरुलाई सम्पूर्ण जानकारीसहितको पत्र पठाएका थिए। तर नेहरुले सो पत्र पुस ४ को बिहान मात्र पाए। पछि राजासँगको भेटमा नेहरुले 'बीपी सरकारलाई मात्र अपदस्थ गर्ने तर संसद भंग नगरेको भए हुने' भनेका थिए भनिन्छ।

राजाको रूपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन्। पूरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन्। तर पनि छोटो अवधिमा पनि धेरै काम गरेर देखाएका थिए। शायद यो अवधिमा नेपालमा जुन किसिमको विकासका पूर्वाधारहरू बने, यसले पछिसम्म विकासका लहरहरू नै चले। गाउँगाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनीहरूको दु:ख सुन्‍ने परिपाटी उनले शुरु गरेका थिए। जुन पछि उनका छोरा राजा वीरेन्द्रले पनि नियमित गरे।

वि.सं. २०२८ माघ ३ गते लामो छुट्टि मनाउने उद्देश्यले चितवन लागेका थिए। प्रधानमन्त्री कीर्तिनिधि विष्‍टलाई माघ महिनाको मन्त्रिपरिषद्को‌ बैठक चितवनको दियालो बंगलामा नै गर्ने पनि जानकारी दिएका थिए। साथै राजा यो छुट्टिमा देशको निकासको लागि केही गहन निर्णय गर्ने मनसायले विचारविमर्श गर्न पनि एकान्त खोज्दै थिए। चितवन जाँदा उनमा कुनै पनि किसिमको शारीरिक समस्या थिएन। साधारण अवस्थामा छुट्टिमा चितवन पुगेका राजा केही दिन आफूलाई व्‍यस्‍त राख्‍न शिकारमा पनि गएका थिए।

वि.सं. २०२६ सालमा राजा महेन्द्रले राजधानीबाहिर नेपालकै मध्यभाग पर्ने गरी महेन्द्र राजमार्ग नजिकै शीतकालीन दरबारको रूपमा दियालो बंगला बनाएका थिए। यो दरबार धार्मिक रूपले पनि महत्वपूर्ण देवहरूको भूमि देवघाटमा बनाइएको थियो। चारकोशे झाडीको जंगलको एक भागभित्र जीवनको उज्यालोको आशाको स्वरूप बनाइएको थियो दियालो बंगला।

२०२८ सालको असोज १९ गतेदेखि २९ गतेसम्म रौतहट र बारा जिल्लामा धार्मिक दंगा भएको थियो। यसपछि नेपालका जनजातिका अगुवाहरूको रूपमा खड्‍गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजङ गुरुङसँगै योगी नरहरीनाथ लगायत थुप्रैसँग इन्दिरा गान्धीले भेट गरेका थिए। देशमा जातीय द्वन्‍द्वको तैयारी इन्दिरा गान्धीले गराउन चाहेको सुइँको पाएका थिए राजा महेन्द्रले। जुनबेला भारतको राजधानी दिल्लीमा नेपालका जातीय अगुवाहरू इन्दिरा गान्धीसँग गोप्य छलफलमा व्‍यस्त थिए। त्यही समय नै चितवनमा राजा महेन्द्रको देहान्त हुनु संयोग थियो। नेपालमा पहिलोपटक भएको जातीय दंगामा ५१ व्‍यक्तिको हत्या भएको थियो भने १ हजार ८सय ७४ घर जलाइएको थियो। यसको पीडा पनि राजा महेन्द्रलाई गहिरोसँग लागेको थियो।

यस्तै बीच माघ १० गते दियालो बंगलामा नै भएको मन्त्रिपरिषद्को‌ बैठकमा पनि भारतपरस्त एकदुई मन्त्रीबाट केही विरोधका आवाजहरू आएका थिए। राजाले छलफलका लागि अर्को बैठक माघ १७ मा बोलाएका थिए। दलविहीन राजनीतिमा लागेको १० वर्ष भइसकेको हुँदा पनि देशमा बहुदलीय व्‍यवस्थाको आवश्यकताको अनूभुति राजाले गरिसकेका थिए। बहुदलीय व्‍यवस्थामा नेतृत्व भने बीपीलाई नै दिनुपर्छ भन्‍नेमा राजा निश्‍चिन्‍त थिए। राजाको आगामी योजना र नेतृत्वको आह्‍वानसहितको पत्र बोकेर श्रीभद्र शर्मा बीपी निर्वासन रहेको सारनाथ गइसकेका थिए। यसको जानकारी मन्त्रीमण्डलकै एक सदस्यबाट गोप्य रूपमा भारतलाई जानकारी पठाइएको आशंका गरिएको थियो। वास्तवमा भारत अझै पनि बीपीको नेतृत्व चाहँदैनथ्यो। यस्तैमा माघ १७ को अर्को बैठक बस्‍नै नसक्‍ने गरी राजा महेन्द्रको देहान्‍त हुन पुग्‍यो।

राजा महेन्द्रको समयमा नै कीर्तिनिधि विष्‍टको सरकारले चिनियाँ नाकानजिकै रहेको भारतीय चेकपोष्‍टहरू हटाएको थियो। २०२६ साल साउन १० गते राष्‍ट्रिय पञ्‍चायतको बैठकबाट संकल्प प्रस्ताव पारित गराई हिमाली नाकामा रहेका १७ भारतीय चेकपोष्‍ट र त्यहाँ रहेको वायरलेस अपरेटर तथा सैनिक तुरुन्त हटाउन लगाइएको थियो। यसबाट इन्दिरा गान्धी सरकार राजा महेन्द्रप्रति निकै रुष्‍ट भएको थियो। साथै कीर्तिनिधि विष्‍टले १९५० को सन्धिको कुनै औचित्य नरहेको भन्‍ने वक्तव्य समेत दिएका थिए। हुन पनि राणाशासन अझै केही समय टिकाउन मद्दत गर्ने लोभ देखाई नेहरुले मोहनशमशेरलाई सन्‌ १९५० को सन्धिमा हस्ताक्षर गर्न लगाएका थिए। तर पछि नेहरुले न त राणालाई सहयोग गरे, न त बीपी र त्रिभुवनलाई नै। सबैलाई लोभ देखाउँदै आफ्‍नो स्वार्थ पूरा गरिरहे।

शुरुमा सिक्किमलाई भारतमा गाभ्‍ने र त्यसपछि भारतले नेपालको तराई क्षेत्रलाई टुक्राउने योजना बनाइएको थियो। सन्‌ १९६८ मा भारतीय जासुसी संस्था 'र' को गठन भएको थियो। यसका प्रमुखका रूपमा आरएन काओ नियुक्त भएका थिए। काओ भारतीय जासुसको रूपमा परिचित भइसकेका थिए। जसले गर्दा काओ विभिन्‍न षड्‌यन्त्रमा अगाडि बढे। तराई टुक्राउने छनक पाएका राजा महेन्द्रले तुरुन्तै भारतीय चेकपोष्टहरू हटाउन लगाएका थिए। यसैबखत अचानक राजाको निधन हुनु दुर्भाग्‍य थियो। उता भारतले सिक्किमलाई भारतमा विलय गराइछाड्‍यो। काओ नेपालको तराई टुक्राउने योजनामा अगाडि बढ्‍दै थिए। अचानक भारतीय राजनीतिमा आन्तरिक समस्या बल्झियो, जसले गर्दा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउन बाध्य भए। सबै राजनैतिक गतिविधि तथा अन्य योजनाहरू सबै रोकिए। काओको नेपालको तराई टुक्राउने योजना पनि टुहियो। जसले गर्दा नेपाल एउटा ठूलो संकटबाट बच्यो। अझै पनि भारत नेपालको तराई टुक्राउने योजनामा नै रहेको देखिन्छ। काओसँगको कुराकानीका आधारमा एके यादवले आफ्‍नो पुस्तक 'मिसन र' मा यसको उल्‍लेख गरेका छन्।

यी त भए षड्‌यन्त्रका लागि हुनसक्‍ने कारणहरू। राजा महेन्द्रको केही समस्या स्वास्थ्यको पनि थियो। २०२४ सालमा पहिलोपटक हृदयाघात भएपछि बेलायतमा उपचार भएको थियो। वि.सं. २०२७ माघ १७ गते शिकारको क्रममा कञ्‍चनपुरमा बाघलाई ताकेर हानिएको गोली ढुङ्‍गामा ठोक्‍किई उछिट्टिँदा छर्राले रानी रत्‍नलाई चोट लागेको थियो। रानी रत्‍नको उपचार त्यसबेला नेपालमा नै गरिएको थियो। शाही चिकित्सक मेजर जनरल शुशीलचन्द्र हल्डरको विशेष निगरानीमा उपचार भएको थियो। यस घटनाले पनि राजा महेन्द्रमा गहिरो चोट पुगेको थियो। वि.सं. २०२६ सालमा पनि शिकारकै क्रममा कञ्‍चनपुरको हरैयामा बाघलाई गोली प्रहार गर्दा गोली बाघलाई नलागी उल्टै बाघले राजालाई आक्रमण गर्न लाग्दा नजिकै रहेका सुरक्षाकर्मीले बाघलाई गोली हानेर मारेका थिए। बाघको अप्रत्याशित आक्रमणको त्रासले राजा अचानक बेहोस भएका थिए। यसपटक भारतीय चिकित्सकहरूले नै उपचार गरेका थिए।

सामान्य अवस्थामा माघ ३ गते दियालो बंगला पुगेका राजा महेन्द्रलाई तेश्रोपटक माघ १६ गते राति हृदयाघात भएको भनियो। जसको कारणले १७ गतेको बिहानै ३:४५ मा निधन भएको जानकारी गराइयो। तर विवरणहरू अनुसार भने राजा महेन्द्रको उपचारका लागि भारतीय चिकित्सक एमएल भाटिया पनि आएका थिए। यदि एमएल भाटिया पनि उपचारमा संलग्‍न थिए भने राजा महेन्द्रलाई व्‍यथाले केही दिनअगाडि नै समाएको हुनुपर्छ। शाही चिकित्सक सुशीलचन्द्र हल्डरले उपचार गरेका थिए। रानी रत्‍नको समेत उपचार गरेका हल्डर सेनाका चिकित्सक थिए। सेनामा उपरथी (मेजर जनरल) रहेका उनलाई रानी रत्‍नको सफल उपचारको लागि अति सुविख्यात सेवालंकार समेत दिइएको थियो। हल्‍डरका साथै अर्का शाही चिकित्सक सच्चेकुमार पहाडी तथा मृगेन्द्रराज पाण्डे पनि खटिएका थिए। यसरी स्वदेशी विशिष्‍ट चिकित्सकले उपचार गरिरहेको समयमा भारत नयाँ दिल्‍लीस्‍थित एम्स (AIIMS- All India Institute of Medical Sciences) अस्‍पतालका प्रख्यात चिकित्सक एमएल भाटियालाई बोलाइयो। उनको उपस्थिति नै धेरैलाई प्रश्‍नचिन्ह राख्‍ने ठाउँ बन्यो। उनको आगमनपछि नै राजाको देहान्त हुँदा उपचारमा लापरवाही वा षड्‌यन्‍त्र भएको हुनसक्‍ने धेरैको आशंका थियो।

एमएल भाटिया

डाक्टर भाटिया एम्समा पहिलोपटक पेसमेकर प्रत्यारोपन गर्ने चिकित्सक हुन्। सन्‌ १९६५ बाट पेसमेकर प्रत्यारोपन मात्र गर्दैथिए। तसर्थ, कतै दियालो बंगलामा सीमित श्रोत र साधनका बीच पनि उनले अप्रेशन गर्ने कतै प्रयास त गरेनन् ? जसको कारणले राजा महेन्द्रको देहान्त भयो। यदि राजा महेन्द्र गम्भीर हृदयाघातबाट पीडित थिए भने किन तत्कालै सुविधासम्पन्‍न अस्पतालमा लगिएन ? किन दियालो बंगलामा नै उपचार गर्ने असफल प्रयास भइरह्‍यो ?

अर्को प्रसंग अमेरिकी नागरिक जोन कोपम्यानको पनि आउने गर्दछ। उनको विवादास्पद भनाइ पनि आएको थियो। राजा महेन्द्रलाई हृदयाघात हुँदा कोपम्यान र राजा दुईजना सँगै थिए। कोपम्‍यानले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए। जोन कोपम्यानलाई कतैकतै सीआईएको एजेन्टको रूपमा पनि उल्लेख गर्ने गरिएको देखिन्छ। यदि यसो हो भने जोन कोपम्यान राजा महेन्द्रसँग एकान्तमा व्हिस्‍कीमा रम्‍नुको कारण के थियो। साथै राजा महेन्द्रको देहावसानपछि कोपम्यानले नेपाललाई सदाका लागि छाडेर गए।

जोन कोपम्यान २०२९ सालमा नेपालबाट अचानक पलायन भए। उनले चलाइरहेको होटल टाइगर टप्‍सको जिम्मा उनले बेलायती नागरिक जिम एड्‌वर्डस्‌लाई दिएका थिए। २०२१ साउन २० गते राजा महेन्द्रको विश्‍वासपात्रको रूपमा जोन भर्नान कोपम्यानले होटल टाइगर टप्‍स चलाउन १५ वर्षको लागि चितवनको जंगलको बीचमा रहेको १ सय ७० एकड जमिन होटल सञ्‍चालनको लागि तथा जंगलको १ हजार वर्गमाइल क्षेत्र अन्य प्रयोजनका लागि लिएका थिए। जोन कोपम्यानले आफ्‍ना दुई लगानीकर्ताको रूपमा अमेरिकी राज्य डल्लासका हर्वर्ट डब्लु क्लेन र टोडी लि विन्‍ने जुनियरलाई लिएका थिए। तर १५ वर्षको लागि होटल सञ्‍चालनको जिम्मा लिएका कोपम्यान राजाको देहावसानपछि एड्‌वर्डस्‌लाई जिम्मा लगाएर एकाएक नेपालबाट बाहिरिए।

जिम एड्‌वार्डस्‌

 

अन्‍तमा,
राजा महेन्द्रले आफ्‍नो छोटो शासनकालमा सबैभन्दा बढी मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए। देशको विकासको लागि विभिन्‍न देशबाट सहयोग पाएका थिए। उद्योग कलकारखानाहरू खुलेका थिए। क्रमश: बाटाहरूले पनि एक-अर्का शहरलाई जोड्दै थिए। संयुक्त राष्‍ट्र संघको सदस्यताको लागि नेपालले गरेको अनुरोधमा 'नेपाल स्वतन्त्र राष्‍ट्र नै होइन' भनेर  भिटो लगाउने रुसले राजा महेन्द्रको रुस भ्रमणपछि थुप्रै उद्योग तथा सडकमा सहयोग गर्‍यो।

अहिलेको तुलना गर्‍यो त्यतिबेला ती उद्योग कलकारखानामा रहेका कर्मचारी तथा मजदुरहरू राष्‍ट्रमुखी सोच राख्‍ने थिए। अहिलेका नेताहरू व्‍यक्तिमुखी तथा दलमुखी हुन पुगे। जसले गर्दा सीमित व्‍यक्ति त सम्पन्‍न भए, तर समग्र देश सम्पन्‍न हुन सकेन। जबसम्म देशका दलहरू र दलका अगुवाहरू राष्‍ट्रमुखी हुँदैनन्, केबल आफ्‍ना र आफ्‍नै दलको स्वार्थमा नै केन्द्रित रहन्छन्। देशले कुनै गतिशील निकास पाउँदैन। तसर्थ, अहिलेको देशको प्रतिकूल राजनैतिक परिस्थितिको निकासको लागि कुनै नयाँ कदम छिट्टै आओस्‌ भन्‍ने अपेक्षा गरौं।