माघे संक्रान्‍तिमा 'खुस्‍मा' को शुभसाइत

माघे संक्रान्‍तिमा 'खुस्‍मा' को शुभसाइत

काठमाडौं, १ माघ

माघे संक्रान्‍तिको साइत पारेर नेपाली चलचित्र 'खुस्‍मा' को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान काठमाडौंको कमलादीस्‍थित गणेश मन्‍दिरमा चलचित्र 'खुस्‍मा' छायांकनको लागि अशोक थापामगरले क्ल्‍यापबोर्ड शट गरेर चलचित्रको मुहूर्त गरेका हुन्‌।

अशोक थापामगरको निर्देशन हुने चलचित्रमा धिरज मगर नायक र उपासना सिंह ठकुरी नायिका रहने छन्‌। निकै आत्‍मविश्‍वासका साथ थापामगरले बताए- 'नेपाली फिल्‍म इन्‍डस्‍ट्रीमा धिरज र उपासनाको जोडीलाई दर्शकले पृथक जोडीको रूपमा रुचाइएको हुने छ।' नेपाली चलचित्र उद्योगका लागि 'खुस्‍मा' मा धिरज र उपासनाको पहिलोपल्‍ट केमिस्‍ट्री हुन लागेको हो। धिरज र उपासनासँगै अस्‍तित्‍व भट्टचन, खबपु (खड्‍गबहादुर पुन), अरुण मगर, संगीता थापा लगायतका कलाकार रहने छन्‌। बेताने मगर, चन्‍द्र भट्टचन, मोहन राई, सुष्‍मिता बुढाथोकी लगायतको निर्माण रहने 'खुस्‍मा' चलचित्रको छायांकन दीपक बज्राचार्य, संगीत संयोजन एस.डी. योगीले गर्ने छन्‌ भने गीतकारमा सुरेन्‍द्र राना, राम अविरल र निर्देशक अशोक स्‍वयं रहेका छन्‌। चलचित्रको समग्र व्‍यवस्‍थापनको पाटो राजु रेग्‍मी मगरले हेर्ने छन्‌।

एम मिडिया प्रोडक्‍शन्‍स्‌को ब्‍यानरमा निर्माण हुने चलचित्रलाई गोविन्‍द शाहीको काफिया फिल्‍मस्‌ले वितरण गर्ने छ। नेपाली चलचित्र उद्योगमा 'खुस्‍मा' मार्फत्‌ डेब्‍यु गरेका अशोक थापामगर यसअघि डकुमेन्‍ट्री फिल्‍ममेकरको रूपमा चिनिएका थिए। उनको बहुचर्चित डकुमेन्‍ट्री 'द कोरियान ड्रिम' ले उनलाई राष्‍ट्रिय तथा अन्‍तर्राष्‍ट्रियस्‍तरमा गरी ९ वटा विभिन्‍न टाइटलका अवार्ड दिलाउन सफल रह्‍यो। 

'किशोरकालमा पोखरातिर क्‍याम्‍पस पढ्‍दाताका त्‍यहाँ सुटिङको लागि आउने बलिउडका कलाकारहरूलाई प्रत्‍यक्ष देख्‍न पाउँदा दंग भइन्‍थ्‍यो', सोमबारको शुभमुहूर्तपछि एकाएक हौसिएका निर्मातामण्‍डलका एक सदस्‍य चन्‍द्र भट्टचनले कुरोको चुरो माझ्‍दै गए- 'त्‍यसबेला देवानन्‍द, जैकी श्राफ, डेनी डेन्‍जोङ्‍पा जस्‍ता नामुद हिन्‍दी कलाकारको सामुन्‍ने पर्दा जति रोमाञ्‍चित भइन्‍थ्‍यो, त्‍योभन्‍दा पनि डबल उत्‍साह आफ्‍नै नेपाली माटोको कलाकारले खेल्‍ने फिल्‍ममा हात हाल्‍न पाउँदा भएको छ।' भट्टचनका अनुसार बलिउडका कलाकार जत्तिको उचाइ अब नेपाली कलाकारले पनि लिन थालेकोमा आफूलाई गर्व लागेको बताए। नेपाली सांगीतिक क्षेत्रमा गीतकारको रूपमा चिनिएका चन्‍द्र भट्टचन प्रसिद्ध समाजशास्‍त्री प्रा.डा. कृष्‍ण भट्टचनका भाइ हुन्‌।

रुकुमपूर्व जिल्‍लाको मैकोट गाउँलाई मेन लोकेशन बनाएर छायांकन गरिने चलचित्रको त्‍यहाँको मगर खाम भाषिक शब्‍दावली 'खुस्‍मा' बाटै फिल्‍म टाइटल जुराइएको छ। स्‍थानीय जानिफकारहरूका अनुसार 'खुस्‍मा' ले छोटकरी रूपमा 'आमाको कोख' भन्‍ने जनाउँछ। खासमा 'खुस्‍मा' चलचित्रले दिने सन्‍देश के हो भन्‍ने प्रश्‍नमा निर्देशक अशोक थापामगरको एउटै जवाफ थियो- 'त्‍यसको लागि फिल्‍म हल पर्खिनुको विकल्‍प छैन।' धेरै खुलाउन नचाहे पनि निर्देशक थापामगरले जम्‍मा एक लाइनमा खुलाए- "'खुस्‍मा' विगत द्वन्‍द्वकालको एउटा प्रेमकथा हो।"

'खुस्‍मा' चलचित्रको अन्‍य सुटिङ लोकेशनको रूपमा ढोरपाटन र पोखरा समेटिएका छन्‌। नेपाल-कोरिया संयुक्‍त उद्यम कम्‍पनीको रूपमा स्‍थापित नेको इन्‍टरनेशनल प्रा.लि.का अध्‍यक्ष समेत रहेका निर्देशक अशोक थापामगरसँग सेभ द चिल्‍ड्रेन, युनेस्‍को, युरोपियन युनियन, दक्षिण कोरियाका विभिन्‍न विभिन्‍न टेलिभिजन च्‍यानल लगायत नेपाल टेलिभिजनसँग सहकार्य गरी एक दर्जनभन्‍दा बढी डकुमेन्‍ट्री निर्माण गरिसकेको अनुभव छ।

धिरजको पुर्ख्‍यौली थलो रुकुमपूर्व हो भने उपासना सिंहको दार्चुला। हाल उनीहरू क्रमश: लन्‍डन र काठमाडौं बस्‍दै आएका छन्‌। पुर्ख्‍यौली थलो दुर्गम ग्रामीण भेग भएकाले संयोगवश 'खुस्‍मा' चलचित्रको चरित्र अभिनयमा गाउँ र शहर बीचको प्रतिनिधित्‍व गर्नुपर्ने हुँदा दुवैले कुनै कसर बाँकी नराख्‍ने बताए। दरबारमार्गमा सोमबार भएको एक अनौपचारिक बसाइको क्रममा अभिनेता-अभिनेत्री दुवैले आफूमा थप जिम्‍मेवारी बढेको स्‍वीकारे।
सोमबार सार्वजनिक गरिएको 'खुस्मा' को डिजिटल पोस्टर।
 

'खुस्मा' को शुभसाइतपछिको एक अनौपचारिक भेट।