पुथा उत्तरगङ्‌गामा पाँचौं राष्‍ट्रपति रनिङ शिल्‍ड हुँदै

पुथा उत्तरगङ्‌गामा पाँचौं राष्‍ट्रपति रनिङ शिल्‍ड हुँदै अघिल्‍लो वर्ष तकसेरामा आयोजित चौथो जिल्‍लास्‍तरीय राष्‍ट्रपति रनिङ शिल्‍ड प्रतियोगिताको उद्‌घाटन कार्यक्रममा सहभागी विद्यार्थी।

रुकुमपूर्व, पुस २६

पुथा उत्तरगङ्‌गा गाउँपालिकाको केन्‍द्र तकसेरामा पाँचौं गाउँपालिकास्‍तरीय राष्‍ट्रपति रनिङ शिल्‍ड प्रतियोगिता आयोजना हुने भएको छ। वडा नं. १० तकस्‍थित महेन्‍द्र माविले आउँदो माघ ६ देखि ९ गतेसम्‍म पाँचौं संस्‍करणको रनिङ शिल्‍ड प्रतियोगिता आयोजना गर्न लागेको हो।

पुथा उत्तरगङ्‌गा गाउँ कार्यपालिकाको कार्यालयबाट बुधबार प्रकाशित सूचना अनुसार गाउँपालिकामा रहेका ८ वटा माध्‍यमिक विद्यालयले रनिङ शिल्‍डमा भाग लिन लागेका हुन्‌। वडा नं. १४ स्‍थित सिद्धमण्‍डली मावि नाखाराङ्‍सी, वडा नं. १२ स्‍थित पर्वत मावि कोल, वडा नं. १० स्‍थित महेन्‍द्र मावि तकसेरा, वडा नं. ९ स्‍थित आदर्श मावि खाराबाङ, वडा नं. ८ स्‍थित जनसहयोग मावि चारगाउँ, वडा नं. ७ स्‍थित जनज्‍योति मावि जाङ, वडा नं. ५ स्‍थित देउराली मावि हुकाम र वडा नं. १ स्‍थित पुथा हिमालय मावि मैकोटले शिल्‍डका लागि प्रतिस्‍पर्धा गर्ने छन्‌। 

शिक्षा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्‍काका अनुसार एथ्‍लेटिक्‍समा छात्रछात्रातर्फ गरी १६, ट्रयाक एण्‍ड फिल्‍डमा छात्रछात्रातर्फ १० र भलिबलतर्फ पनि छात्रछात्रातर्फ २ गरी प्रत्येक इभेन्‍टमा पहिलो स्‍थान लिनेलाई एक स्‍वर्णपदक (गोल्‍डमेडल) बराबरको १ स्‍कोर दिलाउने गरी गणना गर्दा जम्‍मा २८ इभेन्‍टमा २८ स्‍वर्णपदकका लागि प्रतिस्‍पर्धा हुनेछ। प्रतियोगितामा आमन्‍त्रित प्रत्येक विद्यालयबाट ५२ जनाको दरले विद्यार्थी सहभागिताको हिसाब गर्दा ४ सय नाघ्‍ने देखिन्‍छ। यद्यपि खड्‍काका अनुसार ४ सय संख्‍याको हाराहारीमा प्रतियोगी विद्यार्थीको उपस्‍थिति नघट्‍ने देखिन्‍छ।

पाँचौं संस्‍करणसम्‍म आइपुग्‍दा पहिलो संस्‍करण महेन्‍द्र माविले आयोजना गरेको थियो। आउँदो संस्‍करणको आयोजना पनि सम्‍पन्‍न गरे महेन्‍द्र माविको इतिहासमा पुथा उत्तरगङ्‍गा गाउँपालिकास्‍तरीय राष्‍ट्रपति रनिङ शिल्‍डको हालसम्‍मकै सबैभन्‍दा बढी आयोजकको रूपमा नाम दर्ज गर्न पाउने अवसर जुरेको हुनेछ। 

मुलुकमै सबैभन्‍दा बढी वडा संख्‍या भएको गाउँपालिकाको परिचय बनाएको पुथा उत्तरगङ्‍गामा जम्‍मा ८ वटा मावि रहेका छन्‌। कक्षा ११ र १२ सञ्‍चालन भएका विद्यालयहरू महेन्‍द्र मावि, पर्वत मावि, पुथा हिमालय मावि र देउराली मावि गरी जम्‍मा ४ वटा छन्‌। रनिङ शिल्‍डमा पनि यी ४ विद्यालयका बीच नै प्रतिस्‍पर्धा हुने देखिएको छ। 

आफ्‍नो खेलकुद इतिहासमा पर्वत माविले पञ्‍चायतकालमै रुकुम जिल्‍लाको अन्‍तरमाविस्‍तरीय वीरेन्‍द्र रनिङ शिल्‍ड एकपल्‍ट आयोजना गर्‍यो। महेन्‍द्र माविका पूर्वप्रधानाध्‍यापक खिमबहादुर बुढाक्षेत्रीका अनुसार त्‍यसबेला पर्वत माविले हालको वडा नं १२ स्‍थित क्‍युबाङचौरमा वीरेन्‍द्र रनिङ शिल्‍ड आयोजना गरेको थियो। त्‍यसको धेरै वर्षअघि नै सल्‍यान जिल्‍ला कार्यालयबाट प्राइमरी कक्षा सञ्‍चालन गर्ने अनुमति पाएको पर्वत मावि गाउँपालिकाकै ज्‍येष्‍ठतम्‌ विद्यालय हो। पालिकामै दोस्रो ज्‍येष्‍ठता बोकेको महेन्‍द्र माविले भने धवलागिरि अञ्‍चलको बागलुङ जिल्‍ला कार्यालयबाट प्राइमरी लेभलको अनुमति लिई विसं २०१९ सालमा १ कक्षा सञ्‍चालन गरेको हो। महेन्‍द्र माविले २०४५ सालमा रुक्‍मिणी मावि रुकुमकोटद्वारा आयोजित अन्‍तरमाविस्‍तरीय वीरेन्‍द्र शिल्‍डको उपाधि जितेको थियो। 'तत्‍कालीन रुकुम जिल्‍लामा रहेका जम्‍मा १७ वटा माविले भाग लिएको त्‍यस प्रतियोगितामा जितेको शिल्‍ड महेन्‍द्र माविको लागि ऐतिहासिक प्रतिष्‍ठा हो', पूर्व प्र.अ. बुढाक्षेत्रीले बताए- '४६ सालको जनआन्‍दोलनले ७ सालको क्रान्‍तिबाट प्राप्‍त प्रजातन्‍त्रको पुनर्वहाली भएपछि पछिल्‍लो संस्‍करणका प्रतियोगिता स्‍वत: निस्‍क्रिय भएको र त्‍यही पहिलोपल्‍ट जितेको शिल्‍ड नै महेन्‍द्र माविले सधैंका लागि पच गर्न सफल भएको हो।'

मुलुक संघीय लोकतान्‍त्रिक गणतन्‍त्रमा प्रवेश भएपछिको पहिलो गाउँपालिकास्‍तरीय राष्‍ट्रपति रनिङ शिल्‍डको आयोजना महेन्‍द्र माविले आयोजना गर्ने अवसर प्राप्‍त गर्‍यो। आफ्‍नै आयोजनामा सञ्‍चालन गरिएको शिल्‍डमा त्‍यो पनि घरेलु मैदानको फाइदा लिँदै महेन्‍द्र माविले पहिलो स्‍थान प्राप्‍त गरेको थियो। त्‍यसको पछिल्‍लो वर्ष अर्थात्‌ दोस्रो संस्‍करणको आयोजना पर्वत माविले गर्‍यो। त्‍यस संस्‍करणमा पुथा हिमालय माविले पहिलो स्‍थान प्राप्‍त गर्‍यो। यद्यपि शिल्‍डका लागि पुथा हिमालय माविको त्‍यो पहिलो प्रवेश थियो। त्‍यसको पछिल्‍लो दुई संस्‍करणमा पनि लगालग पहिलो स्‍थानमै रहेपछि पुथा हिमालय माविले शिल्‍ड कब्‍जामा लिन सफल बन्‍यो। हिमाली जिल्‍ला रुकुमपूर्वको खेलकुद तथा शैक्षिक विकासको गतिमा यो दुर्लभ इतिहास मान्‍न सकिन्‍छ। तेस्रो र चौथो संस्‍करण क्रमश: पुथा हिमालय मावि र देउराली माविले आयोजना गरेका हुन्‌।

यसपल्‍टको पाँचौं संस्‍करण महेन्‍द्र माविको लागि प्रतिष्‍ठाको विषय रहनेछ। आफ्‍नै आयोजना र घरेलु मैदानको फाइदा लिँदै पहिलो स्‍थानमा पुनरागमन गर्ने ध्‍याउन्‍नमा रहँदा शिल्डमा बाजी मारिरहेको पुथा हिमालय माविले आफ्‍नो विरासतलाई निरन्‍तरता दिन ठूलो संघर्ष गर्नुपर्ने देखिन्‍छ। नयाँ शिल्‍ड हात पार्न पुन: अर्को चरणको बलियो दाबेदारी प्रस्‍तुत गर्ने तयारीमा रहेको पुथा हिमालय माविको बलियो तगारो देउराली मावि र महेन्‍द्र मावि देखिएका छन्‌। देउराली माविले अघिल्‍लो दुई संस्‍करणमा उपविजेतामा चित्त बुझाउनुपरेकाले नतिजा उल्‍ट्‍याउनु उसको ध्‍येय रहनेछ। पहिलो स्‍थानको लागि देउराली माविको दाबेदारीलाई कम आँक्‍न नमिल्‍ने उसका सम्‍भावित प्रतिस्‍पर्धी विद्यालयले अनुमान लगाएका छन्‌। यता त्रिपक्षीय भिडन्‍तको आँकलन गरिरहँदा उता पर्वत मावि अनपेक्षित परिणाम निकाल्‍ने दाउमा रहने छ। उसले आश्‍चर्यजनक रूपमा बाजी मार्ने रणनीति बुन्‍न सक्‍ने अनुमान पनि छ।

चारदिने खेल उत्सवमा अघिल्‍लो संस्‍करणहरूभन्‍दा फरक, रोचक र प्रतिस्‍पर्धात्‍मक हुने आयोजकले बताएको छ। तकसेरा आफैंमा गाउँपालिकाको प्रशासनिक केन्‍द्र मात्र नभई गाउँपालिकाका सबै वडाहरूको सुगमता पनि रहेको र जिल्‍लाकै प्रमुख पर्यटकीय गन्‍तव्‍य पनि भएकाले खेलदर्शकको संख्‍या उल्‍लेख्‍य हुने बताइन्‍छ।