तकसेरा जाँदै गरेका एक युवकको मृत्‍यु

तकसेरा जाँदै गरेका एक युवकको मृत्‍यु ताङदाङ उर्फ टोपबहादुर पुन

रुकुमपूर्व, २३ पुस

जिल्‍लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १ मैकोट निवासी एक युवकको सोमबार तकसेरा जाँदै गर्दा बाटोमा मृत्‍यु भएको छ।

बिहान १०/११ बजे तकसेरा पुगी कार्यालयको काम भ्‍याउने गरी बिहानै जीप चढेर जाँदै गर्दा मैकोट निवासी ताङदाङ पुनको मृत्‍यु भएको हो। वडा नं १ को हाँछोँदेखि बिहान करिब साढे ५ बजे पूर्वी रुकुम यातायातको जीप चढेका उनी वडा नं ५ हुकामको रिसला कट्‍दासम्‍म सकुशल रहेका उनीसहित तकसेरा जाँदै गरेका बिर्दमान पुनले बताए। उनी दुईसँग छिमेकी सुनवती पुन पनि रहेकी थिइन्‌।

नयाँ बाटो निर्माण गर्ने हेतुले पालिकामा योजना सम्‍झौता गर्न ताङदाङसँगै बिर्दमान र सुनवती तकसेरातर्फ जाँदै थिए। बाटो निर्माणका लागि गठित उपभोक्‍ता समितिको निर्णयको पदाधिकारीमा उनीहरू क्रमश: अध्‍यक्ष, सचिव र कोषाध्‍यक्षमा प्रस्‍तावित थिए। 

'गरघाट र हुकाम फाट्‍ने दोबाटो पुग्‍नेबित्तिकै गुड्‍दै गरेको जीप रोकियो। तल झ्‍यालबाट सुनवतीले हतारिँदै 'तल झर्नु न' भनेपछि भुइँमा झर्दा ताङदाङ बेहोस थिए', बिर्दमानले भने- 'रिसला स्‍वास्‍थ्‍यचौकी फर्किनुभन्‍दा मयाङमा रहेको एक स्‍थानीय स्‍वास्‍थ्‍यकर्मीकोमा छिट्‍टै जाँच गर्नुपर्ला भनी जिपमा मयाङसम्‍मै आई उप-स्‍वास्‍थ्‍यचौकीनिरै झार्‍यौं।' 

बिर्दमान पुनका अनुसार रिसला कटेदेखि उनलाई खै के भएको हो उक्‍त जीपको सबै सिटमा खचाखच बसेका अन्‍य यात्रुले कुनै मेसै पाएका थिएनन्‌। ताङदाङसँग बसेका सुनवतीले उनको जिउ अनायास आफूतिर ढलेको र कति चाँडै निदाएको भनी केहीबेर त हेक्‍का नै राखेकी थिइनन्‌। पछि उनको जिउ नै लाराकलुरुक भई असहज जस्‍तो देखिएपछि बल्‍ल झस्‍किएर सुनवतीले गाडी रोक्‍न लगाएकी थिइन्‌। गाडी रोकिएपछि छतमाथि बसेका बिर्दमानलाई सुनवतीले अत्तालिएर तल भुइँमा झर्न बोलाएकी थिइन्‌।

मयाङ आइपुग्‍दासम्‍म पूर्ण बेहोस भएका ताङदाङलाई जिपबाट निकालेपछि रगत तारन्‍तार बान्‍ता गरेका थिए। प्राण पर्दासम्‍म ताङदाङले एक आखर केही बोल्‍ने मौका पाएका थिएनन्‌। त्‍यससबेलासम्‍म करिब ८ बजिसकेको थियो। रिसलास्‍थित स्‍वास्‍थ्‍य चौकीका अहेव प्रेम केसीका अनुसार ताङदाङको मृत्‍यु हृदयाघातका कारण भएको हुनसक्‍ने बिर्दमानले बताए।

स्था‍नीय गाउँघरमा ताङदाङ भनेर चिनिएका उनको खास नाम टोपबहादुर हो। ३८ वर्षीय अविवाहित ताङदाङ आमासँग बस्‍दै आएका थिए। दुई भाइमध्‍ये कान्‍छा उनी विगत २० वर्षयता आमासहित जम्‍मा दुईजना बस्‍दै आएका हुन्‌। विर्दमानको घरको एक भागमा बस्‍दै आएका उनी अघिल्‍लो वर्ष मात्रै स्‍थानीय मौलिक शैलीको नयाँ घर निर्माण गरेका थिए। यो वर्ष शून्‍य साल पनि भएकोले आउने वैशाखमा बल्‍ल नयाँ घरलाई लिपपोत गरी सर्ने योजना समेत बुनेका थिए। उनकी एक बहिनी छन्‌। उनी विवाहिता हुन्‌।

सोमबारै मैकोट पुर्‍याइएको उनको शवलाई मंगलबार स्‍थानीय संस्‍कार अनुसार समाधिस्‍थ गरिने बताइएको छ।

गाउँको एक सक्रिय र खाइलाग्‍दा युवकको अचानक मृत्‍युको अकल्‍पनीय खबरले मैकोट शोकमग्‍न छ। चलायमान देखिने मैकोट गाउँ स्‍थिर बनेको छ। मृतक ताङदाङको नाममा उनका भाञ्‍जा तथा छिमेकी राजधनी पुनले आफ्‍नो फेसबूकमा दु:ख पोखेका छन्‌-
"पहिला दरबार त्‍यसपछि घरबार बसाउने आसमा हजारौं समस्याको कारण पनि हार मान्‍नुभएन। बल्लतल्ल त दरबार ठड्‍याउनुभएको थियोे। आखिर राम्रोसँग रङ्‌रोगन गर्न नपाउँदै छाडेर जानुभयो। कस्तो निष्‍ठूरी तपाईं ! जीवनको आधि बाटो कट्‍न नपाउँदै रोकिनुभयो। जेसुकै होस्‌, तपाईंको आत्‍माले स्वर्गमा नयाँ जीवन पावस्‌। यही कामना छ, अलबिदा मामा !"

पर्यटनकर्मी एवं मिडियाकर्मीका रूपमा चिनिएका काठमाडौं महाराजगञ्‍ज निवासी दीपेन्‍द्र भण्‍डारीले पनि मृतक ताङदाङप्रति श्रद्धाभाव पोखेका छन्‌। भण्‍डारीले पुपाल बुकीको हिउँमाथि निज मृतकको खिचिएको श्‍यामश्‍वेत तस्‍बिर पोस्‍ट गर्दै लेखेका छन्‌- 
"स्तब्ध ! मैकोटका मेरा प्रिय भान्जा 'टोप पुन' को असामयिक निधनको खबरले मर्माहत बनाएको छ। हामी दुई सँगैसँगै कैयौं दिन पूर्वी रुकुमको बुकी घुमेका थियौँ। 'Journey to Yarsa' डकुमेन्‍ट्री बनाउँदा तपाईंले लगाएको गुण कहिल्यै पनि बिर्सन सक्दिनँ। अलविदा भान्जा, तपाईंको स्वर्गमा बास होओस् !"