एक शिक्षित और पढ्यालेख्या दर्जापत्र !
अझै पिँधवर्ग, अपहेलित लिंग तथा उत्पीडित समुदायले बराबरी अपनत्वसहित अर्थपूर्ण समावेशी राष्ट्रकाे अनुभूति गर्न नपाइरहेकाे सुखद-दुखद नेपालमा मेराे पनि हिजाे (७ सालकाे सार्वभाैमसत्ता राजामै निहित प्रजातन्त्र) देखि आज (सार्वभाैमसत्ता नेपाली नागरिकमा निहित गणतन्त्र) सम्म चार पुस्तापछि बल्ल एउटा सामान्य शैक्षिक कदमले अर्काे सिँढी उक्लिन पुगेकाे छु।
मेराे म: [आमा] अक्षर खान पूर्ण असमर्थ; घरकाे मुख्य जिम्मा आइपरेकाे। उनन्चालीस वर्षमै मम् [बजै] कुनामा बितेर (छ महिना जति बाँचेर सबसे कान्छी 'रू' पनि बितिन्) साथमा तीनवर्षे बैनी र सातवर्षे भाइ थाम्नुपर्ने, बेलाबखत न्हापाङ (गाेठ) र मेलापात जानुपर्ने। कैले रस्यी [उँधाे सहरबजार] र कैले प्वाेद् [भाेट] तर्फ उकालिनुपर्ने त छँदैछ।
प्वाेय् [बा] चैं गाेठ दाैडी-छाेडी र रस्यी-प्वाेद्तिर लुप्टे [नुन बाेक्न पैलोपल्ट भोटतिर जाने यात्री] बनी धाउँदा आक्कलझुक्कल तीन महिना जति स्कुले मूकस्राेता बन्न पाउने अवसर मिलेकाे। त्यसबीच पचास नकटी च्युउ [बाजे] रहनुभएन। उही साल बिमारी मम् [बजै] लाई आँपपीपल हस्पिटल तीनमास राखी बाेकेर [जतिखेर बाको उमेर पन्ध्र मात्र लाग्दैथ्यो] घर ल्याउनुभाे। तर चार महिनाभन्दा बढी रहनुभएन। कखरासम्म टुटफुट टोपल्ने समर्थता जाेगाउनुभएकाे छ। तथापि मेरा म:प्वाेय् तथाकथित `शिक्षित इतिहास´ काे परिभाषाले ट्याग लगाइदिने दर्जाभित्र पर्ने `अशिक्षित या अज्ञानी´ भने बिलकुल हैनन्।
मेरा भाइबैनी परभूमिमा श्रमरत छन्। उनीहरूले शैक्षिक पाइला बीचमै छाडेर मलाई अध्ययन-स्वअध्ययन सुविधा त्यति सजिलै टुट्न दिएनन्।
एक सीमान्तकृत परिवारकाे शैक्षिक इतिहासकाे सूक्ष्म झ्यालबाट नियाल्दै जाँदा अनि पीडादायक शैक्षिक वातावरण हात पर्दा दु:खै पाे बढी लागेर आउँछ। गाेर्खाभर्तिदेखि हालसम्मै मूलत: राज्यकाे करदाता र निष्क्रिय नागरिकमै सीमित किन त ? सम्झिएर ल्याउँदा राज्यनिर्माणकाे एकलकाँटे प्रक्रिया, विभेदजन्य संस्था संरचना र ती अकण्टक सञ्चालक-शासकहरूसँग ज्यादा नै झाेँक चलेर आउँछ।
मेराे मःप्वाेय् त उसै बञ्चित भइहाले स्कुलबाट। स्कुलै टेक्न पाएकै भए पनि च्येरक्ह्यो [ स्कुलकाे भाषा] ले हिंसा नगर्ने त कुरै भएन। आफ्नै तमुक्ह्ये [घरकाे भाषा] बिरानाे र शत्रुभाषा झैं हुन्थे नै।
जब कि संसारका हरेक भाषाकाे मूल्य र अस्तित्व चाहे कराेडाैंकाे वक्ता हाेऊन् वा एकैजना, ती वक्ता भएका भाषाले पनि उत्तिकै मूल्य र अस्तित्व बाेकेका हुन्छन्। जसमा सम्बन्धित वक्ताकाे संस्कृति, मनाेविज्ञान, विश्वदृष्टि, जीवनपद्धति, मानवसभ्यता जीवन्त बनिरहेको हुन्छ। अझ भाषाले विविधतायुक्त सांस्कृतिक पर्यावरणलाई मात्र नभई पृथ्वीलाई जाेगाइरहेकाे हुन्छ।
विडम्वना यस्ताे छ कि मैले पनि जन्मगाउँ सालाङकाे स्कुलदेखि तराई र काठमाडाैंमै समेत भाषिक हिंसा र बहिष्करणकाे अनेकन तनाव व्यहाेर्न परेकाे याद ताजै छ। अझै व्यहाेरिरहेकाे छु। भाषिक व्यवधानकाे अर्काे अंग्रेजी आयामकाे तनाव समेत टीयुमा पुगेपछि झन् चर्कै झेल्नुपर्ने स्थिति थपियाे।
अन्तत:
शाेध-शीर्षक नै 'तमुक्ह्ये बाेल्ने विद्यार्थीकाे शिक्षामा भाषिक व्यवधान´ हुनपुग्यो।
एक शिक्षित या पढ्यालेख्या दर्जापत्र त मिल्याे। अनि याे श्रमकामकाे शङ्कुचित बुझाइ र परिभाषाभन्दा बाहिर मेराे काम `पढ्ने-लेख्ने´ नै हाे। तर पढ्ने-लेख्ने झन् अझ कठिन श्रम हाे, काम हाे भन्ने कैले पाे दरिएला ? त्यसैले-
म त असलमा पटके बेराेजगार !
---------------------------
यसै-उसैले एकसाथ कृतज्ञ हुन्छु-
परिवारप्रति,
सुशान्तदाइ, सिर्जनाबैनी, दूतेन्द्रसर, उज्ज्वलदाइ, विमलादिदी, रुखजीप्रति,
आत्मीय कक्षासाथीहरूप्रति,
शाेध-उत्तरदाताहरूप्रति,
केशवदाइसँगै अन्तत: समाजशास्त्र केन्द्रीय विभाग त्रिविविप्रति !
प्रतिक्रिया