माइग्रेन र यसबाट मुक्‍तिको विकल्‍प

माइग्रेन र यसबाट मुक्‍तिको विकल्‍प

तीब्र टाउको दुखाइ वा माइग्रेनबाट विश्‍वभर लगभग एक अर्ब व्यक्ति ग्रसित छन्। यो यस्तो बिमार हो, जसको कारण टाउको दुखाइ सहनै नसक्‍ने हुन्छ। दैनिक कामकाज गर्नै नसक्‍ने हुन्छ। यसरी माइग्रेनको कारण पीडा झेलिरहेकाहरूका लागि सुखद खबर छ- माइग्रेन निको बनाउने प्रभावकारी औषधि बनेको छ।

बीबीसीमा प्रकाशित समाचार अनुसार माइग्रेनबाट छुटकारा दिलाउने यस्तो औषधि बनेको छ, जो एकदमै प्रभावकारी सावित भइरहेको छ।

अनुसन्धानकर्ताका अनुसार माइग्रेनको यो औषधिले सीजीआरपी नामक रसायनको प्रभावलाई रोक्छ। यो त्यही रसायन हो, जसले गर्दा टाउको तीब्र दुख्छ। यो औषधि चाँडै शरीरमा घुल्छ र टाउको दुख्‍नुअघि नै त्यसको असरलाई रोक्छ।

लामो अनुसन्धानपछि तयार भएको यो औषधिलाई अब सर्वसाधरणको प्रयोगका लागि अनुमति दिइएको छ। उक्त औषधिलाई अन्तर्राष्‍ट्रिय प्रयोगका लागि अनुमति दिइएको छ। अमेरिकासहित ८० वटा देशमा प्रयोग भइरहेको छ।

बेलायतमा पनि यो औषधि प्रयोग गर्नका लागि मञ्‍जुरी दिइएको छ। तर, चिकित्सकहरूले कुनै खास स्थितिमा मात्र औषधि सेवन गर्न सुझाव दिएका छन्।

समाचारमा भनिएको छ- ‘त्यसो त यो औषधि माइग्रेनका रोगीलाई दिइने हो। यद्यपि, बिरामीलाई औषधि तब मिल्छ जब उसलाई महिनामा चार वा त्योभन्दा बढीपटक माइग्रेनको दुखाइ हुन्छ।’

चिकित्सकहरूले ‘रिमेजिपेन्ट’ लाई एक ठूलो उपलब्‍धि मानेको छ। तर, यो चमत्कारी औषधि होइन। कति बिरामीलाई यसले राम्रो फाइदा गर्छ, सबैका लागि भने फाइदाजनक नहुन सक्छ। खास कुरा चाहिँ के भने, यो औषधिको साइट इफेक्ट एकदमै कम छ।

प्रयोगको क्रममा यो औषधि सेवन गर्नेमध्ये एकाधलाई मात्र वान्ताको समस्या भएको थियो। अधिकांशलाई माइग्रेनको समस्याबाट मुक्ति मिलेको थियो।

दशकौंसम्म अन्य बिरामीका लागि बनेको औषधि नै माइग्रेनको लागि प्रयोग गरिँदै आइएको थियो। अब भने माइग्रेनकै लागि यो औषधि बनेको छ, जुन आफैंमा ठूलो उपलब्‍धि हो। तर, यो औषधि न त सबैतिर उपलब्‍ध छ न सबै रोगीलाई यसले फाइदा गर्छ। माइग्रेनको उपचारमा विकल्प भने अवश्यै मिलेको छ।

माइग्रेनबाट पूर्ण रूपमा छुटकारा पाउनका लागि औषधि बनाउन अझै पनि लामो समय लाग्‍न सक्छ। यद्यपि, यस कार्यमा अनुसन्धान भइरहेको छ।

 

माइग्रेन के हो ?


माइग्रेन एक प्रकारको न्युरोजेनिक डिसअर्डर हो। माइग्रेन हुँदा टाउकोको एक भागमा असह्‍य दुखाइ हुन्छ। जसकारण माइग्रेनलाई अर्ध-टाउको दुखाइ पनि भनिन्छ। माइग्रेनलाई दुई भागमा वर्गीकरण गरिएको हुन्छ- एउटा एपिसोड माइग्रेन र अर्को क्रोनिक माइग्रेन।

एक महिनामा १४ पटकभन्दा कम हुने माइग्रेनको दुखाइलाई एपिसोडिक माइग्रेन भनिन्छ। त्यस्तै लगातार रूपमै माइग्रेनको टाउको दुखाइ हुन्छ वा १४ पटकभन्दा बढी समस्या देखिइरहन्छ भने त्यसलाई क्रोनिक माइग्रेन भनिन्छ।

 

महिलालाई बढी सताउँछ


यो प्राय: १५ देखि ५० वर्षसम्म उमेरका महिलामा देखिन्‍छ। यसो भन्दैमा पुरुषमा हुँदैन भन्‍ने होइन, तर तुलनात्‍मक रूपमा महिलामा बढी देखिन्छ। तथ्यांकले पनि ३० प्रतिशत पुरुष र ७० प्रतिशत महिला माइग्रेनबाट प्रभावित भएको देखाउँछ।

महिलालाई मात्र किन भयो भन्‍ने कुराको निचोड पनि विज्ञानले निकालिसकेको छैन। यद्यपि, महिनावारी सुरु हुँदा हर्मोन असन्‍तुलनले यस्ता प्रभाव देखिन सक्‍ने अनुमान विभिन्‍न अध्ययनले जनाएको छ।

 


(काफ्‍ले दृष्‍टिविहीन हुन्‌। उनी अध्‍ययन कर्मका साथसाथै विभिन्‍न सामाजिक संघसंस्‍थामा आबद्ध छन्‌।)