हत्‍या आरोपित वडाध्‍यक्षले पाए सफाइ

वडाध्यक्षमा विजयी भएका कुमार सिंह मतदानको क्रममा प्रहरी हिरासतमा थिए।

हत्‍या आरोपित वडाध्‍यक्षले पाए सफाइ मृतक जुनमाया बुढा

रुकुमपूर्व, १२ पुस

पुथा उत्तरगङ्‍गा गाउँपालिका वडा नं. ११ निवासी दुँठी बुढाको हत्या आरोप लागेका सोही वडाकै वडाध्यक्षसहित ३ जनाले सफाइ पाएका छन्।

नवनिर्वाचित वडाध्यक्ष कुमार सिंह र तत्कालीन वडाध्यक्ष जयकुमार बुढासहित ३ जना दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा पक्राउ परी कर्तव्य ज्‍यान मुद्दामा कारागार चलान भएका थिए।

रुकुमकोट जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको बुधबारको एकल इजलाशले तत्कालीन वडाध्यक्ष बुढा, २०७९ वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष सिंह र स्थानीय अर्जुन बुढालाई सफाइ दिएको रुकुमकोट जिल्‍ला अदालतका श्रेष्तेदार भूपाल भण्डारीले जानकारी दिए। भण्‍डारीले भने- 'वारदातमा प्रतिवादीको संलग्‍नता पुष्‍टि भएको नदेखिएकाले दोषी ठहर गर्नु परेन।' सिंह प्रहरी हिरासतमा रहेकै बेला वडाध्यक्षमा निर्वाचित भएका थिए।

वडाध्यक्ष कुमार सिंह

स्‍थानीय तह सदस्‍य निर्वाचनको चुनाव प्रचारप्रसारको क्रममा २०७९ वैशाख १९ गते दुई पक्षबीच झडप हुँदा स्‍थानीय महिला बुढाको मृत्‍यु भएको थियो। झडपमा परी केही घाइते भएका थिए। घटनापछि सम्पर्कविहीन भएकी स्‍थानीय जुनमाया बुढाको वैशाख २६ गते शव फेला परेको थियो। हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्‍न अदालतले आदेश दिएको थियो।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका सिंहले ४ सय ६१ मत ल्याएर विजयी हुँदा उनका निकटम्‌ प्रतिद्वन्‍द्वी नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट साझा उम्मेदवार बनेका एमालेका लक्ष्मण बुढामगरले ४ सय ३ मत पाएका थिए। वडाध्यक्ष निर्वाचित भएपछि सिंहले शपथग्रहणसँगै कार्यभार सम्हाल्ने मौका पाएनन्‌। सो मुद्दामा तीनजना भने फरार छन्। उनीहरूको मुद्दा मुलतबी गरिएको श्रेष्तेदार भण्डारीले जानकारी दिए। उनीहरूको हकमा पक्राउ परेपछि मुद्दा अघि बढ्ने बताइएको छ।

'हप्‍ता दिनमा फैसलाको पूर्ण पाठ आइसक्‍ने छ', श्रेष्‍तेदार एवं सूचना अधिकारी भण्‍डारीले जानकारी दिए- 'जिल्‍लाको फैसला उपर चित्त नबुझे वादी रहेको नेपाल सरकारलाई पुनरावेदनको ढोका खुला छ।'

रुकुमकोट जिल्ला अदालतका तत्‍कालीन न्यायाधीश सनतचन्द्र लवटको इजलासले वडा नं. ११ का नवनिर्वाचित वडाध्यक्ष कुमार सिंहसहित तीन जनालाई थुनामा राख्‍न आदेश दिएको थियो। २०७९ जेठ २३ गते वडाध्यक्षसँगै सोही वडाका तत्‍कालीन निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उनका भाइ अर्जुन बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको थियो।

पूर्व वडाध्यक्ष जयकुमार बुढा

वैशाख १९ गते तकसेरामा स्थानीय तहको चुनाव प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउने क्रममा जुनमाया बुढालाई माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो। निजहरूसहित नाम खुलाइएका केही र केही नखुलाइएका गरी २० जनाविरुद्ध किटानी जाहेरी परेपछि २८ गते निज ३ जनालाई पक्राउ गरिएको थियो। वडाध्यक्षमा विजयी भएका कुमार सिंह मतदानको अवधिमा प्रहरी हिरासतमै थिए।

अपहरणमा परेकी बुढालाई खोजी गर्ने क्रममा स्थानीयले तकसेरादेखि करिब ४ किलोमिटर माथिको जंगलमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याएर परीक्षण गरिएको थियो।

स्‍थानीयस्‍तरमा कुमार सुनार भनेर चिनिएका कुमार सिंह प्रहरी हिरासतमा रहेकै बेला २०७९ वैशाख ३० गते भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनी मतदानको २ दिनअघि नै पक्राउ परिसकेका थिए।