मैले किन तामाङ भाषामै लेखेँ ?
मातृभाषा अहिले आदिवासी समुदायको पहिचानको प्रमुख आधार भएर उभिएको छ।
मैले मूलतः तामाङ परिवेशबारे लेखेँ। तामाङ संस्कृति र जनजीवन लिपिबद्ध गर्ने प्रयास गरेँ। तामाङ व्याकरण निर्माण गरेँ, शब्दकोश सम्पादन गरेँ। तामाङ भाषामै पनि साहित्य सिर्जना गरेँ। शून्यप्रायः स्थितिमा रहेको तामाङ सिर्जनाको प्रस्थानविन्दु निश्चित गराउन भूमिका खेलेँ। जीवनको छैठौं दशक नाघ्न लाग्दा सम्पादन कृतिसहित चार दर्जन जति पुस्तक लेखेछु। एक दर्जन जति पत्रपत्रिका सम्पादन गरेछु। म शौखिनभन्दा पनि पूर्णकालीन लेखनको पंक्तिमा उभिन पुगेछु।
मैले किन लेखेँ ? लेखनलाई किन तामाङमा केन्द्रित गरेँ ? किन तामाङ भाषामा पनि साहित्य सिर्जना गर्न थालेँ ? एउटा विचारमूलक लेख मागेर एउटा तामाङ पत्रिकाले यी प्रश्नको उत्तर खोज्न मलाई अभिप्रेरित गर्यो। घोत्लिएर मैले आफैंलाई प्रश्न गरेँ– साँच्चै, मैले किन लेखेँ ? सारमा भन्नुपर्दा मेरो लेखन कहिल्यै स्वान्त सुखाय भएन। रहरले लेखिन। राज्यको दमनकारी सांस्कृतिक नीतिको प्रतिरोध गर्ने चेतले म सधैं आन्दोलित भएँ– सामाजिक न्यायका लागि, सबाल्टर्न (आवाजविहीन/निमुखा) हरूका लागि, पहिचानलाई संस्थागत गर्नका लागि अनि हाम्रा मानसपटलमा जमेका औपनिवेशिक चिन्तनलाई डिलिट गर्नका लागि (to de-colonize our mind)। अर्को, मेरो मातृभाषालाई राज्यले विभेद मात्र होइन 'मान्छे खाने कुरा' वा 'गाई खाने कुरा' भनेर अपमानित पनि गरेकोले मैले कलम चलाएँ, निरन्तर चलाएँ। 'मातृभाषामा लेखेर के नाप्छस् ?' भन्नेहरू पनि चाहिँदो थिए। मैले कुनै जवाफ दिइन। मातृभाषा अहिले आदिवासी समुदायको पहिचानको प्रमुख आधार भएर उभिएको छ। संविधानतः भाषिक समानताको हक कायम भएको छ। एक हरफमा भन्नुपर्दा 'सम्मानित नागरिक जीवन जिउनका लागि लेखेँ' भन्दा फरक नपर्ला।
जीवनले सातौं दशकको संघारमा आइपुगेर पनि प्रतिरोध र पहिचानको सांस्कृतिक चेतले ममा निरन्तरता पाइरहेको छ, अझै क्रमभंग भइसकेको छैन। क्रमभंग हुने हो वा होइन ठेगान पनि छैन। यसैकारण मेरो लेखनमा प्राज्ञिकताभन्दा आन्दोलन उचाइमा रहेको देख्न सकिन्छ। थप प्रष्टताको लागि मेरो लेखनको विभिन्न कालखण्ड, परिवेश र क्रियाकलापहरूलाई निम्न ५ चरणमा लिपिबद्ध गर्न चाहेँ।
- प्रतिरोध गर्ने चेतना :
सन् ७० को दशकमा म कोलकातामा अध्ययनरत थिएँ। त्यसताका हिन्दीभाषी साथीहरूको संगतले आफ्नो युवा अनुभूति हिन्दीमा कोर्न थालेको बेला भारतमा नेपाली भाषाको आन्दोलन सुरु भएपछि म पनि आन्दोलनको समर्थनमा उभिन पुगेँ। आन्दोलनमा संलग्नताले ममा क्रमशः अन्याय र विभेदको प्रतिरोध गर्ने चेतको विकास हुन थाल्यो। नेपाली पत्रपत्रिका र पुस्तकहरू खोजीखोजी अध्ययन गर्न थालेँ। भारतमा नेपाली भाषा किनाराकृत भएकाले जानी-नजानी नेपाली भाषामा रचना गर्न थालेँ। यस्तै प्रवासी नेपालीहरूको अपमानित टिठलाग्दा अनुहारहरू अनि घर न घाटका भएका सबाल्टर्न (निमुखा) नेपालीहरू देखेर पनि केही लेख्न अभिप्रेरित भएँ। नेपालीहरूमा सांस्कृतिक पहिचानको बोध गराउन टोलमा अनि छिमेकमा सामाजिक सुधारको आन्दोलन पनि प्रारम्भ गरेँ। नेपाली भाषालाई भारतीय संविधानमा समावेश गराउन भारतीय नेपालीले सन् ७० को दशकमा सुरु गरेको यो आन्दोलन भारतीय संविधानमा समावेश गरिएपछि टुङ्गिएछ।
- सांस्कृतिक चेतमा अभिवृद्धि :
म २०३७ को अन्त्यतिर काठमाडौं पसेपछि थाहा पाएँ– यहाँ नेपाली भाषा त शासकीय भाषा पो रहेछ, पावर लाङ्ग्वेज, प्रभूत्वशाली भाषा, शासक जातिको भाषा। शासकहरूले आफ्नो बोल्ने भाषालाई नेपालको राष्ट्रिय भाषा बनाएका रहेछन्। अनि उनीहरूको धर्म राष्ट्रिय धर्म, उनीहरूको संस्कृति राष्ट्रिय संस्कृति, उनीहरूको चाडपर्व राष्ट्रिय चाडपर्व र उनीहरूको भेषभूषा राष्ट्रिय भेषभूषा। अरु भाषा अनेपाली भाषा, अरु संस्कृति अराष्ट्रिय संस्कृति जस्तै। भारतमा किनाराकृत जस्तै देखिने नेपालीभाषी त नेपालमा शासक पो रहेछ, रुसको तानाशाही जार जस्तै।
यहाँका शासकहरूले आधुनिक नेपाल बनेदेखि नै यहाँ एक भाषा एक भेषको नीति लागू गरेछन्। सभा, समारोह, गोष्ठी जताततै मैले 'एउटा भाषा एउटा भेष' को नारा देखेँ। एक सयभन्दा धेरै भाषा भएको देशमा नेपाली भाषाको एकछत्र राज्य। कतै मातृभाषा बोलेको सुनेमा पनि 'गाई खाने भाषा नबोल' भनेर हतोत्साहित गरेको थाहा पाएँ। यस्तो दमन र अपमानित परिवेशमा तामाङ जस्तो सीमान्तकृत, सबाल्टर्न समुदायको मातृभाषामा लेख्नुपर्छ भन्ने लाग्यो र यस भाषामा साहित्य सिर्जना गर्न थालेँ। बुद्धिमान मोक्तान, सन्तवीर लामा लगायतले केही मात्रामा लोकसाहित्य संकलन गर्नुबाहेक तामाङ भाषामा आधुनिक शैलीको लेखन प्रारम्भ भएको थिएन। हाईस्कूलको विद्यार्थी हुँदा मैले मातृभाषाको महत्वबारे महात्मा गान्धीको लेख पढेको थिएँ। सायद मेरो मानसपटलको अवचेतन अवस्थामा त्यो रह्यो होला। राज्यले पाखा लगाएका निमुखा समुदायको बारेमा लेख्नु र मातृभाषामा साहित्य रचना गर्नु भनेको त्यतिबेलाका निरंकुश सत्तालाई चुनौति दिनु पनि पो रहेछ। त्यो कुरा मैले पछि थाहा पाएँ। राणा शासनलाई समाप्त पारेर ७ सालमा स्थापित प्रजातन्त्रलाई राजा महेन्द्रले अपहरण गरेछ र पार्टीलाई प्रतिबन्ध गरेर तानाशाही पञ्चायती शासन प्रारम्भ गरेछन्। ३६ सालको आन्दोलनको धक्काले सुधारिएको पञ्चायती व्यवस्था सुरु भएपछि राजनीतिक परिवेश केही खुकुलो हुन थालेकोले आदिवासी समुदायका बुद्धिजीवीहरू पनि आफ्नो हकअधिकारको लागि सल्बलाउन थालेका रहेछन्। यसै क्रममा गोपाल गुरुङद्वारा सम्पादित न्यू लाइट साप्ताहिक समाचारपत्रमा ६/७ महिना जति काम गर्ने मौका जुर्यो। यसै अवधिमा कोङपी, पारुहाङ, अन्तर्वार्ता, छहरा जस्ता पत्रपत्रिकाका सम्पादकहरू घल राई, तिलक चाम्लिङ, विश्वजीत किराँती, गोपाल छाङछाहरूसँग भेटघाट भयो। मूलधार बाहिरका यी सम्पादकहरूसँग क्रमशः हेमखेम बढ्न थाल्यो। उनीहरूसँगको संगतले नेपालका आदिवासी समुदायविरुद्ध हुने गरेको सरकारी दमन थाहा पाएँ। तिनीहरू विरुद्ध सरकारी बजेटमा छापेको भलोकुराको नमूना जस्ता कविता फुटनोट तथा यस्तैखाले विभिन्न अभिलेखहरूबारे जानकारी पाएँ। सम्पादक घल राईलाई विष खुवाएको र लिम्बू भाषा र लिपि सिकाएवापत् ३० को दशकमा वीर नेम्बाङलाई जेल हालेको, प्रजातन्त्रको पक्षमा लड्ने योद्धाहरू बेपत्ता पारिरहेका कैयौं घटनाहरू सुन्न पाएँ। विश्वयुद्धहरूमा हजारौं आदिवासी जनजातिहरूलाई बलि चढाएको, ७ सालको क्रान्तिमा उनीहरूको प्रभावकारी भूमिकालाई निस्तेज पारेको जस्ता लेखरचना पनि पढ्ने मौका मिल्यो।
यसै क्रममा जयबहादुर हितान मगरको नेपालको गृहनीति र प्रजातन्त्र पुस्तकले मलाई अवाक् बनायो। आदिवासी विरुद्ध कति धेरै विभेद, कति धेरै षड्यन्त्र भएछन् यो मुलुकमा। यस्ता विभेद र दमनको अध्ययन र परिवेशले पनि ममा प्रतिरोध गर्ने चेतनामा थप बल पुग्यो। सांस्कृतिक चेतको पृष्ठभूमि तयार हुन थाल्यो। पत्रपत्रिकामा लेख्न थालेँ। घल राईको प्रेरणा र सहयोगमा २०४० मा मैले पनि गर्जन साप्ताहिक नामक समाचारपत्र दर्ता गरेर चलाउन थालेँ। त्यतिबेलाको पत्रपत्रिका पञ्चायत व्यवस्थाविरोधी मिसन पत्रिका थियो र हामी प्रजातन्त्र स्थापनाको अभियानमा स्वतःस्फूर्त ढंगले लागेका थियौं। प्रजातन्त्रको पुनर्स्थापना भएपछि सबै समस्या हल हुन्छ, आदिवासी समुदायको द्रुततर गतिमा विकास हुन्छ भन्ने हाम्रो मान्यता थियो।
सारांशमा भन्नुपर्दा राजनीतिक पार्टीहरूसँगै विचार पनि प्रतिबन्धित थियो। भाषिक, सांस्कृतिक आदि विभेद त थियो थियो। र दमन पनि उस्तै थियो। सार्वजनिक स्थलहरूमा आफन्तहरूसँग मातृभाषामा बोल्न पनि पाइन्नथ्यो। यी सबै घटनाको परिेवेशलाई चिर्न म पनि आदिवासी लेखनतिर उन्मुख हुन थालेँ। त्यसबेलाका केही मेरा फिचर तथा लेख रचनाहरू कोङपी मासिकका साथै न्यू लाइट, गर्जन र युगध्वनि, छहरा साप्ताहिक जस्ता पत्रपत्रिकामा छापिएका थिए।
- सांस्कृतिक लेखनतिर उन्मुख :
राज्यको दमनकारी, जेनोसाइट (जाति संहार) नीतिको प्रतिरोध गर्ने चेतका साथै सांस्कृतिक चेत पनि ममा मौलाउन थाल्यो। आफ्नै जिल्ला रामेछापमा मास्टरी गरिरहँदा जिल्ला प्रशासनबाट वारेन्टेड भएपछि २०४४ सालको अन्त्यतिर काठमाडौं पसेँ। माथि भनिए झैं पञ्चायत व्यवस्थाको अन्त्य गर्नु हाम्रो मिसन थियो। समग्र नेपालीको समस्याको मूल जरा पञ्चायती राज नै हो भन्ने हाम्रो ठम्याइ थियो अर्थात् प्रजातन्त्र विना पहिचान बचाइराख्नु सम्भव हुँदैन भन्ने नै थियो।
त्यसताका तामाङ भाषामा निस्किरहेको कुनै पत्रपत्रिका नदेखेपछि पारिजात निवास म्हेंपी वरिपरि भेला हुनसक्ने तामाङ साथीहरू प्रताप बल, लादुराम तामाङ, पद्म पाख्रिन, धर्मराज लामा आदिसँगको सहकार्यमा २०४५ सालको जेठतिर मासिक पर्चा पत्रिका निकाल्ने पहल भयो। पत्रिकाको नाउँ पारिजात दिदीलाई मनपर्ने फूल मर्निङ ग्लोरीलाई तामाङमा रूपान्तर गर्ने प्रयास गरेका थियौं - 'स्योम्हेन्दो '। यसअघि केही महिना तामाङ भाषा कक्षा पनि चलाएका थियौं। यो पत्रिका द्वैभाषिक थियो- तामाङ र नेपाली। विषयवस्तु तामाङकेन्द्रित। पछि लामा टी. ग्याल्छन, रोमी योन्जन आदि पनि टिममा थपिए। साहित्य सिर्जनामा नयाँनयाँ अनुहार देखा परे। प्रत्येक महिना गरिने तामाङ साहित्य गोष्ठी पनि नियमित रूपमा हुन थाल्यो।
पत्रिका सम्पादनको क्रममा आफ्नो समुदायमा सांस्कृतिक विचार विनिमय गर्न पाउँदा मलाई निकै मज्जा आउँथ्यो। आफ्नै गाउँघरमा कुराकानी गरे जस्तै। पञ्चायती व्यवस्थाको चरमकाल भएकोले कुनै भाषामा पत्रपत्रिका निकाल्नु र वितरण गर्नु कम चुनौतिपूर्ण थिएन। यो कार्य सरकारको एक भाषा नीतिको विरुद्ध उभिनु पनि थियो। मलाई यो साहसिलो र आँटिलो कार्य लाग्न थाल्यो। पञ्चायतको दमन सहिरहेका र प्रजातन्त्र चाहने जो कोही यस्ता कार्य मन पराउँथे पनि। तामाङ भाषामा बोल्दा 'मान्छे खाने कुरा' वा 'गाई खाने कुरा' नगर भन्थे नेपालीभाषी साथीहरू। 'भाषाले पेट भरिन्न' भनेर सार्वजनिक भित्ता पनि भरिएको हुन्थ्यो। 'तामाङ भाषा बोल्नेले तामाङ भाषा बोल्नेलाई नै शोषण गर्छ' भन्ने भावका गीत गाउने कलाकारहरू पनि थिए। पार्टीका कार्यकर्ताहरू पनि यसै विषयमा बहस चलाउन चाहन्थे। प्रजातन्त्रका हिमायतीहरूका बीच पनि हामी फरक धारका देखिन थालिएका थियौं।
अनुदार पञ्च र मण्डले (युवा पञ्च) हरूसँग जहिले पनि मुठभेड भइरहन्थ्यो। तर्कले म उनीहरूलाई पछार्थें। तर उनीहरू प्रशासनको आडमा बोल्थे, तर्साउँथे। एक जना तामाङ सम्माननीयले त प्रहरी छोरोलाई नै सँगै राखेर बहस गर्न थाले। नेवार समुदायले भिन्तुना मनाउन हुने, नेवार भाषामा पत्रिका निकाल्न हुने, हामीले आफ्नो भाषामा पत्रिका निकाल्न नहुने भनेर तर्क गर्दै वातावरण केही सहज बनाएर म उम्केको थिएँ। खै किन हो कुन्नि त्यसताका नेवार र मैथिलीभाषीलाई पत्रिका निकाल्न, चाडपर्व मनाउन र कृतिहरू छाप्न समेत छुट थियो। अन्यलाई थिएन।
यस्तो विषम परिस्थितिमा पनि स्योम्हेन्दो परिवारले त्यसताकाका विभिन्न आठओटा जति तामाङ संघ-संस्थाहरूलाई भेलामार्फत् एकताबद्ध गराएर नेपाल तामाङ घेदुङको स्थापना गर्न सफल भयो। पछि २०४७ जेठको अन्त्यतिर राष्ट्रिय अधिवेशन पनि सम्पन्न भयो।
मैले पत्रिका निकाल्ने कामलाई निरन्तरता दिएँ। मातृभाषालाई राज्यले विभेद मात्र होइन, गाई खाने भाषा भनेर अपमानित गर्ने गरेकोले प्रतिरोध गर्न कलम चलाएँ। तामाङका साथै आदिवासी जनजातिका भाषा, साहित्य, संस्कृति र प्रकाशनसम्बन्धी समाचार, विचार, धारणाहरू खोजीखोजी पढ्थेँ, छाप्थेँ। तत्कालीन तामाङहरूले कि पञ्चायती सत्ता बुझ्दथे, कि साम्यवाद वा प्रजातन्त्रको कोरा सिद्धान्तहरू। त्यसताका वाह्य ज्ञानविज्ञान र जीवनदर्शनको मात्र चर्चा हुन्थ्यो। नेपालभित्रका ज्ञानविज्ञान र जीवनदर्शनको बारेमा खासै चर्चा हुँदैनथियो। हामीले देशभित्रका मौलिक संस्कृति, सम्पदा र ज्ञानविज्ञानको बारेमा पनि चर्चा चलाउँथ्यौं। म क्रमशः सांस्कृतिक चेतले पनि परिपक्व हुँदै थिएँ।
४६ सालको जनआन्दोलनको म प्रत्यक्षदर्शी बनेँ। राजनीतिक क्रियाकलापको अवलोकन गरेँ, विभिन्न राजनीतिक विचारधाराहरूसँग परिचित रहेँ। तर जहाँ पनि आफ्नो समुदायको हित छ-छैन भनेर खोजेँ। पार्टीका कार्यकर्ता र मानवअधिकारवादीहरू राजनैतिक अधिकार प्राप्तिका लागि मात्र केन्द्रित हुन्थे। उनीहरू आदिवासी समुदायको बारेमा तथा भाषा, धर्म, संस्कृतिको विभेदको बारेमा खासै चासो राख्दैनथिए। हामीले कुरा उठाएमा यी तपशिलका कुरा हुन्, प्रजातन्त्र आएपछि सबै ठिकठाक हुन्छ भन्थे उनीहरू। प्रजातन्त्र ल्याउनुपर्छ भन्ने तर्कमा हाम्रो फरक मत थिएन। हामी पनि खुला वा अर्धभूमिगत रूपमा सक्रिय भइरह्यौं– प्रजातन्त्र प्राप्तिका लागि निरन्तर। हामी आ-आफ्नो तहमा सक्रिय रह्यौं।
मलाई लागेको एउटा रोचक प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु। काठमाडौं पसेदेखि नै म पाका तामाङहरूसँग तामाङ जाति र लेखनको बारेमा कुराकानी गर्ने गर्दथेँ, तर उनीहरू परिस्थितिका दास भइसकेका रहेछन्। उनीहरू मूलतः दुईटा कुरा उठाउँदथे– (१) तामाङ भाषा लेखनको कुरा उठ्यो कि कुन लिपिमा लेख्ने ? भनेर प्रश्न तेर्साउँथे। (२) तामाङ जातिबारे केही कुरा गर्यो कि हामी कहाँबाट आएका हौं ? भनेर अड्को थाप्दथे। त्यतिबेला यी दुवैको प्रश्नको उत्तर सहज थिएन। वास्तवमा यो चिन्तन सिर्जनाका लागि बाधक थियो। निकास दिने प्रश्न थिएन ती। धेरै उत्साहित साथीहरू यसैमा अल्झिन्थे। म पनि ५/६ वर्ष अल्झिएँ। ३०/३२ वर्षपछि पनि आज हामीसँग ठोस उत्तर छैन।
आज मलाई आनन्द लागिरहेछ, आनन्द मात्र होइन गर्व पनि लागिरहेछ। ती पाकाहरू आज पनि त्यही कुरा दोहोर्याइरहेका छन् कुन लिपिमा लेख्ने भनेर। त्यसबेला कुनै मौलिक लिपि नदेखिएकोले म र मेरा साथीहरूले देवनागरी लिपिमा नै लेख्न सुरु गर्यौं। सहयोगी हातहरू थपिँदै गए र आज हामीसँग तामाङ भाषामा नै लेखिएका कविता, गीत, गजल, कथा, उपन्यास, नाटक, एकाङ्की, निबन्ध, समीक्षा, समालोचना गरी लगभग २ सय कृति उपलब्ध छन्। २/३ सय स्रष्टाहरू लामबद्ध छन्। ९० भन्दा धेरै शीर्षकमा पत्रपत्रिका प्रकाशित भएका छन्। ५० भन्दा धेरै शीर्षकमा स्मारिका निस्केका छन्। तामाङ साहित्यको इतिहासको ठेली पनि प्रकाशित छ। सञ्चार र शिक्षाको क्षेत्रमा पनि तामाङभाषीहरू सक्रिय छन्। लेखनमा मानकीकरण तयार भएको छ। तामाङ इतिहास बारेमा पनि हामीले धेरथोर उपलब्धि हासिल गरिसकेका छौं। थरैपिच्छेको वंशावली लेख्ने काम पनि अगाडि बढेको छ।
'अल्झेर बस्नुहुँदैन कहिल्यै कतै; सिर्जना गरिनुपर्छ निरन्तर सधैं' भन्ने पाठ यस घटनाले मलाई सिकाएको छ। म आफ्नो परिवेशबाट सिक्दै अगाडि बढ्दैछु।
- मौनताको संस्कृति विरुद्धको चेत :
वाक् स्वतन्त्रता लगभग सुनिश्चित भए पनि नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाएन, समान भाषिक सांस्कृतिक अधिकार स्वीकारेन, मातृभाषामा शिक्षा सुनिश्चित गरेन, आदिवासी जनजातिका हकअधिकार र आकांक्षाहरूलाई सम्बोधन गरेन। बरु राज्यसत्ताको आडमा जतासुकै र जहाँसुकै आफ्नै हालीमुहाली हुने गरी उनीहरू बाहुनवाद लाद्ने मानसिकतामा देखिन थाले। नेपालीभाषीहरू मूलधारका रूपमा झन्झन् दरिलो बलियो देखिन थाले।
यस परिप्रेक्ष्यमा आदिवासीहरूमा पनि मौनताको संस्कृति टुट्न थालेको दृश्य-परिदृश्यहरू बाहिर आउन थाल्यो। दासताबाट उन्मुक्तिको लागि सडक आन्दोलनलाई उनीहरूले हतियार बनाउन थाले। शताब्दियौंदेखि विद्यमान सामाजिक विभेद अन्तको लागि आदिवासी जनजातिहरूले धमाधम आ-आफ्ना सामाजिक संस्था खोल्न थाले। समानुपातिक प्रतिनिधित्व र संघीय अवधारणालाई अघि सार्दै पहिचानको मुद्दा बोक्ने नेपाल जनमुक्ति पार्टी, आदिवासी जनजाति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन जस्ता पार्टीहरू परिदृश्यमा देखिन थाले। आदिवासी जनजातिहरूले राष्ट्रिय परिदृश्यहरूमा आ-आफ्नो पोजिशनको आधारमा हकअधिकार खोज्न उद्द्यत हुन थाले। मुलुकमा नयाँ-नयाँ विचारधाराहरू सल्बलाउन थाले। मानिसहरू विभिन्न आस्थामा बाँडिन थाले।
४६ सालको परिवर्तनले केही सकारात्मक कदम पनि चाल्यो। संविधानतः नेपाल बहुभाषिक मुलुक बन्यो। नेपाली भाषालाई राष्ट्र भाषा र अन्य मातृभाषाहरू राष्ट्रिय भाषा भनेर विभेद गरेता पनि राणाकालदेखिको नेपालको एक भाषिक नीतिले निरन्तरता पाएन, क्रमभंग भयो। नेपाली भाषाको एकछत्र साम्राज्यमा प्वाल पर्यो। सरकारले वैरागी काइँलाको अध्यक्षतामा राष्ट्रिय भाषा नीति सुझाव आयोग (२०५०) बनायो। म पनि आयोगको सदस्य थिएँ। यस आयोगले मातृभाषाको विकासको लागि योजनाको नीति तय गर्यो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन (२०५८) पनि बन्यो। यसले नेपालका आदिवासी जनजातिको परिभाषा र सूची किटान गर्यो। मातृभाषा र आदिवासी जनजातिबारे राष्ट्रिय सोचमा केही परिवर्तन देखिन थाल्यो।
पञ्चायतकालमा लेखिएका कविताहरू संकलन गरेर मैले चु साहेन्छे (२०४८) कविता सङ्ग्रह निकालेँ। २० भन्दा माथि तामाङ गणना नदेखिएकोले हजार लाखसम्म गन्न मिल्ने गरी तामाङ संख्या प्रणाली (२०४८) को विकास गरेर पुस्तिका निकालेँ। सरकारी सञ्चार रेडियो नेपाल र प्राथमिक शिक्षामा पनि तामाङ लगायतका मातृभाषाहरूले प्रवेश पायो। हौसिनु स्वाभाविक नै थियो। ममा मातृभाषाप्रति तृष्णा झन् बढ्यो। तामाङ भाषा, साहित्य र पत्रकारिताको क्षेत्रमा देखिएको अभाव पूर्तिका लागि धमाधम लेखरचना लेख्न थालेँ, पुस्तक पनि लेख्न थालेँ, पत्रिकाहरू सम्पादन गर्न थालेँ, तामाङ संघसंस्था निर्माणमा पनि सक्रिय भएँ।
प्रजातन्त्रको पुनःस्थापना (२०४७–२०६२) को अवधिमा तामाङ वाङ्मयको खाल्टो पुर्ने क्रममा तामाङ शब्दकोश (२०५४), तामाङ व्याकरण (२०५४) लगायतका एक दर्जन जति पुस्तक प्रकाशित गरेछु। आधा दर्जन जति पत्रिका पनि सम्पादन गरेछु। प्राथमिक तहको पाठ्यपुस्तक लेखेछु। धेरैभन्दा धेरै पुस्तक लेख्नका लागि भाषालेखनमा मानक स्थापना गर्नु थियो, हरसम्भव प्रयास गरेँ। यस अवधिमा धेरै तामाङ युवाहरू देखापरे सिर्जनालाई अगाडि बढाउनका लागि र गतिमा भाँजो हाल्नका लागि पनि। दुपवाङ्गेल मोक्तान, अजितमान तामाङ, रवीन्द्र ग्यापाक, रमेशकुमार तामाङ, ध्यानबहादुर मोक्तान आदि तामाङ साहित्य सिर्जना र तामाङ पत्रकारितामा देखा परे। तामाङ गीत संगीतको एल्बम उत्पादनमा चन्द्रकुमार मोक्तानपछि मानबहादुर दोङ, इन्दिरा गोले लगायतका दर्जनौ प्रतिभा देखापरे भने जयनन्द लामा, दीपेन्द्र दोङ लगायतका प्रतिभाहरू फिल्म निर्माणको क्षेत्रमा देखिन थाले।
विश्वभरिकै आदिवासीहरूको एउटा मुख्य विशेषता रहेछ– मौनताको संस्कृति (Culture of Silence) हुनु। तामाङ लगायत आदिवासी समुदायमा शताब्दी शताब्दीदेखि जमेको मौनताको संस्कार भत्काउनु थियो, कइरन मासिक (२०५०) मार्फत् त्यो प्रयास भयो। सरल भाषाशैलीमा लेखिएको यस मासिक पत्रिकामा आदिवासी जनजातिसँग सम्बन्धित भाषा, धर्म, साहित्य र संस्कृतिबारे वैचारिक लेखरचना छापिन थाल्यो। यसमा धेरैले लेखे, असंख्यले पढे। पछि प्रायः सबै आदिवासी समुदायले आ-आफ्ना जाति, भाषा, संस्कृति आदिमा केन्द्रित भएर पत्रिका निकाल्न थाले। आदिवासी समुदायमा सांस्कृतिक चेतना बढेको देखियो। प्रजातन्त्र पुनर्स्थापना भएको एक दशक नबित्दै बजारमा दुई दर्जनभन्दा धेरै मातृभाषामा पत्रपत्रिका प्रकाशन हुन थाल्यो। जाति चेतना उठाउने खालका, आफ्नो माटो र पहिचानलाई उद्बोध गर्ने खालका पुस्तकहरू प्रकाशन हुन थाल्यो। मौनताको संस्कारमा क्रमभंगता हुन थाल्यो। सिर्जनाको चेतना विकास भयो। कइरनमा प्रकाशित केही लेखहरू संकलन गरेर मौनताको संस्कार टुट्दैछ शीर्षकमा मैले पुस्तिका पनि निकालेँ। आफ्नो आर्थिक जग दिनप्रतिदिन कमजोर बन्दै गएकोले यो पत्रिका एक दर्जन अंकभन्दा धेरै निकाल्न सकिएन।
यसै सन् ९० को दशकमा नै आदिवासी जनजातिहरूले आ-आफ्ना जातीय संघसंस्था निर्माणको कार्य तीब्र गतिले अगाडि बढ्यो। ऐतिहासिक नायकहरूको खोजी गर्ने कार्य पनि निकै भयो। नेपालको पहिलो शहीद लखनसिं थापामगर अनुकल्पित चित्र कइरनको कभर पेजमा छापियो। यसबाट अभिप्रेरित भएर पहिलो किराँती राजा यलम्बरको चित्र पनि देखिए। दशैं नमानेवापत् मारिएका रिदामा र राम्लिहाङ आठपहरिया आदिको तस्बिर, मूर्ति आदि बनाउने कार्यले निरन्तरता पायो। यो क्रम अझै निरन्तर चल्दैछ। आदिवासी जनजातिहरूले आफ्ना गौरवशाली इतिहास, भूगोलका रेखाहरू र पुर्खाको थातथलो खोतल्न थाले, खोजेर बाहिर ल्याउन थाले, अध्ययन अनुसन्धान गर्न थाले। यसै क्रममा अपमानका साहित्य ह्वारह्वार्ती बाहिर आउन थाल्यो। पाठ्यपुस्तक तथा नेपाली छापाहरूमा छापिएका, लेखिएका होच्याउने, हेप्ने, अपमानित महसुस गराउने खालका विभेदित सामग्रीबारे विरोध गर्ने, सम्बन्धित निकायमा विरोधपत्र वा ज्ञापनपत्र दिने खालका परम्परा ह्वात्तै बढेर गयो। तामाङहरूले दि काठमान्डु पोस्ट, हिमाल खबरपत्रिका, लोकसभाको पाठ्यपुस्तक, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले आफ्नो अस्तित्व र पहिचानमा आँच आउने खालका सामग्री छापेवापत् रोष प्रकट गर्न थाले, प्रतिरोध गर्न थाले, सडक तताउन थाले, त्यस्ता सामग्री छापेका कृतिहरू जलाउन पनि थाले। तत्कालीन सांसद भीमबहादुर तामाङले समेत विशेष समय लिएर लोकसभामा तामाङ अस्मिताको बारेमा बोले। सत्ता र सरकारमा जनसंख्याको आधारमा आ-आफ्ना पोजिशन खोज्न थाले।
यी सबैखाले घटना परिघटनामा प्रत्यक्ष साक्षी म बनेको छु, किनाराका साक्षी मात्र होइन। यस क्रममा हुलका हुल तामाङ युवाहरू परिदृश्यमा देखिन थाले। जनयुद्धकालमा आ-आफ्ना संघीय राज्य स्थापना गर्ने चाहना आदिवासी जनजातिहरूमा बढेको देखियो। तामाङहरूले तामाङ राज्यको मागलाई निरन्तरता दिइरहे।
मेरो लेखनको बारेमा मैंले एउटा कुरा छुटाउनु हुँदैन जस्तो लाग्यो। सन् २००० मा अमेरिकाको कर्नेल विश्वविद्यालयको निम्तोमा म अमेरिकामा पुगेको बेला प्रा.डा. क्याथरिन एस. मार्चले कुराकानीको दौरानमा भनेकी थिइन्– 'तामाङ लेखन प्रतिक्रियामूलक (proactive) छ', उनले प्रष्ट पारिन्– 'आफ्नो मौलिक लेखन वा अध्ययन अनुसन्धानभन्दा पनि कसैले केही लेखे वा भनेपछि प्रतिक्रिया व्यक्त गर्ने गर्दछन्।' उनको यो भनाइपछि तामाङ लेखनलाई मैले निकै खोतलेँ, पुनरावलोकन गरेँ। साँच्चै हामीले आफ्नो स्वविवेकले नलेखेको पाएँ। अरुले केही घोचेर भनेपछि मात्र कि ठीक कि बेठीक भनेर हुइयाँ गर्दोरहेछ। मेरो लेखन पनि त्यस्तै पोे रहेछ। कि आफ्नो संस्कृति ठीकठाक छ भनेर सिद्ध गर्न खोज्ने कि होइन भनेर भुरकुट गाली गर्दै लम्बेतान लेख्ने लगायतका प्रतिरक्षात्मक लेखन।
यसपछि मेरो लेखनको धार फेरियो। आवश्यकताको अनुभूति भएपछि मात्र लेख्न थालेँ। अनुसन्धानमूलक लेखनमा मेरो ध्यान केन्द्रित हुन थाल्यो। पाठक बढ्न थाले। केही हितैषीहरू मेरा पुस्तक छाप्न पनि उत्सुक देखिन थाले।
- पहिचानमुखी चेतको लहर :
लोकतन्त्रको स्थापनापछि अर्थात् २०६३ यता आदिवासी जनजातिहरूमा आफ्नो अस्तित्व, अस्मिता र मौलिक पहिचान कायम राख्ने चेतना ह्वात्तै बढेको छ। मेरो लेखनमा पनि अधिकारमुखी सोच र चिन्तन विकास भएको देख्न सकिन्छ। नेपालको अन्तरिम संविधान २०६३, आदिवासी जनजाति सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९, संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्बन्धी घोषणापत्र आदि पारित भएपछि आदिवासी जनजातिहरूमा आफ्नो अधिकार, अस्तित्व, अस्मिता र पहिचान बारेको चेतनामा अभिवृद्धि भएको छ। समानुपातिक र समावेशिताको चर्चा उत्कर्षमा छ। पहिचानमा आधारित संघीय राज्यको लागि निरन्तर आवाज घन्काइरहेका छन्, सडक तताइरहेका छन्। प्रतिरोध गर्ने चेतबाट प्रारम्भ भएको हाम्रो सांस्कृतिक चेत क्रमशः विकास हुँदै पहिचानसहितको संघीय राज्य निर्माणका लागि घन्किन थालेको छ।
२०६३ यताको ९ वर्षमा मैले तामाङ जाति, भाषा, साहित्य, संस्कृति, पहिचानसम्बन्धी एक दर्जन जति पुस्तक प्रकाशित गरेछु। आधा दर्जन जति तामाङ साहित्यिक संस्थाहरू पनि अस्तित्वमा छन् र तामाङ साहित्य सिर्जना र प्रकाशनमा सक्रिय छन्। तीन दर्जन जति एफ.एम. रेडियो स्टेशनहरूबाट तामाङ भाषामा समाचार तथा कार्यक्रम प्रशारित भइरहेका छन्। नयाँ-नयाँ पत्रपत्रिका र स्मारिका प्रकाशन भइरहेका छन्। दर्जनौ तामाङ स्रष्टा र भाषासेवीहरू जताततै सक्रिय देखिन्छन्।
अहिले जातीय इतिहासको पुनर्लेखन गर्न, राज्यले गरेको विभेद र अपमान थाहा पाउन र आदिवासी अधिकार बुझ्न थप मौका मिलेको छ। केही मातृभाषीहरूको ध्यान बहुभाषिक शिक्षातिर पनि केन्द्रित भएको छ। आ-आफ्ना पहिचानसहितको राज्य निर्माणको लागि सडक र सदन दुवै तताउन थालेका छन्। जताततै सभा, समारोह, गोष्ठी, संगोष्ठी भइरहेको देखिन्छ, सुन्न सकिन्छ, अखबारहरूमा पढ्न पाइन्छ।
म पनि पहिचान र अस्मिताकै सन्दर्भमा अझै लेखिरहेको छु। जे जति भने पनि र गरे पनि तामाङ साहित्यले अझै ठोस आकार पाउन सकेको छैन। तामाङ भाषालाई खासै गति दिन सकिएको छैन। तामाङ वाङ्मयमा धेरै ग्याप (अन्तर) छ। मेरो लेखन अझै सतही नै छ, गहन हुन सकेको छैन। स्वभावतः मेरो लेखन आन्दोलनमुखी छ, आन्दोलनमै होमिएकोले होला प्राज्ञिक हुनसकेको छैन। आन्दोलनको परिवेशमा प्राज्ञिक लेखन पाउन गार्हो पनि हुँदोरहेछ। तर म त्यसतिर पनि उन्मुख छु।
निचोड :
सन् ७० को दशकमा दमनको प्रतिरोध गर्ने चेतबाट सुरु भएको मेरो लेखनयात्रा आफ्नो सांस्कृतिक चेतलाई आत्मसात् गर्दै आदिवासी समुदायमा जमेर बसेको मौनताको संस्कृतिलाई क्रमभंग गराउने र आफ्नो मौलिक पहिचान र अस्मिता कायम राख्ने चेततिर उन्मुख भयो। यसै चेतमा केन्द्रित भएर लेखिएका मेरा साढे तीन दर्जन कृति प्रकाशित छ।
राज्यले अझै (क) तामाङ जाति लगायतका आदिवासी जनजाति समुदायको संस्कृति (भाषा, जीवनशैली, समानता, बन्धुत्व, स्वतन्त्रता) माथि विभेद र अपमान गरिरहेकोले, (ख) राष्ट्रिय समुदायको धर्म, संस्कृति र मूल्य मान्यता थोपरिरहेकोले, (ग) आफ्नो परम्परागत संशाधन (जल, जंगल र जमिन आदि) र राष्ट्रको स्रोतसाधनमाथि विभिन्न बहानामा राज्य र राष्ट्रिय समुदायले कब्जा जमाइरहेकोले, (घ) आदिवासी समुदायको मातृभाषा, वाङ्मय, संस्कृति, जीवनदर्शन र मूल्यमान्यता आदिले उचित मानसम्मान नपाएकोले र (ङ) आफ्नो पहिचान, अस्मिता र अस्तित्व नै संकटमा पारिराखेकोले पहिचानसहितको संघीय राज्य नबनेसम्म आदिवासी लेखन आन्दोलनमुखी नै रहनेछ। तामाङ लगायतका आदिवासी जीवनशैलीलाई अभिव्यक्त दिन र आफ्नो पुर्खाको धरोहर- भाषा, संस्कृति, सम्पदा, ज्ञानविज्ञान, वाङ्मयलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि हाम्रो लेखनले निरन्तरता पाउन आवश्यक छ। म पनि तामाङ समाजकै एक सदस्य भएको नाताले मेरो लेखन पनि समाज र राष्ट्रिय परिवेशको दास भइरहने जस्तो लाग्छ। स्रष्टाहरूले सदासर्वदा राज्यको प्रतिपक्षको भूमिका खेलिरहने हुनाले अझ संघीय राज्य निर्माण भएपछि सामाजिक न्याय नपाइरहेका अल्पसंख्यक र निमुखा समुदायको हकहितको पक्षमा लेख्नुपर्ने हुन्छ। मेरो लेखनले पनि अझै केही वर्ष अहिलेको जस्तै आन्दोलनमुखी लेखनलाई निरन्तरता दिनुपर्ने हुनसक्दछ। अबको आन्दोलनमुखी लेखनलाई प्राज्ञिक चिन्तन प्रदान गर्नु पनि मेरो ध्येय हुनेछ।
कुमारीगाल, बौद्धमार्ग, काठमाडौं–७
१५ कार्तिक २०७१
प्रतिक्रिया