त्यो कोरिया यो नेपाल
गरीबी भोग्यो। भोकमरीको सामना गर्यो। शोकलाई शक्तिमा बदल्यो। र त आज दक्षिण कोरियाको समय आएको छ। काठमाडौं लगायत देशका विभिन्न शहरहरूमा खुलेका कोरियन भाषा कक्षाहरू देख्दा यस्तो लाग्छ- पूर्व राष्ट्रपति चुङ हेको भनाइले सार्थकता पाएको छ। मलाई पनि भट्याउन मन लाग्छ- 'यो कोरियन समय हो। यो कोरियन युग हो।' यो साधारण र चानचुने संकल्पले बनेको पक्कै होइन।
पछिल्लो समय नेपालले रेमिट्यान्समार्फत् १२ खर्ब २० अर्ब रुपैयाँ भित्र्याएको छ। भनिन्छ- नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सले करिब २५ प्रतिशत योगदान दिने गरेको छ।
रेमिट्यान्सको कुरा गर्दा मलाई दक्षिण कोरियाको विगत स्मरण हुन्छ। आजभन्दा ६० वर्षअघि दक्षिण कोरियाको हालत यस्तै थियो। उसको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको थियो। यो सन् १९६३ देखि १९७७ को समयावधि थियो। सन् १९५० मा भएको कोरियाली युद्धपछि उत्तर र दक्षिण कोरियाको हालत अहिलेको नेपालको जस्तै थियो। गरीबी थियो। बेरोजगारी समस्या विकराल थियो। भोकमरी थियो। त्यसको दाँजोमा अहिले कमसेकम हामी नेपालीहरू कहिल्यै भोकले मर्नुपरेको छैन।
सन् १९६३ देखि दक्षिण कोरियाका नागरिकहरू जर्मनका कोइला खानीहरुमा मजदुरी गर्न जान्थे। जहाँ कोरियाली नागरिकहरूको अवस्था दयनीय थियो। जस्तो कि अहिले अरब मुलुकमा नेपाली मजदुरहरूको अवस्था छ। त्यसैताका दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति पार्क चुङ ही जर्मनको भ्रमणमा गए। उनले कोइला खानीहरूमा काम गर्दै गरेका आफ्ना नागरिकहरूसँग गएर भेटे। उनीहरू बस्ने सेल्टरहरूमा गएर उनीहरूका दयनीय अवस्थाको साक्षी बने। यही बेला ती कोरियन मजदुरहरुले आफ्ना राष्ट्रपतिसँग दुखेसो पोखे- 'हामी कतिन्जेलसम्म यसरी नारकीय जीवन बिताउनुपर्ने हो ? हामीले आफ्नो देश र आफ्ना परिवारहरूसँग सँगसँगै बिताउने समय कहिले आउँछ ?' राष्ट्रपति चुङ आफ्ना नागरिकहरूको दयनीय अवस्था र उनीहरूको प्रश्नले भावुक बने। उनको आँखाबाट बरबर आँशु झर्न थाले। आँशु पुछ्दै आफ्ना ती नागरिकहरूलाई भनेका थिए- 'हाम्रो पनि दिन आउनेछ। हामी पनि धनी हुनेछौं। हाम्रो पनि समय आउनेछ। त्यो दिनलाई कोरियन दिन भनिनेछ र त्यो समयलाई कोरियन समय भनिनेछ।'
सन् १९६३ मा दक्षिण कोरियाको कुल ग्राहस्थ उत्पादन ३.९९ बिलियन डलर थियो। ६० वर्षपछि यसै वर्षको अन्तसम्ममा उसको कुल ग्राहस्थ उत्पादन १६८९ बिलियन डलर पुग्ने अनुमान गरिएको छ। यो ६० वर्षमा विश्वकै १२ औं ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। सोही कालमा नेपालको कुल ग्राहस्थ उत्पादन ०.५० बिलियन डलर थियो। गएको वर्ष सन् २०२२ सम्ममा ४०.८३ बिलियन डलर मात्रै पुगेको अवस्था छ।
दुई कोरिया बीच भएको लामो युद्धले ३० लाख बढी दक्षिण कोरियालीको ज्यान गएको थियो। त्यसपछि उसले गरीबी भोग्यो। भोकमरीको सामना गर्यो। शोकलाई शक्तिमा बदल्यो। र त आज दक्षिण कोरियाको समय आएको छ। काठमाडौं लगायत देशका विभिन्न शहरहरूमा खुलेका कोरियन भाषा कक्षाहरू देख्दा यस्तो लाग्छ- पूर्व राष्ट्रपति चुङ हेको भनाइले सार्थकता पाएको छ। मलाई पनि भट्याउन मन लाग्छ- यो कोरियन समय हो। यो कोरियन युग हो। यो साधारण र चानचुने संकल्पले बनेको पक्कै होइन।
हाम्रो देशको कुरा गर्दा उदेक पनि लाग्ने गर्छ। नेताहरूलाई सराप्न पनि कति सराप्नु। देश समृद्ध बने सबै समृद्ध हुन्छौं भन्ने चेत कहिले खुल्छ ? यहाँ त नेता मोटाउने चलन छ। नेता मोटाएको देशका नागरिकहरू दुब्लाउने रहेछन्। नेता चुङ हे जस्तै रेमिट्यान्स पठाउने आफ्ना नागरिकहरूको समस्याहरू बुझ्न भन्दै राज्यको करोडौं खर्चमा विदेश भ्रमणमा आउनुहुन्छ हाम्रा नेताहरू। तर मजदुरहरूको क्याम्प र सेल्टरहरूमा जानुको बदलामा एनआरएन (गैर आवासीय नेपाली) का कुनै दलालहरूको संलग्नतामा त्यहाँका स्टार होटलहरूमा सेमिनार राख्नुहुन्छ। बालुवा चाल्दै गरेका एकजना दुखारी मजदुरले कसरी आफ्नो दु:ख बिसाउन आउँछ त्यो स्टार होटलमा ? अनि राज्यले कसरी बुझ्छ मजदुरको दर्द र कथाव्यथाहरू ? वास्तविक मजदुरको उपस्थितिविना सेमिनारमा सहभागी सुकिलामुकिलाहरूको सुझावमा तयार बनाइन्छ प्रतिवेदन। अनि बन्छ सोही अनुसार सरकारको नीतिनियम। जस्तो कि युएईमा भिजिट भीसामा आउन एक जनालाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी खर्च लाग्दैन। तर सरकारी नीतिकै कारण ३ लाखभन्दा बढी खर्च लाग्ने गरेको छ। देश बनाउँछु भन्नेहरूको कुकर्म यस्तो छ। यसरी देश कसरी बन्छ ?
यहाँ नेपाललाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउँछु भनेर गफ ठोक्ने मान्छेहरूको कुनै कमी छैन। तर हामी विदेश बसेर वाक्कदिक्क भइसकेकाहरूलाई आफ्नै देश फर्कन मन छ। हामीलाई सिंगापुर र स्विट्जरल्यान्ड चाहिँदैन, केबल राम्रो नेपाल र समृद्ध नेपाल बनाइदिए पुग्छ। हामी पनि कमाएको दुई पैसा आफ्नै देशमा लगानी गर्न चाहन्छौं। आफ्नै देशमा पसिना बगाउन चाहन्छौं। नेपालमा सुन फलाउन सकिन्छ भन्ने कुरा मलाई बकबास लाग्छ। नेपालमा सुन होइन, पहिले अन्न उब्जाउन सिकौं। छिमेकीले चामल निर्यातमा प्रतिबन्ध लगाउने बित्तिकै नेपालमा बासमती चामलको मूल्य वृद्धि हुने अवस्थाबाट उम्किऔं। साँच्चिकै नेपाललाई कमसेकम कृषिप्रधान देश बनाउने सपना छ। नीति सरकारले बनाउने हो, पसिना बगाउन हामी तयार छौं।
खाडी मुलुकका सुल्तानका महलहरू ठड्याएका हामीलाई श्रम र पसिना बगाउन कुनै डर छैन, कुनै लज्जाबोध छैन। राज्यले संकल्प लिनुपर्यो। केही परे म छु है भन्नुपर्यो। नागरिकहरूलाई हामीसँग पनि राज्य छ, अभिभावक छ भन्ने विश्वास दिलाउनुपर्यो। यत्ति गरे हामीलाई रोजगारी चाहिँदैन। हामी आफैं स्वरोजगार बन्छौं। उद्यमी बन्छौं। रेमिट्यान्स होइन, राज्यलाई कर तिर्न सक्षम हुन्छौं। देश समृद्ध यसरी बन्छ- जे आफूसँग छ, शुरु त्यहीँबाट गर्नुपर्छ। सुन चाँदी फलाउँछु भन्ने कुरा धेरै परको कुरा हो।
भोको पेटलाई गहना होइन, अन्नको आवश्यकता पर्छ। अन्नको उब्जाउ नै भएन भने गहनाको औचित्य नै के रह्यो र ! मैंले कतै सुनेको थिएँ- गरीब भएर जन्मिनु गल्ती होइन, तर गरीब भएर मर्नु अभिशाप हो। हाम्रो देशको नेतृत्वको मरन कस्तो हुन्छ ? दक्षिण कोरियाको नेतृत्व जस्तै गरीब देशलाई समृद्ध बनाएर गौरवपूर्ण मृत्युवरण गर्नुहुन्छ कि देशलाई अझै कंगाल पारेर अभिशापको मृत्युवरण रोज्नुहुन्छ ? रोजाइ उहाँ शीर्ष नेताहरूकै हातमा छ।
प्रतिक्रिया