राउटे - नेपालको एक मात्र घुमन्ते जाति

समय अनुसार राउटेहरूको जीवनशैलीमा पनि फरक आएको छ। पहिले-पहिले छाप्रो बनाउँदा रुखका हाँगा र  पातपतिङ्गरले छाउँथे। अहिले भने पालमा निर्भर हुन थालेका छन्। बलियो पालको लागि सरकारलाई गुहार्छन्। बस्ती नजिकै बस्‍न थालेपछि बियरको स्वादमा रम्‍न थालेका छन्। खाजाको रूपमा चाउचाउको प्रयोग बढ्दै गएको छ। केहीले मोबाइल पनि चलाउन थालेका छन्।

राउटे - नेपालको एक मात्र घुमन्ते जाति ५५ वर्षअघि अर्थात्‌ २०२५ माघ ४ गतेका दिन रेडियो सुन्‍दै गरेका राउटे मुखिया मइनबहादुर कल्‍याल (शाही)। प्रस्‍तुत तस्‍बिर योहन रेयनहार्डले खिचेका हुन्‌। तस्‍बिर सौजन्‍य : सुनील उलक

अचेल सामाजिक सञ्‍जालमा निकै चर्चा-परिचर्चाका साथ राउटेहरूको रहनसहन, भेषभूषा र बोलीचालीबारे धेरैले जानकारी पाउन थालेका छन्। पहिले एनजीओ तथा आईएनजीओको नाममा डलर कमाउनेहरू राउटे बस्तीमा पुग्दथे। अहिले यूट्‍युबरहरू डलर कमाउन राउटे बस्ती पुग्‍ने गरेका छन्। राउटेको जीवनशैलीमा भने कुनै परिवर्तन आएको देखिँदैन। कतिपय सुधारजन्‍य तथा सामाजिक कुराहरू उनीहरू स्वीकार्दैनन्। कतिपय त त्‍यहाँको स्‍थानीय सरकार र समाजले स्वीकार्न दिँदैन।

वास्तवमा भनौं भने नेपालको घुमन्ते आदिवासी जनजातिका अन्तिम र एक मात्र बचेको प्रजाति हो- राउटे। तसर्थ, यी राउटेहरूको लागि स्थायी घर बनाइदिने र अन्य व्‍यवस्‍था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्‍त गर्नु हो। यिनीहरूलाई यसरी नै निस्‍फिक्री बाँच्‍न दिनुपर्छ, जसरी यिनीहरू जुन परम्‍परागत शैलीले बाँचिरहेका छन्‌। सरकार वा यहाँको समाजले यिनीहरूको जीवन रक्षा गर्नको लागि यिनीहरूलाई यिनीहरूले नै उत्पादन गर्ने सामग्री उत्पादनमा सहयोग गर्ने तथा सो उत्पादित सामग्री खरिद गरिदिने हो। यी सामग्री बजारमा बिक्छन् वा बिक्दैनन् भन्‍नुभन्दा पनि यिनीहरूबाट उचित मूल्यमा खरिद गरिदिएमा अन्य आर्थिक सहयोगको अपेक्षा राख्‍ने गर्दैनन्। बजारमा आँउदा यिनीहरूले तयार बनाएर बिक्रीका लागि ल्याइएका सामग्री किन्‍न नखोज्‍ने वा सस्तोमा किन्‍न खोज्‍ने गर्दा यिनीहरूमा आर्थिक अभावको अवस्था सिर्जना भयो। जसले गर्दा यिनीहरू आफू बसेको नजिकको बस्तीमा माग्‍नको लागि पनि पस्‍न थाले। नेपाल सरकारले मासिक लोपोन्मुख भत्ता वापत्‌ रू. ३ हजार र कर्णाली प्रदेश सरकारबाट रू. २ हजार गरी मासिक रू. ५ हजार पाउने व्‍यवस्‍था गरेको छ। यस किसिमको व्‍यवस्‍थाले सरकारले राउटे प्रजातिको सुरक्षण गरेको भन्‍ने गरेको छ। वास्तवमा यसरी रकम उपलब्ध गराउनु गलत हो। यसको साटो उनीहरूलाई उनीहरूले नै तयार गर्ने काठको सन्दुस, कौशी, ओखल तथा सिलौटाहरू उत्पादन गर्न सहयोग गर्ने तथा ती उत्पादित वस्तु सरकारले खरिद गरिदिने व्‍यवस्‍था मिलाएको भए उनीहरू आत्मनिर्भर हुन्थे। तर अचेल उनीहरूले यी सामग्री उत्पादन गर्न बिस्तारै छाडिसके। काठ पाइँदैन, काट्‍न दिँदैन भनेर पन्छिन थालेका छन्। साथमा सरकारसँग विभिन्‍न सहयोगको माग गर्न थालेका छन्। सरकारले लोपोन्मुख भत्ता उपलब्ध गराउँदा उल्टै अझ बढी रकमको अपेक्षा गर्न थालेका छन्।

नेपालमा राउटेहरूको बारेमा विस्तृत अध्ययन २०२५ सालमा भएको थियो। अमेरिकी मानवशास्त्री एवं पुरातत्त्‍वविद्‌ योहन रेयनहर्डले २०२५ साल पुसदेखि फागुनसम्म राउटे बस्तीमा नै बसेर अध्ययन गरेका थिए। हुन त रेयनहर्ड २०२४ को अन्तमा नै नेपाल आएर नेपालको अर्को आदिवासी कुसुण्डासम्बन्धी अध्ययन गर्दै थिए। उनी कुसुण्डाका राजामामासँग बसेका थिए। कुसुण्डाको भाषा र लिपिसम्बन्धी पनि अध्ययन गरेका थिए। कुसुण्डासम्बन्धी अध्ययन गर्ने क्रममा नै राउटेहरूको बारेमा पनि सुनेपछि उनले राउटेको अध्ययन पनि थालेका थिए। यस अगाडि राउटेको विषयमा योगी नरहरीनाथले २०१३ सालमा प्रकाशित आफ्‍नो पुस्तक 'इतिहास प्रकाश' मा राउटे बारेमा लेखेका छन्। विदेशीको हकमा भने रेयनहर्ड नै पहिलो व्‍यक्‍ति थिए, जो राउटे बस्तीमा पुगेर राउटेहरूसँग बसेर उनीहरूको विषयमा अध्ययन गरेका थिए।

योहन रेयनहार्डले ५५ वर्षअघि खिचेको राउटे बालबालिकाको तस्बिर।

रेयनहर्डसँग दुईपटक मेरो भेट भएको थियो। भेटमा फोटोहरू मलाई हस्तान्तरण पनि गरेका थिए। भेटमा उनीसँग कुसुण्डा तथा राउटेको विषयमा कुराकानी नभए पनि उनले गरेका अध्ययनहरू समेटिएको लेख दिएका थिए।

नेपालमा कुसुण्डा प्रजाति र उनीहरूको विलुप्‍त हुँदै गरेको भाषासम्बन्धी अध्ययन गर्ने मनसायले नेपालमा आएका रेयनहर्डले कुसुण्डाहरूसँगको कुराकानीकै समय राउटेको बारेमा सुनेपछि राउटेहरूको विषयमा पनि विशेष चासो लिन थालेका थिए। राउटेहरूको विषयमा सुनेपछि राउटेहरूको बस्ती खोज्‍न २०२५ पुस ५ गते रेयनहर्ड काठमाडौंबाट सुर्खेत लागेका थिए। त्यसपछि पनि राउटेहरूलाई खोज्‍न करिब ३ हप्‍ता लागेको थियो। अन्तत: २०२५ पुस २७ गते उनले बस्ती सर्दै गरेका लामबद्ध राउटेहरूलाई टाढाबाट देखे। त्यसपछि उनीहरूको नजिक जान खोजे। राउटेहरू अन्य मानिसहरूको नजिक जान खोज्दैनन् तथा नजिक आएको रुचाउँदैनन्। त्यसमा झन्‌ एक विदेशीको लागि अझ गार्‍हो थियो उनीहरूको बारेमा बुझ्‍न। उनीहरूको मुख्य बसोबास क्षेत्र कर्णाली, भेरी र बबई नदी वरपर सुर्खेत, दैलेख र सल्यान जिल्ला नै थियो। २०२२ को पुसदेखि २०२९ को पुससम्मको अध्ययनमा उनीहरूको बसाइँ स्थल यही सेरोफेरो नै थियो।

राउटे प्रजातिलाई 'जंगलको राजा' को रूपमा धेरै अगाडिदेखि वनरावत, जंगली तथा वनमानुस भन्‍ने गरिन्थ्यो। राउटेहरूको बारेमा जेना फोर्टियरले Kings of the Forest लेखेका छन् भने ओम गुरुङले Raute of Nepal लेखेका छन्। त्यस्तै गणेश ओलीले The Rautes : The Endangered Jungle Tribe of Nepal लेखेका छन्। त्यस्तै रेयनहर्डको Raute (Nepal) : Camp Scenes and Bartering को साथै अन्य पुस्तकहरू पनि भेटिन्छ। साथै बीबीसी टेलिभिजनले Living with Nomads शीर्षकको श्रृंखलामा केथ हम्बलले नेपालका राउटेहरूको साथ बिताएको वृत्तचित्र (डकुमेन्ट्री) नै बनाएको थियो।

समय अनुसार राउटेहरूको जीवनशैलीमा पनि फरक आएको छ। पहिले-पहिले छाप्रो बनाउँदा रुखका हाँगा र  पातपतिङ्गरले छाउँथे। अहिले भने पालमा निर्भर हुन थालेका छन्। बलियो पालको लागि सरकारलाई गुहार्छन्। बस्ती नजिकै बस्‍न थालेपछि कोकाकोला र बियर जस्‍ता पेय पदार्थको स्वादमा रम्‍न थालेका छन्। खाजाको रूपमा चाउचाउको प्रयोग बढ्दै गएको छ। केहीले मोबाइल पनि चलाउन थालेका छन्।

राउटेको इतिहास

राउटेहरूसँग आफ्‍नो कुनै इतिहास छैन। घुमन्ते र देवताको सन्तान भन्‍ने गरिए पनि राउटेहरूको उद्‌गमस्थल कालीकोट जिल्‍लाको फुकोट भन्‍ने गरिन्छ। उनीहरूकै कथन अनुसार फुकोटमा बस्‍ने विष्णु ठकुरीका ७ भाइ छोरामध्ये माहिलो छोराले पारिवारिक सजाय वापत्‌ गाउँबाट निष्कासित भएर जंगल बस्‍नुपरेको भन्‍ने कथन छ। कति सय वर्ष अगाडिको कुरा हो भन्‍ने कुनै यकिन तथ्य छैन। अहिलेका राउटे तिनै माहिलोका सन्तान हुन्‌ भनिन्छ। राउटेहरूको जनसंख्या ७ सय जति भए पनि अहिले वास्तविक राउटेहरूको संख्या मुस्‍किलले १ सय ५० जति मात्र छ। बाँकी अन्य राउटे समाजमा घुलमिल भइसकेका छन्। राउटेहरूमा आफ्‍नो संख्या गन्‍नु हुँदैन भनेर यकिन संख्या भन्‍ने गर्दैनन्।

मुख्य गरेर राउटेहरू तीन गोत्रका छन्- कल्याल गोत्र, रास्कोटी गोत्र र सूर्यवंशी समाल गोत्र। यी तीन गोत्रबीच विवाह चलाउँछन्। आफ्‍नै गोत्रमा विवाह गर्न नहुने हुँदा कल्यालहरू रास्कोटीसँग र समालहरू कल्यालसँग बिहे गर्दछन्। कल्यालहरूको संख्या सबैभन्दा अधिक र रास्कोटी तथा समालहरुको संख्या न्यून हुँदा विवाहको उमेर पुगे तापनि बिहे हुन नपाएका कल्याल युवायुवतीहरूको संख्या बढ्दै गएको छ।

राउटेहरूमा समूहगत महामुखिया र गोत्र अनुरुप ३ मुखिया हुने गर्दछ। निकै लामो समयदेखि राउटेहरूको महामुखिया मइनबहादुर कल्याल (शाही) छन् भने अन्यमा कल्याल मुखिया वीरबहादुर शाही, रास्कोटी मुखिया सूर्यनारायण शाही तथा समाल मुखिया डिलबहादुर शाही हुन्‌।

२०७५ असार ३० गतेदेखि गुराँस गाउँपालिकाले परिचयपत्र प्रदान गरेको थियो। जसअनुसार उनीहरूलाई नागरिकता पनि दिने प्रयासहरू भइरहेको छ। केही समयदेखि सुर्खेतको दमारमा बस्दै आएका राउटेहरू हालै सल्यान जिल्लाको काल्चे डाँडामा बसाइँ सरेका छन्। अहिले यिनीहरू ४६ घरधूरीका १ सय ४३ जना भएको जनाइएको छ। राउटेहरू मुख्यतया कुनै पनि ठाउँमा बस्दै गर्दा कुनै सदस्यको मृत्यु भयो भने बसाइँ सर्ने गर्दछन्‌। शवलाई आफू बस्दै आएको ठाउँमा नै गाड्दछन् र सो ठाउँ छोडेर नयाँ ठाउँको खोजीमा निस्कन्छन्। पछिल्लो पटक सुर्खेतको बसाइँमा राउटे बस्तीमा आएर यूट्‌युब तथा टिकटक बनाउनेले दु:ख दिन थालेपछि पनि सर्न बाध्य भएका थिए। तर मुखियाले भने सुर्खेतमा बढी गर्मी भएको हुँदा बसाइँ सर्नुपरेको जानकारी दिएका थिए।

 

(अध्‍येता एवं तस्‍बिर संकलक सुनील उलकले प्रस्‍तुत लेख २०८० असोज ५ गते आफ्‍नो फेसबूक पेजमा पोष्‍ट गरेका हुन्‌।)