रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू
पत्रकार तथा सञ्चारकर्मीले भूकम्पको क्षति र हताहतीको रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्नप्रकार छन् । यद्यपी, सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पर्याप्त सावधानी अपनाउनुपर्ने देखिन्छ।
- पत्रकारहरू संवेदनशील बनून्। मृतक वा घाइतेको संख्या मात्रै बढी देखाउने होडबाजी नगरियोस्। आधिकारिक निकायबाट प्राप्त प्रमाणित सूचना मात्रै सार्वजनिक गरियोस्।
- विभत्स अवस्थाका घाइते वा मृतकका तस्बिरहरू प्रकाशन नगरियोस्। अनुहार देखिने तस्बिर प्रयोग गर्दा सम्बन्धित व्यक्ति वा तिनका नजिकका आफन्तहरूको स्वीकृति लिइयोस्।
- मृतक वा घाइतेको विवरण लेख्दा पर्याप्त सावधानी अपनाएर त्रुटि हुन नदिने प्रयास गरियोस्। उनीहरूको व्यक्तिगत गोपनीयताको सम्मान गरियोस्।
- कुनै खास स्थान वा व्यक्तिलाई मात्रै केन्द्रित गरेर समाचारहरू प्रकाशन/प्रसारण नगरियोस्। सबै पक्ष, क्षेत्र र सबै किसिमको क्षतिको विवरणलाई उचित स्थान दिइयोस्।
- प्राय: समाचारमा विभिन्न किसिमको उद्धार वा आपतकालिन सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्ने विवरण पनि राखिदिने वा त्यस्तो विवरणको लिंक उपलब्ध गराइयोस्। जस्तै: अस्पताल, एम्बुलेन्स, रगत, उद्धार सामाग्री आदि।
- दोषारोपन गर्नेभन्दा उद्धार र राहतका लागि तत्कालै पहल गर्ने किसिमका समाचारलाई प्राथमिकता दिइयोस्।
- उद्धारमा स्वतस्फूर्त रूपमा खटिएका व्यक्ति वा संस्थाका अनुकरणीय पहलका समाचार लेखेर अरुलाई पनि उत्प्रेरणा दिइयोस्।
- मृतकका आफन्त वा घाइतेको इच्छाविपरीत जबरजस्ती अन्तर्वार्ता र सूचना दिन बाध्य पार्ने काम नगरियोस्।
- सामाजिक सञ्जालमा भाइरल भएका सूचना वा विषयका आधारमा समाचार नबनाइयोस्।
(डा.आचार्य पत्रकारिता तथा आमसञ्चार विज्ञ हुन्।)
प्रतिक्रिया