कमलदहमा 'हिउँको राप' लोकार्पण !
हिउँको राप' मा नेपाली समाज र यसको जनजीवनको चरित्र चित्रण गरिएको छ।
रुकुमकोट, १३ कार्तिक।
साहित्यकार डा. कुसुमाकर शर्मा गौतमको 'हिउँको राप' लघुकथा संग्रह लोकार्पण भएको छ। राप्ती साहित्य परिषद् रुकुमपूर्व शाखा र लुम्बिनी वाङ्मय प्रतिष्ठान रुकुमपूर्वको संयुक्त आयोजनामा रुकुमकोट कमलदह परिसरमा सोमबार मध्यान्ह गौतमको 'हिउँको राप' लोकार्पण गरिएको हो।
'हिउँको राप' मा कथाकार डा.गौतमका विविध विषयमा अनुभव संगालिएका लघुकथा संग्रहित छन्। लोकार्पण कार्यक्रमका आमन्त्रित व्यक्तित्व पञ्चबहादुर केसीको टिप्पणी छ- "'हिउँको राप' मा नेपाली समाज र यसको जनजीवनको चरित्र चित्रण गरिएको छ। नेपाली नारी अस्मिता र त्यसमाथिको शोषण र दमनका विरुद्ध लेखक बलियो गरी उत्रिनुभएको छ। सामाजिक विसंगति र विकृतिविरुद्ध सशक्त व्यंग्य र कलात्मक प्रस्तुति उहाँको यस लघुकथा संग्रहको अर्को विशेषता हो।" केसीका अनुसार कथाहरूमा जन्मभूमिप्रति अगाध माया र श्रद्धाभाव दर्शाइएको छ भने परदेशी भूमिमा भोगिएका विभिन्न तीतामीठा अनुभव-अनुभूतिहरूको सँगालो पनि छ।
लोकार्पण कार्यक्रममा जिल्लास्थित विद्वतवर्ग, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी, साहित्यानुरागी, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व लगायत विभिन्न पेशा व्यवसायका व्यक्तित्व, जिल्लामा कार्यरत सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो। "आफू जन्मिएको ठाउँ, हुर्किएको परिवेश नै सबैभन्दा प्यारो लाग्दो रहेछ", कार्यक्रमको मुख्य आकर्षण तथा केन्द्रीय व्यक्तित्वको रूपमा रहेका डा.गौतमले मन्तव्यको क्रममा खुशी पोखे- "आफूले पराई भूमिमा रचना गरेको कृति त्यो पनि आफ्नै जन्मभूमिबाट नै लोकार्पण गर्न पाउँदा खुशी सँगसँगै गर्व दुवै उत्तिकै लाग्दो रहेछ।"
स्थानीय विद्वान् व्यक्तित्व चूडामणि गौतम, प्रबुद्ध व्यक्तित्व एवं विदुषी तथा ब्रम्हा कुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालिका सावित्री गौतम, जिल्ला समन्वय उप-प्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पूर्व जिविस सभापति लोकेन्द्रबहादुर शाह, जिल्लास्थित प्रमुख अनुसन्धान अधिकृत चीरञ्जीवी बुढा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, पूर्व शिक्षिका फत्तेकुमारी वली, शिक्षक पञ्चबहादुर केसी, शिक्षासेवी कैलाशकुमार मल्ल, राप्ती साहित्य परिषद् रुकुमपूर्व शाखा अध्यक्ष कमानसिंह विष्ट, लुम्बिनी वाङ्मय प्रतिष्ठान अध्यक्ष हिमशिखर शाह लगायतको विशेष उपस्थितिमा विद्यार्थी अगुवा शरदमंगल ओलीले कार्यक्रम सञ्चालन गरेका थिए। बौद्धिक व्यक्तित्व पञ्चबहादुर केसी, मिडियाकर्मी महेश केसी लगायतको टिप्पणी रहेको कार्यक्रमको स्वागत मन्तव्य राप्ती साहित्य परिषद् रुकुमपूर्व शाखाका सचिव शिवकुमार शाहीले दिएका थिए।
नेपाली डायस्पोराको समेत प्रतिनिधित्व रहेको कथासंग्रहमा ७२ वटा कथाहरू समावेश छन्। साझा प्रकाशनले 'हिउँको राप' लघुकथा संग्रह कृति प्रकाशन गरेको हो।
साहित्यकार डा. गौतम २०३९ सालमा ‘हटारु’ पत्रिकामा ‘म को हुँ' कविता’ प्रकाशमा ल्याई लेखनयात्रामा उदाएका हुन्। उनी कथा, लघुकथा, कविता, निबन्ध, संस्मरण जस्ता साहित्यका विविध विधामा कलम चलाउँछन्।
बुबा स्व.भुवनेश्वर उपाध्याय र आमा स्व.मनदेवी दम्पतीका कान्छा छोराको रूपमा हालको रुकुमपूर्व जिल्ला सिस्ने गाउँपालिका वडा नं ६ आलामा जन्मे-हुर्केका डा. कुसुमाकर शर्मा गौतमले रुकुमकोटस्थित रूक्मिणी माध्यमिक विद्यालयबाट एसएलसी गरेका हुन्। २०२० सालमा जन्मेका उनले काठमाडौं लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) बाट आईएस्सी गरेका हुन् भने भारतबाट सिभिल इन्जिनियरिङमा ब्याचेलर्स हुन्।
लेखक तथा साहित्यकार डा.गौतम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नेपाली साहित्य समाज क्यानाडाका आजीवन सदस्य त हुँदै हुन्; उनले नेपाली भाषा, कला र साहित्यको उत्थानमा बरोबर योगदान दिँदै आएका छन्। पेशाले उनी क्यानाडाको अल्बर्टा प्रान्तको वातावरण मन्त्रालयमा पानी प्रशोधनविज्ञको रूपमा कार्यरत छन्। उनीसित केही समयावधि थाइल्यान्ड र करिब एक दशक नेपाल सरकारको खानेपानी तथा ढल निकास विभागमा काम गरेको अनुभव पनि छ। हाल डा. गौतम आफ्नी श्रीमतीसहित एक छोरी र एक छोराका साथ एड्मन्टन सिटीमा बस्दै आएका छन्।
क्यानाडाको अल्बर्टा युनिभर्सिटीबाट पीएचडी गरेका डा.गौतमले पानीको तापक्रम न्यून हुँदा पनि ब्याक्टेरियाले आफ्नो काम गर्छन् भन्ने नयाँ वैज्ञानिक तथ्य आफ्नो पीएचडी शोधपत्रमा केलाएका थिए। बढी चिसो हुने स्थानका नदीहरू जमेर बरफ हुँदा पनि नदी र जमिनको मिलनविन्दुमा ब्याक्टेरियाले कसरी पानीमा भएको अक्सिजनको मात्रा कम गराउँछन् र त्यसको असर कसरी माछा तथा अन्य जलचर प्राणीमा पर्दोरहेछ भनी उनले आफ्नो अनुसन्धानलाई वैज्ञानिक तथ्यमार्फत् पुष्टि गरेका थिए। यस नवीन खोजको दीर्घकालीन उपयोगिताको मूल्यांकन गरी अल्बर्टा प्रान्तीय सरकारले उनलाई 'पानी प्रशोधनविज्ञ' को रूपमा वैज्ञानिक दर्जा दिलाएको हो।
डा. गौतम पानी प्रशोधनविज्ञको नाताले वाटर साइन्स र इनभाइरोन्मेन्टल पोलुशन साइन्स एण्ड रिसर्च जस्ता ख्यातिप्राप्त अन्तर्राष्ट्रिय साइन्टिफिक जर्नलमा समीक्षकको रूपमा समेत क्रियाशील छन्।
प्रतिक्रिया