प्रतिस्‍पर्धी विद्यार्थी र आर्थिक दृष्‍टिकोण

मुलुकको विकासको मापन आर्थिक परिसूचकहरूबाटै हुने गर्दछ। आर्थिक परिसूचकहरूमा जे जस्ता सूचकाङ्‍कहरूलाई समावेश गरिए पनि आर्थिक वृद्धि र आर्थिक विकास नभइकन मुलुक आगाडि बढेको निष्कर्ष निकाल्न सकिँदैन।

प्रतिस्‍पर्धी विद्यार्थी र आर्थिक दृष्‍टिकोण स्‍केच : wordpress.com

विषय प्रवेश
प्रतिस्पर्धात्‍मक परीक्षाहरू दिन प्रतिदिन जटिल मात्रै होइन, विषयवस्तुको व्यापकताका कारणले दुर्भेद्य समेत हुँदै गएका छन्। निर्धारित पाठ्‍यक्रमको सीमाभित्रै रहेर हजारौं प्रतिभाशाली प्रतिस्पर्धीहरूमध्येबाट केही सर्वोत्कृष्‍टहरूको मात्रै छनौट गर्नुपर्ने बाध्यता परीक्षा  सञ्‍चालकमा रहने हुनाले परीक्षाका प्रश्‍नहरू झट्ट हेर्दा सरल देखिने भए पनि परीक्षार्थीहरूबाट त्यसको उत्तरस्वरूप केही निश्‍चित तथ्य वा बुँदालाई अघि सारिएका होऊन् भन्‍ने अपेक्षा परीक्षकले राखेको हुन्छ। त्यसैले 'प्रश्‍नहरू खूबै सजिला थिए– खूब गफ लेखियो' वा 'मैले त कापी पनि थपिदिएँ, क्या मज्जा' भन्‍ने जस्ता परीक्षापछिका अभिव्यक्तिहरूले सफलताको निकट पुर्‍याउन खासै सहयोग पुर्‍याउँदैनन्। वास्तवमा कुनै पनि प्रश्‍नले गफको अपेक्षा गरेकै हुँदैन। हो, विषयगत रूपमा उत्तर दिँदा भाषा, शिल्प, अभिव्यक्तिको शैली, लेखाइको शुद्धता र अक्षरको सुन्दरता जस्ता कुराहरूले पनि केही प्रभाव छोडेका हुन्छन्। तर यति हुँदाहुँदै पनि विषयवस्तुको ज्ञान र त्यसको सुललित प्रकटीकरणले नै परीक्षार्थीलाई सफल बनाउँछ।

हामीले झट्ट हेर्दा सरल र सोझो उत्तरको रूपमा गफ नै लेख्‍नुपर्ने पो हो कि जस्तो देखिने प्रश्‍नले पनि केही निश्‍चित बुँदाहरू समेटिएको उत्तरको अपेक्षा गरेको हुन्छ। त्यसैले सफलताका लागि सधैं सम्झनुपर्ने कुराहरूमध्येको एउटा कुरो हो– प्रश्‍नहरू सरल हुँदैनन्। जस्तै उदाहरणको लागि ‘तालिम’ विषयको कुनै प्रश्‍नमा परीक्षार्थीले जतिसुकै लामो उत्तर प्रस्तुत गरे पनि त्यस उत्तरभित्र ‘ज्ञान, सीप र अभिवृत्तिमा परिवर्तन ल्याई उत्पादकत्वमा वृद्धि गर्ने’ भन्‍ने मुख्य कुरो नपरेसम्म त्यो उत्तर परिपक्‍व हुनै सक्तैन। यो मुख्य ‘चुरो’ छोडेर गरिएको लामो ‘कुरो’ ले परीक्षार्थीलाई अगाडि ल्याउन मदत गर्दैन, चाहे दुईपटक कापी थपिएकै किन नहोस्। अर्को उदाहरण हेरौं– ‘जनसहभागिता’ सम्बन्धी प्रश्‍नको। सर्वप्रथम प्रश्‍न हेरेर, दुईपटकसम्म पढेर, जनसहभागिताको कुन पक्षबाट प्रश्‍न सोधियो भन्‍ने कुरामा प्रष्‍ट हुनुपर्‍यो। र, प्रश्‍नको माग एवं आवश्यकता अनुसार थप कुराहरू त गर्नैपर्‍यो। तर ‘निर्णय प्रक्रियामा सहभागिता, कार्यन्वयन पक्षमा संलग्‍नता र लाभको वितरणमा साझेदारी’ (Priority Setting, Planning, Paying, Producing and Consuming) भन्‍ने मूल मर्म वा कुरोको चुरो नलेखेसम्म त्यस प्रश्‍नको उत्तरले पूर्णता पाउनै सक्तैन। त्यसैले परीक्षार्थीहरूले सधैं याद राख्‍नुपर्ने कुरो के हो भने उत्तर लामो होइन, खँदिलो हुनुपर्छ। जुन विषयको प्रश्‍न हो, त्यसको मूल दर्शन वा मर्मलाई आफ्‍नो उत्तरले समेटेको हुनुपर्छ। अब आफैं विचार गर्नुहोस् त- तपाईंले अहिलेसम्म बुझिरहेको ‘सामाजिक न्याय’ र उत्तरपुस्तिका परीक्षकले तपाईंको कापीमा खोज्‍ने सामाजिक न्यायको चुरो कुरोमा कति फरक परिरहेको हुन्छ होला ? परीक्षामा लेखिने उत्तरको मूल ‘चुरो’ (Core) भनेकै यही हो।

 

विषयवस्तुको दर्शन

अब विषयवस्तुको दर्शन कसरी र के कुराबाट प्रभावित हुन्छ भन्‍ने बारेमा पनि छोटो चर्चा गरौं।

मानवीय र समाजशास्त्रीय कुराहरूको उत्पत्ति र विकास सामाजिक पृष्‍ठभूमिबाट भएको हुन्छ। त्यसैले ‘सामाजिकता’ यस्ता विषयवस्तुको विशेषता रहने गर्दछ। सामाजिक सिद्धान्त वा मानवीय भावनाहरू भौतिक विज्ञानका सूत्रहरू झैं विश्‍वव्यापी रूपमा एउटै हुँदैनन्। गुरुत्वाकर्षणको नियम जेनेभा र टोकियोमा समान रूपले लागू हुन्छ। हाइड्रोजनका अणुहरू नेपाल र बेलायत दुवै ठाउँमा एकै नासका हुन्छन्। तर के नेपाल र बेलायतको गरीबीको अर्थ एउटै लाग्छ ? पानीले जहिले पनि आफ्‍नो सतह आफैं मिलाउँछ। तर के धनी र गरीबहरूका बीचमा एउटा सतह कायम हुन सक्छ ? भौतिक विज्ञान प्रकृतिप्रति मात्र जवाफदेही हुने भएकाले यो जहाँ पनि एउटै हुन्छ। तर यसको विपरीत एक व्यक्ति (Individual) र मानिसहरूको समाज (Society) जहिले पनि आफ्‍नो धर्म, रीतिरिवाज, संस्कृति, कानून, आर्थिक अवस्था, राजनीतिक व्यवस्था, भू-राजनीति, भौगोलिक अवस्था, कर्तव्य, निष्‍ठा, आचार, नैतिकता जस्ता अनेकौं कुराहरूले बाँधिएको हुन्छ। यी सबै कुराहरूलाई समष्‍टिमा भन्‍नुपर्दा सामाजिक प्रभाव भन्‍न सकिन्छ। सामाजिक प्रभावका कारणले मानिसको चिन्तन, व्यवहार र जीवनशैलीको बाटो निर्धारित हुन जान्छ। यसका आर्थिक स्तर, भौगोलिक प्रभाव, राजनीतिक व्यवस्था र सांस्कृतिक पक्षहरूले एक मानिसलाई अर्कोसँग, एउटा समाजलाई अर्कोसँग र एउटा देशलाई अर्कोसँग फरक बनाउँदै लैजान्छन्। यो फरकलाई मेटाउन सकिन्‍न। किन कि व्यक्तिगत विभिन्‍नता, समष्‍टिगत व्यक्तित्व, अभिप्रेरित आचरण र व्यक्तिको मूल्य (Dignity) जस्ता कुराहरूबाट मानिसको स्वभाव बनेको हुन्छ। तर समाज एक ‘प्रणाली’ पनि भएकाले यसले पारस्परिक हितको अभिवृद्धि गर्न चाहन्छ। फलस्वरूप नीतिनियम, कानून, आचारसंहिता जस्ता कुराहरूको जन्म हुन पुग्छ। यसबाट मानवीय व्यवहार संस्थागत हुन पुग्दछ र एक व्यक्ति सामाजिकताको एक इकाईको रूपमा स्थापित हुन्छ।

आजको विश्‍वले हरेक वस्तु र घटनालाई आर्थिक दृष्‍टिकोणबाट हेर्ने गरेको पाइन्छ। र, नेपाली सन्दर्भ पनि यसको अपवाद भएर रहनै सक्तैन। आज सामाजिक क्षेत्रका अरू सबै विषयहरूमाथि अर्थशास्त्रले एकछत्र प्रभाव जमाइरहेको छ।

समाजको इकाईको रूपमा रहने व्यक्ति र व्यक्ति-व्यक्तिको योगबाट बन्‍ने समाजमा सामाजिकताको प्रभाव नपर्ने भन्‍ने कुरै आउँदैन। माथि नै उल्लेख गरिएको छ कि सामाजिक ढाँचाको निर्माणमा धार्मिक/सांस्कृतिक पक्ष, राजनीतिक व्यवस्था र आर्थिक पक्षको ठूलो भूमिका रहन्छ। यसमा पनि धार्मिक/सांस्कृतिक पक्षले व्यक्तिमा सांस्कृतिक निधिहरूको हस्तान्तरण गर्दछ। राजनीतिक पक्षले व्यक्तिको हैसियतको निर्धारण गर्दछ। जस्तो कि ऊ सार्वभौमसत्ता सम्पन्‍न नागरिक हो कि होइन ? मानव अधिकारको प्रत्याभूति गरिएको छ कि छैन ? ऊ राज्यको तल्लो राजनीतिक इकाईको रूपमा मानिएको छ कि छैन ? आदि। यसबाहेक सबैभन्दा ठूलो भूमिका आर्थिक पक्षले खेल्दछ। आर्थिक पक्षले सामाजिक ढाँचा र व्यक्तिगत जीवनको स्तर निर्धारण गर्ने मात्र होइन- समष्‍टिगत उन्‍नतिको सूचकको रूपमा समेत कार्य गर्ने भएकाले आर्थिक पक्षलाई उपेक्षा गरिएको जीवनको कल्पना पनि गर्न सकिन्‍न। पेट भोको भएको मान्छेले धर्म मान्दैन। पेट भोको भएपछि वाक्‌ स्वतन्त्रता प्राप्‍त सार्वभौमसत्ता सम्पन्‍न नागरिक हुनुको पनि कुनै अर्थ रहँदैन। यसबाट के बुझिन्छ भने आर्थिक पक्षको सुदृढीकरणको अभावमा धार्मिक र राजनीतिक पक्षको समेत उन्‍नति हुन सक्तैन। निष्कर्षतः के भन्‍न सकिन्छ भने आर्थिक तत्वको अभावमा सामाजिक जीवनका अन्य पक्षहरू मृतप्रायः हुने भएकाले सृष्‍टिको आदि-ऊषादेखि नै यसको महत्वलाई कुनै न कुनै रूपमा स्वीकार्दै आइएको पाइन्छ।

 

आर्थिक मान्छे

कार्ल मार्क्सद्वारा प्रतिपादित वर्ग संघर्षको सिद्धान्तको कुरा गरौं वा अतिरिक्त मूल्यको सिद्धान्तको; यसमा भन्‍न खोजिएको मूल कुरो श्रमिकको आर्थिक जीवनस्तर, श्रमको मूल्य र न्यायोचित वितरण प्रणालीको व्यवस्था नै हो। किन्सको पूँजीवादी अवधारणाले आर्थिक क्रियाकलापहरूको स्वतन्त्र चलखेलको परिकल्पना गरेको छ। जसमा पूँजीपति र प्रतिष्‍ठानहरूले बजार संयन्त्रको संरचनामाथि स्वतन्त्र रूपले विचरण गर्दछन्। अब्राहम मास्लोको ‘आवश्यकताको पदसोपान सिद्धान्त’ को कुरो गरौं वा हर्जवर्गको ‘दुई तत्व सिद्धान्त’ मा चर्चा गरिएको ‘संभार तत्व’ को। यी दुवैको आधारभूमिमा प्रत्यक्षतः आर्थिक तत्वको उपस्थिति रहेको पाइन्छ। ‘प्रेरणा’ र ‘योग्यता’ अथवा अर्को शब्दमा भन्‍ने हो भने ‘जाँगर’ र ‘योग्यता’ को अभावमा संसारको कुनै पनि कार्य सम्पा‍दन हुन सक्तैन। यी दुवै वस्तुको जगको रूपमा रहेर आर्थिक तत्वले ‘जाँगर’ र ‘योग्यता’ दुवैलाई दुर्बल वा सबल बनाइरहने हुनाले आर्थिक तत्वबाट अप्रभावित रहने क्रियाशील र उत्पादनशील मानिसको परिकल्पना पनि गर्न नसकिने भएको छ। यसैको परिणामस्वरूप आजको मान्छे ‘आर्थिक मान्छे’, आजको मूल विषय ‘अर्थशास्त्र’ र आजको सबलता भनेको ‘आर्थिक सबलता’ भन्‍ने अर्थ लाग्‍न थालेको छ। यसलाई अलिकति प्रष्‍ट्‍याएर हेरौं– जापानलाई आज संसारको ठूलो शक्ति मानिन्छ। तर जापानलाई शक्ति स्वीकारिएको एक मात्र कारण उसको सेना, आणविक हतियारको भण्डार र सामरिक महत्वका कारणले नभई उसले आर्थिक जगतमा आर्जन गरेको छविले गर्दा नै हो। जापान आजको विश्‍वको प्रमुख आर्थिक शक्ति हो। त्यस्तै आजको राजनीति भनेको ‘अर्थ राजनीति’ हो र आजको कूटनीति भनेको ‘आर्थिक कूटनीति’ हो। आजको विश्‍वले हरेक वस्तु र घटनालाई आर्थिक दृष्‍टिकोणबाट हेर्ने गरेको पाइन्छ। र, नेपाली सन्दर्भ पनि यसको अपवाद भएर रहनै सक्तैन। आज सामाजिक क्षेत्रका अरू सबै विषयहरूमाथि अर्थशास्त्रले एकछत्र प्रभाव जमाइरहेको छ। त्यसैले परीक्षार्थीको रूपमा प्रतियोगितात्‍मक परीक्षामा सामेल हुने हरेक व्यक्तिले थोरबहुत अर्थशास्त्रीय ज्ञान हासिल गर्नु र हरेक विषयवस्तुलाई आर्थिक दृष्‍टिकोणले चिरफार गर्न सक्‍ने ठाउँमा आफूलाई पुर्‍याउनु नितान्त जरुरी भइसकेको छ। अन्य विषयहरूमाथि अर्थशास्त्रको निरन्तर एवं एकोहोरो प्रभावले गर्दा अर्थशास्त्रको ज्ञानविना अब प्रतिस्पर्धा गर्न सक्‍ने ठाउँ सीमित हुँदै गएको छ।

आजको दैनिक जीवनको सामान्य सन्दर्भमै हेर्ने हो भने पनि अर्थशास्त्रको सामान्य ज्ञानको अभावमा कुल ग्राहस्‍थ उत्पादन, कुल राष्‍ट्रिय उत्पादन, भुक्तानी सन्तुलन, कर प्रणाली, वित्तीय नीति, वित्तीय परिचालन, मौद्रिक नीति, बजेट तर्जुमा तथा खर्च प्रणाली, सीमान्तता, उत्पादन र उत्पादकत्व, चालु खाता, पूँजी खाता, शोधनान्तर स्थिति जस्ता कुराहरूबारे मात्र प्रस्ट धारणा बनाउन कठिनाइ पर्ने नभई पाठ्‍यक्रममा परेका र त्यसबारेमा अनिवार्य रूपले स्पष्‍ट ज्ञान राखेर मात्र प्रतिस्पर्धामा आउन सकिने आर्थिक संरचना, गरीबी निवारण, बजार संयन्त्र, निजीकरण, आर्थिक उदारीकरण, पूँजी निर्माण, जनसहभागिता, राष्‍ट्रिय व्यापार, महिला विकास, सार्वजनिक नीति, आयोजना तर्जुमा, लागत प्रतिफल अनुपात (CBR), आन्तरिक प्रतिफलन दर (IRR), क्रिटिकल पाथ पद्धति (CPM), मूल्य निर्धारण पद्धति, व्यवस्थापन कौशल, Value for Money जस्ता विषयवस्तुका बारेमा पनि कुरोको चुरो बुझ्‍न अप्‍ठेरो पर्दछ। यसका लागि अर्थशास्त्रीय पृष्‍ठमूमि नभएका विद्यार्थीहरूले पनि अर्थशास्त्रीय सिद्धान्तहरूको गम्भीर अध्ययन गर्दै जाने र परीक्षाका बेला प्रश्‍नमा सोधिएको विषयवस्तुलाई आर्थिक मूल्यसँग जोडेर विश्लेषण गर्ने क्षमताको विकास गर्नुपर्दछ।

 

आर्थिक दृष्‍टिकोण

मुलुकको विकासको मापन आर्थिक परिसूचकहरूबाटै हुने गर्दछ। आर्थिक परिसूचकहरूमा जे जस्ता सूचकाङ्‍कहरूलाई समावेश गरिए पनि आर्थिक वृद्धि र आर्थिक विकास नभइकन मुलुक आगाडि बढेको निष्कर्ष निकाल्न सकिँदैन। राज्य व्यवस्था एक सामाजिक प्रणाली भएकाले यसभित्र विश्‍वास, भावना, उद्देश्य, मान्यता, मर्यादा, भूमिका, श्रेणी, शक्ति, अनुमति, सुविधा आदि जस्ता विषयवस्तुहरू मिश्रित रूपमा रहेका हुन्छन्। यी सबै घटकहरूको आर्थिक मूल्य निर्धारण गर्ने कार्य निकै जटील हुने गर्छ। सामाजिक प्रणाली भन्‍नाले मूलतः सामाजिक अन्तर्क्रियाहरूको नियमित तथा वैज्ञानिक व्यवस्था वा समाजका विभिन्‍न अंगहरूको अन्तर्सम्बन्धको समष्‍टिगत स्वरूप बुझिने भएकोले यसको आर्थिक मूल्य निरूपण गर्ने कार्य अघि बढाउन आर्थिक वृद्धि र आर्थिक विकासको क्षेत्रमा दृष्‍टि दिनुपर्ने हुन्छ। किन कि आर्थिक अवस्था र सामाजिक प्रणाली एक आपसमा सम्बन्धित हुन्छन् भन्‍ने कुराको चर्चा माथि नै भइसकेको छ।

आर्थिक वृद्धिले ‘उत्पादन बढाउने’ कुरामा मात्र जोड दिन्छ। उत्पादनमा वृद्धि ल्याउन या त उत्पादन सामाग्री (Input) हरूको बढी प्रयोग गरिनुपर्छ  या त  दक्षता (Efficiency) मा वृद्धि गरिनुपर्छ।

‘आर्थिक वृद्धि’ र ‘आर्थिक विकास’ भन्‍ने दुई कुराहरूलाई कतिपय परीक्षार्थीहरूले एउटै विषय हो भन्‍ने ठानेका हुन्छन्। त्यस्तै कतिपय अवस्थामा यसको ‘चुरो’ थाहा नपाएर यसलाई एउटा ‘सामान्य गफ गर्ने सजिलो प्रश्‍न’ को रूपमा लिएको पनि पाइन्छ। तर यी दुवै अवस्था रहनु परीक्षार्थीहरूका लागि उचित कुरा होइन। लेखाइ लामो-छोटो जे जस्तो भए पनि धारणा स्पष्‍ट भएको वा नभएको कुरो उत्तरपुस्तिकामा नजर पर्ने बित्तिकै थाहा पाइन्छ। आर्थिक वृद्धि र आर्थिक विकासको ज्ञानमा आधारित भएर अरू धेरै प्रश्‍नहरूको जवाफ दिनुपर्ने आजको अवस्था रहेकाले यहाँ यी दुई पक्षका बारेमा छोटो चर्चा गरिएको छ-

(१) आर्थिक वृद्धि

आर्थिक वृद्धिलाई आर्थिक विकासको एउटा महत्वपूर्ण एवं आधारभूत पक्षको रूपमा स्वीकारिन्छ। तर यो नै आर्थिक विकास भने होइन। आर्थिक वृद्धिले कुल ग्राहस्‍थ उत्‍पादन (GDP) र कुल राष्‍ट्रिय उत्पादन (GNP) मा भएको वृद्धिलाई जनाउँछ। यसको मूल सरोकार नै ‘उत्पादनमा हुने वृद्धि’ सँग रहन्छ। जस्तै कुनै मुलुकको राष्‍ट्रिय आय बढ्नु भनेको आर्थिक वृद्धि हुनु हो। यो विशुद्ध गणितीय प्रक्रिया भएकाले यसले सूचकांकमा आएको वा आउने परिवर्तनलाई मात्र ध्यानमा राख्दछ। समग्र जीवनस्तर र वितरणको न्यायलाई यसले समेट्दैन। आर्थिक वृद्धिले ‘तथ्यांक’ मा कस्तो वृद्धि भइरहेको छ भन्‍ने कुरालाई मात्र जनाउँछ, तर ‘के हुनपर्थ्‍यो’ भन्‍ने प्रश्‍नको जवाफ चाहिँ यसले दिँदैन। त्यसैले आर्थिक वृद्धिको चरमविन्दुमा पुग्दा पनि आर्थिक विकास नभएको हुनसक्छ। आर्थिक वृद्धि भन्‍ने कुरो आर्थिक विकासका निम्ति एउटा पूर्वाधार वा एउटा पक्ष मात्र हो– यो नै विकासको सम्‍पूर्ण सूचक कदापि होइन।

आर्थिक वृद्धिले ‘उत्पादन बढाउने’ कुरामा मात्र जोड दिन्छ। उत्पादनमा वृद्धि ल्याउन या त उत्पादन सामाग्री (Input) हरूको बढी प्रयोग गरिनुपर्छ या त दक्षता (Efficiency) मा वृद्धि गरिनुपर्छ। त्यस्तै उत्पादनका साधनहरूको पूर्ण क्षमतामा परिचालन गरिनुले पनि उत्पादन वृद्धिमा मद्दत पुर्‍याउँछ। आर्थिक वृद्धिले उत्पादनको स्केलमा परिवर्तन ल्याउँछ। यसप्रकार के देखिन्छ भने आर्थिक वृद्धि जहिले पनि उत्पादनको परिमाणात्मक वृद्धिसँग मात्र सम्बन्धित रहेको हुन्छ। र, यो कुनै एक निश्‍चित विन्दुृमा पुगेर टुङ्‍गिन्‍छ। जसरी बेलुनमा एक निश्‍चित हदभन्दा बढी हावा भर्न सकिँदैन, त्यसरी नै उत्पादनमा हुने वृद्धि पनि एक निश्‍चित हदभन्दा माथि जान सक्तैन। तर विकास अनन्त हुन्छ। यो कहिल्यै नटुंगिने प्रक्रिया हो। त्यसैले आर्थिक वृद्धिले निम्‍नानुसारका सोझा र एकमुखे प्रश्‍नहरूको मात्र मात्रात्मक रूपमा जवाफको माग गर्दछ :

(२) आर्थिक विकास

आर्थिक वृद्धि भनेको मात्रात्मक परिवर्तन हो र यसले उत्पादनको स्केलमा आएको वृद्धिलाई जनाउँछ। तर आर्थिक विकास भनेको आर्थिक वृद्धिका कारणले व्यक्तिको जीवनस्तरमा ल्याइने गुणात्मक परिवर्तन हो, जसले न्यायोचित वितरण हुनुपर्ने कुरामा जोड दिन्छ। सिंगो मुलुकको अर्थतन्त्र नै केही व्यापारिक घरानाहरूको हातमा रहेका ठाउँमा पनि आर्थिक वृद्धि भएको हुन सक्छ। जस्तो कि, कूल राष्‍ट्रिय उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १५% बाट बढेर २०% पुगेको हुनसक्छ।  तर आम नागरिकको जीवनमा त्यसले कुनै सहुलियत पुर्‍याएको रहेनछ भने त्यसबाट आर्थिक विकास भएको मानिदैन। त्यसैले आर्थिक विकास हुनका लागि निम्‍न पूर्वशर्तहरूका बारेमा के भइरहेको छ भनेर हेर्ने गरिन्छ। किन्‍डल्‍वर्जर र ह्‍यारिकको भनाइअनुसार ती पूर्वशर्तहरू निम्‍नानुसार हुन्छन्-

  1.  न्यून आय भएका व्यक्तिहरूका लागि भौतिक सुविधामा सुधार भएको छ कि छैन ?
  2. अशिक्षा, कुपोषण, रोग, भोक, अकाल मृत्युजस्ता मानवीय त्रासदीको अवस्थामा सुधार ल्याई गरीबी निवारण भएको स्थिति सिर्जना गरिएको छ कि छैन ?
  3. औद्योगिक क्रियाकलापको विकास गरी input-output को संरचनामा सुधार ल्याइएको अवस्था छ कि छैन ?
  4. नयाँ-नयाँ प्रविधिको विकास भएको छ कि छैन ?
  5. कुनै पनि प्रकारको आरक्षणविना नै काम गर्न सक्‍ने उमेरको जनसंख्यालाई उत्पादनशील रोजगारीको अवसर सिर्जना गर्न सकिएको छ कि छैन ?
  6. निर्णय प्रक्रियामा जनताको व्यापक सहभागिता छ कि छैन ? र, जनता निर्णय प्रक्रियाको माध्यमबाट आफ्‍नो हित प्रवर्द्धन गर्ने अवस्थामा ल्याइएका छन् कि छैनन् ?

उपर्युक्त पूर्वाधारहरूको अध्ययनबाट पनि स्पष्‍ट रूपमा बुझ्‍न सकिन्छ कि ‘आर्थिक विकास’ भन्‍ने कुराले मानवजीवनको समग्र विकास र न्यायोचित वितरण प्रणालीसँग घनिष्‍टतम् सम्बन्ध राख्दछ। हिजोआज विकासको मापन गर्दा मानव विकास सूचकाङ्क (Human Development Index) लाई आधार मानेर गर्ने गरिन्छ। मानव विकासको सूचकाङ्क भन्‍नाले औसत आयु, साक्षरता र प्रतिव्यक्ति आयको समष्‍टिगत स्वरूपलाई बुझ्‍ने गरिन्छ। त्यसैले विकासलाई वृद्धिभन्दा धेरै परसम्म जाने प्रक्रियाका रूपमा बुझ्‍नुपर्दछ। वृद्धि निश्‍चित सीमासम्म मात्र हुन्छ– तर विकास अनन्त हुन्छ। सजिलोको लागि आर्थिक वृद्धि एक प्रयत्‍न वा उपक्रम हो- जो कहीँ गएर टुंगिन्छ, तर विकास एक निरन्तर प्रक्रिया हो- जो अनन्त छ। वृद्धिको सम्बन्ध उत्पादनसँग हुन्छ, तर विकासको सम्बन्ध ‘output’ सँग हुन्छ।  त्यस्तै वृद्धि 'output' मात्र हो, तर विकास ‘उत्पादन गर्ने क्षमता’ हो। वृद्धिको सरोकारको विषय इगतउगत मात्रै हो, तर विकास भनेको त्यो output बाट समाजमा परेको प्रभाव र त्यसबाट सामाजिक संरचनामा आएको परिवर्तन हो। सजिलो गरी भन्‍नुपर्दा आर्थिक वृद्धिले आम्दानी बढेको कुरालाई जनाउँछ र आर्थिक विकासले जीवनस्तरमा आएको परिवर्तनलाई। वृद्धि निश्‍चित सीमासम्म मात्र हुन सक्दछ भने विकास गतिशील र सीमारहित हुन्छ। वृद्धिले उत्पादनमा जोड दिन्छ भने विकासले वितरणमा जोड दिन्छ। वृद्धि जहिले पनि मात्रा र स्केलसँग सम्बन्धित हुन्छ भने विकास सधैं नै गुणस्तर र परिवर्तनसँग सम्बन्धित रहेको हुन्छ। सूत्रात्मक रूपमा भन्‍नुपर्दा वृद्धि र विकासको अन्तरलाई यसप्रकार देखाउन सकिन्छ-

  • Input — Transformation — Output  = वृद्धि (Growth)
     
  • Input — Transformation — Output  — Social Change = विकास (Development)

अन्तमा, आर्थिक विकासले निम्‍न प्रश्‍नहरूको जवाफ खोज्छ। तर यो जवाफ आर्थिक वृद्धिले उठाएका प्रश्‍नहरूमा झैं ‘कति ?’ भन्‍ने खालको मात्रात्मक (Quantitative) हुँदैन। बरु यो जवाफ जीवनको गुणस्तरसँग सम्बन्धित हुन्छ र ‘के भइरहेको छ ?’ भनेर थप सुधार गर्न प्रेरित गर्दछ-

यसप्रकार आर्थिक वृद्धि र आर्थिक विकासका बीचमा स्पष्‍ट विभाजन रेखा कोर्न सकिन्छ। तापनि, स्मरणीय के छ भने आर्थिक वृद्धिको अभावमा आर्थिक विकासले गति पक्रिनै सक्तैन। किन कि, आर्थिक वृद्धि विकासको एक महत्वपूर्ण पक्ष र पूर्वशर्त दुवै हो। र, अर्को कुरो के हो भने वृद्धिलाई दिगो बनाउन नसक्‍नु विकासोन्मुख मुलुकको सबैभन्दा ठूलो कमजोरी हो। जब यो वृद्धि दिगो र न्यायोचित वितरणमुखी हुन्छ, तब विकास भएको मानिन्छ। तर विकासशील मुलुकको आर्थिक वृद्धि मौसमी कृषिमा आधारित हुने भएकाले यो दिगो हुन सक्तैन र विकास एक गम्भीर चुनौति बन्‍न पुगेको हुन्छ।

 

राष्‍ट्रपति कार्यालयका पूर्व प्रवक्ता ढकाल नियात्राकार हुन्‌। प्रस्‍तुत लेख चैतन्‍यखबरडट्‍कम्‌बाट साभार गरिएको हो।