पतिवियोगमै समाजसेवा !

पतिवियोगमै समाजसेवा ! पशुपति आर्यघाटस्‍थित दाहसंस्‍कारस्‍थलमा तकसेरा समाज नेपालका सदस्‍यहरूलाई नगद सहयोग प्रदान गर्दै शोकाकुल नन्‍दी पुन र उनको परिवार। तस्‍बिर स्रोत : धनकुमार बुढा

काठमाडौं

साविक रुकुम जिल्‍ला कोल गा.वि.स. तथा हालको पुथा उत्तरगङ्‍गा गाउँपालिका वडा नं १२ अन्तर्गत गर्खानी निवासी हाल दाङ घोराही स्‍थायी बस्‍ने भूतपूर्व प्रधानपञ्‍च गौप्रसाद पुन विगत केही महिना यता अस्वस्थ भई अस्पतालमा उपचाररत थिए। यस सिलसिलामा मिति २०८० साल जेठ ११ गते निजको मुटुको शल्यक्रिया गर्ने क्रममा निधन हुन पुग्यो। संवत्‌ २०१० असार ३ गते यस धर्तीमा पाइला टेकेर ७० वर्षको उमेरमा निज पुनले यस धर्तीबाटै बिदा लिए।  

पशुपति आर्यघाटमा जेठ ११ गते हिन्‍दू परम्‍परा अनुसार निज मृतक गौप्रसादको दाहसंस्कार गरियो। अनौठो त के हो भने दाहसंस्‍कारका क्रममा शोकाकुलरत धर्मपत्‍नी नन्‍दी पुनले आफ्‍नो पतिको नाममा तकसेरा समाज नेपालको काठमाडौं सीतापाइलास्‍थित बन्‍दै गरेको भवन निर्माण सहयोगका लागि भन्‍दै १ लाख ६ सय ७५ रुपैयाँ नगद प्रदान गरेकी थिइन्‌। आफ्‍नो दिवंगत पतिको स्‍वर्गमा पितृहरुसँग आनन्दित बसाइ होस्‌ भन्‍ने कामनासहित निज नन्‍दी पुनले सो सहयोग गरेकी समेत बताएकी थिइन्‌। मगर संस्‍कार अनुसार दाहसंस्‍कारमा जाने मलामीले निधन भएका व्‍यक्‍तिको शोकाकुल परिवारलाई मुख देखाउने नाममा भन्‍दै सानो भए पनि राहत रकम जुटाइदिने सामाजिक परम्‍परा छ। यसको विपरीत शोकको घडीमा मात्र नभई दिवंगत पतिको नाममै सामाजिक सेवा भनी उल्‍टै घरको रकम सहयोग दिलाइन्‌। नन्‍दी पुनको सो कदम आफैंमा एक अनुकरणीय उदाहरण भएको दाहसंस्‍कारमा सहभागी अधिकांशबीच चर्चा/परिचर्चा बन्‍यो।

तकसेरा समाज नेपालका आर्थिक विभाग संयोजक धनकुमार बुढा 'संगम' ले आफ्‍नो फेसबूक पेजमा लेखेका छन्‌- "यस दुखद क्षणमा पनि मृतकको परिवारले समाजप्रति देखाउनुभएको अमूल्य र पवित्र सहयोगप्रति हाम्रो यस तकसेरा समाज नेपालको तर्फबाट हार्दिक आभार प्रकट गर्दै मृतकको आत्माको चीरशान्‍तिको कामना गर्दै शोकसन्‍तप्‍त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।"