हातहतियार बुझाइएको विज्ञप्‍ति

जैविक विविधता संरक्षण कार्य कुनै एक निकायको पहलमा मात्र सम्भव नहुने भएकाले यस शिकार आरक्षले आफ्‍नो क्षेत्राधिकार रहेको ३ वटै जिल्लामा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो (Wildlife Crime Control Bureau- WCCB) को संयन्त्र बनाई आवश्यक समन्वय र सहकार्य गरी जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्दै-गराउँदै आइरहेको छ।

हातहतियार बुझाइएको विज्ञप्‍ति 'डब्‍लुसीसीबी' को शनिबार बागलुङ बजारमा बसेको बैठकमा ढोरपाटन शिकार आरक्षले बरामद गरी जिल्‍ला प्रहरी कार्यालय बागलुङलाई बुझाएको अवैध हातहतियार। तस्‍बिर स्रोत : ढोरपाटन शिकार आरक्ष

ढोरपाटन शिकार आरक्ष गण्डकी प्रदेशको बागलुङ र म्याग्दी जिल्ला तथा लुम्‍बिनी प्रदेशको रुकुम (पूर्वी भाग) जिल्लाको आंशिक भू-भागको  १,३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ। जसमध्ये करिब ६० प्रतिशत भू-भाग रुकुम (पूर्वी भाग) जिल्लामा पर्दछ भने करिब २६ प्रतिशत भू-भाग बागलुङ जिल्लामा र १४ प्रतिशत भू-भाग म्याग्दी जिल्लामा पर्दछ। धौलागिरी हिमश्रृंखलाको उच्च हिमाली भू-भागमा अवस्थित यो आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो शिकार आरक्ष वि.सं. २०३९ साल चैत्र महिनामा स्थापना भई वि.सं. २०४४ साल वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित भई विधिवत्‌  रूपमा घोषणा भएको हो। यस आरक्ष विभिन्‍न किसिमका संरक्षित तथा अन्य वन्यजन्तुहरूका लागि अति उत्तम वासस्थानको रूपमा रहिआएको छ। यहाँ मुख्यत: माथिल्लो क्षेत्रमा नाउर, झारल, हिउँचितुवा, घोरल, थार लगायतका वन्यजन्तुहरू र तल्लो क्षेत्रमा हाब्रे, रतुवा, चितुवा, हिमाली भालु, ब्वाँसो र कस्तूरी मृग लगायत विभिन्‍न ३२ प्रजातिका स्तनधारी वन्यजन्तु तथा दुर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चीर जस्ता पंक्षीहरू र हिउँकुखुरा, कोकलास, गिद्ध, फिन्‍च समेत गरी १ सय ४ प्रजातिका चराहरू पाइन्छन्‌। यसप्रकार यस आरक्षले उच्च पहाडी र हिमाली क्षेत्रको जैविक विविधता, प्राकृतिक भू-सम्पदा लगायत र्दुलभ एवं महत्वपूर्ण वन्यजन्तु र वनस्पतिको संरक्षण, संवर्द्धन र व्यवस्थापन गर्नुका साथै यहाँ वैध रूपमा विशेषगरी नाउर र झारलको शिकार समेत गर्ने-गराइने हुनाले शिकार पर्यटन प्रवर्द्धनमा समेत विशेष योगदान पुर्‍याएको छ। 

संरक्षणको निरन्तर प्रयास गर्दा पनि बेलाबखतमा दुर्लभ एवं महत्वपूर्ण वन्यजन्तुहरुको चोरी शिकार, चोरी निकासी, प्राकृतिक स्रोतको दोहन संरक्षणको प्रमुख चुनौति र समस्याको रूपमा रहेको छ। यसको नियन्त्रण तथा रोकथामका लागि आरक्षका कर्मचारी र आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाले संयुक्त रूपमा नियमित तवरले महाहन्ट, क्याम्‍पिङ, सुइपिङ, एम्बुस लगायतका अन्य विभिन्‍न प्रकारका गस्ती (लामो, मध्यम र छोटो दूरी) सञ्‍चालन गर्दै-गराउँदै आएको छ। साथै विभिन्‍न समयमा आरक्ष क्षेत्रको नियमित अनुगमन, निरीक्षण र अध्यावधिक रूपमा नाउर र झारलको गणना गरिँदै आएको छ। यसै क्रममा वन्यजन्तुको चोरी शिकार, चोरी निकासी र ओखेटोपहारको अवैध ओसारपसार गर्ने गरेको कसुरमा सो कार्यमा संलग्‍न मानिसहरूलाई पक्राउ गरी नियमानुसार कानूनी कारवाही समेत गरिएको छ। जसमा २ वटा घोरल र १ वटा नाउरको छालासहित पक्राउ परेका जना १ लाई वन्यजन्तु चोरी शिकारसम्बन्‍धी तथा करिब ५ हजार केजी विभिन्‍न प्रकारका जडिबुटीको अवैध रूपमा संकलन तथा ओसारपसार र  करिब १५ सय क्यूफिट काठ चोरी निकासी गरेको कसुरमा १६ जनालाई विगत ३ वर्षको अवधिमा नियमानुसार कानुनी कारवाही गरिएको छ। साथै यसै क्रममा विभिन्‍न समयमा आरक्षको क्षेत्रभित्रबाट तपशिल अनुसारका एसएलआर जस्ता आधुनिक हतियारसहित अन्य हातहतियारहरू बेवारिसे रूपमा अवैध बरामद गरिएको थियो।

तपशिल

क्र

सं

हातहतियार             विवरण               परिमाण                  बरामद मिति              स्‍थान        
एसएलआर
७.६२ मि.मि.

Body No: BP 8155,

Bridge Block No: 1005-001-570

(full body)

१ थान २०७८/१२/३०

पुथा उत्तरगंगा-५,

घुस्‍तुङ खोला,

रुकुमपूर्व

३०३ राइफल अगाडिको नाल मात्र १ थान २०७८/१२/३०

पुथा उत्तरगंगा-५,

घुस्‍तुङ खोला,

रुकुमपूर्व

भरुवा बन्‍दुक,
बारुद पाउडर र सिसा   

  १ थान,
२०० ग्राम र
७२ थान
   २०७९/०९/०८

पुथा उत्तरगंगा-२,

मैकोट,

रुकुमपूर्व

भरुवा बन्‍दुक   २ थान २०७७/१२/१७

पुथा उत्तरगंगा-१,

तिज्‍याङ,

रुकुमपूर्व

भरुवा बन्‍दुक   २ थान २०७७/१२/२३

पुथा उत्तरगंगा-२,

माझ डाँडा,

रुकुमपूर्व

भरुवा बन्‍दुक   २ थान २०७४/१२/१९

पुथा उत्तरगंगा-५,

काजरजङ,

रुकुमपूर्व

भरुवा बन्‍दुक   १ थान २०७७/०२/०६

पुथा उत्तरगंगा-११,

खोरेवाला,

रुकुमपूर्व

उपरोक्त अनुसारको कार्यहरूबाट यस क्षेत्रको समग्र जैविक विविधताको संरक्षण कार्य प्रभावकारी रूपमा कार्यान्‍वयन भएको छ। तर पनि चोरी शिकार, चोरी निकासी तथा ओखेटोपहारको अवैध ओसारपसार नियन्त्रण तथा रोकथाम गर्ने कार्य आजको दिनमा चुनौतिपूर्ण नै देखिन्छ। जैविक विविधता संरक्षण कार्य कुनै एक निकायको पहलमा मात्र सम्भव नहुने भएकाले यस शिकार आरक्षले आफ्‍नो क्षेत्राधिकार रहेको ३ वटै जिल्लामा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो (Wildlife Crime Control Bureau- WCCB) को संयन्त्र बनाई आवश्यक समन्वय र सहकार्य गरी जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्दै-गराउँदै आइरहेको छ।

यसै क्रममा यस ढोरपाटन शिकार आरक्ष कार्यालयको आयोजनामा सञ्‍चालन भएको जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो (डब्‍लुसीसीबी), बाग्लुङको मिति २०८० जेठ २२ गते बसेको बैठकले विभिन्‍न समयमा आरक्षको क्षेत्रभित्रबाट बरामद भएका र हाल आरक्षको सुरक्षामा तैनाथ देवी बक्स गुल्म ढोरपाटन ब्यारेकमा सुरक्षितसाथ रहेका अवैध तथा बेवारिसे हातहतियारहरू नियमानुसार जिल्ला सुरक्षा समिति बागलुङमा बुझाउने भन्‍ने निर्णय भएबमोजिम उपरोक्त अनुसारका हातहतियारहरू श्री जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत्‌ जिल्ला सुरक्षा समिति बागलुङमा बुझाई सुरक्षितसाथ राख्‍ने प्रयोजनार्थ आजको यस डब्‍लुसीसीबी बैठक आयोजना गरी संरक्षणमा आवश्यक समन्वय र सहकार्य गर्दै जैविक विविधता संरक्षणमा सम्बन्धित सरोकारवाला निकायहरु बीचको संयुक्त प्रयास र महत्वपूर्ण भूमिका हुने कुरा स्थापित गरिएको छ। यसका अतिरिक्त अतिविकट र दुर्गम क्षेत्रका विभिन्‍न गाउँबस्तीमा रहेका अवैध हातहतियारहरू संकलन गरी व्यवस्थापन गर्ने कार्यमा सबैले आ-आफ्‍नो क्षेत्रबाट तत्काल पहल गर्नुपर्ने आजको टड्कारो आवश्यकता रहेको छ।

अन्तमा यस कार्यबाट शिकार आरक्ष र आसपासका क्षेत्रमा बेलाबखतमा हुने वन्यजन्तुको अवैध चोरी शिकारमा नियन्त्रण हुन गई यस क्षेत्रको वन, वन्यजन्तु, वनस्पति लगायतका समग्र जैविक विविधताको प्रभावकारी र दिगो रूपमा संरक्षण, संवर्द्धन र व्यवस्थापनमा टेवा पुग्‍न जाने भएकाले संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्‍न विभिन्‍न सरोकारवाला निकायहरू सहभागी भई जैविक विविधता संरक्षणमा हातेमालो गरिदिनुहुन सबैमा हार्दिक अपील गरिन्छ।

...........................
वीरेन्‍द्रप्रसाद कँडेल
प्रमुख संरक्षण अधिकृत
तथा
संयोजक
जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाई
२०८० असार १६, शनिबार


(ढोरपाटन शिकार आरक्ष कार्यालय ढोरपाटन, बागलुङद्वारा २०८० असार १६ गते शनिबारका दिन प्रकाशित प्रेस विज्ञप्‍तिको पूर्ण पाठ।)