विद्यार्थीलाई माहुरीसहितको घार

शिक्षा इकाइ प्रमुख तिलक गौतमले आफ्‍नो फेसबूकमा खुशी पोखे- "रुक्मिणी मावि रूकुमकाेटले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई माहुरीका गाेला वितरण गरेकाे छ। सराहनीय कार्यका लागि विद्यालयलाई विशेष धन्यवाद !"

विद्यार्थीलाई माहुरीसहितको घार विद्यार्थीलाई माहुरीसहितको घार प्रदान गर्दै।

रुकुमपूर्व, १८ असार

राष्‍ट्रपति शैक्षिक सुधार कार्यक्रमको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत रुकुमकोटस्‍थित रुक्मिणी माध्यमिक विद्यालयले प्राविधिक धारतर्फका २५ जना विद्यार्थीहरूलाई मौरीसहितको घार वितरण गरेको छ। आइतबार विद्यालयको प्राङ्‍गणमा आयोजित कार्यक्रममा माहुरीपालनका लागि आवश्यक पर्ने घुम्टी, धुँवादानी, पञ्‍जा, हुल छोप्‍ने झोला, ब्रुस, फिडर, चिनी, हाइव टुल लगायतका सामाग्रीहरू वितरण गरेको हो। कक्षा ९, १० र ११ मा अध्ययनरत प्राविधिक धारतर्फका अति इच्छुक जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्‍साहनस्‍वरूप घार वितरण गरिएको हो।

विद्यार्थीलाई घार वितरण गर्न आयोजित कार्यक्रमस्थल। तस्बिर स्रोत : चन्द्रबहादुर मल्ल

'यसका साथै प्राविधिक धारका सबै विद्यार्थीहरूलाई तरकारीका बीउ वितरण गरिने कार्यक्रम पनि रहेको छ', रुक्मिणी माविका प्रधानाध्‍यापक चन्‍द्रबहादुर मल्‍ल हौसिँदै बताउँछन्‌- 'यस कार्यक्रमले विद्यार्थीहरूले विद्यालयमा सिकेका प्राविधिक सीप आफ्‍नै घरखेतमा प्रयोग गरी क्षमता विकास गर्ने मात्र नभई आत्मनिर्भर हुने लक्ष्य राख्‍ने छन्‌।' मल्‍लका अनुसार यो कार्यक्रम राज्यको आर्थिक नीतिसँग पनि जोडिएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनपश्‍चात्‌ तुरुन्तै आफूले पढेकै कृषि पेशामा लाग्‍न र बजारमा जोडिन सक्षम बन्‍न सक्‍ने प्रधानाध्‍यापक मल्‍लले बताए।

रुक्मिणी माविका विव्‍यस अध्‍यक्ष ओमप्रकाश थापाको अध्‍यक्षतामा सञ्‍चालित घार वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख तिलक गौतम, सिस्‍ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढा, रुक्‍मिणी मावि प्राविधिक धारका कृषि संयोजक एवं प्रशिक्षक नवीनकुमार शर्मा लगायतको विशेष उपस्‍थिति रहेको थियो।

प्रधानाध्‍यापक मल्‍ल थप हौसिँदै आफ्‍नो फेसबूक वालमा लेखेका छन्‌- "सामाग्री प्राप्‍त गर्ने सबै विद्यार्थी भाइबहिनीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दछु। तपाईं सफल हुनुभयो भने तपाईंको व्यक्‍तिगत जीवन सफल हुने छ। तपाईंको जीवन सफल भएमा विद्यालय सफल भएको मानिने छ। विद्यालय सफल भएमा स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय इकाइ सफल भएको मानिने छ। त्यसपछि मात्र राष्‍ट्र सफल हुने छ।"

यस्तै इकाइ प्रमुख तिलक गौतमले पनि आफ्‍नो फेसबूकमा सन्‍तोष पोखे- "रुक्मिणी मावि रूकुमकाेटले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई माहुरीका गाेला वितरण गरेकाे छ। सराहनीय कार्यका लागि विद्यालयलाई विशेष धन्यवाद !"

प्र.अ. मल्‍लका अनुसार एपी सेरेना जातको माैरी परापूर्वकालदेखि यस ठाउँमा पालिँदै आएको हो। यो माैरी समुद्री सतहदेखि ३ हजार मिटर उचाइसम्‍म पाल्न सकिन्छ। यहाँ (रुकुमकोट) को उचाइ १४/१५ सय आसपासको छ। उनले थपे- 'हामीले विद्यालयमै केही वर्षदेखि नै यस रैथाने माहुरी पाल्दै आएका छाैं। राम्रो आम्दानी भइरहको छ।'

वि.व्‍य.स. अध्‍यक्ष ओमप्रकाश थापाका अनुसार माहुरीसहितको घार प्राप्‍त गर्ने विद्यार्थीहरू तत्‍काललाई लाभान्‍वित मात्र भएका छैनन्‌, ती विद्यार्थीलाई पछिका दिनमा त्यो‍भन्‍दा बेसी 'अझ केही गरौं' भन्‍ने प्रोत्‍साहन समेत मिलेको छ। 

वि.सं. २००४ सालमा प्राइमरी स्कूलको रूपमा अनुमतिप्राप्‍त गरी स्‍थापना भएको रुक्‍मिणी मावि जिल्‍लाकै ज्‍येष्‍ठ र अगुवा विद्यालय हो। विद्यालयले २०७३ सालदेखि प्राविधिक तथा व्‍यावसायिक धारतर्फको पढाइ सञ्‍चालन गर्दै आएको छ। 

माहुरीसहितको घार वितरण कार्यक्रमस्थल। तस्बिर स्रोत : तिलक गौतम