मैले देखेको म्याग्दी जिल्ला - मैले बुझेको म्याग्देली मगर
आज मगरभित्र अनगिन्ति कुलहरु छन्। मगरभित्र मात्रै हैन मगरभित्रका थर-उपथरका समेत कैयौं कुल निर्माण भएको छ। त्यसै अन्तर्गत पुनभित्रको त्यसमा पनि म्याग्दीका मगरहरूमध्येको काफलडाँडाको एउटा कुल खलक हुन सक्ला। अनि एउटा कुल अर्थात् खलकबाटै छु्ट्टिएर केही सयको संख्याले लाखौं संख्याका पुनहरूलाई समेत आफ्नै भड्खालोमा जगाइदिने गरी 'मगर हैनौं' भन्नु ज्यादै अमिल्दो हो।
म म्याग्दी जिल्लालाई नजिकबाट चिन्छु। म्याग्दी मगर जातिको बाहुल्य रहेको जिल्ला हो। उहिले २०६२ र ६३ सालमा करिब १३ महिना सिंगातातोपानी बजारमा बस्ने अवसर जुरेको थियो। त्यस अवधिमा म्याग्दीका थुप्रै गाउँहरूमा पुगेको छु।
म कुनै इतिहासविद् होइन। गन्यमान्य सामाजिक विश्लेषक पनि होइन। तर त्यसमा चासो राख्ने एक मामुली नेपाली हुँ, सोझो मगर हुँ। आफ्नै बनिबुताे र मजदुरी गरेर आफू र आफ्नो परिवारको सकीनसकी ज्यान पालिरहेको छु। त्यसकारण मेरा लेख र बुझाइहरुमा तपाईंका असहमति हुन सक्छन्। त्रुटिहरू हुन सक्छन्, त्यसको खण्डन गर्ने अधिकार तपाईंलाई सुरक्षित रहेको अग्रिम जानकारी दिँदै यो लेख आरम्भ गर्दछु।
खासगरी बेनीदेखि काली नदी छाडी म्याग्दीखोलातर्फ अर्थात् पश्चिम म्याग्दीतर्फका गाउँहरू सिंगातातोपानी, बरङ्जा, दरुवा, बाबियाचौर, ताराखेत, रातेढुङ्गा, दर्बाङ, फूलबारी, निसकोट, रुम, डाँडागाउँ, चिउरीबोट, महभीर, सिस्नेरी, देवीस्थान, जुक्जा, पोनथोक, घर्तीथोक, धारापानी, मुना, ताकम, लमसुङ, मरेनी, गुर्जाखानी सबै गाउँमा पुगेको छु। धौलागिरीको काखमा रहेको गुर्जा र लुलाङमा छन्त्याल समुदायको बाहुल्यता रहेछ भने अन्य धेरैजसो गाउँहरूमा मगर समुदायको बाहुल्यता देखिन्छ। म्याग्दीको उत्तर-पूर्वी गाउँहरू भने घुम्ने अवसर जुरेन त्यो बेला। शेख, पाउद्वार, खिबाङ, मराङ, घोडेपानी, नागी, राम्चे, काफलडाँडा, रिमा लगायतका गाउँहरू जान पाइएन। पछि आएर थाहा भयो नागी गाउँ प्रसिद्धिप्राप्त आदरणीय व्यक्तित्व महावीर पुन दाइको जन्मगाउँ रहेछ।
भदौको महिना थियो। बेनीदेखि ठाडै उकालो पैदल हिँडेर गलेश्वरसम्म मात्र पुग्न भ्याएँ। यात्रामा मसँग सिस्नेरीका एकजना दाइ हुनुहुन्थ्यो। यस क्रममा म्याग्दी जिल्लावासीसँग मात्रै हैन, यहाँको भौगोलिक सौन्दर्यसँग नजिक भएर धेरैपल्ट पदयात्रा गरें। विभिन्न समुदायका म्याग्देलीहरूका भाषा, संस्कृति र रीतिस्थितिहरू नियाल्ने मौका पाएँ।
ताकम गाउँका एकजना पुन बुबासँग एकदिन लामो समय बिताएर गफिएका थियौं। म रुकुमको मैकोट गाउँबाट आएको भन्ने मेरो परिचय पाएपछि उहाँ बुबाले मसँग आफ्ना अन्तर्मनका कुराहरू साट्न हौसिनुभएको थियो। 'म्याग्दीका पुनहरू पनि उतै रुकुमको हुकाम मैकोटबाट आएका हौं। पुर्खाहरू उत्पत्ति भएको त्यो भूमि, त्यो गाउँ र समाजमा एकपटक भएपनि ज्युँदोजाग्दो भएकै बेला पुग्न पाए हुन्थ्यो भन्ने उत्कट् रहर छ,' उहाँले निकै भावविभोर मुद्रामा भन्नुभएको थियो।
उहाँका अनुसार म्याग्दीमा भएका थरहरू पाइजा, गर्बुजा, शेर्पुजा, पुर्जा, पहरे लगायतका सबै थर 'पुन' थर भित्रकै उपथरहरू हुन्। भाषा कसरी हरायो भन्ने सन्दर्भमा उहाँले भन्नुहुन्थ्यो- ''देवीस्थान गाउँभन्दा केही माथि पुस्तौं पुरानो दरबारको भग्न अवशेष छ। जुन अहिले माटोले पुरिएर निशानी मात्रै बाँकी छ। र, त्यो दरबार त्यस भेगको मगर राजाको दरबार थियो। जति बेलासम्म यस क्षेत्रका मगरहरू मगर भाषा बोल्दथे। करिब पन्ध्रौं शताब्दीअघि ती मगर राजालाई जितेर एकजना मल्ल राजाले शासन शुरु गरे। जब मल्ल राजाको शासन शुरु भयो तब दरबारमा काम गर्दै आएका मगर भाषिक मान्छेहरूले आफू-आफू बीचमा बोल्ने गरेको मगर भाषा उनले बुझेनन् र तत्काल उर्दी गरे- 'अब उप्रान्त दरबारमा मगर भाषा बोल्न पाइने छैन ! मल्ल राजाले दरबारमा मात्रै हैन, बिस्तारै सम्पूर्ण राजकाजका काममा मगर भाषा प्रयोग गर्न नपाइने र प्रयोग गरेको पाएमा जिब्रो काटिदिने' कानून जारी गरिदिए !'' ती बुबाको मौखिक इतिहासलाई आधार मान्दा मल्ल राजाले मगरहरूको भाषामाथि कानूनी प्रतिबन्ध लगाएकै प्रभावले म्याग्दी क्षेत्रका मगरहरुको भाषा एकपछि अर्को लोप हुँदै खस भाषाको बीजारोपण भएको बुझिन्छ। र, मलाई लाग्छ- उहाँ बुबाको इतिहासप्रतिको मौखिक चित्रणमा धेरै हदसम्म सत्यता छ। करिब ६ सय वर्षअघि नै प्रतिबन्धमा परेको मगर भाषा आजपर्यन्त कसरी रहन सक्छ ? ६ सय वर्ष भनेको अहिलेको नेपालीहरूको औसत उमेरको हिसाबले करिब १० पुस्ता हो।
अर्को कुरा, यही म्याग्दी जिल्लाबाट २०६८ सालतिर 'कर्पाकेली अनुसन्धान परिवार' नामको अभियान टोली रुकुमपूर्वको मैकोट गाउँ पुगेको थियो। जुन गाउँलाई मगरहरूको उद्गमथलोको रूपमा चिनिन्छ पनि। सोही कर्पाकेली टिमले पनि भनेको थियो- "हाम्रो पुर्खाहरू यतैबाट म्याग्दीतिर लागेको कहानी छ। यसकारण एकचोटि 'के कसो रहेछ, बुझौं, चिनजान गरौं' भनेर मैकोट आएका हौं !" त्यसबेला ठ्याक्कै हाम्रो मैकोटीहरूको ठूलो पर्व मंसिरे संक्रान्ति मेला थियो। म त्यो मेलासँगै आयोजना गरिएको पुपाल युवा क्लबको वार्षिकोत्सवको विभिन्न कार्यक्रममा कार्यक्रम सञ्चालन गर्न धपेडिनु परेकोले कर्पाकेलीका ती पाहुनाहरुसँग लामो भलाकुसारी गरेर सँगै समय बिताउने अवसर पाइन। त्यसबखत उहाँहरूले मैकोटबाट के-के सिकेर, सुनेर र जानेर फर्कनुभयो म पूर्ण जानकार छैन। तर समग्रमा उहाँहरूले आफ्नो इतिहास खोज्दै मैकोट पुगेको कुरा भने सत्य हो। त्यसकारण चाहे ताकम गाउँमा मैले भलाकुसारी गरेको बुबाको कुरा भनौं चाहे कर्पाकेली परिवारले मैकोटसम्म पुगेर खोज्न गएको इतिहास भनौं यो दुवैको अर्थ हो म्याग्दीवासी मगरहरूको पुर्खा रुकुमपूर्वको हुकाम-मैकोटबाटै आएको हो भन्नेमा दुईमत छैन। किनकि, हुँदै नभएको कुरा मौखिक कहावतमा भएपनि भेटिन्न।
हाम्रो इतिहास लेख्य रूपमा अभिलेखीकरण हुन नसके पनि मौखिक रूपमा बुबाआमाले छोराछोरीलाई, छोराछोरीले नातिनातिनीलाई सुनाउँदै-सुनाउँदै पुस्तान्तर हुँदै आउँदा पुस्तौं पुस्तापछि आज आएर केही यथार्थहरु बाङ्गिएर, अपभ्रंश भएर आउन सक्छ, त्यो मान्न सकिन्छ। त्यसको मतलब यो मौखिक इतिहास वाहियात् हो भन्ने आधारलाई कसैगरी नजरअन्दाज लगाउन सकिन्न। यसभित्रै खास यथार्थ लुकेको छ। त्यसकारण म्याग्दीवासी मगरहरूको यो कथ्य इतिहास धेरै हदसम्म सत्यको नजिक छ।
यसरी हेर्दा पनि म्याग्दीका केही पुनहरूको 'हामी मगर होइनौं' भन्ने तर्क निकै नै कपोल्कल्पित र निराधार छ। कर्पाकेली परिवार जो आफैं आफ्नो इतिहास खोज्न मगर खाम भाषिक मगरहरूको बाहुल्यता रहेको मैकोट पुगेको थियो, उनै कर्पाकेलीले अहिले 'हामी पुनहरू म्याग्दीको यही काफलडाँडामा उत्पत्ति भएर जताततै छरिएका हौं भन्ने दुष्प्रचार समेत गर्न भ्याएको छ। ठीक छ, एउटा कालखण्डमा राम्चे काफलडाँडा क्षेत्रमा कर्पाकेली नामका एक शक्तिशाली र अद्भूत क्षमताका पुन झाँक्रीको जन्म भयो होला। आज उक्त कर्पाकेली पितृको नाममा काफलडाँडामा कर्पाकेली झाँक्री खलकका पुन मगरहरूले कुलपूजा गर्नु र कुल पितृघर निर्माण गर्नु राम्रो हो, गर्वको कुरा हो। जुन हामीले पनि मैकोटमा गर्ने गर्छौं। तर त्यसको मतलब पुनहरू त्यही काफलडाँडामै उत्पत्ति भएझैं गरी व्याख्या गर्नु, अझ मगरै होइनौं भनेर भ्रम पैदा गर्नु जत्तिको बेइमान अरु के हुन सक्छ ? यो त सरासर इतिहासकाे सच्चाइमाथिको ठूलो घात हो। अनौठो त के छ भने एउटा खास बहकाउ भएकाले यस अभियानलाई बिस्तारै त्यहाँको समुदायले पाखा लगाउँदै गएको पनि छ। यो नितान्त सकारात्मक पक्ष हो।
स्मरण रहोस्- मगर समुदायमा कुलपूजा सम्बन्धित कुलबाट जन्मेबढेका कुल खलकले मात्रै गर्ने हो। आज मगरभित्र अनगिन्ति कुलहरु छन्। मगरभित्र मात्रै हैन मगरभित्रका थर-उपथरका समेत कैयौं कुल निर्माण भएको छ। त्यसै अन्तर्गत पुनभित्रको त्यसमा पनि म्याग्दीका मगरहरूमध्येको काफलडाँडाको एउटा कुल खलक हुन सक्ला। अनि एउटा कुल अर्थात् खलकबाटै छु्ट्टिएर केही सयको संख्याले लाखौं संख्याका पुनहरूलाई समेत आफ्नै भड्खालोमा जगाइदिने गरी 'मगर हैनौं' भन्नु ज्यादै अमिल्दो हो। यो कस्तो खालको चेत हो ? केही समय पहिले म राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आदरणीय दाइ महावीर पुनलाई यही कुराबारे जिज्ञासा राख्दै भनेको थिएँ- ''तपाईंको गाउँ आसपासका केहीले त 'हामी मगर हैनौं' भनेर उधुम गर्नुभएको छ, यसबारे दुई-चार शब्द केही भन्नुपर्यो दाइ। के छ तपाईंको बुझाइ ? राय दिनुहुन्छ कि ?" जवाफमा भन्नुभयो- ''यो त छोटो र अबुझहरुको काम हो भाइ। १५-२० वर्ष चल्छ, त्यसपछि आफैं हराउँछ।'' महावीर दाइको जवाफ खुलेपछि मैले अर्को प्रश्न गरिन।
आज म अरूले आक्षेप लगाउने गरेको 'केही सीमित व्यक्तिले लाहुरे हुन हाम्रो जात र थर चोरे, अनि आज आफ्नो औकात देखाउँदैछन्' भन्ने लेप उहाँहरूलाई लगाउन चाहन्न। हो, मगर जातको केही थर चोरेर-चोराएर लाहुरे बनेका कैयौं उदाहरण छन्। तर कम्तीमा कर्पाकेली खलकका यी पुन दाजुभाइहरूको हकमा यो आरोप ठीक होइन भन्ने मान्छु म। उहाँहरू सच्चा पुन थरका मगरकै सन्तान हुन भन्ने मेरो दाबी हो। उहाँहरूले कुलचन र पुरनचन पितृलाई मान्नु, हाँस्या गोर्या भेडाको साँड र कुखुराको भाले पूजा गर्नु ठ्याक्कै हाम्रो मैकोटको संस्कारसँग मेल खान्छ। हाम्रोमा कुलचन र पुरनचन नामका झाँक्रीहरूले आफ्ना श्लोकमा सुनाउने गर्छन्। मगर खाम भाषामा 'रम्मा/अर्मा' भनेको झाँक्री हो। यसर्थ, कुलचन र पुरनचन मगर सभ्यतासँग जोडिएका पुर्खाका दुई पात्र हुन्। उनीहरू त्यो एउटा कालखण्डका विद्वत् झाँक्री थिए। यस इतिहाससँग जोडिएकाहरू आफ्नो पुर्खाको लहरो रुकुमको मैकोटसम्म जोडिएकाहरू कसरी गैरमगर हुन सक्छन ? लाहुरे बन्नको लागि मगर जातको 'पुन' बनेको तर आफू मगर नरहेको कसरी हुन सक्छ ? यो कुरासँग म असहमत छु। खासमा उहाँहरू असली मगरको पुन नै हो।
केही समयअघि ईन्द्रेणी परिवारको अनलाइन टीभी कार्यक्रममा भनिएको थियो- "अरु मगरहरूले सुंगुरको पूजा गर्छन्। हामीले त पूजा त के सुंगुर छोयो भने पनि चोखिएर घरभित्र छिर्नुपर्छ।" म स्मरण गराउँदछु- "तपाईंहरूको पुर्खाको भूमि रुकुमको मैकोटमा त झन् युगौंदेखि सुंगुर पाल्न समेत वर्जित थियो। मैकोट भूमिले सुंगुर सहँदैन। यहाँका सिमिभूमि र देउपित्रले स्विकार्दैनन्। सिद्ध र मष्टा रिसाउँछन्। बाढीपहिरो जान्छ भन्ने लोकविश्वास थियो। तर जब दशवर्षे सशस्त्र द्वन्द्व शुरु भयो, मानिसहरूमा ह्वात्तै चेतनाको विकास भयो, जागरणको लहर आयो। अन्धविश्वास र कुरीतिलाई भण्डाफोर गर्ने अभियान पनि चल्यो। अहिले दशकौं वर्ष भयो। मैकोटमा सुंगुर त थाहा भएन, व्यावसायिक बंगुरपालनको प्रयास भने गरिएको छ। तर सुंगुर मैकोटका मगरहरूको पूजामा त के कुनैपनि संस्कारसँग जोडिंदैन। जन्मिदा, शुभकार्यका लागि घर छाड्दा, बिहेबारी गर्दा, मर्दापर्दा पूजाआजा गर्दा या कुनैपनि शभ-अशुभ कार्यमा सुंगुरको प्रयोग हुँदैन। भेडोको साँड, बोका, कुखुरोको भाले मात्रै प्रयोग हुन्छ। यसकारण यो सुंगुरवर्जित प्रथाले पनि म्याग्दी कालीखोलाका कर्पाकेली समुदायको पुर्खा मैकोटसम्म जोडिएको प्रमाणित गर्छ। अनि उहाँहरू आफूलाई मगर हैन भनेर कसरी भन्न सक्नुहुन्छ ? जहाँसम्म ईन्द्रेणीको कार्यक्रममा मगरहरूले सुंगुर पूजा गर्छन् भन्ने छ, यदि कहीँकतै त्यसो भएको भएपनि त्यो मगरभित्रकै सांस्कृतिक विविधता मान्नुपर्यो।
हो, अधिकांश मगरहरूले सुंगुर खान्छन्। बिहे, भोजभतेरसम्ममा सुंगुर काट्छन्। पाहुना आउँदा पनि सुंगुर काट्छन्। एकाध पूजामा सुंगुर पनि चढाउँछन होला। यद्यपी, मैले सुंगुर पितृथानमै पूजा गरेको चाहिँ देखेको छैन। यदि कहीँकतै मैले नजानेको वा थाहा नपाएको ठाउँमा गर्दै रहेछन् भने त्यो अपवाद मान्ने छु। अन्यथा यो सुंगुर पूजा गर्छन् भनेर अन्यत्रका आफ्नै मगरलाई अलग देख्नु वा उनीहरूभन्दा अलग हौं भन्नु समग्र मगर समुदायलाई नचिहाएर-नबुझेर अपरिपक्व रूपमा गरिएको बनिबनाउ तर्क हो। जसले मगर एकतामा खलल पार्ने काम मात्र गर्दछ।
हजारौं वर्षको इतिहास बोकेको नेपाल मुलुकभर छरिएर बसेका मगरहरू, केही पुस्ता अघिबाट सिर्जे-छुटेको एउटा कुल र खलकको जस्तो सबैसबै परम्परा शतप्रतिशत मिल्ने र दुरुस्तै उस्तै हुनुपर्ने कुरा सोच्नु आफैंमा अधकल्चो सोंच हो। यत्रो लामो समयको अन्तरालमा कतिपयले भाषा बिर्स्यौं, कतिपयले संस्कार बिर्स्यौं, कतिपयले इतिहासै बिर्स्यौं जसले गर्दा एउटै मगरहरूको भाषा बाँडियो। परम्परा र संस्कार बाँडियो। नयाँ, परिमार्जित, अपभ्रंशित रीतिरिवाजहरूको पैदा भयो, त्यसकै निरन्तरतामा पुस्तौंपुस्ता बित्दै-चल्दै आज हामी यो एक्काइसौं शताब्दीमा आइपुगेका छौं। यो उस्तै र दुरुस्तै कसरी हुन सक्छ ? तर जो जहाँ रहेर जसरी जुन तरिकाबाट भएपनि पुर्खा र देउपित्रको सम्मान, सम्झना र पूजाआजा गरेकै छौं।
हामीले मगरभित्रको सांस्कृतिक र भाषिक विविधताको गर्वसाथ एकअर्कालाई स्विकार्दै राज्यको बलियो खम्बा नै मगर एकता र इतिहास प्रस्तुत गर्नु हाम्रो अभिभारा हो। र, त्यो दर्ज गर्नु नै आजको आवश्यकता हो। तर यसको विपरीत एक-अर्का बीच घोचपेच गर्ने, आफूले गरिरहेको मानिरहेको रीतिथिति-धर्म मात्रै राम्रो अरुको नराम्रो भन्ने, आफूले बोल्ने भाषा चाहिँ मगर भाषा अरुले बोलेको चाहिँ 'अमगर (गैरमगर) भाषा ठान्ने विभेदकारी दृष्टिदोषबाट नकारात्मक सोच पैदा गरेर 'म मात्र मगर हुँ' भन्ने अथवा 'म मगरै हैन' भन्ने भावनाले आफ्नै जाति, वस्ती र समुदायभित्रै विखण्डन ल्याउनु गतिलो काम होइन। यी र यस्ता उच्छृङ्खल सोच कहाँबाट कसरी आउँछ ? अहिले नसच्चिए कहिले सच्चिने ?
एकता जस्तो सर्वशक्तिमान सामर्थ्य अरु केही हुँदैन भन्ने सत्य नबिर्सन सबै-सबै मगर आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपील गर्दै यत्तिको लामो लेख ध्यान दिएर सरसर्ती पढिदिनुभएकोमा हजुरहरूलाई विशेष आभार प्रकट गर्दै बिदा हुन्छु।
धन्यवाद ! जेदो ! झोर्ले ! सिमेपाउ !
प्रतिक्रिया