'पुन र करबाकेली' को नाममा !
करवाकेलीको काल्पनिक प्रतिमालाई १२ वर्षअघि देहान्त भएका भारतीय आध्यात्मिक गुरु सत्य साइबाबाको प्रतिमाको शैलीमा प्रतिस्थापन गरिएको छ। अझ करवाकेलीको प्रतिस्थापित प्रतिमालाई गहिरिएर नियाल्दा १९ औं शताब्दीताका संसारमै आध्यात्मिक गुरु एवं फकीर भनेर प्रसिद्धि कमाएका शिरडी साइबाबाको ठ्याक्कै मुहारचित्र झल्किन्छ।
करिब ९ हजार 'पुन' हरू आफूहरू मगर नभएर छुट्टै जाति भएको तथ्यांकमा देखाइएको छ। ऐतिहासिक कथ्य-तथ्यलाई कसैगरी मनन नगरी तथ्यांकसँग सम्बद्ध सरकारी निकायले विभाजनको रेखा कोरिदिनुले मगर समुदायमा क्षति पुर्याउने काम भएको छ।
विभिन्न अध्ययन र अनुसन्धानले भन्छ- मगर समुदायभित्रका मुख्य ७ थरमध्ये पुन पनि एक थर हो। मगर समुदायबाट म्याग्दीका तुलबहादुर पुनले भिक्टोरिया क्रस (भीसी) पदक पाएपछि बेलायती सेनामा पुनहरूको विशिष्ट स्थान बन्यो। त्यसपछि गैरमगरसँगै मगरका अन्य थरहरूले समेत भटाभट थर परिवर्तन गर्दै 'पुन थर' बाटै बेलायती सेनामा भर्ना बन्न सफल भए। तिनै गैरमगरहरूको जोडबलमा केही सोझासाझा पुनहरूलाई मगरबाट छुटाउन सफल भएको बताइएको छ।
'नक्कली' भनिएका पुनहरूले करबाकेलीको तस्बिर पनि बनाएको पाइयो। जो हिन्दू धर्मका देवदेवताहरूबाट प्रभावित छ। अझ अनौठो त के छ भने करवाकेलीको काल्पनिक प्रतिमालाई १२ वर्षअघि देहान्त भएका भारतीय आध्यात्मिक गुरु सत्य साइबाबाको प्रतिमाको शैलीमा प्रतिस्थापन गरिएको छ। अझ करवाकेलीको प्रतिस्थापित प्रतिमालाई गहिरिएर नियाल्दा १९ औं शताब्दीताका संसारमै आध्यात्मिक गुरु एवं फकीर भनेर प्रसिद्धि कमाएका शिरडी साइबाबाको ठ्याक्कै मुहारचित्र झल्किन्छ। पितृ करबाकेलीको यस्तो तस्बिर पनि बनाइएको छ, जसको शिरमा ज्वाज्वाल्यमान प्रकाश प्रज्वलित भइरहेको छ र नाम दिइएको छ- करबाकेली बाबा !
उहाँ कस्तो बाबा हुनुहुन्छ ? मगर खाम भाषामा 'बाबा' भन्नाले काका साइनोको अर्थ लाग्छ। बाबा साइनो भनेको बुबाको भाइ हो। के पितृ कारबाकेली हाम्रा काका हुन् ? यो दृष्टिकोणले त उहाँ कमसेकम करवाकेली हाम्रो ठूल्बा अर्थात् पाग्यो हुनुपर्ने होइन र ?! यो जस्तो अपरिपक्व उदाहरण अरु सायदै होला। पितृ कारबाकेलीलाई कसैले देखेको छैन। अस्वाभाविक भेषभूषामा सजाइएको छ, जतिखेर यस्ता पोशाकहरुको अस्तित्व नै भएको थिएन। त्यो समयमा पुवाबाट बनेको धयो लगाउने गर्दथे। छालामाथि पुवाकै धागोबाट उनेको ज्यो लगाउने गर्दथे। त्यस्तो झलक कुनै पनि कोणबाट पितृ करबाकेलीको तस्बिरमा देखिँदैन।
करबाकेली स्वयं खामभाषी हुनुहुन्थ्यो। खामभाषी भएपछि उहाँ पनि मगरको पुर्खा हो भन्नलाई कन्जुस्याइँ गर्नुपर्छ र ? तस्बिरमा करबाकेलीको शिरमा पगरी कसाइएको देखिन्छ। खामभाषी मगरहरूले पगरी यस्तो तरिकाले गुठेको मलाई थाहा छैन।
हामी पितृ/प्रकृतिपूजक मगरहरुको लिखित धार्मिक ग्रन्थ त छैन, तर हामी लेख्न सक्छौं। हामीसँग स्रोतको कमी छैन। अलिकति अल्छी भएका मात्रै हौं। तर पितृ करबाकेलीलाई बाबा बनाउनेहरूको शास्त्र छ कि छैन ? सिर्जनउब्जनको बारेमा करबाकेलीको धारणा के थियो? मान्छे र समाज अनि सामाजिक संरचना निर्माण गर्न करबाकेलीले के गर्नुभयो ? कुनै लिखितम् वा जनश्रुति छ ? छैन। तर समग्रमा मगर समुदायको छ। पृथ्वी उत्पत्तिको धारणादेखि लिएर ग्रहनक्षत्र, युद्धकला, आयुर्वेद, तन्त्रमन्त्र विद्या, अन्नबाली, गीतसंगीत, रोगव्याधी, स्वर्ग-नर्क, जन्म-मृत्युको अवधारणा सबै छ। मगर समुदायको संस्कार र संस्कृति त्यस श्लोकहरुमा लुकेको छ। जसलाई धुर भनिन्छ। धर्म भनेको के हो, ती सबै धुरमा बताइएको छ।
मान्छेको उत्पत्ति कसरी भयो व्याख्या गरिएको छ। ती मान्छेहरूले बालीनाली कसरी लगाए त्यसको पनि व्याख्या छ। पशुपालन शुरु गर्दा सर्वप्रथम कुन वन्यजन्तुलाई पालेका थिए, त्यहाँ बताइएको छ। बालीनालीमा सबैभन्दा कुन बाली लगाए, त्यो बाली कसरी प्राप्त भयो सबै बताइएको छ। त्यसपछि वस्त्र बुन्ने तरिका कसरी सिके, अनि बुनेको वस्त्र लगाउने तरिका सिके। आगो बाल्ने तरिका सिके। मान्छेको मृत्युपछि के हुन्छ ? आत्मा कहाँ जान्छ ? स्वर्ग र नर्क भनेको के हो ? स्वर्ग जाने बाटो कहाँ छ ? कुन बाटो भएर गइन्छ ? 'सम्झना पानी - बिर्सना पानी' भनेको के हो ? त्यो पानी पिएपछि के हुन्छ ? त्यो सबै धुरमै छ। यस्ता श्लोकहरु 'केही छुट्टिएका नक्कली पुन' सँग छ ? स्मरणीय कुरा के हो भने यी धुरको उत्पत्ति त्यहाँ भयो, जहाँ पुन मगरहरुको ऐतिहासिक विरासत आजपर्यन्त छ।
यो हजारौं वर्ष अगाडिको कुरा हो। 'सक्कली' भनिएका पुनहरूको इतिहास गौरवमय ठान्छन्। कारबाकेली त केही सय वर्ष अगाडिको पात्र न हो। मैकोटबाट छुट्टिएर म्याग्दी जानुभएको पुर्खा न हो। जसलाई उनीहरूले हिन्दूहरूले जस्तै 'बाबा' बनाइदिए। हाम्रो इतिहास केही सय होइन, यही थातथलोमा हामीसँग हजारौं वर्षको लामो इतिहास छ। पेल्मामा पिमा छरेर कृषि युगको थालनी गरेका हौं। खै बुझेको ? करबाकेली पितृलाई अपमान गर्न खोजेको होइन, उहाँ पनि हाम्रो पितृदेव नै हुनुहुन्छ। हामी पितृपूजक हौं, त्यसैले करबाकेलीको पूजा गर्नु अधम काम भनेर कदापी भनिएको होइन। तर उहाँले हाम्रो धर्म संस्कारको जग बसाल्नुभएको होइन, मात्रै भन्न खोजिएको हो। उहाँ मैकोटका मगरको पनि पुनहरूबाट छुट्टिएर पूर्वतिर लाग्नुभएको त हो। अहिले हामी म्याग्दी भन्ने गरेको क्षेत्र वरपर उहाँ आइपुग्दा करिब मध्यकाल थियो।
त्योभन्दा अगाडिका पुन मगरहरुको इतिहास हेरौं न। धुरमा मुख्य श्लोकहरूमध्ये ९ बहिनीहरूको शास्त्र एक हो। मान्छेको उत्पत्तिपछि रानीबानी गाउँमा ९ बहिनी असुरहरुको जन्म हुन्छ। ती ९ बहिनीहरूसँग जोडिन्छ भिउँजडा। भिउँजडालाई दानव वा राक्षस भनेर पनि चिनिन्छ। रुकुमपूर्वको अहिलेको पुथा उत्तरगङ्गा गाउँपालिका ८ स्थित खराङ गाउँको लेकमा दह भन्ने ठाउँ छ, घर्तीका एकजना पुर्खाले त्यो भिउँजडालाई वध गरेको शास्त्रमा उल्लेख छ। त्यही समयताका मैकोटमा पुन र घर्तीका पुर्खाले सभ्यताको जग बसालेका थिए। हामी पुन मगर होइनौं भन्ने सीमित व्यक्तिलाई एकपटक त्यस भेगमा जान अनुरोध गर्दछु। यो ठाउँ पुन मगर समुदायको लागि खास थलो हो। त्यहाँका पुन र घर्तीहरू खाँटी मगर हुन्।
'भर्ती हुनलाई थर फेरेका' भनिएका बाहेक अन्य सबै पुनहरू मगर नै हुन् भन्ने तर्क पनि उति सार्हो कमजोर नहोला भन्न सकिन्छ। किनभने, त्यस भेगको वासिन्दा आफू नभएकाले कसैलाई लाहा छाप ठोक्ने र नठोक्ने अधिकार मसँग हुने कुरो पनि भएन। सबैलाई चेत खुलोस्।
प्रतिक्रिया