५२ किमि गुरिल्‍ला ट्रेल रेसमा भुवन र अनिता पहिलो

विजयी महिला र पुरुष दुवैतर्फका खेलाडीको पुरस्कार समान थियो।

५२ किमि गुरिल्‍ला ट्रेल रेसमा भुवन र अनिता पहिलो गुरिल्‍ला अल्‍ट्रा ट्रेल रेसको सुरुवात हुँदै। तस्‍बिर स्रोत : चन्‍द्रसिंह श्रेष्‍ठ

रुकुमपूर्व, ३ असार

भूमे गाउँपालिकाद्वारा आयोजित ५२ किलोमिटरको गुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फको उपाधि रुकुमपश्‍चिम सानीभेरी गाउँपालिका– ३ का भुवन ओलीले जिते भने महिलातर्फ सोलुखुम्बुकी अनिता राई विजेता बनिन्‌।

धावक भुवन ओली

शनिबार आयोजित निर्धारित ५२ किलोमिटर दूरी ६ घण्टा ८ मिनेट ९ सेकेण्‍डमा पार गर्दै भुवन प्रथम भएका थिए। झिनो अन्तरले पछि परेका रुकुमपश्‍चिम सानीभेरी गाउँपालिका– ३ कै अर्जुनकुमार बस्‍नेत दोस्रो बनेका थिए। अर्जुनले निर्धारित दूरी ६ घण्टा ८ मिनेट १९ सेकेन्डमा पार गरे। भुवन र अर्जुनको बीचमा जम्मा १० सेकेण्‍डको फरक परेको ट्रेल रेस सञ्‍चालक संस्‍था युवा विकास केन्द्र भूमेले जनाएको छ । 

यसैगरी पुरुषतर्फकै भुमे ३ का शक्तिराम रोका निर्धारित दूरी ६ घण्टा १५ मिनेटमा पार गर्दै तेस्रो हुँदा ६ घण्टा २३ मिनेट १ सेकेण्‍डमा पूरा गर्दै रोल्‍पा थवाङ १ का मनकुमार रोका चौथो बन्‍न सफल भए।

महिलातर्फ निर्धारित ५२ किलोमिटर दूरी ८ घण्टा १५ मिनेटमा पार गर्दै सोलुखुम्बुकी अनिता राई प्रथम भइन्। ९ घण्टा १० मिनेट ३ सेकेण्‍डमा दूरी पार गर्दै भूमे ८ की सोनिका खड्का दोस्रो, १० घण्टा १५ मिनेट २ सकेण्‍डमा दूरी पार गर्दै भूमे ६ की अनिता बुढा तेस्रो बनिन्‌।

धाविका अनिता राई

महिला र पुरुष दुवैतर्फको पुरस्कार समान रहेको थियो। पहिलोले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार र चौथो स्थान हासिल गर्नेले ८ हजार नगद पुरस्कार पाएका थिए। पाँचौंदेखि दशौं स्थान हासिल गर्ने धावकधाविकाले समान ५ हजार नगद पुरस्कार थापेका थिए।

भूमे ६ को महतबाट सुरु भएको दौड रोल्पाको थवाङ, जलजला, मारिङ हुँदै छिमेककै वडा २ को खाबाङबगर पुगेर सम्पन्‍न भएको थियो। पुरुषतर्फ २५ धावकले भाग लिएका थिए भने महिलातर्फ ९ धाविकाले प्रतिस्पर्धा गरेका थिए।