वैरागी र ठूला सरकारी पदहरूसँग रतिराग !

यसपटक सचिवको पदबाट अनिवार्य अवकाश पाउन २ दिन मात्र बाँकी भएका वैकुण्ठ अर्याललाई निजामती सेवामा राखिरहन तिनै शंकरदास वैरागीको मद्दत लिइएको छ।

वैरागी र ठूला सरकारी पदहरूसँग रतिराग ! पूर्व मुख्‍य सचिव शंकरदास वैरागी

नेपाल सरकारको प्रशासनिक संगठन व्यक्ति र केही व्यक्तिको हित अनुकूलको स्वार्थ-केन्द्रित व्यवस्थापन गर्ने भद्दा र बेकम्मा संस्थामा परिणत भएको हो ? अवश्य पनि हो !

सचिवहरूमध्येको अगुवा 'मुख्य सचिव' पदमा सामान्यत: ज्‍येष्‍ठताको आधारमा बढुवा गरिने लामो परम्परालाई मिच्‍न शुरू गरिएको बहुदलको पुनर्स्थापनापछिको कालखण्डदेखि नै हो। त्यो गलत थियो। तर हालका केही दिनमा मुख्य सचिवको नियुक्तिलाई लिएर जुन प्रकारको गर्हित चलखेल गरिएको छ, यसलाई गलत मात्र भनेर पुग्दैन। यसले त हाम्रो निजामती प्रशासनका आधारभूत मूल्य र मान्यताकै धज्‍जी उडाएको छ।

यो निन्दनीय चलखेलको केन्द्रमा शंकरदास वैरागी भन्‍ने व्यक्ति देखिन्छन् भने उनीसँग केही समयपहिले लोकदर्शन रेग्मी भन्‍ने व्यक्ति जोडिएका थिए। हाल यो विवादास्पद पजनीमा वैकुण्ठ अर्याल नामक अर्का महाशय जोडिएका छन्। तत्कालीन परराष्‍ट्र सचिव वैरागीको कार्यकाल २ महिना जति बाँकी भएको बेलामा उनलाई अवकाशमा जान दिनै नहुने ठानेर हुनुपर्दछ, उनलाई मुख्य सचिवको पदमा बढुवा गर्न तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीलाई पदबाट राजीनामा गराई बेलायतका लागि राजदूत पदमा नियुक्ति दिइएको थियो।

मुख्य सचिव बैकुण्ठ अर्याल

करिब ३ वर्ष पहिले सिंहदरबार परिसरमा मञ्‍चित त्यो भद्दा नाटक अहिले आएर अलि फरक दृश्‍यहरूका साथ पुन: देखाइएको छ। यसपटक सचिवको पदबाट अनिवार्य अवकाश पाउन २ दिन मात्र बाँकी भएका वैकुण्ठ अर्याललाई निजामती सेवामा राखिरहन तिनै शंकरदास वैरागीको मद्दत लिइएको छ। उनले मुख्य सचिवको पदबाट राजीनामा दिएका छन् र अगुवा सचिवको त्यो अग्लो कुर्सीमा वैकुण्ठ अर्याललाई बसाइएको छ। वैरागीले अर्यालका लागि फोसामा त्याग गरेको भने होइन है ! मन्त्री सरहको मान र सुविधा दिने गरी 'राष्‍ट्रिय सुरक्षा सल्लाहकार' भन्‍ने पद सिर्जना गरेर उनलाई त्यहाँ पदस्थापन गरिएको छ। छैन त यी वैरागीको सरकारी पदसँगको रतिराग झण्डै अलौकिक !?

यस किसिमको गर्हित चलखेलका कारण कतिजना वरिष्‍ठ सचिवहरूको मानमर्दन भयो होला, भन्‍न सकिँदैन। विधि र परम्परालाई धूलिसात्‌ बनाइएको भने पक्कै पनि हो। थोरै सन्तोषको कुरा चाहिँ के छ भने वैकुण्ठ अर्याल अहिले भएका सचिवहरूमध्ये वरिष्‍ठतम्‌ हुन्। साथै योग्य, स्वच्छ र मिहेनती राष्‍ट्रसेवक पनि !

 

(समसामयिक विषयमा कलम चलाइरहने पत्रकार तथा साहित्यकार अधिकारीको फेसबूक पेजबाट साभार)